बागमती प्रदेशसभा सञ्चालन गर्न सर्वदलीय बैठक आह्वान

हेटौँडा । बागमती प्रदेशसभाको बैठक सञ्चालनको लागि सर्वदलीय बैठक आह्वान गरिएको छ ।
प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले चैत १८ गतेका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् ।
बैठक अपराह्नन ४ः३० बजे प्रदेशसभा सचिवालयमा बस्ने तय गरिएको हो । पछिल्लो राजनीतिक घटनाक्रम र प्रदेशसभा सञ्चालनका विषय टुंग्याउन बैठक आह्वान गरिएको पाठकले बताए । विगतका सहमति, पछिल्लो समय प्रदेश सरकारका कामकाज तथा हालै विकसित राजनीतिक घटनाक्रमबारे छलफल गरेर अघि बढ्ने तयारी गरिएको उनको भनाइ छ ।
उनका अनुसार सत्तापक्ष र प्रतिपक्षबिच राजनीतिक सहमति कार्यान्वयनका सवालमा छलफल गर्न पनि सर्वदलीय बैठक आह्वान गरिएको उनले बताए । उक्त बैठकले प्रदेशसभाको चैत १९ गते बस्ने बैठकका कार्यसूचीका विषयमा पनि निर्णय गर्ने सभामुख पाठकको भनाइ छ ।
‘केही समयपछि बैठक बस्ने तय भएकाले छलफल गर्न तयारी भएको हो । बैठकका लागि प्रदेशसभाका सात वटै दललाई पत्राचार भएको छ,’ उनले भने, ‘संसद् बैठकअघि केही असहमति, एजेन्डाका विषयमा छलफल गर्न उक्त सर्वदतीय बैठक महत्वपूर्ण हुने भएकाले आह्वान गरिएको हो । सत्तापक्ष र प्रतिपक्ष बचिका इस्युहरूलाई पनि समेट्ने गरी छलफल हुनेछ ।'
विकसित राजनीतिक घटनाक्रममा दलहरूको धारणा बुझेर संसदको कार्यसूची र सञ्चालनको विषय निचोडमा पुग्ने उनले बताए । संसद् बैठक सञ्चालनका लागि हालसम्म कुनै असहज अवस्था नरहेको पनि उनले बताए ।
सरकारको स्पष्ट धारणाविना बैठक चल्दैनः नेता जम्कट्टेल
प्रदेशसभाको प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले सरकारका पछिल्ला गतिविधिका विषयमा स्पष्ट धारणा नआएसम्म बैठक चल्न नसक्ने बताएका छन् । उनले सरकारको गतिविधि र मन्त्रीहरूका कामका विषयमा सरकारले चित्तबुझ्दो जवाफ नदिए हाउस चल्न नसक्ने चेतावनी दिए ।
प्रदेशका निवमर्तमान मुख्यमन्त्री समेत रहेका नेता जम्कट्टेलले विगतमा प्रतिपक्ष दलहरूसंग गरेका सहमती र मन्त्रीको स्वकीयको आत्महत्याका विषयमा सरकारको जवाफ आउनुपर्ने बताए । उनका अनुसार मन्त्रीहरू र मन्त्रीका स्वकीयको मर्यादाका विषयमा सरकारले गैरजिम्मेवार बनेको छ । सरकारले मन्त्रीहरूलाई जवाफदेही र जिम्मेवार बनाउन नसक्दा सहकारी ठगीमा संलग्न हुनेगरी अडियो रेकर्डहरू सार्वजनिक भएको उनले बताए ।
सहकारी ठगी केसमा मन्त्रीको स्वकीय जोडिएको अडियो सार्वजनिक भएको विषयमा सरकारले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ । उक्त विषयमा सरकारले स्पष्ट जवाफ नदिएसम्म संसद बैठक चल्न नसक्ने नेता जम्कट्टेलले बताए । सरकारको धारणा अनुसार संसद सञ्चालनको निर्णय लिने उनले बताए । सरकार प्रतिपक्षलाई वेवास्ता गर्दै अघि बढेको र कुनै पनि समन्वय नगरेको उनले आरोप लगाए । जसका कारण संसद् सञ्चालनको विषय सहज नरहेको उनले बताए ।
सहज वातावरण बन्छः मुख्यमन्त्री लामा
प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले भने संसद् सञ्चालनका लागि सहज वातावरण तयार गर्नुपर्ने बताएका छन् । प्रतिपक्ष र सरकारबिच राजनीतिक विषयलाई छलफलका माध्यमबाट समाधान गरेर हाउस सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।
सोही रणनीतिअनुसार सर्वदलीय बैठकका माध्यमबाट संसद् चलाउने वातावरण तयार गर्न सरकार प्रयत्नरत रहेको उनको भना थियो । विगतमा प्रतिपक्षले उठाएका विषय पनि सरकरले क्रमशः सम्बोधन गर्दै अघि बढेको उनले बताए । बजेट कार्यक्रमका विषय पनि क्रमिक रुपमा सन्तुलित बनाउँदै लगिएको उनले बताए । केही विषय समेट्ने चरणमा रहेकाले प्रतिपक्षले संसद् बैठक नै रोक्ने अवस्था नरहेको मुख्यमन्त्री लामाको भनाइ थियो ।
राजनीतिक मुद्दाका विषयमा भने अन्य फोरममा छलफल गरेर अघि बढ्नुपर्ने उनले बताए । राजनीतिक दलहरूका विचार सिद्धान्तका मुद्दा प्रदेशको क्षेत्रमा नपर्ने भएकाले सहज वातावरण तयार गर्नुपर्ने उनले बताए ।