विश्वभरका गैरआवासीय नेपालीले एकताबद्ध एनआरएनए चाहेका छन्ः कुँवर

काठमाडौँ । सर्वोच्चको परमादेशबाट गठित गैरआवासीय नेपाली संघ (एनआरएनए)को उच्चस्तरीय समितिका सदस्य विनोद कुँवरले विश्वभरका गैरआवासीय नेपालीले एकताबद्ध संस्था चाहेको बताएका छन् । एकताबारे हालै गैरआवासीय नेपालीको भावना बुझ्नका लागि कतार, यूएई, बेल्जियम, पोर्चुगललगायतका देशको भ्रमणमा पुगेका उनले सबैको चाहना एकताबद्ध एनआरएनए होस् भन्ने आफूले पाएको बताए ।
यस्तै सर्वोच्चको परमादेशअनुसार एकताको महाधिवेशन गर्नुको विकल्प नभएको कुरा पनि आफूहरूले बुझाएको उल्लेख गर्दै कुँवरले सोहीअनुसार अघि बढ्न सुझाव आएको पनि दाबी गरे ।
‘उच्चस्तरीय समितिले गराउन लागेको महाधिवेशन सर्वोच्च अदालतले दिएको परमादेशअनुसार हो । एकता महाधिवेशन कसैको व्यक्तिगत स्वार्थमा होइन, कानुनको परिपालनाका लागि गराउन लागिएकाले यसको विकल्प पनि छैन’, उनले शनिबार भने । एकताका लागि पहल गर्न आफूहरूलाई सुझाव आएको उल्लेख गर्दै सबैको भावनाअनुसार सबैलाई मिलाएर लैजाने आफूहरूको इमानदार प्रयास रहने उनको भनाइ थियो ।
नागरिकताको निरन्तरता, नेपालमा भएको गैरआवासीय नेपालीको सम्पत्तिको सुरक्षण तथा श्रमिकको एजेन्डालाई एनआरएनए उठाउनुपर्ने सुझाव आफ्नो भ्रमणका क्रममा अभियन्ताहरूले दिएको उल्लेख गर्दै उनले सोहीअनुसार अघि बढ्न समिति तयार रहेको पनि बताए ।
एकताको महाधिवेशनबाट नेतृत्वको आकांक्षी समेत ठानिएका उनले एनआरएनए एकताबद्ध बनाउन सकिए नेपालमा पर्याप्त लगानी भित्र्याउन सकिनेमा आफू आशावादी रहेको बताए । उनले एकताबद्ध एनआरएनए बनाउन आफ्नो तर्फबाट समेत निरन्तर पहल भइरहेको बताउँदै बद्री केसी पक्ष पनि एकताको महाधिवेशनमा सहभागी हुने विश्वास व्यक्त गरे । आपसी छलफल निरन्तर भइरहेकाले निकै सकारात्मक परिणाम निस्कने समेत दाबी गरे ।
यस्तै कुँवरले मे महिनामा एकताको महाधिवेशन गर्नैपर्ने बाध्यता रहेकाले समितिले मे ३,४ र ५ मा मिति तय गरेको बताए । सो मितिमा महाधिवेशन हुने जिकिर गर्दै उनले मार्च ३१ भित्र समितिको वेबसाइटमा सदस्यता दर्ता गराइसक्न आग्रह गरे । समितिको वेबसाइटमा दर्ता गराइएको मेम्बरसिपबाट आधिकारिक हुने भएकाले सो अवधिभित्र एकताको महाधिवेशनका लागि आफ्नो सहभागिता सुनिश्चित गर्न समितिले आग्रह गरेको छ ।
समितिका अनुसार वेबसाइटमा दर्ता भएका नामबाट डेलिगेट्स टुङ्गो लगाएर काठमाडौँमा हुने एकता महाधिवेशनमा सहभागिता सुनिश्चित गरिनेछ । एकता महाधिवेशनको प्रक्रिया अघि बढिरहेका बेला अन्य आकाङ्क्षीहरूले आन्तरिक लबिङ समेत गरिरहेको बताइन्छ ।