मङ्गलबार, १९ चैत २०८१
ताजा लोकप्रिय

पशुपन्छी खोपमा भ्रष्टाचार : मर्चवारीका शाखा प्रमुखविरुद्ध मुद्दा दायर

आइतबार, १७ चैत २०८१, १५ : ०९
आइतबार, १७ चैत २०८१

काठमाडौँ । रुपन्देहीको मर्चवारी गाउँपालिकाका पशु शाखा प्रमुख रामचन्द्र भुसालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको  छ । आर्थिक वर्ष २०७९/८० को योजना बमोजिम पशुपन्छीलाई खोप तथा औषधि वितरण कार्यक्रम सञ्चालनका लागि बुद्ध भेट सेन्टर तथा उक्त भेट सेन्टरका प्रोप्राइटर लक्ष्मी बस्यालबाट  ४ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले आइतबार विशेष अदालतमा अभियोगपत्र दर्ता गरेको हो ।

भुसालले कार्यक्रम सञ्चालनका लागि उक्त भेट सेन्टरकी लक्ष्मी बस्यालबाट कार्यक्रम प्राप्त गर्न, प्रगति प्रतिवेदन पेस गर्न, भुक्तानीको सिफारिस लगायतको सहजीकरण गरिदिएबापत ४ लाख रुपैयाँ लिएको आरोप छ । भ्रष्टाचारको उजुरीमाथि छानबिन गर्दा बुद्ध भेट सेन्टरको बैङ्क खाताबाट चार लाख रुपैयाँ प्रमुखले घुस लिएको पुष्टि भएपछि विशेषमा अभियोगपत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जनाएका छन् ।

उनीविरुद्ध चार लाख रुपैयाँ बिगो दाबी र भ्रष्टाचार निवारण ऐन २०५९ (पहिलो संशोधन) को दफा ३ उपदफा १ बमोजिम ६ महिनादेखि १ वर्ष ६ महिनासम्म कैद सजायको माग गरिएको छ ।  यस्तै बुद्ध भेट सेन्टरकी प्रोप्राइटर बस्यालले खोप कार्यक्रम प्राप्त गर्न ४ लाख रुपैयाँ दिएको कसुरमा शाखा प्रमुख भुषाल बराबरकै कैद र बिगो दाबी गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप