मङ्गलबार, १९ चैत २०८१
ताजा लोकप्रिय
संगीत

गीत सुनेर के पाउँछस् ?

शनिबार, १६ चैत २०८१, २० : ३०
शनिबार, १६ चैत २०८१

'ओइ एउटा नयाँ गीत आको र'छ सुन्छस् ?' झ्याप्प कसैले मलाई यो प्रश्न गरिहाल्यो भने म तुरुन्त गरिरहेको काम छाड्दिन्थेँ। अहिले पनि यस्तै गर्छु । अनि सोध्ने मान्छेले कस्तो गीत सुनाउन खोज्दैछन्, त्यो बुझिहाल्थेँ । सायद गीत मात्र सुन्ने मेरो बानीले होला । 

गीत भन्ने चिज मान्छेअनुसारको रोजाइ हुने रहेछ । यस्तो मैले त्योवेला थाहा पाएको थिएँ, जतिवेला मैले लगभग सबैखाले गीत सुन्न थालिसकेको थिएँ, १५, १६ वर्षको के गरौँ र कसौँ गरौँ भन्ने अल्लारे उमेरताका थियो त्यो । 

रेडियो नेपालले जेजे बजाउँथ्यो, सबै धुन र संगीत कण्ठ पार्नु मेरो कसरत हुन्थ्यो । म खासमा पुराना गीतको फ्यान थिएँ। चाहे ती हिन्दी हुन् या नेपाली। अथवा भोजपुरी नै किन नहुन् । तामाङ, थारू, राई, लिम्बू सबै भाषाका गीत सुनेँ। त्यतिवेला रेडियो नेपालले जेजे बजाउँथ्यो सबै सुन्थेँ। रेडियोबाहेक गीत सुन्ने अर्को साधन मसँग थिएन, गाउँमै कसैसँग थिएन। त्यही बाध्यताले होला सबैखाले गीतमा उत्तिकै रुचि थियो। 

रेडियो नेपालबाट बिहान ७ बजेको समाचारअघि गीतहरू बज्थे । 'स्वदेशगान' भनिन्थ्यो । ओछ्यानमै बुवाले रेडियो खोल्दा निद्रामै सुनिएका त्यस्ता गीतहरू आज पनि कण्ठ छन् । सँगसँगै गाउँथेँ, अहिले गाउँछु । 

प्रेमध्वज प्रधान, नारायणगोपाल, रामकृष्ण ढकाल, राजेशपायल राईहरूले गाएका गीतहरू यति मन पर्थ्यो कि सक्ने र मिल्ने भए म दिनभर बजाएर बस्थेँ होला। तर फेरि उही बाध्यता, गीत सुन्ने माध्यम त त्यही एउटा रेडियो न हो, जसले समाचारजस्ता 'वाहियात' कार्यक्रमहरू भन्दा अर्थोक बजाउँदैन्थ्यो ।

रेडियो नेपालमा दिनभरि कुनकुन कार्यक्रम कतिवेला आउँछन् सप्पै याद गर्‍यो अनि आफ्नो कामको सेड्युल मिलाइहाल्यो। बिहान होस् या दिउँसो। राति नै किन नहोस् ? गीत सुन्नुपरो, समयको मतलब भएन।  

अलि पछि २०६१ सालतिर होला, एउटा कुरा थाहा पाएँ, हाम्रोतिर पनि रेडियोले काठमाडौँका एफएमहरूको फ्रिक्वेन्सी समाउँदो रहेछ । उमेशले एक दिन पत्ता लगाएछ । अनि मलाई भोलिपल्टै भन्यो, 'एचबीसी एफ समाउँछ यार मेरो घरमा त।'

तर गीतमा मैले किन यति मरिहत्ते गरिरहेको छु ? साहित्यमा अरू विधा पनि छन्, तिनमा मेरो किन चासो गएन ? किन बेवास्ता गरिरहेँ तिनलाई ? यो प्रश्नको जवाफ मैले अहिलेसम्म त भेटेको छैन, त्यो उमेरमा त झन् सोच्ने कुरै भएन । 

हामी सानो छँदा गाउँमा बिजुली बत्ती थिएन। तर बिजुलीबत्तीबाहेक सबै थियो । बुवा सरकारी जागिरे भएका कारण म सानो हुँदैदेखि घरमा रेडियो टुटेन। बुवालाई घण्टैपिच्छे रेडियोले समाचार दिए हुन्थ्योजस्तो लाग्यो, मलाईचाहिँ दिनभर रेडियोले गीत मात्र बजाइदिएहुन्थ्यो जस्तो लाग्थ्यो। जब समाचार सकिन्थ्यो, तब रेडियो मेरो हुन्थ्यो। अझ भनौँ, गीतको पर्खाइमा म सबै बुलेटिनको समाचार सुन्थेँ । रेडियो नेपालले बजाउने बिहान ८ बजेतिरको तामाङ भाषाको समाचार होस् या बेलुकाको मैथिली भोजपुरी भाषाकै नै किन नहोस्। बस गीतको पर्खाइमा यस्ता भाषाका समाचार समेत कण्ठ हुन्थे। 

अलि पछि २०६१ सालतिर होला, एउटा कुरा थाहा पाएँ, हाम्रोतिर पनि रेडियोले काठमाडौँका एफएमहरूको फ्रिक्वेन्सी समाउँदो रहेछ । उमेशले एक दिन पत्ता लगाएछ । अनि मलाई भोलिपल्टै भन्यो, 'एचबीसी एफ समाउँछ यार मेरो घरमा त।' तर मलाई एफएम भनेको के हो ? यो कसरी लाग्छ ? रेडियो नै हो भने यसले गीत दिन्छ कि दिँदैन ? कस्ता गीत बढी बजाउँछ खुलदुली भइहाल्यो । अनि स्कुल सकिएपछि उसैसँग उसको घर गएँ । साथीले रेडियोको एन्टेना (एरियल) मा कालोरातोमध्ये एउटा तार बाँधेर छानामा घुसाएको रहेछ। अनि एफएम ब्यान्डमा लगेर बजाएर सुनायो । लोकदोहोरी गीत बजिहाल्यो, म मक्ख परेँ। तुरुन्त घर आएर उसले जेजे गरेको थियो, त्यही त्यही गरेँ । बजे त के । पचास ठाउँ तार घुमाइसकेँ ज्यान जाला एफएम बजेन। एफएमको नाम पनि बिर्सिसकेँ, तर कुनै हालतमा बजेन । अनि सोचेँ- यो केटो त्यसै फर्स्ट भा'कोचाहिँ होइन रहेछ, एफएमसमेत यसकहाँ मात्र टिप्ने ? अलिअलि रिससँगै धेरै दुःखी थिएँ। अनि आ होस् भनी रेडियो नेपाल नै बजाएँ । 

तर पछि हेटौँडाको मनकामना एफएम (जुन अहिले बन्द रहेछ) काठमाडौँका कान्तिपुर र इमेज एफएम बजाउन सकेँ । त्यसपछि थाहा भयो – गीत त यिनीहरूले पो राम्रा बजाउने रहेछन् । म हिन्दी गीतको उत्तिकै पारखी थिएँ। यी एफएमहरूले बजाउने रहेछन् । तर विडम्बना, यी पनि छतबाहेक अन्त नटिप्पने । तराईको घरको छत, त्यसमाथि जेठ महिनाको घाम। तर गीत सुन्ने रन्को उत्तिकै । गीतको अगाडि घाम तपशील भइदियो । गीत नसकिएसम्म जस्तो अवस्थामा रेडियो बजेको छ, म त्यसरी नै बसेको हुन्थेँ। कहिले हात माथिको माथि नै हुन्थे त कहिले मुन्टो बांगाको बांगै । जेहोस् गीत सुन्न छाड्न हुन्न मेरो पहिलो लाइन थियो, त्यसमा मैले कदाचित सम्झौता गरिनँ । 

एफएम रेडियोहरूले हिन्दी गीत औधी बजाउँथेँ । मलाई हिन्दी सिनेमाका  गायकगायिक र संगीतकारहरूको अनुहार त थाहा थिएन तर स्वर कसको हो कण्ठै पार्थेँ। कुनै दिन मेरो गाउँमा पनि बत्ती आउला, टीभी राखिएला अनि हेर्दै गीत सुनौँला भन्ने ठुलो आशा थियो । 

त्यो किशोरवयमा मलाई कतिपयले सोध्थे, 'गीत सुनेर के हुन्छ ?' मलाई यो प्रश्न कहिल्यै मन परेन । मलाई मनमनै लाग्थ्यो- जसलाई मन पर्दैन नसुने भइहाल्यो नि । भात छुट्ला गीत छुट्दैनथिए । म मेरो उमेर समूहमा सबैभन्दा बढी गीत मन पराउने र सुन्नेमा पर्थेँ, सायदको कुरा गरिनँ मैले । किनकि मैलेजत्ति गीत सुन्ने मान्छे त्यसताका अरूकोही भेटिनँ । मैले गीतकै कारण कति परीक्षा बिगारेँ, कति गाली खाएँ त्यो लेखेर साध्य छैन ।

२०६४ सालतिर हुनुपर्छ, एफएमहरू च्याउसरी उम्रिए । मरो घरको रेडियोमा पनि पहिलो पटक ठुलो आवाजमा क्लियरसँग एफएम टिप्यो । रौतहट एफएम । मज्जाले सुन्न पाइयो, स्याँस्वाँ केही नगर्ने।

खासगरी पुराना नेपाली फिल्मी गीतहरूमा मैले वास्तविक संगीत देख्थेँ । यस्तै गीत बढी सुन्थेँ । मलाई थाहा थियो, गीत सुनेर अहिलेसम्म कसैले केही उपाधि जितेको छैन, गीत धेरै मन पराएर र सुनेर अहिलेसम्म चर्चित भएको मानिस मैले भेटेको थिइनँ/छैन पनि। विनाकुनै उपलब्धिको यात्रामा थिएँ म । त्यत्रा गीत सुनेँ, तर कहिल्यै लेखिनँ । गाउने चेष्टा पनि कहिल्यै गरिनँ । तर गीत उल्का मन पर्छ। मन पराउँदैमा गाइहाल्नुपर्ने हो र ? गीत धेरै सुनेँ भन्दैमा लेखिहाल्नुपर्ने हो र ? मेरो त्यो वेलाको तर्क अहिले पनि यथावत् छ । हुँला कालीप्रसाद रिजालभन्दा धेरै गीत सुनेको, रामकृष्ण ढकालकै गीत उनले भन्दा बढी मैले सुनेको हुँला। तर मैले के पाएँ त ? यसले मलाई के दियो त ? यसको मलाई कुनै लेखाजोखा गर्नु छैन। बस गीत सुन्न पाए भयो । अहिले पनि छाड्दिनँ सुन्न । 

सायद कक्षा ७-८ तिर पढ्थेँ । त्यतिवेला अर्को एउटा रेडियो खुलेछ, राति मात्र बज्दो रैछ । घरको रेडियोमा ब्याट्री सकिएको थियो, म पैसा नभएर दुःखी थिएँ। बुवा र गाउँका दाइहरू अलि माथितिर त्यो खुलेको नयाँ रेडियो सुन्न जानुभयो । करिब ५ मिनेटपछि म पनि पछिपछि लागेर गएँ । मलाई त्यतिवेला घरको रेडियोमा नयाँ ब्याट्री हाल्न नसकेको अफसोस् लागिरहेथ्यो। बुवाहरू चारैतिर बसेर रेडियो सुनिरहुनभएको थियो। रेडियो  रहेछ – तत्कालीन विद्रोही माओवादीको । मलाई लाग्या थियो, त्यसमा गीत बज्दैन भन्ने । किनकि गीत बजाउने खालको भए बुवाहरू किन पो जानुहुन्थ्यो र ? त्यो रेडियो फलाक्दै थियो- यति ठाउँमा बम हान्यौँ, शाही सेनाका यति मान्छे मार्यौँ, हाम्रा यति सहिद भए, यस्तै यस्तै । तर त्यसैबिच एउटा गीत बज्यो । त्यो गीत पहिलो पटक सुनेको मलाई अलि अचम्मै लाग्यो । संगीत पनि कस्तो कस्तो, गायिकाको स्वर पनि कहिल्यै नसुनेको । जान्दै नजानेको मान्छेले गाएजस्तो । शब्द पनि 'क्रान्ति', 'बिगुल', 'सामन्ती' यस्ता खालका । मेरो कलिलो मानसपटलमा लाग्यो- थरीथरीका गीत सुनेको छु भन्थेँ, तर यो कस्तो खालको हो ? गीत सकिएपछि एक महिलाको आवाज आउँदै थियो, रेडियो स्वाँस्वाँ गर्दै स्वाँ…. गरेर बन्द भयो। मैले दोस्रो पटक त्यो गीत सुन्न पाइनँ। बुवालाई सोध्न पनि सकिनँ, त्यसै त रेडियो धेरै सुनेँ भनेर घरमा गाली खाइरहने म, त्यसमाथि माओवादीको गीत । सोध्ने चेष्टा पनि गरिनँ। सोधूँला, भोलिदेखि रेडियो दिएनन् भने ? बरु चुप लागेँ। 

२०६४ सालतिर हुनुपर्छ, एफएमहरू च्याउसरी उम्रिए । मरो घरको रेडियोमा पनि पहिलो पटक ठुलो आवाजमा क्लियरसँग एफएम टिप्यो । रौतहट एफएम । मज्जाले सुन्न पाइयो, स्याँस्वाँ केही नगर्ने। जहाँ राख्यो, त्यहीँ बज्ने । टीभी त दुई वर्षदेखि घरमा छँदै थियो, तर रेडियोमा गीत सुन्ने भोक बढी थियो। जुन पूरा पनि भयो । भर्खरै मोबाइल पनि बोक्न थालिसकेको थिएँ। मोबाइलमा एफएम बज्न थाल्यो, गोठालो जाँदाको करिब एक दशक मेरो साथी मोबाइल भइदियो । त्यसपछि मैले रेडियो सेट बोकेर हिँड्नुपरेन । बिस्तारै मधेशतिर अरू एफएम पनि खुल्न थाले। रेडियो वीरगञ्ज सबै ठाउँमा नटिप्दा म दिक्क थिएँ। जिल्लातिरै एफएमहरू खुल्न थालेपछि मलाई राहत भएको थिएँ। मोबाइलमा म रातभर बज्ने एफएम खोज्थेँ। ननस्टप गीत बज्ने एफएमहरू मेरा रोजाइमा पर्थे। धेरै एफएममा रोजेर गीत बजाउनसम्म लगाउँथेँ । त्यसपछि त के चाहियो र ! त्यतिवेला मैले आफूलाई साँच्चिकै भाग्यमानी सम्झिन्थेँ। पूर्वजन्ममा ठुलै पूण्य गरेको थिएँ र त आज भैँसी चराउँदा पनि इयरफोन लगाएर मोबाइलमा गीत सुन्न पाएँको थिएँझैँ लाग्थ्यो । 

साउनको महिना थियो, धानखेत छेवैमा भैँसी चराइरहेको थिएँ। कानमा इयरफोन थियो । मलाई दशा लाग्न रैछ, हातमै राखेको थिएँ मोबाइल। हिन्दी गीत मजाले सुनिरहेको थिएँ, मलाई लागिरहेथ्यो कि त्यो फिल्ममा नाँचिरहेको थिएँ। भैंसीले घुमाएर एक पुच्छर के हानेको थियो, हातको मोबाइल धानखेतको बिचमा । म एकछिन त बौलाएँ, मुटु दुख्यो, एक राउन्ड घुमाएर भैंसीलाई किक हानेँ । आफ्नै खुट्टा दुख्यो। भैंसी भाग्यो, म मोबाइल खोज्न धानखेत छिरेँ। करिब एक मिनेटजति लाग्यो भेट्टाउन। त्यो एक मिनेटमा मेरो दिमागमा लाख वटा समस्या आइसकेका थिए। मोबाइल त भेट्टियो तर बजेन। पानीभित्रबाट निकालेको मोबाइल बज्ने कुरै भएन। दिनभर चिन्ताले ग्रस्त भएँ। साँझ भैँसी घर ल्याएर साइकल चढेर बजार पुगेँ। मोबाइल बनाउन दिएँ । तर बनेन । म दुःखी भएँ। त्यो रात अबेरसम्म बिग्रेको मोबाइल सम्झेर बसेँ। भोलिपल्ट कलेजमा एउटा विषय हापेर भए पनि फेरि मोबाइल बनाउन गएँ। संयोगले बन्यो तर ब्याट्री फेर्न साढे ४ सय लाग्ने भयो। दुई दिन लाग्यो मलाई पैसा जोहो गर्न ।   

  • फिल्मी गीत र म 

एक पटक एक जना फिल्म निर्देशकसँग काठमाडौँमा भेट भएको थियो। उनी निर्देशित फिल्म हामीले सँगै बसेर हेरेका थियौँ । फिल्म सकिएपछि सँगै खाजा खाने क्रममा उनले 'कस्तो लाग्यो फिल्म, भन्दिनुस् त' भने । छुच्चो म । मुखबाट फ्याट्टै निस्किहाल्यो, 'गीत अलिकति गतिलो रैछ, यति पनि नभा'को भएचाहिँ म हेर्न आउने थिइनँ।' सबै गलल्ल हासेँ । तर अरूजसरी उनी हाँस्न सकेनन् । फिल्म हेर्न जाँदै त्यो फिल्मको गीत मैले सुनिसकेको थिएँ, संगीतकार, गीतकार, गायकगायिका सबैको नाम याद गरिसकेको थिएँ । 

फिल्मको किरो थिएँ म । फिल्म हेर्न पाए सबै बिर्सिदिन्थेँ । फिल्ममा पनि गीत बढी खोज्थेँ। अहिलेजस्तो त्यतिवेला यो फिल्ममा के हुन्छ, कुन-कुन गीत छन् भन्ने थाहा हुँदैनथियो। तर माइकिङ गरेर रिक्सावालाले गर्ने प्रचारले भनेको भरमा फिल्म हेर्न गइन्थ्यो, त्यसले प्रचार गरेको गीत राम्रो लाग्यो भने म हरहालतमा त्यो फिल्म हेर्न पुग्थेँ। 

प्रकाश श्रेष्ठ, उदितनायराय, आनन्द कार्की, कुमार कान्छा, कुमार सानु मेरा फेवरेट गायक थिए । आज पनि उनीहरूले गाएका ती गीतहरू नसुनी म बस्न सक्दिनँ, सुत्न सक्दिनँ । त्यतिखेरका रञ्जित गजमेर, शक्ति वल्लभ, अनिल शाही, शम्भुजित बास्कोटा, लक्ष्मण शेष, महेश खड्का सुरेश अधिकारीहरूको गीतमा खै के थियो, त्यो मैले आजसम्म अरू संगीतकाहरूमा भेटेकै छैन । ती संगीतकाहरूमा भेटेको जादु अहिले कसैगरी कोहीसँग पनि पाएकै छैन । अहिलेका रचियताहरूसँग केके छुटिरहेको जस्तो मात्र लागिरहन्छ । लाग्छ अब यस्ता खालका गीत युगौँयुगौँसम्म जन्मिँदैनन् । तर मैले किशोरावस्थामा सुनेका धेरै संगीतकार अझै छन् । म प्रार्थना गर्छु, उनीहरूले मेरा लागि भए पनि त्यस्ता गीत बनाऊन् । त्यस्ता कालजयी गीतहरू सिर्जना गरून् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

धीरज देवकोटा
धीरज देवकोटा
लेखकबाट थप