मङ्गलबार, १९ चैत २०८१
ताजा लोकप्रिय
राजनीति

एकीकृत समाजवादीले ‘राजावादी हर्कत’ को देशव्यापी भण्डाफोर गर्ने

आइतबार, १७ चैत २०८१, ११ : २९
आइतबार, १७ चैत २०८१

काठमाडौँ । राजावादीहरूको चैत १५ गतेको अराजक गतिविधि आगजनी, तोडफोड र लुटपाटका घटनाको विरोधमा नेकपा एकीकृत समाजवादीले देशव्यापी भण्डाफोर र विरोध प्रदर्शन गर्ने भएको छ । 

पार्टी स्थायी कमिटी बैठकले राजावादीहरूको आतंककारी क्रियाकलापको विरोध र सरकारलाई सजग र सतर्क बन्न दबाब बढाउने उद्देश्यले भण्डाफोर र विरोध कार्यक्रम गर्न लागेको प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए । उनका अनुसार बैठकका विस्तृत निर्णयहरू आजै दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी छ । 

चैत १५ राजावादीले गरेको प्रदर्शनका क्रममा प्रदर्शनकारीहरू नेकपा एकीकृत समाजवादीको कार्यालय प्रवेश गरेर आगजनी र तोडफोड गरेका थिए । त्यसबाहेक उनीहरूले निजी घर, सरकारी कार्यालय, व्यापारिक कम्प्लेक्स र निजी सार्वजनिक सवारी साधनमा क्षति पुर्‍याएका थिए । सोही क्रममा २ जनाको ज्यान नै गएको छ ।

एकीकृत समाजवादीले पार्टी कार्यालयमा पुर्‍याएको क्षति सङ्कलन र मूल्याङ्कन गर्न उपमहासचिव तथा पार्टी कार्यालय सचिव रामकुमार भट्टराईको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । उक्त समितिले क्षतिको मूल्याङ्कन गरेर जतिसक्दो चाँडो पार्टीलाई प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको छ । 

उपमहासचिव भट्टराईले एक साताभित्र राजावादीको हर्कतको देशव्यापी विरोध र भण्डाफोर गर्न सबै जिल्ला कमिटीलाई निर्देशन दिइएको बताए । उनका अनुसार सबै जिल्ला कमिटीले एक साताभित्र आ आफ्ना अनुकूल त्यस्ता कार्यक्रम गर्न सक्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप