तीनकुने घटनापछि प्रहरी हेडक्वार्टरले मगायो उपत्यका बाहिरको फौज

काठमाडौँ । काठमाडौँको तीनकुनेमा आयोजित पूर्वराजा समर्थहरूले प्रदर्शन हिंसात्मक गरेसँगै काठमाडौँमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
तीनकुनेमा प्रदर्शन गर्ने कमान्डरमध्येका दुर्गा प्रसाईंको खोजी तीव्र पारिएको छ । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक प्रसाईं प्रहरीको फरार सुचीमा रहे पनि आफ्नो फेसबुक पेजबाट उनले थप प्रदर्शन गर्न उक्साएका छन् । उनले भनेका छन्, ‘म रहुँला नरहुँला आन्दोलन नरोकियोस् ।’
सो स्ट्याटस उनको भेरिफाइड पेजमा शुक्रबार दिउँसो ३ बजेर १८ मिनेटमा पोस्ट भएको देखिन्छ । त्यसबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । पूर्वराजाको वकालत गर्दै आएको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि चैत २६ र वैशाख ७ मा काठमाडौँमा प्रदर्शन गर्ने उद्घोष गरेको छ ।
आन्दोलन थप हिंसात्मक हुन सक्ने सुरक्षा विष्लेषण गरेर प्रहरी प्रधान कार्यालयले उपत्यका बाहिरबाट थप फौज मगाएको छ । बागमती प्रदेशमा रहेका प्रहरी युनिटहरूबाट ठुलो संख्यामा प्रहरीहरूलाई काठमाडौँ झिकाइएको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले रातोपाटीलाई बताए । उनले भने, ‘नयाँ सुरक्षा रणनीतिसहित उपत्यका बाहिरबाट प्रहरीहरूलाई काठमाडौँ झिकाइएको छ ।’
शुक्रबारको अराज प्रदर्शनको नेतृत्व गरेको ‘राजसंस्था पुनर्स्थापना लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदीलाई घरमा नजरबन्द गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (रप्रापा)का वरिष्ठ नेता रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, स्वागत नेपाल, सेफर्ड लिम्बू र सन्तोष तामाङलाई प्रहरीले पक्राउ गरिसकेको छ । त्यस्तै धर्मगुरु भनिने पुष्कर खतिवडा, प्रसाईनिकट रोयल टास्क फोर्स (आरटीएफ)का कमान्डर मुनिन्द्र राजभण्डारी, पशुपति खड्का र सन्तोष राजावादी पनि पक्राउ परेका छन् ।
शुक्रबारको प्रदर्शनमा कीर्तिपुर नगरपालिका–४ बस्ने सविन महर्जन र पत्रकार सुरेश रजकले ज्यान गुमाएका थिए भने कैयौँ घाइते भएका थिए ।