भाषामा भूमण्डलीकरणको प्रभाव

भूमण्डलीकरणको प्रभाव भाषामा परेको छ । यसका बारेमा प्राज्ञिक छलफल भएका छन्, भाषालाई जोगाउन नीति तथा कार्यक्रम बनाइएका छन् । भाषामाथिको नकारात्मक प्रभावको आलोचना गरिएको छ, यसको प्रतिवादमा वैश्विक रूपमा कार्यक्रम भएका छन् । भूमण्डलीकरणलाई सकारात्मक रूपमा अथ्र्याउँदै भाषाका सन्दर्भमा यसै अनुरूप हेर्नेहरू पनि छन् तर धेरैले भाषामाथि भूमण्डलीकरणको नकारात्मक प्रभाव परेको छ भन्दै यसको आलोचना गरेका छन् । उनीहरूले भूमण्डलीकरणका कारण केही बलिया भाषाको वर्चस्व बढेको र विभिन्न मुलुकका मातृभाषाका अगाडि गम्भीर चुनौती उपस्थित भएको तथ्य प्रस्तुत गर्दै आएका छन् । खास गरेर अङ्ग्रेजी भाषाको वैश्विक वर्चस्व विस्तार र सुदृढीकरणमा भूमण्डलीकरणको महत्त्वपूर्ण भूमिका रहेको विश्लेषण उनीहरूबाट हुँदै आएको छ । भूमण्डलीकरणमा स्वयं अङ्ग्रेजी भाषाको योगदान छ ।
चाल्र्स बार्बर (सन् १९९३, द इङ्ग्लिस ल्याङ्ग्वेज ः अ हिस्टोरिकल इन्ट्रोडक्सन) का शब्दमा अङ्ग्रेजी भाषाको वैश्विक वर्चस्व विस्तारको महत्त्वपूर्ण कारण ब्रिटिस उपनिवेशवाद, व्यापार र संसारका विभिन्न मुलुकमाथिको विजय रहे पनि भूमण्डलीकरणले यसलाई अझ बढायो भन्ने विश्लेषण कैयौँ विश्लेषकबाट हुँदै आएको छ । यस विश्लेषणले भाषिक वर्चस्व विस्तारको यथार्थलाई हाम्रासामु राख्छ । भूमण्डलीकरणको प्रक्रियाबाट नेपाल पनि अलग छैन । नेपालको आर्थिक, राजनीतिक, सामाजिक–सांस्कृतिक जीवनमा यसको प्रभाव परेको छ । भाषाहरू पनि यसको प्रभावबाट मुक्त छैनन् । नेपालका मातृभाषाहरूमा भूमण्डलीकरणको के कस्तो प्रभाव परेको छ, यसको व्यापक र गहिरो अध्ययन आवश्यक छ । भूमण्डलीकरणका कारण मातृभाषाहरू कमजोर भएका दृष्टान्त छन् । भाषिक अपसरण र मृत्युको एक महत्त्वपूर्ण कारकका रूपमा भूमण्डलीकरणलाई लिइन्छ । नेपाली भाषा मात्र होइन, नेपालमा बोलिने अन्य मातृभाषा पनि यसबाट प्रभावित छन् ।
भूमण्डलीकरणका बारेमा समान धारणाहरू छैनन् । यसका प्रशंसक र आलोचक दुवै छन् । भूमण्डलीकरणको एकाङ्गी आलोचना वस्तुगत छैन तर यसका उज्यालाभन्दा अँध्यारा पक्ष धेरै छन् । आफ्नो मूल चरित्रमा यो वर्चस्वकारी छ र यसको केन्द्रमा शक्तिशाली पुँजीवादी राष्ट्रका आर्थिक, राजनीतिक, सांस्कृतिक एवं सामरिक हितहरू छन् । सामान्य अर्थमा भूमण्डलीकरणलाई वस्तु वा विचारको वैश्विक फैलावट र प्रभावका रूपमा लिइन्छ । विभिन्न देशहरूबिच सम्बन्धको विस्तार, वस्तु, सेवा, पुँजी, सूचना, विचार आदिको विनिमय, परस्पर आर्थिक निर्भरता, पुँजीको प्रवाह, लगानी आदिका रूपमा भूमण्डलीकरणलाई हेर्ने गरिएको छ । भूखण्डलीकरणलाई आर्थिक, राजनीतिक, सांस्कृतिक प्रक्रियाका रूपमा उल्लेख गरिन्छ । यस प्रक्रियामा शक्तिशाली राष्ट्रहरू सधैँ निर्णायक रहँदै आएका छन् । आर्थिक, राजनीतिक एवं सांस्कृतिक रूपमा उनीहरूको भूमिका निर्णायक र वर्चस्वकारी रहेको छ ।
आर. रबर्टसन (सन् १९९२, ग्लोबलाइजेसन) भूमण्डलीकरणले साँघुरिएको विश्व र परस्पर निर्भरतालाई बुझाए पनि यसको सम्बन्ध आर्थिक, राजनीतिक वर्चस्व, सैन्य सम्बन्ध र सांस्कृतिक साम्राज्यवादसँग रहेको चर्चा गर्छन् । उनका विचारमा भूमण्डलीकरण वर्चस्वको अवधारणाबाट मुक्त छैन । एजाज अहमद (सन् २००८, किन की शदी किन की सहस्राब्दी) भूमण्डलीकरणलाई आजको साम्राज्यवादका रूपमा व्याख्या गर्छन् । उनले यसलाई आर्थिक, राजनीतिक, सैन्य एवं वैचारिक शक्ति तथा भूराजनीतिक विन्न्यासको समष्टिगत व्यवस्थाका रूपमा हेरेका छन् ।
भूमण्डलीकरणका कारण मातृभाषाहरू कमजोर भएका दृष्टान्त छन् । भाषिक अपसरण र मृत्युको एक महत्त्वपूर्ण कारकका रूपमा भूमण्डलीकरणलाई लिइन्छ । नेपाली भाषा मात्र होइन, नेपालमा बोलिने अन्य मातृभाषा पनि यसबाट प्रभावित छन् ।
भूमण्डलीकरणलाई ‘सीमाविहीन संसारको उदय’, ‘राष्ट्र–राज्यको सीमाको अतिक्रमण’, ‘विश्वग्रामतिरको प्रस्थान’, ‘परस्पर निभर्रता र सहअस्तित्व’, ‘बहुलताबिचको संवाद’, ‘प्रविधि निर्मित अन्तरनिर्भर संसार’ आदि भनिए पनि यो मूलतः पश्चिमीकरण, अझ अमेरिकीकरणका रूपमा रहेको छ । चाल्र्स लेमर्ट र अन्य (सन् २०१३, ग्लोबलाइजेसन रिडर)ले भूमण्डलीकरण एकोहोरो प्रक्रियाका रूपमा नरहेको उल्लेख गरे पनि भूमण्डलीकरणको प्रक्रिया बढी एकोहोरो नै रहेको छ । यस प्रक्रियामा शक्तिशाली राष्ट्रहरू नै निर्णायक छन् । भूमण्डलीकरण उनीहरूका आर्थिक, राजनीतिक, सामरिक एवं सांस्कृतिक हित र अभीष्टहरूलाई केन्द्रमा राखेर हिँडेको छ ।
भूमण्डलीकरणको प्रक्रियामा नवउदारवादी अर्थनीतिलाई केन्द्रमा राखिएको छ र यसलाई प्रमुख पुँजीवादी राष्ट्रहरूले आफ्नो हित अनुरूप अघि बढाएका छन् । राजनीतिक एवं सैन्य वर्चस्व र हितलाई यसै अनुरूप डोर्याइएको छ । सांस्कृतिक वर्चस्वलाई पनि उच्च महत्त्व प्रदान गरिएको छ । भूमडण्लीकरणकै कारण विभिन्न मुलुकमा संस्कृतिको सङ्करीकरण बढेको छ । जातीय समुदाय आफ्नो मौलिक संस्कृति गुमाउँदै छन् । एम. मियोसी (सन् १९९७, ‘साइट्स अफ रेजिस्टेन्स इन् द ग्लोबल इकोनोमी’, कल्चरल रिडिङ्ग्स अफ् इम्पेरियलिजम् ः एडवर्ड सइद एन्ड ग्राभिटी अफ् हिस्ट्री) भूमण्डलीकरणको प्रक्रियामा राष्ट्रिय संस्कृति अप्रासङ्गिक हुँदै छ भन्छन् । मालकम वाटर्स (सन् २००१, ग्लोबलाइजेसन) भूमण्डलीकरणलाई संस्कृतिलाई प्रभावित गर्ने ऐतिहासिक प्रक्रियाका रूपमा मात्र नहेरेर केन्द्रीय तत्त्वका रूपमा हेर्नुपर्ने उल्लेख गर्छन् । भाषा अर्थ र राजनीतिसँग पनि जोडिन्छ तर यसको सम्बन्ध मूलतः संस्कृतिसँग रहेको छ ।
भाषिक वर्चस्वको विस्तारमा आर्थिक र राजनीतिक वर्चस्वको भूमिका रहन्छ । भाषाले आर्थिक, राजनीतिक, सांस्कृतिक वर्चस्वको विस्तारमा महत्त्वपूर्ण उपकरणका रूपमा भूमिका सम्पादन गर्दै आएको छ । अङ्ग्रेजी भाषाविना ब्रिटिस साम्राज्यको विस्तार सम्भव थिएन, त्यसलाई लामो समयसम्म टिकाउन झनै सम्भव थिएन । भाषा मनुष्यको आभ्यान्तरिक जगत् र मस्तिष्कलाई नियन्त्रित, अनुकूलित र परिवर्तन गर्ने एक महत्त्वपूर्ण माध्यम हो । मैनेजर पाण्डेय (सन् २००८, ‘भाषा और सांस्कृतिक साम्राज्यवाद’, भाषा और भूमण्डलीकरण) पुँजीवाद बहुभाषा होइन, एक भाषाका पक्षमा छ भन्छन् । उनका विचारमा बजारले एक भाषा खोज्छ, बहुभाषा होइन । आजको भूमण्डलीकरणको केन्द्रमा बहुसंस्कृतिवाद र बहुभाषिकता छ भने पनि वास्तविकता उल्टो छ । भूमण्डलीकरणको मूल चरित्र बहुसांस्कृतिकता र बहुभाषिकता नभएर समरूपता हो । भूमण्डलीकरणको प्रक्रियामा विविधता र समरूपताका बिचमा निरन्तर संघर्ष चल्दै आएको छ । रमाकान्त अग्निहोत्रीका शब्दमा भाषा ऐतिहासिक, सामाजिक, सांस्कृतिक संरचना हो र यिनै कारणले यसको स्थितिमा पनि परिवर्तन आउँछ । भूमण्डलीकरण आर्थिक, राजनीतिक, सांस्कृतिक प्रक्रिया भएकाले अग्निहोत्रीले भनेजस्तै भाषामा यसको प्रभाव पर्नु र स्थितिमा परिवर्तन आउनु स्वाभाविक छ ।
रेहनुमा सज्जाद (सन् २०२०, ‘द इफेक्ट अफ ग्लोबलाइजेसन अन ल्याङ्ग्वेज एन्ड कल्चरल डाइभर्सिटी’) बजारले एक सहज संसार निर्माणको इच्छालाई महत्त्व प्रदान गर्छ भन्दै यसले एउटै आर्थिक, सांस्कृतिक प्रणाली बनाउने विनाशकारी बाटोतर्फ डोर्याउँछ भन्छिन् । अङ्ग्रेजी बोल्नेहरूको एक ‘म्याकडोनाल्डाइज्ड’ ग्रहको निर्माण उनी यसको उद्देश्यभित्र देख्छिन् । बजार भूमण्डलीकरणको अभिन्न अङ्ग हो । भूमण्डलीकरणको प्रक्रियामा यसको महत्त्वपूर्ण भूमिका रहन्छ । सज्जाद आउँदो सय वर्षमा संसारका आधाभन्दा बढी भाषा समाप्त हुने र यसमा भूमण्डलीकरणको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्छिन् । उनको दृष्टिकोण ‘म्याकडोनाल्डाइज्ड’ पृथ्वीले मनुष्यको एकीकृत जीवनलाई पोषण गर्दैन भन्ने रहेको छ । जेन ज्याक्सन (सन् २०१२, द रुटलेज ह्यान्ड बुक अफ् ल्याङ्ग्वेज एन्ड इन्टरकल्चरल कम्युनिकेसन) बहुभाषिकताको प्रसार र त्यसको मूल्यमा भूमण्डलीकरणको ठुलो प्रभाव परेको उल्लेख गर्छन् । अङ्ग्रेजीको प्रभाव बढेको, भाषाहरूको अपसरण बढेको र स्थानान्तरित भएको धारणा उनले व्यक्त गरेका छन् । भूमण्डलीकरणको प्रक्रियामा अङ्ग्रेजीको विस्तार निकै छिटो छिटो भएको छ । धेरै जनसङ्ख्याले बोल्ने भाषा संसारमा अरु पनि छन् तर अङ्ग्रेजीको कुरा बेग्लै छ । अङ्ग्रेजीले संसारभरि माध्यम भाषाका रूपमा कार्य गर्छ तर माध्यम भाषा बन्ने कुरा आर्थिक, राजनीतिक र सांस्कृतिक शक्तिसँग जोडिएको छ ।
भूमण्डलीकरणका कारण बढेको अङ्ग्रेजीको वर्चस्वले भाषाको सङ्करीकरणको प्रक्रियालाई तीव्र बनाएको छ । एउटा भाषामा अन्य भाषाबाट शब्द आउँछन्, यसलाई अन्यथा मानिन्न, यसलाई सङ्करीकरण ठानिन्न । सङ्करीकरण अर्को शक्तिशाली भाषाको प्रभावमा आफ्नो भाषाले मौलिकता गुमाउँदै जाने प्रक्रिया हो । यो भाषाको क्वाँटीकरण हो ।
अङ्ग्रेजी माध्यम भाषाका रूपमा मात्र नरहेर यसले आफू अनुकूल संस्कृति र मनोसंरचनाको निर्माण गर्छ भन्नेतिर धेरैको ध्यान नै गएको पाइँदैन । बर्चफिल्ड ( सन् १९८५, द इङ्गलिस ल्याङ्ग्वेज) अङ्ग्रेजी अब यति सामान्य भाषा बन्यो कि कुनै सुशिक्षित व्यक्तिले अङ्ग्रेजी बोल्न जानेन भने उसले आफूलाई वञ्चित सम्झन्छ भन्छन् । वञ्चनाका गरिबी, बिमारी र अकालका रूपभन्दा भाषिक वञ्चना प्रत्यक्ष रूपमा कम देखिन्छ तर यो पनि वञ्चनाको महत्त्वपूर्ण रूप हो भन्ने उनको दृष्टिकोण छ । अङ्ग्रेजी नजान्दा आफू ठगिएको, हेपिएको, पछि परेको ठान्नुभित्र हामी अङ्ग्रेजीको वर्चस्वलाई नियाल्न सक्छौँ । भूमण्डलीकरण बहुभाषिकताको पक्षमा हुन्थ्यो भने परिदृश्य बेग्लै हुन्थ्यो ।
रबर्ट फिलिप्सन (सन् १९९२, लिङ्ग्विस्टिक इम्पेरियलिजम्) अङ्ग्रेजी भाषाको वैश्विक विस्तारमा आर्थिक, राजनीतिक, सांस्कृतिक एवं बौद्धिक शक्तिले काम गरेको देख्छन् । उनका विचारमा अङ्ग्रेजीको वैश्विक विस्तार स्वतः भएको होइन । विश्वका मानिसले आफ्नो भाषाभन्दा राम्रो र समुन्नत ठानेर त्यसलाई अपनाएका होइनन् । यसको वैश्विक विस्तारमा साम्राज्यवादी शक्तिको हात छ । उनी भूमण्डलीकरणको विस्तारमा पनि अङ्ग्रेजीको महत्त्वपूर्ण भूमिका देख्छन् । उनी अङ्ग्रेजी भाषाको वैश्विक विस्तारका निम्ति अर्काे मुलुकमा अङ्ग्रेजी भाषाका विद्यालय खोल्ने, तिनमा अङ्ग्रेजी पढाउन आफ्नो मुलुकबाट शिक्षकहरू पठाउने, आफ्नो मुलुकमा बोलाएर भाषा प्रशिक्षण दिने, सरकारहरूलाई दबाब दिएर विद्यालयदेखि विश्वविद्यालयसम्म अङ्ग्रेजी अनिवार्य गर्न लगाउने, शैक्षिक नीति र पाठ्यक्रम परिवर्तन गर्न लगाउने जस्ता कार्य पनि गरिँदै आइएको उल्लेख गर्छन् । शम्भुनाथको धारणा पनि यस्तै रहेको छ । उनी (सन् २००८, ‘भूमण्डलीकरण ः एक भीषण सांस्कृतिक उन्मूलन’, भाषा और भूमण्डलीकरण) यता आएर अङ्ग्रेजी भाषाको वर्चस्व कैयौँ गुणा बढेको छ मात्रै भन्दैनन्, यो साँचो अर्थमा पहिलोपटक भूमण्डलीय भाषा बनेको छ पनि भन्छन् । उनका विचारमा अङ्ग्रेजी भाषा आजजस्तो बलियो यसअघि कहिल्यै बनेको थिएन । फ्रेन्च, जर्मन आदिजस्ता भाषा पनि यसका कारण विचलित छन् । भूमण्डलीकरणको एक मात्र भाषा अङ्ग्रेजी हो भन्ने धारणा उनको रहेको छ । भूमण्डलीकरण एक ध्रुवीय, एक केन्द्रिक र एक पक्षीय हुनु यसको मूल कारण हो भन्छन् उनी । भाषालाई भूमण्डलीकरणको जीवनरेखाका रूपमा लिइन्छ । भाषाविना भूमण्डलीकरण सम्भव थिएन, छैन र हुनेछैन । शम्भुनाथको भनाइमा यही यथार्थ प्रकट भएको छ । न्गुगी वा थ्योन्गो (सन् १९८६, डिकोलोनाइज्ड द माइन्ड ः द पोलिटिक्स अफ् ल्याङ्ग्वेज एन्ड अफ्रिकी लिटेरेचर) संस्कृतिका रूपमा भाषा मानिसहरूको सामूहिक स्मृतिको सङ्ग्रह हो भन्छन् र अङ्ग्रेजीलाई ‘सांस्कृतिक बम’का रूपमा लिन्छन् । ‘सांस्कृतिक बम’को प्रभावले मानिसको आफ्नो नाम, आफ्नो भाषा, आफ्नो परिवेश, सङ्घर्षको आफ्नो परम्परा, एकता, आफ्नो क्षमता र अन्ततः आफूप्रतिको विश्वासलाई नै नष्ट गर्छ भन्ने धारणा उनको छ ।
भाषा मनुष्यको अस्तित्व र पहिचानसँग जोडिएको छ । ग्राम्सी (सन् १९७१, प्रिजन नोटबुक्स) प्रत्येक व्यक्तिले भाषाकै माध्यमबाट धारणा र विचारलाई समग्रतामा बोध गर्छ, समाज र संसारमा आफ्नो अवधारणाको प्रयोग गर्छ र भाषाका कारण उसको आफ्नो पहिचानको निर्माण हुन्छ भन्छन् । डेभिड म्याकेन्ली (सन् १९९७, ‘ल्याङ्ग्वेज, हिस्ट्री एन्ड क्लास स्ट्रगल’) चेतनाजस्तै भाषा पनि मानव अस्तित्वभन्दा भिन्न र अलग क्षेत्र होइन भन्छन् । उनका विचारमा यो अस्तित्वको अभिव्यक्तिको एक माध्यम हो, यो सामाजिक र ऐतिहासिक हुन्छ र शक्तिशाली भाषाहरू वर्चस्वकारी हुन्छन् । जोन गम्पर्ज (सन् १९८३, ल्याङ्ग्वेज एन्ड सोसियल आइडेन्टिटी) का अनुसार सांस्कृतिक पहिचान भाषासँग जोडिएर आउँछ र यो भाषाकै माध्यमबाट परिभाषित र अभिलिखित हुन्छ । यहीँनेर भाषिक वर्चस्व मौलिक स्व र पहिचानका विरुद्ध उभिन्छ । भूमण्डलीकरणको प्रक्रियामा यही हुँदै छ । भूमण्डलीकरणको एक मात्र भाषाका रूपमा अङ्ग्रेजीले ‘सांस्कृतिक बम’का रूपमा कार्य गर्दै छ र मातृभाषाहरू कमजोर बन्दै छन् । भाषाको मृत्युमा भूमण्डलीकरण एक महत्त्वपूर्ण कारकका रूपमा रहेको छ ।
भूमण्डलीकरणका कारण बढेको अङ्ग्रेजीको वर्चस्वले भाषाको सङ्करीकरणको प्रक्रियालाई तीव्र बनाएको छ । एउटा भाषामा अन्य भाषाबाट शब्द आउँछन्, यसलाई अन्यथा मानिन्न, यसलाई सङ्करीकरण ठानिन्न । सङ्करीकरण अर्को शक्तिशाली भाषाको प्रभावमा आफ्नो भाषाले मौलिकता गुमाउँदै जाने प्रक्रिया हो । यो भाषाको क्वाँटीकरण हो । भाषाको सङ्करीकरण संस्कृतिको सङ्करीकरण पनि हो । सङ्करीकरणका कारण भाषा समृद्ध होइन विकृत बन्छन् र मौलिकता गुमाउँदै जान्छन् । कमजोर भाषाहरू शक्तिशाली भाषाका अगाडि आफूलाई असहाय अनुभव गर्छन् । वर्चस्वकारी भाषा सिक्न वक्तामा दबाब पर्छ । अङ्ग्रेजीको दबाबलाई वैश्विक रूपमै नियाल्न सकिन्छ । मानिसलाई अवसर र प्रतिष्ठा अङ्ग्रेजीबाटै प्राप्त हुन्छ भन्ने लाग्छ ।
नेपालमा भूमण्डलीकरणको प्रभावलाई राज्यको नीति र कार्यक्रममा नियाल्न सकिन्छ । आर्थिक, राजनीतिक, सांस्कृतिक क्षेत्र भूमण्डलीकरणबाट प्रभावित छन् । अङ्ग्रेजी भाषालाई राज्यबाट दिइएको महत्त्व यसको दृष्टान्त हो । शिक्षा ऐन– २०७५ मै विद्यालयले प्रदान गर्ने शिक्षणको माध्यम नेपाली भाषा, अङ्ग्रेजी भाषा वा दुवै भाषा वा सम्बन्धित नेपाली समुदायको मातृभाषा हुन सक्ने भनिएको छ । कैयौँ पालिकाहरू अङ्ग्रेजी माध्यमको शिक्षालाई प्रारम्भिक कक्षादेखि नै संस्थागत गर्ने दिशातिर अग्रसर पाइन्छन् । हाम्रो पाठ्यक्रमले अङ्ग्रेजीलाई महत्त्व प्रदान गर्छ र राज्यले त्यसका निम्ति लगानी गर्छ । अङ्ग्रेजी भाषाको अध्ययन, अध्यापन र विस्तारका निम्ति बाह्य सहयोग प्राप्त हुँदै आएको छ । राज्यकै नीतिका कारण अङ्ग्रेजी भाषालाई केन्द्रीय महत्त्व प्रदान गर्ने विद्यालयहरू खोल्ने कार्य सुरु भयो ।
मुलुकमा आज विद्यमान बोर्डिङ स्कुलहरूको संख्याले नै २०४६ पछि अङ्ग्रेजी विद्यालय खोल्ने कार्यले कसरी तीव्रता पाएछ भन्ने देखाउँछ । भूमण्डलीकरणका कारण निर्र्मित मनोविज्ञान, अवसर र प्रतिष्ठा अङ्ग्रेजी भाषा जान्दा प्राप्त हुन्छ भन्ने बुझाइ र राज्यका नीतिका कारण नेपालीहरूमा अङ्ग्रेजी मोह बढेको छ । विद्यालय, पसल, निजी कार्यालय आदिमा अङ्ग्रेजीमै लेखिएका ‘साइन बोर्ड’ र ‘होर्डिङ बोर्ड’, अङ्ग्रेजीमा लेखिएका गाडीका नम्बरप्लेट आदिले हाम्रो अङ्ग्रेजी मोहलाई देखाउँछन् । हाम्रो समाजको अङ्ग्रेजीकरणको प्रक्रिया छिटोछिटो अघि बढेको पाउन सकिन्छ । धेरै मानिसहरू बिस्तारै–बिस्तारै आफ्नो पहिचान बिर्संदै गएका पाइन्छन् । आमाबाबुले आफ्ना सन्तानलाई अङ्ग्रेजी विद्यालयमा पढाउन सक्दा गर्वको अनुभूति गर्छन् ।
नेपाली भाषा मात्र होइन, नेपालमा बोलिने सबै मातृभाषाहरू अङ्ग्रेजीको बिस्तारबाट पीडित छन् । आफ्नो भाषाप्रतिको प्रेम र त्यसलाई लिएर गरिने गौरव बोधमा ह्रास आएको छ । हाम्रो मस्तिष्कको उपनिवेशीकरण हुँदै छ । अङ्ग्रेजी जान्नु र अङ्ग्रेजी मोह बढ्नु तथा त्यसलाई प्राथमिकता दिनु एउटै होइन । कैयौँ मुलुकले अङ्ग्रेजीको प्रभावबाट आफ्ना भाषालाई जोगाउन आवश्यक नीति तथा कार्यक्रम अघि बढाएका छन्, हाम्रो यथार्थ त्यस्तो होइन । भूमण्डलीकरणको प्रभाव हाम्रो मुलुकमा बढी परेको छ र भाषाका क्षेत्रमा पनि यसलाई नियाल्न सकिन्छ । यस यथार्थप्रति गम्भीर बन्न नसके र आवश्यक नीति तथा कार्यक्रम ल्याउन नसके नेपालका मातृभाषाले आउँदा दिनमा गम्भीर सङ्कटको सामना गर्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसका मुख्यमन्त्रीद्वारा जलाद खोलाको अनुगमन, सात टिपर र दुई स्काभेटर नियन्त्रणमा
-
रवि पक्राउ परेपछि भद्रकालीमा समर्थकको भिड, ठाउँ खाली गर्न प्रहरीको माइकिङ
-
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : के–के भयो निर्णय ?
-
जनताको भावना बुझ्न जागरण अभियान गरेका छौँ : अध्यक्ष प्रचण्ड
-
चितवनमा बस दुर्घटना, बाह्र जना घाइते
-
८४ दिन हिरासत बसाइपछि छुटेका लामिछानेको ८५ दिनमा कष्टडीकै बास