मङ्गलबार, १९ चैत २०८१
ताजा लोकप्रिय
मोही

महीको बजार फस्टाउँदै, दैनिक १० हजार लिटर खपत

आइतबार, १७ चैत २०८१, ०७ : ४५
आइतबार, १७ चैत २०८१

काठमाडौँ । पछिल्लो समय महीको बजार फस्टाउन थालेको छ । मही गर्मी मौसमका लागि स्वास्थ्यवर्द्धक पेय पदार्थ हो । महीमा विभिन्न पोषण तत्व पाइने भएकाले यसले पाचन प्रणाली, शरीरलाई स्वस्थ र तन्दुरुस्त बनाउन मद्दत गर्ने जानकारहरूको भनाइ छ ।

दुग्ध व्यवसायी तथा नेपाल डेरी एसोसिएसनका केन्द्रीय सचिव शिवहरि आचार्यले पोखरा बजारमा दैनिक ५ सय लिटर मही बजारमा खपत भइरहेको बताउँछन् ।

काठमाडौँ उपत्यकामा हालै नवप्रभात डेरी उद्योग, ललितपुरको लेबलिङ र प्याकेजिङमा प्रभात मही बजारमा आएको छ । यसले पनि उपत्यकामा दैनिक पाँच सय लिटर मही बजारमा पठाइरहेको छ ।

पछिल्लो समय उपभोक्ताको रोजाइमा मही पर्न थालेपछि डेरी उद्योगीले महीलाई ब्राण्डिङ गरी बजारमा ल्याउन थालेका छन् । प्याकेजिङ र लेबलिङ गरेर देशभरका करिब १७ वटा डेरी उद्योगले मही बजारमा ल्याएका छन् । यी डेरीबाट उत्पादित मही दैनिक १० हजार लिटरसम्म बजारमा खपत भइरहेको नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा मही अभियन्ता प्रह्लाद दाहालले बताए ।

प्रत्येक शनिबार काठमाडौँको दरबारमार्गमा हुने रैथाने कृषि हाट बजारमा ठेकीको मही निःशुल्क गरिएकाले पनि महीको बजार विस्तार भएको दाहालले तर्क छ । त्यसैको प्रभाव स्वरूप उपत्यका बाहिरका जिल्लामा पनि सफलताका साथ एक दर्जन जति डेरी उद्योगले लेबलिङ, प्याकेजिङ गरी बजारमा मही बिक्री गर्न थालेको उनले बताए ।

उपत्यका एवं बाहिर जताततै त्यसैको प्रभावमा भोज, भतेर, पार्टी तथा शुभकार्यमा अन्य पेय पदार्थसँगै महीले पनि प्राथमिकता पाउन थालेको उनको भनाइ छ ।

व्यवसायी आचार्यले गत वर्ष दैनिक एक सय लिटर उत्पादन गरेर पोखरा बजारमा महीको व्यवसाय सुरु गरेका थिए । यो वर्षको जाडोयाममा पनि दैनिक डेढ सय लिटर मही खपत भएको उनको अनुभव छ । हाल गर्मी सिजन सुरु भएसँगै महीको खपत बढेको छ ।

mohi

आचार्यले पोखरामा दैनिक ५ सय लिटर मही खपत भइरहेको बताए । ‘सबैलाई मही खानुपर्छ भन्ने छ । गत वर्ष दैनिक एक सय लिटरबाट दैनिक सुरु गरेको कारोबार अहिले दैनिक पाँच सय लिटरमा पुगेको छ,’ उनले भने । यो वर्ष दैनिक एक हजार लिटरसम्म मही खपत हुने उनको अनुमान छ ।’

महीको मूल्य

सहरी क्षेत्रमा खुला रूपमा ४० देखि ५० रुपैयाँ प्रतिलिटरमा मही पाइन्छ । यस्ता महीमा गुणस्तर हुन नसक्ने व्यवासायी बताउँछन् । व्यवसायी आचार्यले महीमा १ प्रतिशत फ्याट र ५ प्रतिशत एसएनएफ राखेर उत्पादन गरिन्छ । यसमा क्याल्सियम बढी हुने उनी बताउँछन् ।

प्याकेजिङ र लेबलिङ गरिएको महीको मूल्य बढीमा ९० रुपैयाँ प्रतिलिटर पर्ने व्यवसायी आचार्यले बताए । ‘केहीले ४० देखि ५० रुपैयाँ प्रतिलिटर पनि ल्याए तर लागत नउठेपछि उनीहरु हराए,’ उनले भने, ‘अहिले हामीले बेच्ने मूल्यमा अधिकतम् मूल्य ९० रुपैयाँ प्रतिलिटर छ ।’

महीको गुणस्तर कायम गर्ने उपाय खोज्दै व्यवसायी

उपयुक्त तापक्रम कायम गरी राखेमा महीको आयु मोटामोटी साताभर मात्रै हुन्छ । यसलाई कसरी लामो समयसम्म राख्न सकिन्छ भनेर प्रविधि खोजिएको मही अभियन्ता प्रह्लाद दाहाल बताउँछन् ।

WhatsApp Image 2025-03-27 at 7.27.03 PM

मही तातोपनमा राखेमा छिटो नै अमिलो हुन्छ । ग्राहकले पनि अमिलो महीको गुनासो गर्ने व्यवासायीहरूको भनाइ छ । आचार्यले महीको गुणस्तर कायम गर्न रेफ्रिरेजेसनमा राख्नु पर्ने बताए । ‘मही चाँडै बिग्रिन्छ । गुणस्तरीय महीका लागि यसलाई ४ डिग्री सेन्टिग्रेडमा राख्नु पर्छ,’ उनले भने ।  

गर्मीका लागि चिसो छल्न उपयुक्त स्वस्थ्य पेय पदार्थका रुपमा महीलाई लिन थालिएको छ । पोषणविद्का अनुसार महीमा क्याल्सियम, माइक्रो प्रोटिन लगायतका पोषण तत्व हुन्छ । मही पिउनाले हड्डीको विकासमा सहायता गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप