मङ्गलबार, १९ चैत २०८१
ताजा लोकप्रिय

जङ्गलमा चिहान सफा गर्न गएका पुरुषले लगाएका थिए दक्षिण कोरियाको जङ्गलमा आगो

आइतबार, १७ चैत २०८१, १६ : २४
आइतबार, १७ चैत २०८१

सोल ।  दक्षिण कोरियाको दक्षिणी भागको जङ्गलमा डढेलोको कारण पत्ता लागेको छ । डढेलोको कारण खोज्ने क्रममा प्रहरीले ५६ वर्षको एक पुरुषलाई सन्दिग्धको पहिचान गरेको हो । 

आफ्ना आफन्तहरूको चिहान सफा गर्ने क्रममा ती पुरुषले चिहानमाथि झुन्डिएका रूखका हाँगाहरू चुरोटको लाइटरले जलाएका थिए । तेज हावाका कारण आगोको ज्वाला बढ्यो र सम्पूर्ण जङ्गल नै यसको चपेटामा पर्‍यो । प्रहरीले ती पुरुषविरुद्ध मुद्दा दर्ता गरेको छ । तर पक्राउ गरेको छैन । सोधपुछका लागि भने बोलाइँदैछ । आफूमाथिको अभियोग ती पुरुषले अस्वीकार गरेका छन् । 

दक्षिण कोरियामा डढेलो फैलिएको ९ दिन भयो । यसमा परेर अहिलेसम्म ३० जनाको मृत्यु भइसकेको छ । आगोले ३०० भन्दा बढी भवन र अन्य संरचनाहरू ध्वस्त पारेको छन् । डढेलोका कारण ४८ हजार हेक्टर क्षेत्रफल नष्ट भएको छ । उत्तरी ग्योङसाङको उइसोङ क्षेत्र सबैभन्दा बढी प्रभावित भएको प्रहरीले जनाएको छ ।

अनुसन्धानकर्ताहरूले सन्दिग्धकी छोरीसँग पनि सोधपुछ गरेका थिए । मार्च २२ मा, आफ्ना हजुरबुबा हजुर आमाको चिहान सफा गर्ने क्रममा आफ्नो बुबाले चुरोटको ठुटोले  चिहानमाथि झुन्डिएका रूखका हाँगाहरू जलाउने प्रयास गरेको उनले बताइन् । यसपछि हावासँगै द्रुत गतिमा आगो फैलियो र जङ्गलभरि आगो सल्कियो । 

प्रहरीले सन्दिग्ध र उनकी छोरी दुवैको पहिचान गोप्य राखेको छ । दक्षिण कोरियाको यो अहिलेसम्मकै सबैभन्दा ठुलो आगलागी मानिएको छ । मृत्यु हुनेमा एक पाइलट पनि रहेको अधिकारीहरूले बताएका छन् । आगो नियन्त्रण गर्ने प्रयास गर्दा पाइलट सवार हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो । आगो निभाउने क्रममा चार जना अग्नि नियन्त्रक र अन्य कामदारहरूको पनि आगोमा फसेर मृत्यु भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप