मङ्गलबार, १९ चैत २०८१
ताजा लोकप्रिय
राजनीति

पूर्वराजा ज्ञानेन्द्रबारे रास्वपाका दुई निष्कर्ष

आइतबार, १७ चैत २०८१, १२ : ३९
आइतबार, १७ चैत २०८१

काठमाडौँ । विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले पूर्वराजा ज्ञानेन्द्र शाह दुई पटक असफल भएको निष्कर्ष निकालेको छ । शुक्रवार तीनकुनेमा राजावादीले गरेको प्रदर्शन हिंसात्मक भएपछि शनिवार बसेको रास्वपाको सचिवालयको आकस्मिक बैठकले ज्ञानेन्द्र असफल भएको निष्कर्ष निकालेको हो ।

पहिलो बैठकले २०६१ साल माघ १९ मा ज्ञानेन्द्रले ‘कु’ गर्दा आउट डेटेड (असफल) भइसकेको व्यक्तिलाई अगाडि सार्दा २४० वर्ष लामो राजसंस्था पतन भएको निष्कर्ष निकालेको छ । दोस्रो पटक राजसंस्था पुनर्स्थापना अभियानका लागि असफल व्यक्ति सारिनुले ज्ञानेन्द्रसँग राम्रा मान्छे नरहेको प्रमाणित भएको निष्कर्ष निकालेको छ ।

‘पूर्वराजाले पहिला माघ १९ मा ‘कु’ गर्दा उहाँले जसरी आउट डेटेड व्यक्ति ल्याएर उपाध्यक्ष बनाए त्यसले राजसंस्था नै समाप्त भयो । अहिले राजसंस्था पुनर्स्थापनाका लागि पूर्वपञ्च नवराज सुवेदी र कमान्डर दुर्गा प्रसाईंलाई बनाइयो, उहाँ थप बदनाम भए । ज्ञानेन्द्रसँग राम्रा व्यक्ति छैनन् भन्ने दोस्रोपटक प्रमाणित भयो’, कार्यवाहक प्रवक्ता मनिष झाले रातोपाटीसँग भने ।

तीनकुने घटनामा जुन खालको व्यक्ति हत्या, निजी तथा सार्वजनिक सम्पत्ति तोडफोड भयो, त्यो अराजकता भएको झाले बताए । बैठकले तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा २०८१ चैत्र १५ गते घटेको घटनामा संलग्न दोषीहरूलाई कानुनी दायराभित्र ल्याई यथोचित कारबाही सुनिश्चित गर्न उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको थियो ।

पूर्वपञ्च नवराज सुवेदी संयोजक र विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं कमान्डर रहेको राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले तीनकुनेमा गरेको सभा प्रत्युत्पादक बनेपछि अहिले ज्ञानेन्द्र अप्ठेरोमा परेका छन् । सुवेदी कडा सुरक्षा निगरानीमा छन् । प्रसाईं फरार छन् ।

राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धबलशमशेर राणा र अधिवक्ता स्वागत नेपाल पक्राउ परेका छन् । उनीहरूमाथि सरकारले राज्यविरुद्धको अपराधमा मुद्दा चलाउने तयारीमा छ । राजावादीको उद्दण्डताका कारण दुई जनाको ज्यान गयो । ठुलो मात्रामा सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुगेको थियो । ज्ञानेन्द्रले माघ १९ को शाही ‘कु’ गरी दलमाथि प्रतिबन्ध लगाएका थिए । आफ्नै नेतृत्वमा गठन गरेको मन्त्रिपरिषद्मा महेन्द्रकालीन सारथी तुलसी गिरी र कीर्तिनिधि विष्टलाई उपाध्यक्ष बनाएका थिए ।

यसैगरी उनले रास्वपामाथि गणतन्त्र विरोधी भएको जसरी बाहिर प्रचार गरिएकोप्रति खण्डन गरे । २०८० मङ्सिर १० गते महोत्तरीको जलेश्वरमा बसेको पछिल्लो केन्द्रीय समिति बैठक र पार्टी दस्ताबेजको प्रस्तावनामा नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहेको स्पष्ट भएकाले शङ्का गर्नु आवश्यक नभएको झाको भनाइ छ ।

‘हामीमाथि जसरी रास्वपा गणतन्त्रवादी होइन कि भनेर भनिरहेका छन् । त्यो गलत हो । हामीले जलेश्वरमा बसेको केन्द्रीय समिति बैठकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति स्पष्ट प्रतिबद्धता जनाएका छौँ । हाम्रो राजनीतिक दस्ताबेजको प्रस्तावनामा नै प्रस्ट पारेका छौँ । कांग्रेस र एमालेलाई रास्वपा पनि गणतन्त्रवादी भयो भने हामी कर्नरमा पर्दै जान्छौँ भन्ने डर छ । पुराना पार्टी जसरी हुन्छ हामीलाई कमजोर बनाउन चाहन्छन्’, उनले भने ।

रास्वपालाई यी सबै बाहिरी र आन्तरिक भ्रमलाई चिर्दै अगाडि बढ्नुपर्ने चुनौती रहेको भन्दै भोलि(सोमबार) बस्ने केन्द्रीय समिति बैठकमा यसबारे गम्भीर छलफल गरी एउटा निष्कर्षमा पुग्ने उनले स्पष्ट पारे । यद्यपि बैठकको समय र एजेन्डाबारे छलफलमै रहेकाले एजेन्डा तय भएपछि मात्र राजनीतिक प्रतिवेदन पेस गरिने प्रवक्ता झाले जानकारी दिए ।

प्रतिवेदन सभापति रवि लामिछानेले नै पेस गर्ने गरी तयारी भएको उनले बताए । यस बैठकले नै पार्टीको राष्ट्रिय महाधिवेशन, भावी नीति, योजना र कार्यक्रम तय गर्ने झाको भनाइ छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप