मङ्गलबार, १९ चैत २०८१
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : बालसुधार गृहमा बेथिति

‘सुधार गृहमा बस्ने बालबालिकाहरू सुरक्षाकर्मीसँग लड्ने उमेरका भइसके’

‘नाबालक’ भन्ने कानुनमै सुधार गर्नुपर्ने देखियो : रामचन्द्र तिवारी, सह सचिव एवं प्रवक्ता, गृह मन्त्रालय
आइतबार, १७ चैत २०८१, ०९ : ४०
आइतबार, १७ चैत २०८१

गत चैत १ मा बाँकेको डुडुवास्थित जयेन्दु बालसुधार गृहमा भएको झडपमा ४९ जना घाइते भएका थिए । राजधानीका क्याम्पसमा विद्यार्थीको समूह र  ठमेलमा गुण्डागर्दी गर्नेहरूको बिचमा हुने ग्याङ फाइटको तहमा बाल सुधार गृहमा पनि लगातार झडपहरू भइरहेका छन् ।

२०८० भदौमा भक्तपुरको सानोठिमीस्थित बालसुधार गृहबाट २१९ जना नाबालक कैदी फरार भए । झडपको क्रममा भागेकाहरूलाई प्रहरीले कोटेश्वर, बानेश्वर र सातदोबाटो क्षेत्रबाट पक्राउ गरेको थियो । बालसुधार गृहमा ‘नाबालक बन्दी’को कमल बस्नेतको मृत्यु भएको घटनाको विषयमा प्रदर्शन हुँदा झडप भएको थियो ।

नेपालगञ्ज र वीरगञ्जका सुधार गृहमा पनि यस्ता घटना किन लगातार दोहोरिएका हुन् ? गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) रामचन्द्र तिवारीसँग रातोपाटीका लागि राजेश भण्डारीले गरेको कुराकानी:

  • बालसुधार गृहमा पछिल्लो समय बाक्लै झडप भइरहेका छन्, किन झडपका घटना लगातार दोहोरिएका हुन् ?

बालसुधार गृहको अहिले भइरहेका विवाद र झडपलाई दुईवटा पक्षबाट हेर्नुपर्छ । एउटा नीतिगत पक्ष अर्को व्यवस्थापकीय पक्ष । नीतिगत पक्ष भनेको, उमेर नपुगेका बालबालिकाहरू जो अपराध संलग्न हुन्छन् तिनलाई हामी अपराधी नभनेर ‘बालबिझ्याँइकर्ता’ भन्छौँ । १८ वर्षभन्दा मुनिका मानिसहरू कुनै अपराधमा संलग्न भएमा उनीहरूलाई छुट्टै बालसुधार गृहमा राख्नुपर्ने कानुनी व्यवस्था छ । बालबालिका सम्बन्धी ऐन–२०७५ ले त्यसलाई गर्न गरेको छ ।

अञ्जानवश कुनै अपराधमा संलग्न भएर सजाय पाएमा उसको मनोविज्ञानमा आपराधिक मनोवृत्ति हुन नपाओस् र भोलि एउटा जिम्मेवार नागरिकको रूपमा समाजमा पुनर्स्थापना गर्न सकियोस् भनेर कानुन बन्यो । कानुन बनाउँदा मानवअधिकार, अन्तर्राष्ट्रिय प्रचलन विभिन्न दृष्टिकोणलाई  हेरियो । त्यसले के भयो भने कसैले १८ वर्ष भएपछि अपराध गरेमा कारागारमा बस्छ । तर, कोही १८ वर्ष पुग्नुभन्दा ५ दिनअघि अपराधमा संलग्न भयो भने उसलाई बाल सुधार गृहमा राख्नुपर्छ । अदालतले लामो अवधिको जेल सजाय निर्धारण गरेमा सजाय भुक्तान नहुन्जेल बाल सुधार गृहमा नै राख्नुपर्छ ।

पुलिसभन्दा बलिया २८ वर्ष ३० वर्षका ‘नाबालक कैदी’ त्यहाँ छन् । मान्छे मर्ने र आगजनीको अवस्था आएपछि मात्र प्रहरी भित्र जाने परिपाटी छ ।

कुनै बालकले २० वर्षको सजाय पाएको अवस्थामा ३८ वर्षसम्म उ बालसुधार गृहमा रहने अवस्था हुन्छ । त्यसले गर्दा एकदमै पाका उमेर भएका मान्छेहरू बालसुधार गृहमा भए । त्यहीँ अर्को नीतिगत कुरा कस्तो छ भने, बालबालिकाहरूले मनोविज्ञानमा नकारात्मक प्रभाव नपरोस् भन्ने हिसाबले राज्यप्रति समाजप्रति बदलाको भावना नआओस् र उनीहरू जिम्मेवार नागरिकको रूपमा फर्किउन भन्ने हिसाबले त्यहाँ सुरक्षाकर्मी हतियार सहित नबस्ने, सादा पोसाकमा राख्ने कानुन बन्यो । ती साँच्चीकै अबोध बालबालिका हुन्छन् भन्ने अनुमान गरेर कानुन बन्यो त्यसको प्रभाव व्यवस्थापनमा देखियो ।

अर्को, कुरा हामीसँग स्रोतको सीमितता छ । गैरसरकारी संस्थाले चार–पाँचवटा बालसुधार गृह चलाएका छन् । अर्को, व्यवस्थापनमा हामीसँग पर्याप्त पूर्वाधार, मनोविज्ञान अनुसार तिनीहरूलाई आइसोलेट गरेर राख्न सक्ने पूर्वाधार पर्याप्त छैन । नीतिगत र व्यवस्थापकीय दुवै कारणले यी समस्या देखिन थाले । त्यसपछि उमेर पुगेका लक्का जवानहरू त्यहाँ हुन थाले । लक्का जवान भएपछि उनीहरूलाई पनि हाम्रो पुलिस बन्दुक र लौरो लिएर जान मिल्दैन भनेपछि पुलिससँग पनि लड्ने खालका भए ।

Ramchandra Tiwari 1 (2081)

  • सुधार गृहमा सुरक्षा उपस्थिति कस्तो हुन्छ ?

चैत १ मा बाँकेको डुडुवास्थित जयेन्दु बाल सुधार गृहमा भएको झडपमा त मान्छे बचाउन पुलिस नै छिर्नुपर्ने अवस्था आयो । नत्र सामान्यतया सुधार गृहमा प्रहरी खटिए पनि, सुधार गृह भित्र पुलिस छिर्ने अवस्था हुँदैन । बाँकेमा समूह–समूहमा ग्याङ फाइट गर्न थाले । बालबालिकालाई सादा पोसाकका प्रहरी गएर ‘नगर बाबु’ भन्दा पुलिसलाई नै आक्रमण गर्नेतिर उद्धत भए । त्यहाँ पहिले १२ जना प्रहरी रहेछन्, अलिअलि झगडा सुरु भएपछि छुट्ट्याउन लाग्दा उनीहरूलाई नै हिर्काउने अवस्था बन्यो । पुलिसभन्दा बलिया २८ वर्ष ३० वर्षका ‘नाबालक कैदी’ त्यहाँ छन् । मान्छे मर्ने र आगजनीको अवस्था आएपछि मात्र प्रहरी भित्र जाने परिपाटी छ । त्यसअघि जाँदा कानुन विपरीत हुने अवस्थामा हामी छौँ ।

हतियार पनि छैन, लौरो पनि छैन भनेपछि ती नाबालक कैदीहरूले टेर्दैनन् । नियन्त्रण गर्न डर देखाउने माध्यम नै हामीसँग भएन ।
  • ३८ वर्ष हुँदा पनि ‘नाबालक’ भन्ने कानुनमै सुधार गर्नुपर्ने देखियो नि हैन ?

हो, देखियो । संसदीय समितिले पनि कानुनमा देखिएको त्रुटि सुधार्न निर्देशन दिएको छ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले कानुन संशोधनको लागी काम गरिरहेको छ । निश्चित अवधि पुगेपछि बालबिझ्याँइकर्ताहरुलाई कारागार सार्न सकेको भए यस्ता समस्या आउने थिएनन् । हामीलाई समस्या के भयो भने, बालसुधार गृह सीमित छन्, त्यहाँ झगडा गरेकोलाई पनि हामी कारागार लान सक्दैनौँ । त्यो नसकेको कारण उनीहरूको मनोबल बढेको छ । हामीलाई के गर्ने हो र ? कानुनले प्रहरी भित्र आउन मिल्दैन, कारागार लान मिल्दैन भनेर नाबालक कैदीहरू हाकाहाकी भन्छन् । कारागारमा कुनै कैदीले समस्या सिर्जना गरेमा जेलरले तुरुन्तै अन्त सरुवा गरिदिने व्यवस्था छ तर, त्यहाँ चाहिँ त्यो पनि भएन । त्यसैले नाबालक कैदीहरूले त्यो स्पेसलाई दुरुपयोग गरेका छन् ।

  • कानुन सुधार गर्ने बारेमा कुनै वर्कआउट भएको छ ?

महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले ‘बालबालिका ऐन’ संशोधन गर्ने गरी मस्यौदा तयार गरेर अघि बढाएको छ । अर्को कुरा, व्यवस्थापनमा दुईवटा मन्त्रालयको संलग्नता छ । सबै व्यवस्थापन महिला बालबालिका मन्त्रालयले गर्छ । सिधा र सुरक्षा चाहिँ गृह मन्त्रालयको कार्यक्षेत्रमा पर्छ ।

सुरक्षाको लागी सादा पोसाकमा प्रहरी खटाउने हो । लौरो पनि लिएर जान नमिल्ने भएपछि प्रहरी भन्ने नै हुँदो रहेनछ । हतियार बोक्दा न प्रहरी । हतियार पनि छैन, लौरो पनि छैन भनेपछि ती नाबालक कैदीहरूले टेर्दैनन् । नियन्त्रण गर्न डर देखाउने माध्यम नै हामीसँग भएन । अलिकति सुधार गर्ने, तिनीहरूलाई काउन्सिलिङ गर्ने, ब्रेन वास गर्ने प्रविधिहरूको प्रयोग गर्नुपर्ने जरुरी देखिन्छ ।

Ramchandra tiwari 3 (2081)

  • त्यहाँ भित्र स्कुल सञ्चालन गरिएको छ, हैन ?

स्कुल छ । तर, मनोविज्ञान अनुसार पढाउने क्षमता भएका शिक्षकहरू हुनुपर्छ । त्यहाँ अवसर सबै छ तर, प्रभावकारी भएको छैन । उनीहरूको मनोवैज्ञानिक काउन्सिल गर्न सक्ने व्यवस्थापन आवश्यक देखिन्छ । हाम्रोमा भएका ९ वटा बालसुधार गृहहरू मध्ये पाँच वटा बाल सुधार गृहहरू गैरसरकारी संस्थाले चलाएका छन् । युसेफ भन्ने गैरसरकारी संस्थाले बालसुधार गृहको व्यवस्थापनको काम गरिरहेको छ । नाबालक कैदीले सिधा बापत पाउने रकम हामीले युसेफलाई दिन्छौँ ।  अरू चार वटाचाहिँ सरकारी स्तरबाट नै चलेका छन् । 

  • एउटा अपराध गरेर त्यहाँ पुग्नेहरू झन् अर्को अपराधमा लाग्न थालेपछि यो समस्याको समाधान त तत्काल गर्नुपर्ने देखियो हैन ?

कानुन चाँडै संशोधन गर्नुपर्ने अवस्था छ । जत्ति राम्रो व्यवस्थापन गरे पनि ३० वर्षको मान्छेलाई बालबालिका भनेर राखिरहँदा समस्याको समाधान हुँदैन । अर्को, व्यवस्थापकीय पाटो र मनोवैज्ञानिक परामर्शलाई चुस्त बनाउनुपर्ने छ ।

  • सुधार गृहभित्र लागुऔषध फेला परेको र त्यहाँ बस्नेहरूले सेवन गरेको घटना पनि आएको छ, त्यो कसरी सम्भव भयो ?

बालसुधारभित्र पनि लागुऔषध फेला परेका घटना छन् । समस्या त्यहीँ भयो । अभिभावक भेट्न जान्छन्,  विभिन्न मान्छेहरूको आउजाउ नेक्सस हुन्छ । विना हतियार र बिना बर्दीका प्रहरी खटिएका छन् । त्यहाँ खटिएका सुरक्षाकर्मीलाई नाबालक कैदीहरूले टेरेनन् । त्यहाँभित्र हत्यामा संलग्न भए पनि पुरानो सजाय पूरा नहुन्जेल त्यहीँ बसेर सजाय भुक्तान गर्नुपर्ने अवस्था हुनाले समस्या जटिल बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप