शनिबार, २३ चैत २०८१
ताजा लोकप्रिय
नियात्रा

गन्तव्य बिचपानी

शनिबार, १६ चैत २०८१, २० : ००

जङ्गल ब्युँझेको छ र पो मैले बुझेको छु जीवन सौन्दर्य ।

पीडा–खुसीमा जागिरह्यो रात । टोक्नेहरूले धेरै टोके रातभरि । मन पराएरै टोके तिनीहरूले । भुसुना, सुलसुले, उडुस, उपियाँ मात्र होइन दुई–चारवटा जुकालाई पनि टोकाउन पाएको भए कति रमाइलो हुँदो हो । कहिलेकहीँ आफ्नो रगत र छालाले अरू तृप्त हुन्छन् भने होउन् भन्ने लाग्छ मलाई ।

तिनीहरूले टोकिदिएर पो मैले रातभर हेरिरहन पाएँ नाङ्गो रातलाई । मेरी रात मसँगै थिइन् । उनी पनि टोकिएकी थिइन्, चिमोटिएकी थिइन् र कोपरिएकी थिइन्— कसैकसैबाट । तैपनि मेरो साथ पाएर सङ्लो थिइन् । पीडादायी कथाका अध्याय बिर्संदै थिइन् । सुनसान जङ्गललाई, निदाएका बस्तीलाई र कुहिराका पहाडहरूलाई सँगै लिएर प्रेमिल वर्षाले घनीभूत पारिदिन सक्नु कम सफलता होइन अँध्यारोको । कतिले निरङ्कुश अन्धकार भनिरहेको बेला मैले अनिदा सपनाहरू बोकेर काउकुती लगाइरहेँ मेरी रातलाई । त्यसैले पनि घाउले सुगन्ध दिइरह्यो अनिदो रातभरि ।

सलबलाइरहेको छाया । स्यारस्यार सुरसुर गर्दै ओहोरदोहोर गरिरहेका हावाका झोँक्का आँखा झिम्क्याएझैँ घरी देखिँदै घरी बिलाउँदै गरिरहेका तारामण्डल । बस्ती वरिपरि रातमा पनि ब्युँझेर हल्लिरहेका घनघोर रूखहरू । झमझम पानीका छिटाहरूले बजिरहेका पातहरूको प्रेमिल गुञ्जन । त्यो प्रणयको रात । त्यो प्रणयको मेला । साँच्चै सर्वोच्च प्रेमिल झङ्कारहरूमा सहभागी हुनकै लागि सुत्न दिएनछन् ती उडुस, उपियाँ र सुलसुलेहरूले । मनमनै धन्यवाद दिएँ मैले ती बालसुलभ पहरेदारहरूलाई ।

रातको कालो पर्दाले नछेक्ने हो भने राति नै कुलेलम ठोक्न चाहन्थ्यौँ हामी झिँग्रानाबाट । कुरकुर कीराहरूलाई टोकाइरहनुभन्दा रातमै जङ्गलको बाटो नाप्दा पलाउँदो हो मीठो अनुभूति । तैपनि त्यो आँट आएन ।

झिसमिसे नहुँदै उठायौँ प्रेमबहादुर दाइलाई । झिसमिसे हुनै नदिई बोलायौँ  बिहानलाई । बिहानसँगै दैलोबाट भित्र छिर्नुभयो पद्मसिंह ठगुन्ना दाइ । किटलीभरि दूध ल्याउनुभएको रहेछ । प्रेम दाइले दूधचिया पकाउनुभयो । पियौँ । झिँग्रानी आलु उसिनदिनुभयो । टिमुरको धुलो र नुनसँग खायौँ ।

बिहान सबेरै मुसुक्क मुस्काएको छ झिँग्राना गाउँ । जङ्गलको छेउमा टाँसिएको जङ्गलकै सौन्दर्यले भरिएको छ । राति परेको पानीले त भर्खर नुहाएर घाम ताप्न बसेकी युवतीजस्ती देखिएकी छिन् झिँग्राना । तहतह परेका बारीका पाटाहरूमा ढपक्क ढाकिएका आलुबारी छन् । आलुको हरिया अल्खाहरूमा सेता फूलहरूमाथि पहेँला टीकाहरू छरिँदा सुन्दर दृश्यहरू देखिन्छन् आँखाहरूमा ।

‘दाइको घर कता हो नि ?’ आलुका बोक्रा ताछ्दाताछ्दै सोधेँ मैले पद्मबहादुर दाइलाई ।

‘ऊ त्यहीँ, झिँग्राना गाउँको पुछारतिर पुडासेन हो गाउँ ।

‘अछाम जिल्लामा पर्ने पुडासेन गाउँ त पुडासैनीहरूको थलो हो भन्छन्, यहाँको पुडासेन गाउँमा पनि पुडासैनीहरू छन् ?’

IMG_1568

‘पुडासेन गाउँका पुडासैनीहरू अन्तै कतै गइसके । अहिले त दुई सय पचास घर छन् पुडासेन गाउँमा ।’ 

‘म पनि पुडासैनी हुँ नि ।’

‘ए त्यसो भए तपाईं नै बस्नुहोस् हाम्रो गाउँमा । कमसेकम पुडासेन गाउँमा एउटा पुडासैनी त छन् भन्न पाइन्छ ।’

‘कति वर्ष भयो उमेर ?’

‘अन्दाज गर्नुहोस् न, तपाईंहरू पढेलेखेको मान्छे ।’

‘ए भाइ, हामीलाई पनि बिचपानी लैजाने हो ?’ बोल्ने बहाना झिकेँ मैले । ‘जाऊँ न हजुर, हामीले बोक्नुपर्ने होइन ।’ हवल्दार बोले । ‘कति समय लाग्छ, बिचपानी पुग्न ?’ फेरि प्रश्न गर्छौं हामी । प्रश्न उत्तर जारी छ । 

‘हुनुभयो होला सत्तरी–पचहत्तर ।’

‘सत्तरी–पचहत्तर त मेरा बाउबाजे कोही पनि बाँचेनन् । मै पनि पन्ध्र सालमा जन्मेको पचपन्न वर्षको भएँ । अब कति नै बाँच्छु होला र ?’

‘किन, रोगव्यथा केही छ ?’

‘छ नि ! दम छ, पेटभित्र घाउ छ भन्छन् । जति रोगव्याध भए पनि यो लेकमा काम नगरी सुख पाइन्न । खेतीपाती गर्‍यो, गाईबस्तु स्याहार्‍यो, छोराछोरी जन्मायो,   हुर्कायो । राम्रोसँग बाँच्ने आशा पाल्दापाल्दै मर्न हतार भइसक्छ । रातोदिन डाँडाकाँडा नाघ्दानाघ्दै, घाँस, स्याउला गर्दागर्दै, एक पेट भर्ने सरजाम जोर्दाजोर्दै फुस्स गइहाल्छ सास ।’ लामो सर्को चुरोट तानेर फुइँय धुवाँ पो उडाउनुभयो पद्म दाइले ।

‘दाइ, दम छ भन्नुहुन्छ । पेटमा घाउ छ भन्नुहुन्छ । धुवाँ त शत्रु नै हो नि ।’ मैले   भनेँ ।

‘यही धुवाँजस्तै त हो नि हाम्रो जिन्दगी । उठ्न नपाई बिलाइहाल्ने । अनि किन गर्नु केहीको चिन्ता ।’ थप्नुभयो प्रेम दाइले ।

हामीले आलु र चिया खायौँ । प्रेमबहादुर साउदका नाति अनिल साउदले पनि हामीसँगै खाए । उनी निकै मायालु थिए । उनका आँखा बिरामी थिए र कचेराले ढाकेका थिए । रुघाखोकीले निकै सताइएका थिए । उनी झिँग्रानाभन्दा टाढाको विद्यालयमा अध्ययन गर्न जाँदा रहेछन् । हामीले विद्यालयको नाम सोध्यौँ । थाहा नै रहेनछ । 

‘नातिलाई अस्पतालमा लगेर जचाउनु दाइ ।’ हामीले खाएको र बास बसेको हिसाबभन्दा दुई हजार बढी दियौँ दाइलाई । निकै कर गरेपछि मात्र लिनुभयो दाइले त्यो पनि ।

‘दाइहरू खप्तड जानुभएको छ ?’ साथीले सोध्नुभयो । 

‘गएका छौँ नि, मेला भर्न गएका छौँ ।’— पदम दाइले जवाफ दिनुभयो ।

‘म त दुईपटक गएँ । एकपटक खप्तड स्वामीकहाँ पनि गएँ । खप्तड स्वामी त कैयौँ पटक यही बाटो हिँड्दा हाम्रै होटेलमा पनि बस्थे ।’— प्रेम दाइले भन्नुभयो ।

‘धेरैले मान्छन् नि खप्तड स्वामीलाई होइन ?’— कोट्टयाएँ मैले ।

‘खोलाको ढुङ्गा पनि अबिर, केसरी, फूल, अक्षता पाएपछि देवता भइहाल्छ । जसलाई कसैले उठाउँदैन ऊ बगरमै लडिरहन्छ । खप्तड बाबालाई पनि त्यही भएको हो ।’ हाँस्नुभयो प्रेम दाइ ।

‘कसरी ?’— मैले सोधेँ ।

पर्गेल्न थाल्नुभयो दाइ ।

‘खासमा खप्तड बाबा, बाबा होइन । खप्तड बाबाको जत्तिको क्षमता भएका हजारौँ जोगी छन् नेपाल र भारतमा । बरु ऊ अर्काको मन खोतल्न सक्ने मान्छे हो । जसको कुरा सुन्यो, त्यही कुरा उसैलाई सुनाउने मान्छे हो । खप्तडको लेकमा गुमनाम बसिरहेका योगीलाई एक दिन जयपृथ्वीबहादुर सिंहका छोरा बझाङ्गेराजा रामसिंहले भेटेछन् । पञ्चायतकाल । शाह राजाहरूको चकचकी । चार राजामध्येका एक बझाङ्गेराजा रामसिंह । उनैले खप्तड लेकमा एक सिद्ध बाबा बस्छन्, उनी निकै प्रतापी छन् भन्ने खबर दरबार पुर्‍याइदिए । राजा वीरेन्द्रलाई पटकपटक खप्तड पनि ल्याइदिए । दरबारले मान्न थालेपछि त्यस बेलाका दरबारका चाकरीबाजहरूले खप्तड स्वामीमा अलौकिक शक्ति छ भन्ने प्रचार गरे । सेना उनकै चाकडीमा खटियो । नेता उनकै पछि लागे । आफ्नो विगत बताउनै आँट नगर्ने मान्छे पनि महान् हुन्छ ? ऊ कि फटाहा हुन्छ, कि अपराधी । धर्म र धर्मगुरु भनेपछि जस्तोसुकै ठूलो अपराधीलाई पनि देवता भन्छ हाम्रो समाज । यो रोग नहटेसम्म हाम्रो देश सुध्रँदैन ।’

‘यतिका कुरा बुझ्ने दाइले भाँडा नमाझ्ने र घर सफासुग्घर नगर्नेचाहिँ सुहाएन है दाइ ।’ हामी हाँस्यौँ । त्यो हाँस्ने मात्र कुरा थिएन । दाइले राम्रो आकलन गर्नुभएको थियो ।

बिहान ७ बज्यो । रेडियो नेपालबाट प्रसारित समाचार सुनियो रेडियोबाट । माओवादी सेनाको व्यवस्थापन, नयाँ संविधान कार्यान्वयन, त्यस्तैत्यस्तै समाचार प्रसार भए ।

‘यी नेतालाई त ढुङ्गाले हानेर मार्नुपर्ने । जनताको माया छैन । जनताको नाम लिएर जनतालाई नै राजनीतिमा भागबन्डा गर्छन्, आफ्नो अर्काको भन्छन् । राजनीतिको नाममा अपराधीलाई बनाएर सीधासाधालाई फसाउँछन् ।’ बेस्सरी ताते ठगुन्ना दाइ ।

‘हामीले यस्तै नेतालाई चुन्यौँ, अनि राम्रो खोजेर कहाँ पाइन्छ त ?’ हाम्रो साथीले जबाफ दिनुभयो ।

‘पोखरी नै धमिलिएपछि जुनछेउको पानी झिके पनि उस्तै हो’— असन्तोष छ प्रेम दाइमा ।

पूर्वतिरको डाँडाको टुप्पोमा टुक्रुक्क उभिएको देखियो घाम ।

अछाम जिल्लामा पर्ने पुडासेन गाउँ त पुडासैनीहरूको थलो हो भन्छन्, यहाँको पुडासेन गाउँमा पनि पुडासैनीहरू छन् ? उनी भन्छन्— ए त्यसो भए तपाईं नै बस्नुहोस् हाम्रो गाउँमा । कमसेकम पुडासेन गाउँमा एउटा पुडासैनी त छन् भन्न पाइन्छ ।

‘लौ दाइहरू हामी लाग्यौँ खप्तडतिर’— हामीले बिदा माग्यौँ । 

‘हुन्छ राम्रोसँग जानुहोला । पाँच घण्टामा त पुगिहाल्नुहुन्छ । लेक लाग्ला । टिमुर, लसुन चपाउँदै जानुहोला ।’ दाइहरूको माया फैलियो ।

झिँग्राना गाउँमै जोडिएर बसेको छ खप्तड राष्ट्रिय निकुञ्जको कार्यालय । सँगै छ सैनिक गुल्म । हामीले राष्ट्रिय निकुञ्ज प्रवेश गर्ने स्वीकृति लियौँ । सैनिक गुल्मका क्याप्टेन सन्दीप विष्टले बाटोमा हिँड्दाहिँड्दै हिउँ परेमा, हुरीबतास चलेमा वा जनावरहरूले झम्टन खोजेमा आफू सुरक्षित रहनुपर्ने बारेमा सामान्य जानकारी पस्किए । जनावरहरू शान्ति चाहन्छन्, निकुञ्जमा हिँड्दा हल्लाखल्ला गर्न नहुने, डढेलो लाग्न दिन नहुने, गुलेलीले ताक्न र ढुङ्गाले हान्न नहुने कुरा पनि दोहोर्‍याई– तेहर्‍याई बताइरहनुभयो उहाँले । हामी चराचुरुङ्गी र जङ्गली जनावरसँग मित्रता गाँस्न पुगेको र उनीहरूसँग केही सिक्न चाहेकाले उनीहरूको मन कुँडिने कुनै काम गर्ने कुरै थिएन ।

खप्तड राष्ट्रिय निकुञ्जको कार्यालय झिँग्रानाबाटै देख्यौँ— अब पूरै उकालो चढ्नुपर्छ बिचपानी भन्ने ठाउँसम्म पुग्न । घना जङ्गलले ढाकेको देखिन्छ हामी चढ्ने  पहाडलाई ।

हामी उत्तरपूर्वको उकालो चढ्न थाल्यौँ । घाम चर्कंदै छ, तर हामीलाई घामले पोल्ने डर छैन । ‘जङ्गलभित्रको उकालो, न स्याँस्याँ न मुख कालो’ भइरहेछ ।

एउटा काठेपुल तरेपछि उकालो चढ्दै गरेका दुई सैनिक भाइहरू भेटिए ।

‘ए भाइ, हामीलाई पनि बिचपानी लैजाने हो ?’ बोल्ने बहाना झिकेँ मैले ।

‘जाऊँ न हजुर, हामीले बोक्न पर्ने होइन ।’ हवल्दार बोले ।

‘कति समय लाग्छ, बिचपानी पुग्न ?’ फेरि प्रश्न गर्छौं हामी । 

प्रश्न उत्तर जारी छ । 

बिचपानीसम्म तीन घण्टा त्यसपछि चार घण्टामा खप्तड पुग्न सकिने बताए  सुवेदारले ।

प्रेमबहादुर दाइले पाँच घण्टामा खप्तड पुगिने भन्नुभएको आठ घण्टामा पनि के हो के हो । त्यताका मान्छेको हिँड्ने गतिसँग हाम्रो पटक्कै मेल नखाने निक्र्यौलमा पुग्छ हाम्रो समूह ।

IMG_1549

मलाई ओरालो झर्नभन्दा उकालो चढ्न रमाइलो लाग्छ । अझ जङ्गलभित्रको उकालो चढ्दा धेरै रहस्य खोज्दै हिँडेजस्तो लाग्छ । जङ्गल आफैँमा अनन्त स्रोतहरूको बादल हो, जुन आकारमा जसरी खोजे पनि केही न केही भेटिने ।

सैनिकहरू हामीलाई पनि कुर्दै हिँडिरहेछन् । हामीहरू कहिले गीत, कहिले कविता, कहिले उखानटुक्का, कहिले गाउँखाने कथा त कहिले राष्ट्रिय अन्तर्राष्ट्रिय सन्दर्भहरू कोट्टयाउँदै हिँडिरहेछौँ । त्यो उहाँहरूलाई पनि मन परिरहेछ ।

‘एक्लै–दुक्लै हिँड्ने हो भने अलि आत्तिँदो हगि मान्छे ?’ स्थानीयता जोड्ने प्रश्न     थियो मेरो ।

एक्लै होस् या मासमा हामी सैनिक त डराउने कुरै आएन, जे पर्छ त्यही टर्छ ।’ सुवेदार बोले ।

‘शत्रु आए मार्ने हो, सज्जन आए सपार्ने हो, हाम्रो सेनाको धर्म ।’ हवल्दार बोले ।

‘जिन्दगी भनेकै युद्ध र विजय त रहेछ नि हगि ।’ मैले सैनिक कोणबाट जीवन अथ्र्याउन खोजेँ । ‘तर युद्ध गर्नु भनेको समझदारी र सोच सकिनु पनि हो नि’ थपेँ ।

देशमा युद्ध चलिरहेको बेला धेरैपटक क्रस फायरमा परेको अनुभव रहेछ ती दुई सैनिक भाइमा ।

‘हिँड्दाहिँड्दै गोली बर्सिहाल्छ । बम पड्किहाल्छ । मारामार चल्छ । हानाहान चल्छ । त्यस्तो बेला आफूले छलेर शत्रुलाई प्रहार गर्न सकिएन भने जिन्दगीले त सिल्टिमुर खाइहाल्यो नि । जिन्दगी भनेकै युद्धमा जित्नु हो रहेछ । हार्ने भनेकै कि जिन्दगीभरि पछुताउनुपर्‍यो, कि तत्क्षणमै घाइते वा मारिनु पर्‍यो ।’ सैनिक दर्शन आयो  भाइबाट । हामीलाई पनि चित्त बुझेको छ उनीहरूको कुरा । 

‘जे भने पनि युद्ध नै अन्तिम समाधानचाहिँ होइन है । युद्ध भनेको उदण्डता हो जसले अरू उदण्डता जन्माउने बाहेक केही गर्दैन ।’— साथीले थप्नुभयो ।

‘सुनसान जङ्गलमा हिँडिरहेथ्यो हाम्रो डफ्फा । जम्काभेट भयो शत्रुको डफ्फासँग । उनीहरू अग्लो डाँडोमा थिए । हामी खोचमा थियौँ । उनीहरूले ढुङ्गामुढा गर्न थाले, धेरै छौँ भन्ने बुझाउन कोकोहालो हाल्न थाले । हामीले हवाईफायर गर्‍यौँ । हामी झन् धेरै छाँै भन्ने दर्साउन झन् बेस्सरी चिच्च्याइरह्यौ । निकैबेरपछि उनीहरू पारि डाँडाबाट पार लागेको देखियो । जितेपछि खुसीयाली मनायौँ हामीले । युद्ध र जिन्दगी उस्तै हो पटकपटक जितिरहनुपर्छ, अर्काले हराउला कि भनेर सधैँँ सचेत बनिरहनु पर्छ । ढल्यो भने त सिद्धिइहाल्यो नि । दोहोरो भीडन्त हुँदा कैयौँ साथीको लास बोकेर दौडेको छु म । एकक्षण अघिसम्म आफूसँगै गोली र बम बर्साइरहेको साथीलाई एकक्षणमै लासको रूपमा बोक्नुपर्दा मन कति रोयो होला सर ? तर, सिपाहीले रुनु हुँदैन । झन् जोस र साहस बढ्छ त्यति बेला ।’ सुवेदारको अनुभव सुन्दा बाटो काट्दाको उकालो बिर्सेका छौँ हामीहरूले ।

तत्क्षणको चलाकीपूर्वक व्यवस्थापनबाट विजय हासिल गर्नु नै हो रहेछ जीवन ।

बिचपानी पुग्न जति उकालो चढ्यो उति घना भेटिन्छ जङ्गल । घुम्ती उकालोकै छ, मोड उकालोकै छ, हिँड्न पर्ने उकालोमै छ । मेरो साथी उकालो चढ्न गाह्रो पर्छ कि भन्नुहुन्थ्यो काठमाडौँमा, त्यतातिर त उहाँ हामीभन्दा ठमठमी हिँडिरहनुभएको देख्दा खुसी भएको छु म । यात्रामा सबै साथी सक्षम, सबै साथी सकुशल भए भने गन्तव्यमा पुग्न रमाइलै हुन्छ ।

‘यस्ता उकाला त चपाएर निलिदिनुहुने रहेछ हजुरले ।’ उहाँको हिँडाइमा तेल थप्छु  म । 

‘साँच्चै हो भन्या दुखिरहेको घुँडा पनि यो उकालो चढ्दा सन्चो भयो ।’ उत्साहित हुनुहुन्छ उहाँ ।

ज्वाइँसाहेब त त्यस्ता डाँडाकाँडा कैयौँ चाहार्नुभएको मान्छे बिचपानी जाने उकालोले थकाउने कुरै भएन । 

हामी उकालो चढिरहेको बाटोवरिपरि दाना फलेका खस्रुका बोटहरू हल्लिरहेछन् । तिखा काँडेदार पातका बाँझहरू चम्किरहेछन् । कलकलाउँदा मुहुनाहरू फुटिरहेछन् अँगेरीहरूको । बेस्सरी झुलिरहेछन् चुत्राको दाना ।

हावाले सुइ्यँ सुसाइरहन्छ जङ्गल । जङ्गल सुसाउँदा आफैँले मीठो श्वास फेरेझैँ लाग्छ मलाई । शान्त छ शालीन छ तर पनि निकै सभ्य हल्लाखल्ला छ जङ्गलमा । मसिनो स्वरदेखि धोत्रो स्वरसम्मका चराचुरुङ्गीहरू लगातार कराइरहेछन् । मानौँ, त्यहाँ चराहरूको ठूलै जात्रा लागिरहेछ । सुमधुर धुनहरूको मीठो कोरस बजेझैँ लाग्छ ।

झिँग्राना बिचपानी मध्यबिन्दु लेखेको माइलस्टोन भेटियो दुईघण्टा उकालो चढेपछि ।

थचक्क बस्नुभयो मित्र ढुङ्गामाथि । टुक्रुक्क बस्नुभयो अर्को मित्र पनि उहाँकै नजिकै ।

‘ए ज्वाइँ, हिँडौँ न स्वाइँस्वाइँ’ भनेँ, तर अडेस लागेर बसेँ म पनि ढुङ्गालाई कुर्सी बनाएर । सैनिक भाइहरू पनि दायाँबायाँ बसे हाम्रो ।

‘डङडङडङ’ केके खसेजस्तो ठूलै आवाज आयो । माथिबाट तलतिर ठूलै कुरा गुल्टेझैँ आवाज आयो । न हुत्तिँदै आएको ढुङ्गाले अचार पो बनाउने हो कि हामीलाई । केके न भएझैँ आत्तियौँ हामी सबै जना । हामीभन्दा अलि परबाट तलतिर झरेको महसुस भयो त्यो आवाज । सैनिक भाइहरूले अलि परबाट लुकेर तलतिर हेरे र दौड्दै फर्के ।

‘कालो भालुको बथान रहेछ सर, धन्न बचियो हामी । यतैबाट झरेका भए त दाह्राले चिरचार पार्दिन बेर लगाउँदैन थिए, भालुहरूले । बरु यतातिर धेरैबेर बस्नु ठीक   छैन ।’

हवल्दारको कुरा सुनेपछि थकाइ बिर्सेरै उकालो चढ्न थाले हाम्रा पाइला ।

अघिल्तिर चिल्लो हरियो, पछिल्तिर फुस्रो सेतो रङ्गमा झुम्म झुम्मिएका छन् बाँझका पातहरू । झरेका बाँझका पातहरू सुकेर खङ्ग्रङ्ग र राताम्य छन् । बाटो पूरै छोपेका बाँझका पातहरू कुल्चँदै हिँड्दा एउटा मीठो सङ्गीत बज्छ सर्‍याकसुरुकको । हाम्रो जिन्दगीको सुन्दर चित्रहरू देख्छु म बाँझका चिल्ला र फुस्रा पातहरूमा ।

डाँडाको नाकैको बाटोमा कोही माथि, कोही तल, कोही दायाँ, कोही बायाँ छरिएका ढुङ्गामाथि बसेका छन् केही मान्छेहरू । आधाजति पुरुष, आधाजति महिला ।

कर्नेल शङ्कर पण्डित, उहाँकी पत्नी, छोरा, धनगढीका एक दम्पती र काठमाडौँ म्हैपीका पुष्पा खनाल बहिनी पनि भेटिनुभयो त्यो थकाइ मार्ने ठाउँमा ।

केहीबेर शङ्करजी र मैले भलाकुसारी गर्‍यौँ । केहीबेर हामी सबैले सबैसँग मुख मिलायौँ । सँगै हिँड्न सुरु गर्‍यौँ, तेर्पे भेटिन्छ । उकालो भने बलियै आउँछ ।

उकालो चढ्दाचढ्दै सबैसँग सबैको मन सुकिलो भइसकेको छ । गीत आउँछ, गजल आउँछ, कविता आउँछ, हाँस्ने हँसाउने आउँछ ।

मान्छे भेट्दा जस्तो खुसी, मान्छे अरू कुरामा बन्नै सक्तैन । जङ्गलको फूलबारी र मान्छेको फूलबारीमा रमाएका छन् आँखाहरू । मसँगैको एउटा फूलले हटाएकी छिन् उकालो चढ्दाको सारा पट्टयार । साँच्चै जङ्गल नभएको भए, फूलहरू नफुलेको भए, जनावरहरू नभएको भए कहाँ बाच्थ्यौँ र हामी ?

‘हजुरहरूसँग अघि नै भेट हुनुपर्ने यो उकालो त काँचै खाइने रै’छ’— कर्नेलको खुसी शीतल हावासँगै मिसिन्छ ।

त्यहाँ कसैको स्वरको सीमा छैन । जङ्गलभित्र हिँड्नु, गुफामा हिँड्नु जस्तो त होइन नि । कताकता भित्रभित्र हिँडेजस्तो तर संसार नै नयाँ, रहस्यपूर्ण र आश्चर्यपूर्ण भेटेजस्तो । हाम्रो भन्दा सयौँ गुणा ठूलो स्वरले कराइरहेछन् चराचुरुङ्गीहरू । एक किसिमको जुहारी नै चलिरहेछ चराको र हाम्रो ।

चराहरूले बोकेका सपनाका इन्द्रेणीरेखाहरू कस्ता होलान् ? म भने सपनाका जून ताराहरू कोट्टयाउँदै हिँडिरहेछु ।

चरा र हाम्रो जुहारी हेर्न कुहिरोचाहिँ उकालोबाट ओरालोतिर झर्‍यो, युद्धमा झरेको सिपाहीको भीडजस्तो । कसैलाई रित्तो थालीमा फूल र प्रसाद जम्मा गर्न हतार भएजस्तो ।

‘यस्तोमा त बाघ, भालु नै छोइए पनि देखिँदैन होला । बित्थामा यो कुइरोले पनि किन यही बेला माया गरेको होला’— पण्डित म्याडमको मन अलि असजिलो बनेको बाहिर प्रस्टियो ।

‘न दिशा थाहा छ, न बस्ती देखिन्छ, न मित्रको मानमनितो आभास, न शत्रुको सामिप्यता साँच्चै जङ्गल बुझ्न जङ्गली नै भएर हिँड्न सक्नुपर्ने रहेछ, अनि हुँदो हो आनन्द’— एउटा दर्शन आउँछ मेरो मित्रबाट ।

‘हो त नि, कहिलेकाहीँ त साँध सिमानाको मतलब नगरी, उकालोओरालोको परवाह नगरी, खान हुने कुरा भेटे खाइदिँदै, लाउन हुने चीज भेटे लाइदिँदै, क्षणमै डराउँदै, क्षणमै मनको डर हराउँदै, क्षणमै गाउँदै हाँस्दै, क्षणमै काँडामा कोतरिँदै र जुका, प्युसाबाट टोकिँदै, क्षणमै घनघोर वर्षा छल्न ओत लाग्दै, क्षणमै डिल र थाप्लातिर घाम ताप्दै चराजस्तो बनेर अथवा बाघजस्तो बनेर हिँड्ने हो भने मात्र जङ्गल हिँडेको अर्थ हुँदो हो ।’ मैले पनि दर्शन छाँटेँ ।

‘जङ्गलमा मङ्गल भए पो जीवनको सार्थकता हुन्थ्यो त । जीवनलाई फुक्का छोड्न सक्ने मान्छे मात्र खुसी हुन्छ जिन्दगीमा । घेरामा मात्र बाँधिन थाल्यो भने कुवाको भ्यागुतो मात्र बन्छ मान्छे ।’ थपिदिएँ मैले ।

‘परिवारको घेरा तोडेर निष्फिक्री हिँडेपछि राजकुमार सिद्धार्थ गौतम बुद्ध बने । परिवार, घर, गाउँ र जागिरबाट माथि उठेपछि माओत्सेतुङ बने माओ । जीवनको घेराभन्दा माथि उठ्न थालेपछि मात्र ठोकुवा गर्न सकेका हुन् स्टेफेन हकिन्सले संसार ईश्वरबाट होइन प्रकृतिबाट सञ्चालित छ भनेर । जङ्गलमा हिँड्नेलाई बेग्लै बाटोमा हिँड्ने छुट छ । पुरानै बाटो हिँडिरहनेले संसारलाई नयाँ दृष्टिले हेर्न   सक्तैन ।’

चर्चा गहन र उपलब्धिमूलक गर्दै हिँडेका छौँ हामी ।

‘हामी त सेना हजुर, जिन्दगी नै अनुशासन र आदेशमा चलेको छ, बेग्लै र बाङ्गोटिङ्गो भन्ने त बिरलै हुन्छ सैनिक जीवनमा । तर एउटा सत्यचाहिँ के हो भने फौज लड्छ र जित्छ, हामी जर्नेल कर्नेलहरूले स्यावासी पाउँछौँ ।’ करसाबको कुनो उज्यालियो ।

‘धेरै घेरामा रहनेहरूले नै सबैभन्दा छिटो तोड्छन् घेराहरू’— थपेँ मैले । ‘कहावत नै छ नि— प्रेम र युद्धको कुनै घेरा हुँदैन । सेना पनि त सिक्काको दुई पाटाजस्तो त हो नि— आफ्नोतिर कडा अनुशासन, अर्कातिर सम्पूर्ण छुट ।’ मैले थपेँ । ‘तर पनि, समयको परिधि र प्रेमको परिधिले निम्त्याउने हो उज्यालो’— अर्को तर्क ।

‘मानेँ हजुर, मानेँ— साहित्यकारज्यूको तर्कलाई मानेँ ।’ कर्नेल पण्डितको मन भित्रैदेखि शान्त बन्यो सायद ।

बुद्रुक्क फालहाल्यो हामीभन्दा अलि पर एउटा कालो डल्लो । कुहिरोको जङ्गल र जङ्गलको कुहिरोले भ्रमपूर्ण छन् सबै कुरा ।

‘के आयो लौ’न ?’ अघिअघि हिँडिरहेकी पुष्पा बहिनीको मुटुमा ढ्याङ्ग्रो ठोक्यो । लट्ठी ढुङ्गामा बजार्नुभयो बहिनीले ट्वाङट्वाङी ।

बाघ, भालु निस्केन, मान्छे पो निस्कियो त्यो डल्लोबाट । ठिङ्ग उभिए ती भाइ । पिठ्यूँभरि निगालाका टुसा बोकेका रहेछन् उनले ।

‘क्या हो, निकुञ्जको टुसा भाँच्न पाइन्छ ?’ कर्नेल शङ्कर पण्डित कुर्लनुभयो ।

‘के गर्नु हजुर बिचपानीमा पाहुनालाई तरकारी ख्वाउन टुसाबाहेक केही पाइन्न ? यसो बाङ्गाटिङ्गा भाँचेको नि’— आइतबाहरूको कामेको स्वर निस्कियो ।

जङ्गलभरि निगालोझाडी फैलिइरहेछ । जताततै बूढी औँलाभन्दा ठूला टुसा उम्रिरहेछन् ।

‘ए भाइ तिमी दौडेरै गएर बिचपानीमा खानाको अर्डर गर, सरहरू तीन जनाको पनि खाना हामीसँगै भन है ।’ एक सिपाही भाइ उकालोतिर दौडिए कर्नेल शङ्करको आदेशमा ।

‘हजुरहरूको आजको खाना मेरो तर्फबाट है’— कर्नेलको आग्रह निस्कियो ।

‘यस्तो भोकमा खानाको प्रस्ताव, यो त सुनमाथि सुगन्ध भइहाल्यो नि हजुर’— म   हाँसेँ ।

अपराह्न बाह्र बजे बिचपानी पुग्यौँ हामी । झिँग्रानाबाट खप्तड जाँदा सबैभन्दा अग्लो बिन्दु । ‘झिँग्रानाको उचाइ समुद्रसतहबाट दुई हजार तीन सय मिटर, बिचपानीको उचाइ तीन हजार दुई सय छयत्तर मिटर’— बिचपानीमै भने एक  भाइले ।

डाँडामाथि अलिकति समथर थाप्लो छ बिचपानी । बाँझका ठूलाठूला रूखहरूले घेरिएको छ बिचपानी । खप्तड राष्ट्रिय निकुञ्जका ससाना घर छन् । निर्माण गर्दागर्दै अधुरो छोडिएको एउटा घुमाउरो घर देखियो । 

खप्तड क्षेत्र पर्यटन विकास समितिले पाहुनाघर निर्माण सुरु गरेको थियो, भ्रष्टाचारको अभियोगमा अख्तियारको फन्दामा परे निर्माण समितिका   पदाधिकारीहरू ।’ निर्माण गर्दागर्दै अधुरो छोड्नुको अर्थ बताइन् होटेलकी बहिनीले । 

एउटा मात्र होटेल रहेछ बिचपानीमा, त्यो पनि निकुञ्जले चलाएको ।

चिसो र सफा पानीले मुख धुँदा थकाइ पनि पखालियो । अरू धेरै मान्छेहरू बेन्चबेन्चमा बसिरहेथे । सफा चौर रहेछ । हामी त डङ्रङ्ग पल्ट्यौ हरियो चौरमा ।

निर्वाङ्ग आकाश नीलिम रङ्गमा फैलिरहेछ । निरामय आकाशबाट फुत्रुक्क ओर्लेको घामले चुमिरह्यो अङ्गअङ्ग । निर्मल र निष्क्लेश बनेको छ मन । भर्खर ब्युँतेको हावाले नाकैमा ल्याएर छोडेको छ निष्छल र निस्सीम आनन्दको सुगन्ध ।

‘खाना तयार भयो हजुर ।’

भाइको स्वादिलो आवाजले भोक पनि जुरुक्क उठ्यो हामीसँगै ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. दामोदर पुडासैनी ‘किशोर’
डा. दामोदर पुडासैनी ‘किशोर’
लेखकबाट थप