मङ्गलबार, १९ चैत २०८१
ताजा लोकप्रिय

राजा फर्काउने अभियानले एकै मिनेटमा गलत बाटो लिएपछि...

आइतबार, १७ चैत २०८१, १९ : ०२
आइतबार, १७ चैत २०८१

गोपालप्रसाद रिमालको कविता छ, एक युगमा एक दिन एकपटक आउँछ । नेपालको राजनीतिक इतिहासमा सबैभन्दा धेरैपटक प्रधानमन्त्री भएका र गणतान्त्रिक आन्दोलनको नेतृत्व गरेका गिरिजाप्रसाद कोइरालाले उपरोक्त वाक्यांश बोलिरहनुहुन्थ्यो । उहाँले नेपालमा गणतन्त्र घोषणा भएको दिन, विस्तृत शान्ति सम्झौता हस्ताक्षर भएको दिन लगायत केही विशेष दिनका सम्बोधनमा यो वाक्यांश दोहोर्‍याउने गर्नुभएको थियो ।

यस्तै एक युगमा एकपटक अर्को एउटा महत्त्वपूर्ण दिन आयो गएको शुक्रबार, अर्थात् २०८१ साल चैत्र १५ गते । देशमा राजा फर्काउने भनेर भएको आन्दोलन सुरु नहुँदै अराजक बन्यो । धन र जनको क्षतिमा उकासियो । लुटपाट, आगजनी तथा व्यक्तिका सम्पत्ति विनाशमा अनियन्त्रित भिड ओर्लियो । त्यसले पत्रकार र सर्वसाधारण लगायतको ज्यान लियो, आततायी गतिविधिमा रमायो, ताण्डव देखायो र सेलायो । नेपालमा राजतन्त्रको पुनस्र्थापनाको सम्भावनालाई चिर अन्त्य गर्‍यो, सधैँका लागि यसको बहसलाई बन्द गरिदियो । आम मानिसलाई राजतन्त्रको रूप कस्तो हुन्छ भन्ने एउटा नमुना देखायो । अहिलेको जनसंख्याको ठुलो अनुपात राजतन्त्र नभोगेको थियो । सबैलाई बुझाइदियो कि के हो राजाको शासन भनेर । 

तर अहिलेको पुस्ता उपरोक्त कविताको हरफरसँग खासै परिचित छैन । इतिहासप्रति तुलनात्मक रूपमा अरुचि राख्ने र सामाजिक सञ्जालमा अभ्यस्त अहिलेको जेनजीले धेरै सुनेको वाक्यांशचाहिँ अर्कै छ । त्यो हो, चर्चित गायक दुर्गेश थापाको गीत– हामी हेरेको हेरै, हाम्रो दुश्मन छन् धेरै, कता हिँडेको हट भएर, पट भएर’ । यद्यपि यो पुस्तालाई पनि त्यो शुक्रबारले राम्रै मसला दियो । सायद यसलाई थापाको लयमा यसरी प्रस्तुत गर्दा हुन सक्छ ः बिचरा, पूर्वराजा : हेरेको हेरै, चिल्ड भएर । 

उनको आशा के थियो, जीवनको उत्तरार्धमा राजा बन्ने लोभ किन पलायो ? राजा हुन नजन्मिएको एउटा व्यक्ति भाग्यवश दुई–दुईपटक राजा भइसकेको अवस्था थियो । सायद विद्यमान नेताका थुप्रै अकर्मण्यताले चिढिएको ‘मास’लाई उनी भजाउन चाहन्थे । पोखराबाट फर्कंदा पाएको स्वागतले पुलकित थिए । आसेपासे र भजनमण्डलीले गाएका स्तुतिबाट मोहित बने । राजतन्त्र आउने रहेछ, तेस्रोपटक पनि राजा हुने रहेछु भन्ने लाग्यो होला । अनन्त आशा र अभिलाषा राखेको एउटा अभियानले एकै मिनेटमा गलत बाटो लियो । उनको पनि आशय र उद्देश्य यस्तो बबन्डर होस् भन्ने त थिएन होला । तर बिचरा पूर्वराजा, के नै गर्न सक्थे र ! हेरेको हेरै भए, चिल्ड भएर, सायद दुर्गा प्रसाईंप्रति क्रोधित भएर । दुर्गा प्रसाई कता हिँडे, फरार भएर ।

