मङ्गलबार, १९ चैत २०८१
ताजा लोकप्रिय
लोडसेडिङ

औद्योगिक करिडोरमा हटेकै हो त लोडसेडिङ ?

यसो भन्छन् पूर्वका उद्योगी
आइतबार, १७ चैत २०८१, १४ : ००
आइतबार, १७ चैत २०८१

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्तिको लोड व्यवस्थापन गरी औद्योगिक क्षेत्रको लोडसेडिङ हटाइएको जनाएको छ । गत चैत २ गते शनिबारदेखि भारतबाट बिहान ६ देखि बेलुका ६ बजेसम्म मात्रै बिजुली आयात भएसँगै औद्योगिक क्षेत्रमा विद्युत् व्यवस्थापन गर्न प्राधिकरणलाई समस्या परेको थियो । जसको कारण औद्योगिक क्षेत्रमा दैनिक कम्तीमा १२ घण्टा लोडसेडिङ हुन थालेको थियो ।

उद्योगी व्यवसायीहरूले उद्योगमा १२ घण्टा लोडसेडिङ हटाउन माग गरेका थिए । तर बिहीबारदेखि वीरगञ्ज–पथलैया र सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगमा लोडसेडिङ हुन छाडेको व्यवसायीहरूले बताएका छन् ।

प्राधिकरणले बिहीबारदेखि लोड व्यवस्थापन गर्दै उद्योगहरूमा बेलुका पिक आवरबाहेक समयमा विद्युत् कटौती नगरेको बताउँछन् । सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रका व्यवसायीले उद्योगमा १२ घण्टा लोडसेडिङ हुँदै आएको भए पनि बिहीबारदेखि निरन्तर विद्युत् आपूर्ति भइरहेको जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले बिहीबारदेखि उद्योगहरूमा निरन्तर विद्युत् आपूर्ति भइरहेकाले व्यवसायीहरूलाई खुसी तुल्याएको तर्क गरे ।

उनले बजारको अवस्था खराब रहेको भन्दै सरकारले दीर्घकालीन सोच राखेर समस्या समाधान गर्नुपर्ने उल्लेख गरे । अध्यक्ष राउतले भने, ‘प्राधिकरणको विद्युत् नियमित रूपमा आपूर्ति हुनुपर्छ । सरकारले उद्योगमा लोडसेडिङ समस्या हटाउन जरुरी छ ।’

भारतसँगको सहमतिअनुसार शनिबारदेखि बिहान ६ देखि बेलुका ६ बजेसम्म मात्रै बिजुली आयात भइरहेको भए पनि बिहीबारबाट पिकआवरको चार घण्टाबाहेक दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्ने सहमति पाएको बताए ।

मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष नवीन रिजालले पनि उद्योगहरूमा बिहीबार बेलुकादेखि निरन्तर विद्युत् आपूर्ति भइरहेको बताए । भारतसँग कूटनीतिक पहल गरेर भए पनि उद्योगहरूमा विद्युत् आपूर्ति सहज बनाउन आवश्यक रहेको पनि उनको भनाइ थियो ।

‘लोडसेडिङ नगरी उद्योगबाट उत्पादन वृद्धि गर्न सके र उत्पादित सामान निर्यात गर्न सके मात्रै पनि विदेशी मुद्रा आर्जन सकिन्छ । तर उद्योगहरूले सधैँ लोडसेडिङ भोगिरहेका छन् ।, ‘निवर्तमान अध्यक्ष रिजालले भने, ‘तीन वर्षदेखि लोडसेडिङ नै थियो । अस्तिसम्म १२ घण्टा लोडसेडिङ नै थियो । हिजोदेखि विद्युत् निरन्तर आइरहेको छ । यही अवस्था रह्यो भने राम्रो हुन्छ ।’

प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पनि विगतमा १२ घण्टासम्म उद्योगहरूमा लोडसेडिङ हुँदै आएकोमा अहिले पूर्ण रूपमा औद्योगिक लोडसेडिङ हटाइएको दाबी गरे । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले गत १९ नोभेम्बरमा १५ मार्चदेखि ‘सन आवर’ (बिहान ६ देखि साँझ ६ बजेसम्म) मात्रै बिजुली दिने गरी अनुमति दिएको भए पनि बिहीबारदेखि थप पाँच घण्टा आयात गर्न सुरु गरिएको बताए ।

