मङ्गलबार, १९ चैत २०८१
ताजा लोकप्रिय

पश्चिमाञ्चल अस्पतालको बिमा काउन्टरमा अनियमितता, ६ कर्मचारी दोषी

आइतबार, १७ चैत २०८१, २२ : ३३
आइतबार, १७ चैत २०८१

पोखरा । पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्वास्थ्य बिमा काउन्टरमा अनियमितता भएको पुष्टि भएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिमाको रकम फिर्ता गर्दा अनियमितता भएको आशङ्कामा छानबिन समिति गठन गरेको थियो ।

समितिले ६० लाख रुपैयाँ भन्दा बढी रकम घाटा भएको र उक्त अनियमिततामा ६ कर्मचारी जोडिएको प्रतिवेदन बुझाएको छ । छानबिन समितिका संयोजक सुशीलकुमार अर्यालले प्रतिवेदन बुझाइसकेको जानकारी दिए ।

‘हामीलाई दिइएको कार्यसर्त अनुसारको प्रतिवेदन बुझाएका छौँ । अब के गर्ने भन्ने चाहिँ कार्यकारी परिषद्ले निर्क्योल गर्ने विषय रह्यो,’ उनले भने ।

प्रतिष्ठानका निर्देशक डा. भरत खत्रीले अस्पताललाई ६० लाख रुपैयाँ नोक्सान भएको जानकारी दिए । ‘हामीलाई जे आशङ्का थियो, त्यो पुष्टि भएको छ । रकम हिनामिना गरेको प्रमाणित भयो,’ उनले भने, ‘अब दोषी उपर के कारबाही गर्ने भन्ने छलफल गर्दैछौँ । वकिलहरुसँग कुरा भइरहेको छ ।’ बिमा काउन्टरका कर्मचारीले बिमा गरेका बिरामीको डिपोजिट रकम अस्वाभाविक रूपमा फिर्ता गरेको भेटेपछि छानबिन समिति गठन गरिएको हो ।

 ‘क्यास काउन्टरमा समस्या रहेनछ, बिमा काउन्टरमा समस्या देखियो । पहिला को–पेमेन्ट थिएन । फ्री सर्भिस हुँदा केही देखिएको थिएन,’ खत्रीले थपे, ‘अहिले फूल कम्प्युटराइज्ड छ, हेर्दा बदमासी पुष्टि भयो ।’

बिमा गरेका बिरामीहरूले तिरेको १० प्रतिशत शुल्क काउन्टरका कर्मचारीहरूले बिरामीलाई फिर्ता दिएको देखाएर आफैले अपचलन गरेका रिपोर्टमा उल्लेख छ । अनियमितताको घटनामा ६ कर्मचारीलाई दोषी देखाइएको छ । त्यसमध्ये एक जना कर्मचारीले मात्रै ५० लाख भन्दा बढी अपचलन गरेको देखाइएको खत्रीले बताए ।

अर्यालको संयोजकत्वमा बनेको छानबिन समितिमा लेखा अधिकृत हेमन्त ढकाल र आइटी अधिकृत दीपक केसी सदस्य थिए । सबैभन्दा धेरै रकम हिनामिना गर्ने कर्मचारी आइएनएफबाट खटिएका हुन् । ‘उनी आइएनएफबाट खटिएका हुन् । कसरी के कारबाही गर्ने भन्ने चाहिँ प्रक्रियामा छ,’ अघि थपे, ‘जे होस्, कानुन अनुसार कारबाही हुन्छ ।’

प्रतिष्ठानको कार्यकारी परिषद्को चैत १५ गतेको बैठकले प्रतिवेदनमा औँल्याइएका दोषीमाथि कारबाही अघि बढाउने निर्णय गरेको खत्रीले जानकारी दिए । बिरामीहरूले बिमाको सेवा नलिएको भन्दै डिपोजिट फिर्ता गरेपछि अस्पतालले पाउनुपर्ने ९० प्रतिशत दाबी गर्न पाएको थिएन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप