तीनकुने घटनासँगै राजावादीको आन्दोलन प्रभावित, राप्रपा आफ्नै तयारीमा

काठमाडौँ । शुक्रबार राजधानीको तीनकुने घटनापछि वर्तमान व्यवस्था विरोधी राजावादी समूहको प्रभावित बनेको छ । शुक्रबार राजधानीको तीनकुनेमा ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ’ महाभियानसहितका राजावादी समूहले राजा फर्काउने दाबीसहित गरेको प्रदर्शन हिंसात्मक बनेको थियो ।
उक्त हिंसात्मक आन्दोलनको चौतर्फी आलोचना भएको छ भने प्रदर्शनकारीलाई उत्तेजित बनाउने कार्यमा संलग्न रहेको आरोपमा राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणासहितका राजावादीहरू पक्राउ परेका छन् । यस्तै संयुक्त आन्दोलन समितिका संयोजक नवराज सुवेदी गुहेश्वरी हाइटस्थित निवासमै ‘नजरबन्द’ अवस्थामा छन् ।
यस्तै तीनकुनेमा आन्दोलनकारीलाई भड्काएर भागेका दुर्गा प्रसाईंलाई प्रहरीले खोजिरहेपनि उनी अझै पक्राउ पर्न सकेका छैनन् । हिंसात्मक घटनामा २ जनाको मृत्यु हुनुका साथै सुरक्षाकर्मी र प्रदर्शनकारी दुबैतर्फ दर्जनौँ घाइते भएका थिए ।
प्रदर्शनका क्रममा घाइते भएकामध्ये ७१ जना सुरक्षाकर्मी डिस्चार्ज भएका छन् । प्रहरीका अनुसार नेपाल प्रहरीतर्फ ५० जना र सशस्त्र प्रहरीतर्फ २१ जना डिस्चार्ज भएका हुन् । यस्तै नेपाल प्रहरीका घाइते थप ५ जना र सशस्त्र प्रहरीका १ जनाको उपचार जारी छ ।
यस्तै घाइते कुल ५१ जना प्रदर्शनकारीमध्ये ३५ जना डिस्चार्ज भएका छन् । अन्यको उपचार जारी छ ।
आन्दोलन समितिले शुक्रबारको प्रदर्शनअघि गरेको पत्रकार सम्मेलनमा संयोजक सुवेदीले संयुक्त आन्दोलन समितिमा कमान्डर को जिम्मा दुर्गा प्रसाईलाई दिएको बताएका थिए । यस्तै उनको नेतृत्वको महाअभियानले आफू नेतृत्वको समिति गठन गर्नु पूर्व नै शुक्रबारदेखि घोषणा गरेको आन्दोलनलाई संयुक्त जनआन्दोलन समितिले अपनत्व लिएको उल्लेख गरेका थिए । तर, प्रसाईं नै भागेपनि उनको आन्दोलन छिन्नभिन्न भएको छ ।
सुवेदीले चैत १६ गतेलाई छाडेर आज (चैत्र १७ गते)देखि आन्दोलनका थप कार्यक्रमहरु हुँदै जाने बताएका थिए । उनले एक हप्ताभित्र सरकारले शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरे चैत्र २१ गतेदेखि आन्दोलनलाई सशक्त बनाउँदै लैजान बाध्य हुने चेतावनी समेत दिएका थिए । तर, अहिले आन्दोलन समिति थप कार्यक्रम गर्न सक्ने अवस्थामा नरहेको उक्त समितिका रहेका एक नेताले बताए । ‘नेताहरू नै पक्राउ परेपछि अब के गर्ने भन्नेबारे बैठक समेत बस्न सकेको छ । सबै अन्योल छ हेरौँ अब के हुन्छ’, ती नेताले भने । तीनकुनेको हिंसात्मक घटनापछि राजावादीहरू रक्षात्मक समेत बनेका छन् भने सरकारकै कारण अप्रिय अवस्था निम्तिएको दाबी गरिरहेका छन् ।
उता राप्रपा आफ्नै ढंगले अघि बढ्ने तयारी गरेको छ । राजावादीले गर्ने सबै आन्दोलनमा सघाउने नीति लिएको उक्त पार्टीले अब भने आफ्नै ढंगले कार्यक्रमलाई अघि बढाउने तयारी गरेको हो ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वघोषित चैत २६ गते काठमाडौँमा हुने बागमती प्रदेशस्तरीय प्रदर्शन र आमसभा तथा वैशाख ७ गते हुने राजधानी केन्द्रित आन्दोलन हुने बताए । उनले उच्च मनोबल सहित तयारीमा जुट्न पार्टी पंक्ति र समान विचार भएका दल, समूह, अभियान, धार्मिक संघसंस्था र आम जनसमुदायलाई अपिल समेत गरेका छन् । तर, तीनकुने घटना भने सरकारकै कारण भएको उनको जिकिर छ । उनले राप्रपा हिंसाको विपक्षमा भने रहेको स्पस्ट पारे ।
उनले भने, ‘जसले जुन उद्धेश्यका लागि आगजनी, तोडफोड र हिंसात्मक गतिविधि गरेको भएपनि निन्दनीय छ। राप्रपा हिंसाको विपक्षमा छ, हिंसात्मक गतिविधि स्वीकार्य हुन सक्दैन।’
राप्रपाले तीनकुने घटनाको स्वतन्त्र र निष्पक्ष न्यायिक आयोग गठन गरी छानविन गर्न माग माग समेत गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुटपाटका क्रममा साहसिक प्रदर्शन गर्ने भाटभटेनीका सुरक्षा गार्डलाई सम्मान गरिने
-
वीरगञ्जलाई आर्थिक राजधानी बनाउनुपर्छ : साह
-
जलवायु न्यायबारे राष्ट्रपतिको ध्यानाकर्षण
-
सभामुख घिमिरेले गराए प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्यको जानकारी
-
प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहरा रहेनन्
-
युवराजले अस्ट्रेलियामा नचाए दर्शक