हरेक निर्णायक अवस्थामा संख्या एकको महत्त्वपूर्ण भूमिका हुन्छ । सय डिग्रीमा पानी उम्लन्छ, ९९ मा उम्लँदैन, शून्य डिग्रीमा पानी जम्छ, १ मा जम्दैन । सहकारीको प्रतिवेदनमा एउटा वाक्यांश थपिएका कारण रवि लामिछाने अनुसन्धानमा तानिए । अदालतका अन्तरिम आदेशमा एउटा शब्द घुसाइएका कारण उनी विभिन्न अदालतमा फेरी लगाउँदै छन् । एउटा गलत मान्छेको एउटा गलत कदमका कारण निकै माहोल बनाइसकेको राजावादी आन्दोलन चिरकालका लागि मृत्युशय्यामा पुग्यो । थुप्रै व्यक्ति राजसंस्थाप्रति नरम हुन थालेका थिए, कतै यसलाई स्पेस दिनुपर्छ कि भन्ने मन्थन गर्दै थिए । देशमा एउटा अराजनीतिक शीर्ष शक्ति हँुदा राजनीति सन्तुलित बन्छ कि भन्ने बहस उठ्दै थियो । के हो, कसो हो भन्नेमा मानिसहरू दुविधामा थिए । तर एउटा खलनायकको एक मिनेटको अराजक गतिविधिले अहिलेसम्मको सकारात्मक माहोल भयंकर दुर्घटनामा पर्‍यो, अझ भनौँ ‘स्पट डेथ’ भयो । मानिसहरू पूर्वराजालाई जिम्मेवार बनाउनुपर्ने, कारबाहीको दायरामा ल्याउनुपर्ने पो भन्न थाले । महानगरले जरिवाना नै तोक्यो । श्रीपेच लगाउँला भन्ने आशा राख्दाराख्दै हतकडी लाग्ला कि जस्तो माहोल बन्यो । त्यसैले त भन्नुपरेको हो, बिचरा, पूर्वराजा ः हेरेको हेरै– चिल्ड भएर । 


दुर्गा प्रसाईंजस्तो व्यक्ति बोकेर राजसंस्था पुनस्र्थापनाको अभिलाषा राख्नु नै गलत थियो । अहिलेको राजनीतिलाई सिद्घान्त, वाद अथवा विचारधाराले त दिशा निर्देश गर्दैन, उनीबाट कसरी होस् ? हुन त पूर्वराजाले गलत मानिस छानेको यो पहिलोपटक होइन, पटक–पटक हो । 

  • पोखराबाट फर्कंदा पाएको स्वागतले पुलकित थिए । आसेपासे र भजनमण्डलीले गाएका स्तुतिबाट मोहित बने । राजतन्त्र आउने रहेछ, तेस्रोपटक पनि राजा हुने रहेछु भन्ने लाग्यो होला । अनन्त आशा र अभिलाषा राखेको एउटा अभियानले एकै मिनेटमा गलत बाटो लियो ।


हामीकहाँ एक करोड ८० लाख भोटर छन्, ४० लाख विदेशमा बस्छन् । एक करोड ४० लाख यही छन् । अघिल्लो निर्वाचनमा लगभग ६५ प्रतिशत मात्र मतदान हुँदा पनि एक करोड सात लाख आसपास जम्मा मत खसेको हो । यीमध्ये ३० लाख जति विभिन्न दलका संगठित मतदाता र पूर्णकालीन सदस्य हुन् । अन्य एक करोड २० लाख कसैका पनि होइनन् । यस्तो समूहलाई ‘स्विङ भोट’ भनिन्छ । उनीहरू वाद जान्दैनन्, सिद्घान्त जान्दैनन्, कुनै दलसँग जोडिनुपर्छ भन्ने मान्दै मान्दैनन् । त्यसैले दलप्रतिको आशा–भरोसाको ग्राफ खस्कँदो छ । २०७९ को आम निर्वाचनमा २०७४ को भन्दा झन्डै १० लाख बढी मतदान भएको थियो । तर ठुला दलहरूले पाएको लोकप्रिय मत २०७४ को भन्दा पनि झन्डै १० लाखले कम भयो । अहिलेको पुस्ता केवल व्यक्ति जान्दछन्, राम्रा व्यक्तिलाई साथ दिनुपर्छ भन्ने ठान्दछन् । समाजवाद, साम्यवाद, पुँजीवाद, राजतन्त्र अथवा गणतन्त्र जस्ता शब्दमा उनीहरू लय र संगीत राख्दैनन् । व्यक्तिको आचरण र क्षमतालाई विश्वास गर्छन्, सक्षम तथा सबल व्यक्ति हेर्छन् । पछिल्लोपटक राजनीतिमा दलभन्दा व्यक्ति लोकप्रिय बन्ने प्रचलन नै छ । रविको उदय यही परिस्थितिको नजिर हो । बालेन, हर्क र गोपीहरूमाथि आम मानिसको अपेक्षा बढेको छ । 

अहिलेको पुस्ता केवल व्यक्ति जान्दछन्, राम्रा व्यक्तिलाई साथ दिनुपर्छ भन्ने ठान्दछन् । समाजवाद, साम्यवाद, पुँजीवाद, राजतन्त्र अथवा गणतन्त्र जस्ता शब्दमा उनीहरू लय र संगीत राख्दैनन् । व्यक्तिको आचरण र क्षमतालाई विश्वास गर्छन्, सक्षम तथा सबल व्यक्ति हेर्छन् ।


त्यसैले राम्रा व्यक्तिहरूको समूह नै बनाएर जसले एकैपटक प्रक्षेपण गर्छ, त्यही नै राजनीतिमा सफल हुन्छ । राजावादी वा अबको राजनीतिमा आफ्नो वर्चस्व देख्ने सबैले यही पद्घति अपनाए मात्र सफलता हात लाग्छ । जसलाई ‘मेरिटोक्रेटिक मेघालन्च’को नाममा राजनीतिमा शिरोपर गरिन्छ । तर यहाँ एउटा व्यक्ति हाबी हुने र आफूलाई भगवान् अथवा मसिहा बनाउने गलत मनसायका कारण राजनीति खस्कँदो छ । नागरिकमा अविश्वास तथा आक्रोश बढ्दो छ । आजकाल मानिसले अरूलाई मानिस त खासै मान्दैन, भगवान कसरी ठानोस् । आफूलाई राजावादी भन्ने र राजा फर्काउन चाहनेहरू पनि यसै जालोमा फसे । समाजबाट हजाराँैको संख्यामा काबिल, योग्य, दक्ष, विज्ञ, प्रभावी, अनुभवी, युवा, प्राविधिक लगायतको समूह निर्माण गरेर देश विकासको ब्लु प्रिन्ट बनाई नागरिकको साथ माग्नबाट चुके । केवल चलचित्रको शैलीमा एउटा पात्रलाई स्थापित गर्न खोजे । त्यो न सम्भव थियो, न त स्वीकार्य । 

एउटा शौचालय बनाउन त चारजना मान्छे चाहिन्छ, देश बनाउन भनेर एउटा मान्छेको प्रक्षेपण हास्यास्पद छ । राजावादीलाई मात्र होइन, सबै वादी र दलहरूलाई । कम्तीमा १० हजार अब्बल र काबिल व्यक्तिको सामूहिक सूची र प्रक्षेपित जिम्मेवारीसहित कोही राजनीतिमा आयो भने त्यसलाई हेर्नु स्वाभाविक होला । अरूका गफमाथि नागरिकलाई विश्वास छैन, न पूर्वराजा, न त दुर्गा प्रसाईं अथवा अरु कोही । अहिले सायद पूर्वराजा र उनका आसेपासे पुर्पुरोमा हात लगाउँदै बसेका होलान् । इतिहासले भूमिका फेरिदियो, प्रचण्ड शान्तिका र ज्ञानेन्द्र हिंसाका अगुवा बने । उदीतनारायणले गाएको गीत, डेडिकेटेड टु, ज्ञानेन्द्र शाह : के सोचेथेँ जिन्दगीमा के के भयो आज... ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. अतीन्द्र दाहाल
डा. अतीन्द्र दाहाल
लेखकबाट थप