बिहीबार, २१ चैत २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध

आइतबार, १७ चैत २०८१, २१ : १८
आइतबार, १७ चैत २०८१

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक निर्धारित कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ । 

बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी दलका प्रदेशसभा सदस्यले आ–आफ्नो आसनबाट उभिएर अवरोध गरेपछि कार्यसूचीमा प्रवेश नगरी बैठक अवरुद्ध हुन पुगेको हो । अवरोधका बीच सभामुखको अनुमतिमा प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सदस्य खेमादेवी विष्टले आफ्नो धारणा राख्दै सुशासन कायम राख्न र नियमविपरीत गरिएका राजनीतिक नियुक्तिका सवालमा सरकारले जवाफ दिनुपर्ने माग गरेकी थिइन् ।

उनले दिगो वन व्यवस्थापनसम्बन्धी विधेयक तयारीका क्रममा वन मन्त्रीबाट आर्थिक चलखेल भएको भनेर सार्वजनिक भएको श्रव्य सामग्रीको घटनाबारे सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन समिति गठनको मागसमेत गरिन् । उक्त सामग्री सार्वजनिक भएको घटनामा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीले शनिबार पदबाट राजीनामा दिएका थिए । 

विष्टले धारणा राखिसकेपछि पनि प्रतिपक्षी दलका सदस्यले अवरोध जारी राखेका कारण सभामुख भीमबहादुर भण्डारीले आजको बैठकको पूर्वनिर्धारित कार्यसूची हटाई अर्को सूचना प्रकाशित नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी गराएका थिए ।   

प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा र स्वतन्त्र सदस्यले प्रदेशसभाको बैठक अवरुद्ध गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप