बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय
इन्डियन प्रिमियर लिग क्रिकेटमा आज

हैदराबादलाई हराउँदै लगातार दोस्रो जित निकाल्ने दाउमा दिल्ली

आइतबार, १७ चैत २०८१, ०९ : ४८
आइतबार, १७ चैत २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा आइतबार पहिलो खेल दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबिच हुँदै छ । उक्त खेल विशाखापट्टनममा नेपाली समय अनुसार, दिउँसो १५ः४५ बजे सुरु हुनेछ ।

जारी आईपीएलमा खेल्न लागिएको यो १०औँ खेल हो । दिल्लीले खेल्न लागेको यो दोस्रो खेल हो । हैदराबादले भने आफ्नो तेस्रो खेल खेल्न लागेको हो । दिल्लीको टोली आफ्नो पहिलो खेलमा विजयी भएको थियो । दिल्लीले पहिलो खेलमा लखनउ सुपर जायन्ट्सलाई एक विकेटले हराएको थियो ।

हैदराबादले भने दुईमध्ये एक खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ । हैदराबादले पहिलो खेलमा राजस्थान रोयल्सलाई ४४ रनले हराएको थियो । आफ्नो दोस्रो खेलमा हैदराबाद लखनउसँग पाँच विकेट पराजित भएको थियो । दिल्ली पाँचौँ र हैदराबाद छैटौँ स्थानमा छन् ।

हैदराबाद सन् २०१६ को च्याम्पियन

सनराइजर्स हैदराबादले हालसम्म एकपटक आईपीएलको उपाधि जितेको छ । हैदराबादले सन् २०१६ मा आईपीएलको उपाधि चुमेको थियो । त्यतिबेला हैदराबादले फाइनलमा रोयल च्यालेन्जर्स बेंगलुरुलाई हराएको थियो । 

हैदराबाद सन् २०१८ मा पनि आईपीएलको फाइनलमा पुगेको थियो । त्यतिबेला हैदराबादलाई फाइनलमा चेन्नई सुपर किङ्सले हराएको थियो । हैदराबाद साविक उपविजेता पनि हो । अघिल्लो संस्करणको फाइनलमा हैदराबादको टोली कोलकाता नाइट राइडर्ससँग हारेको थियो ।

१८औँ सहभागिता तर, अझै उपाधिविहीन

दिल्ली क्यापिटल्स सन् २००८ मा आयोजित पहिलो संस्करणदेखि नै आईपीएलमा सहभागी हुँदै आएको छ । आईपीएलमा दिल्लीको यो १८औँ सहभागिता हो । तर, दिल्लीले हालसम्म उपाधिको जित्न सकेको छैन । सुरुवाती संस्करणमा दिल्लीको टोली दिल्ली डेयरडेभिल्सको नामबाट सहभागी भएको थियो ।

दिल्ली हालसम्म एकपटक आईपीएलको फाइनलमा पुगेको छ । सन् २०२० मा दिल्ली प्रतियोगिताको फाइनलमा पुगेको थियो । तर, उक्त संस्करणको फाइनलमा दिल्लीको टोली मुम्बई इन्डियन्ससँग पाँच विकेटले पराजित भएको थियो । 

हेड टु हेडमा हैदराबाद अगाडि

दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबिच हालसम्म आईपीएलमा कुल २४ खेल खेलिएको छ । त्यसमध्ये बढी खेल हैदराबादले जितेको छ । हैदराबादले १३ खेलमा दिल्लीलाई हराएको छ । दिल्लीले भने १० खेलमा हैदराबादलाई पराजित गरेको छ । एक खेलमा भने अनिर्णित रुपमा सकिएको छ ।

दिल्लीको सर्वाधिक रन आशुतोषको नाममा

जारी आईपीएलमा दिल्ली क्यापिटल्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान आशुतोष शर्मा हुन् । उनले अघिल्लो खेलमा अविजित ६६ रन बनाएका थिए । त्यो खेलमा उनी प्लेयर अफ दि म्याच पनि घोषित भएका थिए । 

ashutos

दिल्लीको टोलीमा फाफ डु प्लेसिस, अभिषेक पोरेल र ट्रिस्टन स्टब्सजस्ता प्रभावशाली ब्याट्सम्यान पनि छन् । मिचेल स्टार्क, कुलदीप यादव, मोहित शर्मा, मुकेश कुमारजस्ता क्षमतावाना बलर पनि दिल्लीको टोलीमा आबद्ध छन् । 

हैदराबादका ट्राभिस हेड र ईशान किशन लयमा

जारी आईपीएलमा सनराइजर्स हैदराबादका दुई ब्याट्सम्यान ट्राभिस हेड र ईशान किशन लयमा देखिएका छन् । ट्राभिस हेडले दुई टोलीमा टोलीका लागि कुल एक सय १४ रन बनाइसकेका छन् । उनले एक अर्धशतक पनि प्रहार गरेका छन् । 

head

ईशान किशनले पनि दुई खेलमा कुल एक सय ६ रन बनाएका छन् । यस क्रममा उनले एक शतक प्रहार गरेका छन् । हेनरिक क्लासन, अभिषेक शर्माजस्ता प्रभावशाली ब्याट्सम्यान पनि टोलीमा छन् । टोलीमा सिमरजित सिंह, हर्षल पटेल, मोहम्मद सामीजस्ता क्षमतावान् बलर पनि छन् ।

ब्याट्सम्यानलाई साथ दिने पिच

सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्सबिच आइतबारको खेल हुने विशाखापट्टनमस्थित स्टेडियमको पिच खासगरी ब्याट्सम्यानहरुलाई साथ दिने प्रकृतिको छ । यो स्टेडियममा हालसम्म आईपीएलको कुल १६ खेल खेलिएको छ । त्यसमध्ये आठ खेलमा पहिले ब्याटिङ गर्ने टोलीले जित हासिल गरेका छन् । 

बाँकी आठ खेलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले सफलता हात पारेका छन् । यो स्टेडियममा बनेको उच्च स्कोर सात विकेट गुमाएर दुई सय ७२ रन हो । उक्त स्कोर कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सविरुद्ध अघिल्लो सिजनमा बनाएको थियो । 

छैन वर्षाको सम्भावना

सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्सबिच खेल हुने दिन आइतबार विशाखापट्टनममा वर्षाको सम्भावना नरहेको बताइएको छ । त्यहाँको जल तथा मौसम विज्ञान विभागका अनुसार, दिनभर चर्को गर्मी हुनेछ । तापक्रम २७ देखि ३२ डिग्री सेल्सियसको बिचमा रहने बताइएको छ । हावाको गति भने १९ किलोमिटर प्रतिघण्टा रहने छ ।

सम्भावित टोली 

दिल्ली क्यापिटल्स  : अक्षर पटेल (कप्तान), ज्याक फ्राजर म्याकगर्क, फाफ डु प्लेसिस, अभिषेक पोरेल (विकेटकिपर), ट्रिस्टन स्टब्स, विपराज निगम, मिचेल स्टार्क, कुलदीप यादव, मोहित शर्मा, कुमेश कुमार र आशुतोष शर्मा ।

सनराइजर्स हैदराबाद : प्याट कमिन्स (कप्तान), अभिषेक शर्मा, ट्राभिस हेड, ईशान किशन, नितिश कुमार रेड्डी, हेनरिक क्लासन (विकेटकिपर), अनिकेत वर्मा, अभिनव मनोहर, सिमरजित सिंह, हर्षल पटेल, मोहम्मद सामी र एडम जाम्पा ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप