मङ्गलबार, १९ चैत २०८१
ताजा लोकप्रिय

गभर्नर अधिकारी भन्छन्- ‘पाँच वर्षे कार्यकाल चुनौती पूर्ण रह्यो’

आइतबार, १७ चैत २०८१, १८ : ०२
आइतबार, १७ चैत २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले पाँचवर्षे कार्यकाल चुनौती पूर्ण रहेको बताएका छन् । राष्ट्र बैङ्क र नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को सहकार्यमा काठमाडौँमा आयोजित दुई दिने अन्तरक्रिया कार्यक्रमको आइतबार उद्घाटन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । गभर्नर अधिकारीले चुनौतीपूर्ण समयमा पनि राष्ट्र बैङ्कको स्वायत्ततालाई कायम राख्न सफल भएको उल्लेख गरे । पाँच वर्षे कार्यकालमा केही असहज स्थिति फेस गर्नु परेको उनको भनाई थियो । 

‘यो पदमा बसिरहँदा गभर्नरको हैसियतले मैले साथीहरूलाई सम्बोधन गर्न पाइरहेको छु । यो अवसरका लागि अभार छ । आर्थिक पत्रकार तथा सबै जसो सञ्चारकर्मी साथीहरूले मेरो पाँच वर्षे कार्यकालको अवधिमा धेरै महत्त्वपूर्ण योगदान दिनुभयो ।,‘ 

गभर्नर अधिकारीले भने,‘ कुनै बेला अलिकति असहज स्थितिहरू फेस गरियो । चुनौतीपूर्ण समयमा पनि राष्ट्र बैङ्कको स्वायत्ततालाई कायम राख्न, राष्ट्र बैङ्कको प्रतिष्ठालाई कायम गर्नलाई सञ्चार क्षेत्रको पनि भूमिका पनि मेरो लागि अविस्मरणीय छ । र, सबैमा म आभार व्यक्त गर्न चाहन्छु ।’

उनले वित्तीय क्षेत्रको संवेदनशीलतालाई बुझेर अगाडि बढ्न आवश्यक रहेको बताए । ‘वित्तीय क्षेत्र एकदमै संवेदनशील छ । तर, कतिपयले यो संवेदनशीलता बुझ्दैनन्, त्यसले गर्दा नागरिकमा नकारात्मक धारणा पनि पैदा हुने गरेको छ,’ गभर्नर अधिकारीले भने, ‘तसर्थ, सञ्चारमाध्यमले पनि सत्य र तथ्यमा आधारित भई समाचार सम्प्रेषण गर्नुपर्छ ।’

सही सूचना सम्प्रेषण होस् र गलत सूचना प्रवाह नहोस् भनेर केन्द्रीय बैङ्कले विविध कार्यक्रम गर्दै आएको उनको भनाइ छ । गभर्नर पदमा रहँदा सहज तथा असहज दुवै परिस्थितिमा सञ्चार माध्यमले सहयोग गरेको भन्दै उनले धन्यवाद पनि ज्ञापन गरे । 

‘अर्थतन्त्रमा आर्थिक पत्रकारको भूमिका महत्त्वपूर्ण हुन्छ । पत्रकारले आर्थिक तथा वित्तीय सूचनाहरू सम्प्रेषण गरेअनुसार नागरिकले धारणा बनाउँछन् । पत्रकारले बुझेको कुरा सही भएमा सूचना पनि सही जान्छ,’ गभर्नर अधिकारीले भने, ‘केन्द्रीय बैङ्कले सार्वजनिक गर्ने तथ्याङ्कहरू कसरी लिन्छ ? सार्वजनिक भएको तथ्याङ्क कहिले सम्मको हो ? यस्ता सबै विषयको जानकारी लिएर त्यसको व्याख्या र विश्लेषण गर्नुपर्छ ।’

उनले सही सूचना प्रवाह गरेको खण्डमा नागरिकले आवश्यकता अनुसार सही निर्णय लिने तथा योजना बनाउन सहयोग गर्ने बताए । अहिले सामाजिक सञ्जालमा प्रस्तुत हुने छोटो छोटो सामाग्रीले पनि बजारमा धेरै प्रभाव पार्ने भएकाले सही सूचना प्रवाह आवश्यक भएको बताए। पाँच वर्षे कार्यकालको चुनौतीपूर्ण समयमा राष्ट्र बैङ्कको स्वायत्ततालाई कायम राख्न सफल भए । 

अन्तरक्रिया कार्यक्रमको उद्घाटन सत्रमा राष्ट्र बैङ्कका कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरेले वित्तीय क्षेत्र नागरिकको विश्वाससँग जोडिएको विषय भएको बताए । 

‘वित्तीय क्षेत्र अन्य क्षेत्रभन्दा बढी संवेदनशील क्षेत्र हो । यो नागरिकको विश्वाससँग जोडिएको विषय हो । नागरिकमा यसको विश्वास रहेन भने समग्र आर्थिक वित्तीय क्षेत्रमा असर पुर्‍याउँदछ,’ घिमिरेले भने, ‘आर्थिक तथा वित्तीय क्षेत्रमा रहको विषयमा सत्य तथ्य जानकारी बाहिर ल्याएको खण्डमा त्यसले केन्द्रीय बैङ्कलाई पनि सहयोग गर्नेछ ।’

नाफिज अध्यक्ष मेनुका कार्कीले यस्ता कार्यक्रमले आर्थिक पत्रकार क्षमता अभिवृद्धि गर्न सहयोग पुगेको बताइन् । आगामी दिनमा पनि नाफिजले विभिन्न सरोकारवाला निकायहरूसँग मिलेर यस्तो कार्यक्रम आयोजना गर्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप