चलचित्र एन्जिला आम खेलाडीको कथा होः मन्त्री महर्जन

मकवानपुर । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले चलचित्र एन्जिलाले आम खेलाडीहरूको कथा बोकेको बताएका छन् । उनले खेलाडीका पीडालाई चलचित्र मार्फत कला र मनोरञ्जनात्मक ढङ्गबाट प्रस्तुत गरेको बताएका हुन् ।
शनिबार हेटौँडामा प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले चलचित्र एन्जिलाको विशेष शो गराएर ३० जना पत्रकारहरू सहभागी रहेका थिए । चलचित्र हेरेर फर्किए पछि पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले हरेक खोलाकीको भोगाई चलचित्र एन्जिलाले प्रतिनिधित्व गरेको उनले बताए । उनका अनुसार चलचित्र एन्जिला एउटा फुटबलको गोलकिपर अन्जिला तुम्बापो सुब्बा पत्रको मात्र होइन । चलचित्रका हरेक दृश्यले खेलकुद क्षेत्रका हरेक विधाका खेलाडीलाई प्रतिनिधित्व गरेको उनको भनाई छ ।
‘फुटबल खेलाडी अन्जिला तुम्बापो सुब्बाको बायोपिक चलचित्र एन्जिलाको कतिपय दृश्य मेरो सङ्घर्षसँग पनि जोडिएको छ । आर्थिक अभावमा परेर अवसर नपाएका र प्रशिक्षण केन्द्र नहुँदाको पीडाको भोगाई मेले पनि भोगेको छु । त्यसैले यो चलचित्र मेरो पनि भोगाई हो ।’ उनले भने, ‘यो चलचित्रको दृश्य जस्तै म पनि खेलाडी हुँदा बिहान ४ बजेदेखि नै हिँडेर प्रशिक्षण केन्द्र जान्थे । गाडी नपाउनु त स्वाभाविक समस्या हो । तर, खेल भित्रको राजनीतिले अवसर नपाउनको पीडा छुट्टै थियो ।’
खेलाडीहरूले निरन्तर प्रयास र परिश्रमबाट अहिले देशलाई विश्वसामु चिनाउन सफल भएको उनको भनाई छ । अहिले खेलकुद क्षेत्रमा थारै भए पनि परिवर्तन आएको र यसलाई थप वृद्धि गर्दै संस्थागत विकासमा अघि बढ्न जरुरी रहेको उनले बताए । खेलाडीलाई नेपालमा नै टिकाउन सक्ने वातावरण तयार गरेर सो अनुसारको संरचना विकासमा जोड दिनु वर्तमान समयको माग रहेको उनको भनाई छ ।
खेलाडीहरूको स्थायित्व र विकासका लागि विभागीय क्लबहरूले क्षमता र शैक्षिक योग्यताका आधारमा प्राविधिक धार तर्फका माथिल्लो स्तरको पदहरूमा नियुक्त गर्ने नीति सरकारले लिन जरुरी रहेको उनले औँल्याए । सङ्घीय सरकारले बनाएको खेलकुद नीति अनुसार प्रदेश सरकारले आवश्यक व्यवस्था तथा लगानी बढाउने उनको भनाई छ । प्रदेश सरकार खेलकुद र खेलाडीहरुको विकासमा प्रतिबद्ध रहेको उनले दाबी गरे ।
प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले खेलाडीहरूको प्रोत्साहन स्वरूप चलचित्रको विशेष शो आयोजना गरिएको बताए । यसले चलचित्र निर्मातासँगै खेलाडीहरूको कथाहरूलाई आम जनमानसमा पुर्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । खेलाडीहरूको दुःख र पीडालाई समेटेर बनाइएको उक्त चलचित्र हरेक विधाका खेलाडीहरूले भोगेको कथा रहेको उनले बताए । दुःख नपाएको खेलाडीहरू नेपालमा कमै मात्रामा रहेको उनले बताए ।
‘एन्जिला’ सपनाको सङ्घर्ष
गोलरक्षक अन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित चलचित्र ‘एन्जिला’ ले एउटा सपनालाई पूरा गर्ने सर्घषको कथालाई समेटेको छ । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तानसमेत रहेकी अन्जिलाको बाल्यकालको सपनालाई पुरा गर्न उनको आमाले गरेको त्याग चलचित्रको कथा वस्तुमा समेटिएको छ ।
मिलन चाम्सले निर्देशन गरेको चलचित्रले अन्जिलाको सपना र सङ्घर्ष पश्चातको सफलता बटुलेर कलात्मक रूपमा प्रस्तुत गरेको छ । एक खेलाडी जसलाई न परिवार न समाजको सहयोग । केबल एउटी आमाको हिम्मत र साहसको भरमा सङ्घर्ष, समर्पण, र सफलता प्राप्त गर्दै नेपाली फुटबलबाट युरोपसम्मको यात्रा तय गर्नु चानचुने कुरा होइन ।
चलचित्रमा उनको सङ्घर्ष र सफलतामा मात्र देखाइएको छैन । हाम्रो समाजमा हुने हिंसाका थुप्रै विषय वस्तुको पनि उजागर समेत गरेको छ । ग्रामीण र गरिब परिवेशमा अन्जिलाको जन्मदिने बुवाले गरेको बहुविवाह, मादक पदार्थबाट लट्ठ हुने बुवाको हिंसा बानीले आजित भएकी आमाको दुःखलाई पनि चलचित्रले समेटेको छ । बुवाले बहसविवाह गरेपछि समाजले महिला माथि राख्ने दृष्टि, अगुवाहरूको निर्णयलाई स्विकार्नुपर्ने बाध्यता र सो पछि अन्जिलालाई हुर्काउने बुवा पत्रका रूपमा देखिएका ‘दयाहाङ राई’ को भूमिकले वर्तमान सामाजिक परिवेश छर्लङ बनाएको छ ।
अन्जिलाको सपनाप्रतिको लगाव, पारिवारिक तथा सामाजिक चुनौतीहरूलाई चलचित्रमा चित्रण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलले बेरुतमा गरेको आक्रमणमा तीन जनाको मृत्यु
-
प्रहरीको गोली लागेर घाइते रेविकाको न्यायका लागि विद्यार्थीको प्रदर्शन, तस्बिरहरू
-
बागमतीको सर्वदलीय बैठक निष्कर्षविहीन
-
राजेश हमाल भन्छन्, ‘व्यक्ति खराब हो कि व्यवस्था’ सोच्नुपर्ने अवस्था आयो’
-
शोक प्रस्ताव पारित गर्दै संसद् बैठक सकियो
-
सात जिल्लामा आगलागी, लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट