तथ्याङ्कमा प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट, टोलीहरूलाई पुरै ओभर टिक्नै सकस

काठमाडौँ । लुम्बिनी प्रदेशका तीन रंगशालामा तीन सातासम्म चलेको प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता विभागीय टोली नेपाल पुलिस क्लबलाई विजेता बनाउँदै सकिएको छ । प्रतियोगिताको शनिबार सम्पन्न फाइनलमा पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हरायो ।
प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० वटा टोलीको सहभागिता रहेको थियो । यसपटक प्रधानमन्त्री कप केही फरक तरिकाले सम्पन्न भयो । प्रतियोगितामा एकै दिन तीनवटासम्म खेल खेलाइएको थियो ।
प्रतियोगिताको लिग चरणमा १० वटै टोलीले एक¬–अर्कासँग एक–एक खेल खेलेका थिए । त्यसपछि अंक तालिकाको माथिल्लो स्थानमा रहने दुई टोली फाइनलमा पुगेका थिए । यसपटक पनि प्रतियोगितामा विभागीय टोलीहरूकै दबदबा देखियो ।
तर, घरेलु क्रिकेटमा एकदिवसीय ढाँचाको प्रतियोगिताको अभाव रहेको गुनासो आइरहँदा यसपटक प्रधानमन्त्री कपले खेलाडीहरूलाई बढीभन्दा बडी अनुभव बटुल्ने अवसर प्रदान गर्यो । अधिकांश सिनियर खेलाडी विभागीय टोलीमा आबद्ध रहेका थिए ।
त्यसैले प्रादेशिक टोलीमा सहभागी हुने अवसर पाएका युवा खेलाडीले सिनियर खेलाडीहरूसँग खेलेर अनुभव बटुल्ने र आफ्नो स्तर सुधार्ने अवसर पनि पाए । प्रतियोगितामा केही युवा खेलाडीको प्रदर्शन त अब्बल नै रह्यो ।
लिग चरणमा सहभागी सबै टोलीले नौ–नौ खेल खेल्दा १६ अंकसहित पुलिस क्लब पहिलो, समान अंक बटुलेको आर्मी क्लब दोस्रो र १४ अंकसहित सशस्त्र प्रहरी बलको एपीएफ क्लब तेस्रो भए । आठ अंकसहित बागमती प्रदेश चौथो भयो ।
यसैगरी, आठ अंकसहित कर्णाली प्रदेश पाँचौँ, समान अंक बटुलेको लुम्बिनी प्रदेश छैटौँ, समान अंक जोडेको मधेस प्रदेश सातौँ, ६ अंकसहित सुदूरपश्चिम प्रदेश आठौँ, चार अंकसहित गण्डकी प्रदेश नवौँ र दुई अंकसहित कोशी प्रदेश १०औँ भए ।
प्रतियोगिताका क्रममा कुल ४६ खेल खेलियो । यसपटक प्रधानमन्त्री कपमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, उच्च स्कोर बनाउने टोली, प्रतियोगितामा चम्किएका युवा खेलाडीलगायतको विषयमा यहाँ चर्चा गरिएको छ ।
- पुरै ओभर टिक्नै सकस
यसपटक प्रधानमन्त्री कपका क्रममा कुल ४६ खेल खेलियो । तर, अधिकांश खेलमा सहभागी टोलीहरू पुरै ५० ओभर क्रिकेटमा टिक्न सकेनन् । १६ खेलमा मात्र सहभागी टोलीहरूले पुरै ५० ओभर ब्याटिङ गर्न सकेका थिए ।
अघिल्ला तीन खेलमा कुनै पनि टोली पुरै ५० ओभर क्रिजमा टिक्न सकेनन् । चौथो खेलमा बागमती प्रदेशविरुद्ध त्रिभुवन आर्मी क्लबले आठ विकेट गुमाएर दुई सय ६२ रन बनाएको थियो । कुनै पनि टोलीले पुरै ओभर ब्याटिङ गरेको यो पहिलो खेल थियो । उक्त खेलमा जवाफी ब्याटिङ गरेको बागमती प्रदेश भने २७ ओभरमै केवल एक सय २८ रन बनाउँदै अलआउट भएको थियो ।
प्रतियोगिताको पाँचौँ खेलमा भने दुवै टोली ५० ओभर क्रिजमा टिकेका थिए । पुलिस क्लबले ५० ओभरमा ६ विकेट गुमाएर दुई सय ४९ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको लुम्बिनी प्रदेशले भने निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर एक सय ६२ रन बनाएको थियो ।
रमाइलो पक्ष त के हो भने, फाइनल खेलमा पनि पहिले ब्याटिङ गरेको आर्मी क्लब पुरै ओभर क्रिजमा टिक्न सकेको थिएन । आर्मी क्लब ४३ ओभरमा केवल एक सय ५४ रन बनाउँदै अलआउट भएको थियो । जवाफमा पुलिस क्लबले २५.२ ओभरमा चार विकेट गुमाएर एक सय ५७ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो ।
- पुलिसको नाममा सर्वाधिक ठुलो स्कोर
प्रधानमन्त्री कपको यो संस्करणमा सबैभन्दा ठुलो स्कोर बनाउने टोली नेपाल पुलिस क्लब हो । पुलिस क्लबले भैरहवामा खेलिएको बागमती प्रदेशविरुद्धको खेलमा ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ९७ रन बनाएको थियो ।
दोस्रो ठुलो स्कोर पनि नेपाल पुलिस क्लबकै नाममा रह्यो । पुलिस क्लबले दाङको लमही क्रिकेट रंगशालामा खेलिएको मधेस प्रदेशविरुद्धको खेलमा ४९.५ ओभरमा अलआउट हुनुअघि दुई सय ८८ रन बनाएको थियो ।
यसका अतिरिक्त, पुलिस क्लबले कोशी प्रदेशविरुद्धको खेलमा पनि ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ८८ रन बनाएको थियो । एक खेलमा बागमती प्रदेशले पनि दुई सय ८८ रन बनायो । बागमतीले गण्डकी प्रदेशविरुद्धको खेलमा ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ८८ रन बनाएको थियो ।
- सबैभन्दा सानो स्कोर गण्डकीको नाममा
यसपटक प्रधानमन्त्री कपमा सबैभन्दा सानो स्कोर बनाउने टोली गण्डकी प्रदेश हो । गण्डकी प्रदेशको टोली कोशी प्रदेशविरुद्धको खेलमा केवल ३१ रन बनाउँदै अलआउट भएको थियो । गण्डकी प्रदेशका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । उक्त खेलमा कोशी प्रदेशले ८.२ ओभरमै केवल एक विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो ।
- सबैभन्दा ठुलो रनअन्तरले खेल जित्ने पुलिस
प्रधानमन्त्री कपको यो संस्करणमा सबैभन्दा ठुलो रनअन्तरले प्रतिद्वन्द्वीलाई हराउने टोली नेपाल पुलिस क्लब हो । पुलिस क्लबले मधेस प्रदेशलाई एक सय ९३ रनले हराएको थियो । पहिले ब्याटिङ गरेको पुलिसले ४९.५ ओरमा अलआउट हुनुअघि दुई सय ८८ रन बनाएको थियो । जवाफमा मधेस प्रदेशले २६.१ ओभरमै अलआउट हुनुअघि ९५ रनमात्र बनाउन सकेको थियो ।
सर्वाधिक ठुलो रनअन्तरको जित हात पार्ने टोलीको सूचिमा मधेस प्रदेश दोस्रो स्थानमा छ । मधेस प्रदेशले कोशी प्रदेशलाई एक सय ६५ रनले हराएको थियो । यो सूचिमा तेस्रो स्थानमा रहेको पुलिस क्लबले कोशी प्रदेशलाई एक सय ५४ रनले पराजित गरेको थियो ।
- बागमती र मधेसबिचको खेलमा ५२२ रन
यसपटक प्रधानमन्त्री कप क्रिकेटको एउटै खेलमा दुवै टोलीले मिलाएर बनाएको सर्वाधिक रन पाँच सय २२ हो । बागमती र मधेस प्रदेशबिचको खेलमा उक्त रन बनेको थियो । पहिले ब्याटिङ गरेको बागमती प्रदेशले ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ५९ रन बनाएको थियो । जवाफमा मधेस प्रदेशले ४६.१ ओभरमा ६ विकेट गुमाएर दुई सय ६३ रन बनाएको थियो ।
- १९ वर्षीय अर्जुन कुमालको कमाल
प्रधानमन्त्री कपको यो संस्करणमा सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा गण्डकी प्रदेशका अर्जुन कुमाल पहिलो स्थानमा रहे । १९ वर्षीय अर्जुन कुमालले आफूले खेलेको नौ खेलमा कुल तीन सय ७४ रन बनाएका हुन् । प्रतियोगितामा अर्जुनले ६८.३७ को स्ट्राइक रेट र ४१.५५ को औसतमा रन बनाए ।
अर्जुनले एक शतक र दुई अर्धशतक पनि प्रहार गरे । सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा पहिलो स्थानमा दरिने क्रममा उनले आफूभन्दा निकै अनुभवी र दिग्गज ब्याट्सम्यानहरूलाई पनि पछि पारे । उनले हालसम्म दुईवटा ‘लिस्ट ए’ प्रतियोगितामात्र खेल्ने अवसर पाएका छन् । ‘लिस्ट ए’ प्रतियोगिताको दुई खेलमा उनले एक शतकको मद्दतले कुल एक सय ११ रन बनाएका छन् ।
सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा दोस्रो स्थानमा रहेका तृतराज दास पनि यो प्रतियोगिताबाट चर्चामा आएका छन् । त्रिभुवन आर्मी क्लबका २२ वर्षीय यी युवा ब्याट्सम्यानले प्रतियोगितामा १० खेल खेल्दै कुल तीन सय ६५ रन बनाए । यस क्रममा उनले एक शतक र एक अर्धशतक पनि प्रहार गरे । उनले ६८.७३ को स्ट्राइक रेट ४०.५५ को औसतमा रन बनाए ।
बागमती प्रदेशका ईशान पाण्डे सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा तेस्रो स्थानमा रहे । २७ वर्षीय ईशानले आफूले खेलेको नौ खेलमा कुल तीन सय ६३ रन बनाए । यस क्रममा उनले एक शतक र दुई अर्धशतक पनि प्रहार गरे ।
यो सूचिमा चौथो स्थानमा रहेका त्रिभुवन आर्मी क्लबका बसिर अहमदले १० खेलको नौ पालीमा कुल तीन सय ३८ रन बनाए । २१ वर्षीय युवा ब्याट्सम्यान बसिर अहमदले तीनवटा अर्धशतक पनि प्रहार गरे । यसका अतिरिक्त सुदूरपश्चिम प्रदेशका किरण ठगुन्ना (३३७ रन), पुलिस क्लबका कुशल भुर्तेल (३२५ रन), पुलिस क्लबकै दीपेन्द्रसिंह ऐरी ३०८ रन) र कर्णाली प्रदेशका अर्जुन घर्ती ३०३ रन) ले मात्र तीन सयभन्दा बढी रन बनाउन सके ।
- ललित राजवंशीको अब्बल बलिङ
यसपटक प्रधानमन्त्री कपमा नेपाल पुलिस क्लबका ललित राजवंशी सर्वाधिक विकेट लिने बलर बने । राष्ट्रिय टोलीका प्रभावशाली बलरसमेत रहेका २६ वर्षीय ललितले आफूले खेलेको १० खेलमा कुल ४१ विकेट लिए ।
ललितले पाँच खेलमा पाँच–पाँच विकेट लिए । उनले दुई खेलमा भने चार–चार विकेट लिएका थिए । उनले एउटै पालीमा गरेको उत्कृष्ट प्रदर्शन भने केवल १५ रन खर्चिएर ६ विकेट हो । पुलिस क्लबलाई उपाधि चुमाउन उनको भूमिका महत्त्वपूर्ण रह्यो ।
सर्वाधिक विकेट लिने बलरको सूचिमा त्रिभुवन आर्मी क्लबका साहब आलम दोस्रो स्थानमा रहे । २५ वर्षीय साहब आलमले आफूले खेलेको १० खेलमा कुल ३१ विकेट लिए । उनको उत्कृष्ट प्रदर्शन ४२ रन खर्चिएर पाँच विकेट रह्यो । उनले चार खेलमा चार–चार विकेट र एक खेलमा पाँच विकेट लिए ।
यो सूचिमा बागमती प्रदेशका रिजन ढकाल तेस्रो स्थानमा रहे । उनले नौ खेलमा कुल २३ विकेट लिए । चौथो स्थानमा रहेका कर्णाली प्रदेशका दीपेन्द्र रावतले आफूले खेलेको नौ खेलमा कुल २२ विकेट हात पारे ।
- किरण ठगुन्नाको अविजित १२१
सुदूरपश्चिम प्रदेशका किरण ठगुन्ना एउटै खेलमा सर्वाधिक स्कोर बनाउने ब्याट्सम्यान बने । उनले दाङको लमहीमा खेलिएको गण्डकी प्रदेशविरुद्धको खेलमा अविजित एक सय २१ रन बनाएका थिए । यस क्रममा उनले एक सय एक बलको सामना गरी ६ छक्का र नौ चौका हिर्काएका थिए ।
यो सूचिमा दोस्रो स्थानमा पनि किरण ठगुन्ना नै रहे । उनले कोशी प्रदेशविरुद्ध लमहीमै खेलिएको खेलमा एक सय १५ रन बनाएका थिए । यस क्रममा उनले केवल ९१ बलको सामना गरी चार छक्का र १२ वटा चौका हिर्काएका थिए ।
यो सूचिमा तेस्रो स्थानमा रहेका बागमती प्रदेशका ईशान पाण्डेले एक सय १४ रन बनाए । उनले भैरहवास्थित सिद्धार्थ रंगशालामा खेलिएको मधेस प्रदेशविरुद्धको खेलमा उक्त रन बनाएका थिए । चौथो स्थानमा रहेका आर्मी क्लबका तृतराज दासले कोशी प्रदेशविरुद्ध अविजित एक सय १२ रन बनाए ।
- चार ब्याट्सम्यानका नाममा पाँच शतक
प्रधानमन्त्री कपको यो संस्करणमा कुल पाँचवटा शतक बन्यो । चार ब्याट्सम्यानले पाँच शतक बनाएका हुन् । सुदूरपश्चिम प्रदेशका किरण ठगुन्नाले दुई शतक बनाए । उनले गण्डकी प्रदेशविरुद्ध अविजित एक सय २१ र कोशी प्रदेशविरुद्ध एक सय १५ रन बनाएका थिए ।
गण्डकी प्रदेशका अर्जुन कुमालले एक शतक प्रहार गरे । उनले मधेस प्रदेशविरुद्धको खेलमा एक सय ६ रन बनाएका थिए । बागमती प्रदेशका ईशान पाण्डेले पनि एक शतक प्रहार गरे । उनले मधेस प्रदेशविरुद्ध एक सय १४ रन बनाए । त्रिभुवन आर्मी क्लबका तृतराज दासले पनि कोशी प्रदेशविरुद्ध अविजित एक सय १२ रन बनाएका थिए ।
- दीपेन्द्र र कुशलले चारपटक बनाए ५० भन्दा बढी रन
प्रधानमन्त्री कपको यो संस्करणमा विभिन्न टोलीका ब्याट्सम्यानले व्यक्तिगत रूपमा ६९ पटक ५० वा त्योभन्दा बढी रन बनाए । नेपाल पुलिस क्लबका दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले चार–चारपटक ५० भन्दा बढी रन बनाए । दीपेन्द्रको उच्च स्कोर ६३ र कुशल भुर्तेलको उच्च स्कोर ८८ रन रह्यो ।
यसैगरी, त्रिभुवन आर्मी क्लबका बसिर अहमद, गण्डकी प्रदेशका अर्जुन कुमाल, कर्णाली प्रदेशका अर्जुन घर्ती, बागमती प्रदेशका ईशान पाण्डे र लुम्बिनी प्रदेशका प्रज्ज्वल थापाले तीन–तीनपटक ५० वा त्योभन्दा बढी रन बनाए ।
बसिर अहमदको उच्च स्कोर अविजित ८६ रन, अर्जुन कुमालको उच्च स्कोर एक सय ६ रन, अर्जुन घर्तीको उच्च स्कोर अविजित ८८ रन, ईशान पाण्डेको उच्च स्कोर एक सय १४ रन र प्रज्ज्वल थापाको उच्च स्कोर ८४ रन रह्यो ।
- सर्वाधिक छक्का प्रहार गर्ने दीपेन्द्र ऐरी
यसपटक प्रधानमन्त्री कपमा नेपाल पुलिस क्लबका दीपेन्द्रसिंह ऐरी सर्वाधिक छक्का प्रहार गर्ने ब्याट्सम्यान बने । उनले १० खेलको नौ पालीमा कुल १५ वटा चौका प्रहार गरे । यो सूचिमा सुदूरपश्चिम प्रदेशका किरण ठगुन्ना दोस्रो स्थानमा रहे । उनले नौ खेलमा १४ वटा छक्का हिर्काए ।
यो सूचिमा एपीएफ क्लबका लोकेश बम तेस्रो स्थानमा रहे । उनले नौ खेलमा १३ छक्का हिर्काएका थिए । कर्णाली प्रदेशका अर्जुन घर्ती र मधेस प्रदेशका रुपेश सिंहले नौ–नौ खेलमा नौ–नौवटा चौका प्रहार गरे ।
- टेक रावत सर्वाधिक सफल विकेटकिपर
सुदूरपश्चिम प्रदेशका टेक रावत सर्वाधिक सफल विकेटकिपर बने । विकेटकिपरको भूमिकामा उनले विभिन्न टोलीका १६ ब्याट्सम्यानलाई पेभेलियन फर्काए । उनले ११ वटा क्याच लिए भने पाँच ब्याट्सम्यानलाई स्टम्पिङ गरेका थिए ।
यो सूचिमा कोशी प्रदेशका विकेटकिपर चिराग साह तेस्रो र लुम्बिनी प्रदेशका विकेटकिपर प्रज्ज्वल थापा तेस्रो स्थानमा रहे । उनीहरूले १३–१३ ब्याट्सम्यानलाई पेभेलियन फर्काए । चिरागले १२ वटा क्याच लिए भने एक ब्याट्सम्यानलाई स्टम्पिङ गरे । प्रज्ज्वलले सातवटा क्याच लिए भने ६ ब्याट्सम्यानलाई स्टम्पिङ गरे ।
- कर्णालीका प्रकाश जैसीले लिए १० क्याच
प्रधानमन्त्री कप क्रिकेटको यो संस्करणमा कर्णाली प्रदेशका प्रकाश जैसी सबैभन्दा बढी क्याच लिने फिल्डर बने । उनले नौ खेलमा कुल १० वटा क्याच लिए । यो सूचिमा दोस्रो स्थानमा रहेको बागमती प्रदेशका सूर्य तामाङले नौ खेलमा नौवटा क्याच लिए ।
यसैगरी, सर्वाधिक क्याच लिने फिल्डरको सूचिमा तेस्रो स्थानमा रहेका मधेस प्रदेशका पवन सर्राफ र चौथो स्थानमा रहेका पुलिस क्लबका आरिफ शेखले आठ–वटा क्याच लिए । पवन सर्राफले एकै खेलमा चारवटा क्याचसमेत लिएका थिए । पवन सर्राफसँगै कोशी प्रदेशका समीर कार्की एउटै खेलमा सर्वाधिक क्याच लिने फिल्डर बने । समिरले पनि एउटै खेलमा चारवटा क्याच लिएका थिए ।
- आशुतोष र शुभबिच सबैभन्दा ठुलो साझेदारी
बागमती प्रदेशका आशुतोष घिरैया र शुभ कंसाकार एउटै खेलमा सबैभन्दा बढी रन साझेदारी गर्ने ब्याट्सम्यान बने । आशुतोष र शुभले सुदूरपश्चिम प्रदेशविरुद्धको खेलमा दोस्रो विकेटका लागि एक सय ३२ रनको साझेदारी गरेका थिए ।
यो सूचिमा दोस्रो स्थानमा एपीएफ क्लबका लोकेश बम र आसिफ शेख रहे । लोकेश बम र आसिफ शेखले गण्डकी प्रदेशविरुद्धको खेलमा पहिलो विकेटका लागि एक सय २५ रनको साझेदारी गरे । यो सूचिको तेस्रो स्थानमा रहेका पुलिस क्लबका कुशल भुर्तेल र अमित श्रेष्ठले बागमती प्रदेशविरुद्ध पहिलो विकेटका लागि एक सय २४ रनको साझेदारी गरेका थिए ।
- चार ब्याट्सम्यान तीन–तीनपटक ‘डक आउट’
प्रधानमन्त्री कपको यो संस्करणमा विभिन्न टोलीका चार ब्याट्सम्यान सर्वाधिक तीन–तीनपटक ‘डक आउट’ बन्न पुगे । गण्डकी प्रदेशका रोहित चन्द, कोशी प्रदेशका प्रकाश कार्की, सुदूरपश्चिम प्रदेशका मिलन बोहरा र गण्डकी प्रदेशका दिपक डुम्रे तीन–तीनपटक शून्य रनमै पभेलियन फर्किएका हुन् ।
- एकै पालीमा ५० अतिरिक्त रन
प्रधानमन्त्री कपको यो संस्करणमा एउटै पालीमा सबैभन्दा बढी अतिरिक्त रन खर्चने टोली बागमती प्रदेश हो । बागमती प्रदेशले एपीएफ क्लबविरुद्धको खेलमा ५० रन अतिरिक्त रूपमा दिएको थियो । यो सूचिमा दोस्रो र तेस्रो स्थानमा पनि बागमती प्रदेश नै छ ।
बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशविरुद्ध ३६ र आर्मी क्लबविरुद्ध ३५ रन अतिरिक्त रूपमा खर्चिएको थियो । एपीएफ क्लबले पनि गण्डकी प्रदेशविरुद्ध ३५ रन अतिरिक्त रूपमा खर्चिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन
-
१० बजे १० समाचार : तीनकुने घटनामा प्रहरीको चुकदेखि बालेनको अल्टिमेटमसम्म