डजबाट राजीनामा दिँदैछन् मस्क ?

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा खर्बपति व्यापारी एलन मस्कले मे महिनाको अन्त्यसम्ममा सरकारी खर्च कटौती गर्न र प्रशासनलाई चुस्त बनाउने जिम्मा पाएको संस्था डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी (डज) बाट राजीनामा दिनसक्ने सङ्केत गरेका छन् । मस्कका अनुसार उनको टोलीले अहिलेसम्म अमेरिकी घाटा १० खर्ब डलरले घटाइसकेको छ । यो कटौतीपछि कुल सङ्घीय खर्च ६० खर्ब डलर नजिक पुगेको छ ।
मस्क र उनका धेरै वरिष्ठ सहकर्मीहरू एक मिडिया हाउसद्वारा आयोजित कार्यक्रममा उपस्थित भएका थिए । यहाँ उनीहरूले अमेरिकाको आर्थिक अवस्था सुधार गर्न र सङ्घीय घाटा आधा गर्न चालिएका कदमहरूबारे छलफल गरेका थिए । डोनाल्ड ट्रम्पको विशेष सल्लाहकारको रूपमा सरकारी खर्च कटौती गर्ने भूमिका खेल्दै आएका मस्कले मिडियासँग कुरा गर्दै अब आफ्नो काम सकिएको बताए ।
उनको टोलीले हरेक दिन औसतमा ४ अर्ब डलर बचत गरिरहेको र लगभग १३० दिनमा एक ट्रिलियन डलर बचत गर्ने लक्ष्य हासिल गरेको उनको भनाइ थियो । यो प्रयास सफल नभएको भए अमेरिकाको आर्थिक अवस्था ध्वस्त हुनसक्ने पनि उनले बताए । उनकाअनुसार डजको काम मे महिनाको अन्त्यसम्ममा पूरा हुनसक्छ ।
टेस्लाविरुद्ध प्रदर्शनबिच मस्कको यो भनाई आएको हो । डज प्रमुख बनेर मस्कले सरकारी खर्च घटाउने र कर्मचारी निकाल्ने काम गर्न थालेदेखि अमेरिकामा टेस्लामाथि आक्रमण बढेको छ । यसैबिचमा मस्कले डजबाट आफ्नो राजीनामाको कुरा गरेका छन् । हालैका दिनमा टेस्लाको शेयर मूल्य घटिरहेको छ ।
गत महिना कम्पनीको शेयर मूल्यमा पहिरो गएको थियो । गएको सोमबार कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको थियो । त्यतिबेला अस्टिनमा टेस्लाका कर्मचारीहरूसँग कुरा गर्दै मस्कले स्वीकार आफू कयौँ काममा अल्झिरहेको र यतिबेला आफूसँग १७ वटा फरक–फरक जिम्मेवारीहरू भएको बताएका थिए ।