उनले भारतसँगको सहमतिअनुसार शनिबारदेखि बिहान ६ देखि बेलुका ६ बजेसम्म मात्रै बिजुली आयात भइरहेको भए पनि बिहीबारबाट पिकआवरको चार घण्टाबाहेक दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्ने सहमति पाएको बताए ।

प्राधिकरणले मूल्यलाई प्राथमिकता नदिएको भन्दै भारतबाट पाएको विद्युत् खरिद गरी उद्योग र घरायसी ग्राहकलाई लोडसेडिङ हुन नदिने प्राधिकरणले प्रयास जारी राखेको शाक्यले बताए ।

शाक्यका अनुसार भारतले नेपाललाई हाल उपलब्ध गराउँदै आएको विद्युत् आयात अवधि थप पाँच घण्टा बढाउन सहमत भएको छ । अगामी १ अप्रिलदेखि अब राति ११ देखि बिहान ४ बजेसम्म ६ सय मेगावाट विद्युत् आयात हुने उनको भनाइ छ ।

रातको समयमा ६ सय मेगावाट विद्युत् आयात हुँदा औद्योगिक क्षेत्रको लोडसेडिङ हट्ने जानकारी दिए । ‘भारतले राति बिजुली दिएको वेला अर्धजलाशययुक्त आयोजनाहरूको जलाशय भरेर पिकआवरमा चलाउने गरी लोड व्यवस्थापन गरिएको छ । सोलार आवर भनेर भारतबाट १२ घण्टा मात्रै विद्युत् आइरहेको थियो । जुन ६ सय मेगावाट मात्रै थियो । बिहीबार राति ११ बजेबाट बिहान ४ बजेसम्म ६ सय मेगावाट विद्युत् आयातको स्वीकृत पाएर लिन सुरु गरिसकेका छौँ,’ शाक्यले भने, ‘भारतीय पक्षसँग वार्तामा छु । विद्युत् महँगो भए पनि विद्युत् आयात गरेर भए पनि पिकको समयमा पनि लोडसेडिङ हुन दिँदैनौँ ।’

शाक्यका अनुसार पावर एक्सचेन्ज कमिटीको ३५० मेगावाट लिने स्वीकृति भारतको उत्तरप्रदेश राज्यहरूका केन्द्रीय प्रसारणबाट नभई राज्यको  कोटाबाट पाएको बताए । 

प्राधिकरणले मूल्यलाई प्राथमिकता नदिएको भन्दै भारतबाट पाएको विद्युत् खरिद गरी उद्योग र घरायसी ग्राहकलाई लोडसेडिङ हुन नदिने प्राधिकरणले प्रयास जारी राखेको शाक्यले बताए ।

उक्त विद्युत् ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइनबाट नेपालमा आइरहेको प्राधिकरणले जनाएको छ । भारतले जुन ३० सम्म इन्डियन इनर्जी एक्सचेन्जबाट सोलार आवरमा १ हजार ४ मेगावाट विद्युत् उपलब्ध गराउँदै आएको थियो ।

  • सिमेन्ट उत्पादक संघ उत्साहित

नेपाल सिमेन्ट उत्पादक संघ पनि लोडसेडिङ हटेपछि उत्साहित भएको छ । शुक्रबार विज्ञप्ति नै जारी गरी सरकार र प्राधिकरणको नयाँ नेतृत्वबाट औद्योगिक क्षेत्रले निरन्तर २४सै घन्टा आवश्यकताअनुसार विद्युत् सुनिश्चित हुनुपर्ने पनि जनाएको छ । व्यवसायीहरूको मागलाई सरकारले उद्योग व्यवसाय प्रवर्द्धनमा आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धतापछि औद्योगिक क्षेत्रले राहत महसुस गरेको संघको भनाइ छ । 

भारतबाट थप विद्युत् आयात गरी उद्योग प्रतिष्ठानको लोडसेडिङ कमी गर्ने गराउने र महत्त्वपूर्ण अभिभावकीय जिम्मेवारी पूरा गर्न सफल प्राधिकरण नेतृत्वलाई संघले धन्यवाद दिएको छ ।

संघले प्राधिकरण समेतको पहलमा अब भारतबाट राति पनि थप विद्युत् आपूर्ति हुने र औद्योगिक क्षेत्रमा लोडसेडिङ पूर्ण रूपमा हटाउन पहल गरेकोमा उद्योगी व्यवसायी खुसी भएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप