मित्र राप्रउ पोखरेललाई सम्झनाका लहराहरूबाट श्रद्धासुमन

सधैँजसो रामजीबाबु (राप्रउ पोखरेल अर्थात् रामजीप्रसाद उपाध्याय पोखरेल) नै मलाई भलो–कुशल कामना गर्न वा आफ्ना कुनै लेख–रचनाको सिलसिलामा फोन गर्थे । दुई साताअघि सोमबारको दिन उनलाई फोन गर्न मन लाग्यो मलाई र गरेँ । सानी नानीले फोन उठाइन् । ‘रामजीबाबुलाई फोन देउ न, नानु’ भन्दा उनले भनिन्, ‘हजुरबुबालाई त धेरै आराम नभएर अस्ति शनिबानदेखि हस्पिटल राख्याछ, आईसीयूमा ।’
उनको स्वरले नै जनाएको दुःखपीडाबाट मैले परिस्थितिको गम्भीरता बुझी हालेँ । मन भरङ्गैभयो । रामजीबाबुको मुटुमा स्टेन्ट हालेको सम्झेर । दुई दिनपछि डराइडराई फोन गरेँ— ‘बहिनी, म फलानो बोलेको ! रामजीबाबुको स्वास्थ्य अब कस्तो छ ?’
फोन उठाउने उनकी जेठी छोरी रहिछन् । उनले भनिन्, ‘बुवाको स्वास्थ्य गम्भीरै छ ! म आमालाई सघाउन आएकी हुँ ।’ यो सुनेर मन झनै भरङ्ग भयो । फेसबुकमा यो समाचार सेयर गर्न किन हो किन मनले मानेन ।
दुई दिनपछि फेरि फोन गरेँ, उनकी सानी नातिनीले फोन उठाएकी थिइन् । फोन गर्नु पनि घरमा दुःख दिनु, पीर बढाउनु मात्रै हो जस्तो लाग्यो । त्यसको भोलिपल्ट बिहानै फेसबुकमा मित्रद्वय रोचक घिमिरे र नीलाम्बर आचार्यको पोस्टले मर्माहत बनायो । केही, कहीँ आफू चुकेकोमा थकथक लाग्यो, साह्रै गाह्रो भयो ।
धेरै लामो समयको विविधताले भरिएको सम्बन्ध थियो हाम्रो — दाजुभाइसरह, सहयात्री, सहृदयी मित्र, सहयोगी, एकअर्काेका समालोचक पनि ! सदा बन्धुत्वपूर्ण एवं सम्मानजनक ! सरल जीवनशैलीका, विनोदप्रिय तर सदा गहन रूपले विचारशील, आफ्नो विचार प्रस्तुतिमा विना मुलाहिजा सुस्पष्टताप्रेमी ! सनातन दर्शनका निष्ठावान् विद्यार्थी भईकन पनि पारखी, चिन्तनशील, प्रगतिशील विचारधाराका धनी । नेपाली वाङ्मयका प्रखर व्यक्तित्व, मातृभूमि नेपालको संस्कृतिका उच्च साधक उनी अस्ताए । आफ्ना अनेक सारगर्भित लेखन–कृृति नेपाल आमाका काखमा अर्पण गर्दै अनन्तताको यात्रामा प्रस्थान गरे । अलबिदा मित्र, तिम्रो पुण्यात्मालाई सदा शान्ति प्राप्त होस् ।
- स्वनामधन्य राप्रउ पोखरेलको कीर्तिमान रचना
उनको पछिल्लो पुस्तक हो, ‘विचार मीमांसा’ । जुन कृति प्रदीप गिरिका शब्दमा ‘गहन पुस्तक’ हो । यस पुस्तकभित्र विश्वेश्वरप्रसाद कोइरालाको राजनीतिक घुम्ती, उनको अर्थशास्त्र, टङ्कप्रसाद आचार्यको शब्दचित्र, मदनमणि दीक्षितको पत्रकारिता, पृथ्वीनारायण शाह र नेपाली भाषा, महाकवि विद्यापति र नेपाल, महाकवि लक्ष्मीप्रसाद देवकोटाको ऐतिहासिक भाषण, महाकवि पुस्किन आदि अनेक उच्चस्तरीय लेख–रचना छन् । यस्तै उनको अर्को कृति ‘मन्दोदरीदेखि माक्र्ससम्म’ले नै आज किन किन उनीप्रति श्रद्धासुमन अर्पण गर्न प्रबल ध्यान खिचिरहेछ । त्यो ग्रन्थ गहिरिएर पढेपछि मैले त्यसमा आफ्नो मन्तव्य सामाजिक सञ्जालमा प्रस्तुत गरेको थिएँ ।
आफ्नो पुस्तक ‘मन्दोदरीदेखि माक्र्ससम्म’लाई अथक सर्जक मित्र राप्रउ पोखरेलले ‘समाज, संस्कृति र साहित्यविमर्श’ भनेका छन् । कृतिको गम्भीरता त शीर्षकबाटै स्वतः प्रकट हुन्छ ।
राप्रउलाई सबभन्दा पहिला त यस ग्रन्थको प्रकाशनका लागि गहन साधुवाद अर्पण गर्दै यस स्नेहपूर्ण उपहारका लागि आभार व्यक्त गर्न चाहन्छु । उनको यस कृति सर्जकका लागि स्वास्थ्य वा उमेर कुनै कतै बाधक हुन सक्दैन भन्ने सत्यतथ्यको ठोस प्रमाण हो ।
कृतिको ‘पूर्वकथन’मा लेखकले जसरी सङ्ग्रहको परिचय प्रस्तुत गरेका छन्, त्यो आफैँमा रोचक मात्र होइन, बडो प्रभावकारी पनि छ । यसमा सम्मलित धेरैजसो लेखहरू म आफैँले विभिन्न कालखण्डमा विभिन्न प्रकाशनमार्फत पढ्ने औसर पाएको हुँ । तर आज यसरी सङ्ग्रहित रूपमा पाउँदा यसको रसास्वादनमा अझ अर्कै तृप्ति भइरहेको छ ।
धेरै लामो समयको विविधताले भरिएको सम्बन्ध थियो हाम्रो — दाजुभाइसरह, सहयात्री, सहृदयी मित्र, सहयोगी, एकअर्काेका समालोचक पनि ! सदा बन्धुत्वपूर्ण एवं सम्मानजनक ! सरल जीवनशैलीका, विनोदप्रिय तर सदा गहन रूपले विचारशील, आफ्नो विचार प्रस्तुतिमा विना मुलाहिजा सुस्पष्टताप्रेमी !
आफ्नो स्वास्थ्य र आँखाको क्षमतालाई ध्यानमा राख्दै ग्रन्थ स्वाद लिइलिई पढिसक्न कति समय लाग्ला भन्नेमा नगई पुस्तकको आखिरीमा प्रस्तुति अन्तर्वार्ता खण्डमा बीसौँ शताब्दीका दुई अग्ला कूटनीतिज्ञ, पूर्वसोभियत विदेशमन्त्री तथा राष्ट्रपति आन्द्रेइ ग्रोमीको तथा पूर्वअमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरका बिचको संवादप्रति आकर्षित भएको पनि उल्लेख नगरिरहन सक्दिँन । मास्को क्रमलिनमा सन् १९८९ को १७ जनवरीका दिन भएको अङ्ग्रेजी भाषाको उक्त संवाद आफूले अङ्ग्रेजीको कुनै प्रकाशनमा निकै वर्षअघि रुचिपूर्वक पढेको सम्झना गर्दै त्यसको नेपाली रूपान्तर पढ्दै जाँदा शरीरका रौँ ठाडा भए । सुदूर दृष्टियुक्त बौद्धिकतापूर्ण राजनीतिज्ञताको कारणले गर्दा रोमाञ्चक मात्र होइन, साँच्चै वर्तमान समयसापेक्ष भएकाले गर्दा पनि ।
सत्तामा नरहे पनि बेलायती राज्य प्रतिष्ठानका एक प्रभावशाली राजनेता रहेका विन्स्टन चर्चिलले अमेरिकी सहर फुल्टनमा सोभियत रुससित ‘शीतयुद्ध’ घोषणा गरेको दुई वर्षपछि सन् १९४८ मा स्टालिनको निर्णयले ल्याएको बर्लिन नाकाबन्दी काण्डलाई कसरी स्वयं स्टालिनले र तत्कालीन अमेरिकी राष्ट्रपति ट्रुमनले बुद्धिमत्तापूर्ण ढङ्गले सुल्झाएकोदेखि सन् १९६२ को क्युबाली क्षेप्यास्त्र तैनातकाण्ड, भ्लादीभोस्तोक शिखर, हेलसिन्स्की शिखर सम्मेलनहरूमा कस्ताकस्ता जटिल समस्या सुल्झाइएका संस्मरणहरूले इतिहासका विद्यार्थीलाई कस्तो आनन्दित तुल्याउँछ, के भन्ने ! आजको अमेरिकी नेतृत्व कति समझदारीरहित, कति युद्धोन्मादी भई उक्राइन युद्धमा हौसिरहेको देख्दा र यसबाट विश्व विनाशकारी नाभिकीय युद्धसम्म हुन सक्ने खतरा आइपरेको देख्दा कति दुःख लाग्छ, त्यो पनि के भन्ने कसरी बताउने ?
उक्त संवादलाई राप्रउ पाखरेलले यति कुशलताका साथ नेपाली रूपान्तरणमा न्याय गरेका छन् कि ती दुई विश्व राजनीतिज्ञहरूको संवाद नेपालीमै भएको लाग्छ, साँच्चै ।
यस पठनयोग्य पुस्तक परिचयलाई यतिमै टुङ्ग्याउनुअघि लेखकका केही अभिव्यक्ति उद्धृत गर्नु उपयुक्त हुनेछ । समग्रमा, यस कृतिमा समेटिएका लेखहरू अलगअलग विषयमा लेखिएका भए पनि समयसापेक्ष विषय भएकाले एक अर्काेसित प्रत्यक्ष र प्रच्छन्न रूपमा उनिएका छन्, धेरै प्रकारमा फूलहरू मिलाएर उनेको मालाजस्तो । थप विस्तार त पुस्तकले नै दिनेछ ।
सङ्ग्रहमा समेटिएमा लेखहरूमा विषयलाई हेर्ने कोण र विवेचनामा केही फरक बाटोबाट हिँड्ने प्रयास गरिएको हो । सफल असफल जे छ, त्यसको विवेक गर्ने दायित्व विज्ञ पाठमा सुम्पिन्छु ।’
अन्त्यमा, त्यही विवेकको दायित्वअनुरूप एउटा बिझेको कुरा उठाउन चाहन्छु ।’ ‘सत्–असत्’ दर्शनमा केन्द्रित विषय हो । वैदिक दर्शनका ६ वटा हाँगाका केही आधारभूत कुरा कार्ल मार्क्सको द्वन्द्ववादसित सामीप्य राख्छन्’ (द्रष्ट्रव्य, पूर्वकथन, पृष्ठ संख्या अङ्कित नभएको तेस्रो पाना)।
कता हो, धेरै वर्ष अघि छापिएको प्रस्थापनाहरूले धेरैपछिको कालखण्डमा ‘सामीप्य’ राखेको भन्नु मिलेन कि ? पछिकोले अघिकोलाई स्विकारेको हुनुपर्ने होइन र ?
लेखक एवं प्रकाशकलाई जय नेपालको अभिवादन ।