मङ्गलबार, १९ चैत २०८१
ताजा लोकप्रिय
कला

बन्दीपुरमा कला–संस्कृति र मधुपर्क सम्मेलन

शनिबार, १६ चैत २०८१, १९ : ००
शनिबार, १६ चैत २०८१

 

 

०००

ललितकलाको दृष्टिले पनि यो गजबको ठाउँ रहेछ । पछिल्लो करिब सय वर्षदेखि यहाँ नेपाली मौलिक कला–संस्कृति र संस्कार हुर्कंदै आएको छ । काठमाडौँ उपत्यका भित्रझैँ यहाँ पनि कलात्मक मठ–मन्दिर अनि यसैमा गाँसिएर आएका अनेकौँ पर्व मनाइन्छन् । अर्थात् उपत्यकाभित्रको कला–संस्कृति यहाँ पनि जुर्मुराएको देखिन्छ ।

०००

 

 

यही फागुन १२ देखि १४ सम्म बन्दीपुरमा ‘आँखामा मधुपर्क हृदयमा बन्दीपुर’ नामक ‘राष्ट्रिय सिर्जना सम्मेलन’ चल्यो । मधुपर्क आफैँमा लामो इतिहास बोकेको साहित्यिक मासिक पत्रिका हो । यसका सम्पादक त्रिभुवनचन्द्र वाग्ले भन्दै थिए — मधुपर्कलाई आम जनता माझ पुर्‍याउने यो खालको साहित्यिक कार्यक्रम पहिलोपल्ट भएको हो । 

किसिम–किसिमका कविता र गजल सडकमै वाचन गरिएको थियो । वाचनकर्ता वा रचनाकर्ता आनन्दविभोर देखिन्थे । 

२०२५ सालमा बन्दीपुरबाट सदरमुकाम दमौली सर्‍यो । त्यतिबेलादेखि २०५० सम्म बन्दीपुर ‘डेड–सिटी’ अर्थात् ‘मृत–सहर’ बनेको थियो । यसलाई ‘घोस्ट–भिलेज’, ‘भूतको–गाउँ’ पनि भन्न थालिएको थियो । भक्तपुर र काठमाडौँ पुगेका नेवारहरू घर (बन्दीपुर) फर्कन थालेपछि विशेषतः २०६३ सालदेखि बन्दीपुर पुनः जुर्मुराएको जिउँदो इतिहास रहेछ । 

यिनीहरूले यसलाई मलजल गरेर यस्तो ठाउँ बनाए, अहिले नेपालकै गिनेचुनेको पर्यटन केन्द्रमध्ये एक बन्न पुगेको छ । प्याराग्लाइडिङ, वाटर पर्यटन, रक क्लाइम्बिङका लागि पर्याप्त सम्भावना भएको बन्दीपुरलाई पर्यटकको गन्तव्यका रूपमा प्रख्यात बनाए । आकाशमा उड्दै, पानीको वेगसँगै बग्दै अनि कडा चट्टानमा फूर्तिका साथ चढ्दै आनन्द लिने प्रचलन आज विश्वमा निकै बढ्दै गएको छ । विदेशी पर्यटकका लागि त यो अपरिहार्य रमाइलो गर्ने साधन पनि हो । यस्ता साहसिक गतिविधि आफैँमा पनि एक प्रकार कलात्मक काम हो । 

बन्दीपुर गाउँपालिका प्राकृतिक सौन्दर्यता, वास्तुकला र ऐतिहासिकको संगम जस्तो देखिन्छ । यी सबै कारणले ठाउँ पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको देखिन्छ ।

ललितकलाको दृष्टिले पनि यो गजबको ठाउँ रहेछ । पछिल्लो करिब सय वर्षदेखि यहाँ नेपाली मौलिक कला–संस्कृति र संस्कार हुर्कंदै आएको छ । काठमाडौँ उपत्यका भित्रझैँ यहाँ पनि कलात्मक मठ–मन्दिर अनि यसैमा गाँसिएर आएका अनेकौँ पर्व मनाइन्छन् । अर्थात् उपत्यकाभित्रको कला–संस्कृति यहाँ पनि जुर्मुराएको देखिन्छ । 

सन् १८५० (जंगबहादुरको बेलायत यात्रा) पछि नेपालमा देखापरेको पश्चिमी शैलीका वास्तुकलाको लक्षण यहाँ देखिन्छन् । बरु काठमाडौँमा हराउँदै गएको यो पश्चिमी वास्तुकला नेपाली मौलिक वास्तुकलभित्र घुसेर देखापर्न थालेको रहेछ । यो चाहिँ एक प्रकारको संरक्षण भई बसेको कलाको रूपमा देखिन्छ । 

मूल बजारमा नेपाली मौलिक कलालाई जोगाइराखेको देखिन्छ भने त्यसदेखि बाहिर आजका आधुनिक वास्तुकला देखिन्छन् । मूल बजारमा नेपाली वास्तुकला र पश्चिमी वास्तुकलाको समिश्रणमा बनेका मन्दिर तथा घरहरू छन्, जुन विदेशी पर्यटकका लागि आकर्षणको केन्द्र बनेका छन् । वास्तुकला, नेपाली आधुनिक पाराको रमझम, होटल अनि सस्तो र सुलभ होम–स्टेको व्यवस्थापन आदिले यस ठाउँको शोभा बढाएको छ । 

हामी पाहुनालाई हाकुपटासी (नेवार महिलाको पहिरन)मा महिलाहरू स्वागत गर्न ओइरिएका थिए । झ्याली, ढोलक र मादल घन्किएको थियो ।

‘मधुपर्क’ आफैँ सक्रिय हुँदा यो कार्यक्रममा त्यहाँका स्थानीयको पनि बाक्लो उपस्थिति देखियो । आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँकै एउटा महत्त्वपूर्ण भाग बन्दीपुर साहित्यका दृष्टिकोणले महत्त्वको छ नै, मधुपर्कको यस कार्यक्रम धेरै विषयलाई सम्बोधन गरेजस्तो पनि देखिन्छ । अर्थात् स्थानीय तहसम्म पुगेर कला र साहित्यको इतिहाससँग साक्षात्कार गरेजस्तो पनि यो कार्यक्रम देखियो । यस्तो कार्यक्रममा आम जनताको अग्रसरतालाई विशेष मान्नुपर्ने हुन्छ । लोकतन्त्रको विशेषता जस्तै विकेन्द्रीकरण अनि समावेशिता इत्यादिको लक्षण पनि यस कार्यक्रममा देखियो । अचेल अत्याधुनिक कलामा ‘पार्टिसिपेटोरी आर्ट’ पनि यस्तै प्रकृति र प्रवृत्तिको हुने गर्छन् । जसमा कला जनसमुदायको घर–आँगनमै पुग्छ । सामुदायिक विकासमा पनि ‘पिपुल बेस डेभलपमेन्ट’ यस्तै खालको हुन्छ । विकासका कार्यक्रमको योजना पनि स्थानीय बासिन्दाले शुभारम्भ गर्छन् । अब त साहित्यको कार्यक्रम पनि यस्तै हुन थालेछ ।

अहिले विश्वभरि कला र सामुदायिक विकासमा एकै–एकै जस्तो पाराले सहभागितामूलक अवधारणा विकसित भएको देखिन्छ । नेपालमा पनि यसको बाछिटा पर्नु स्वाभाविकै हो । साहित्य कला, संगीत, पर्यटन अनि व्यापार–व्यवसाय सबै जोडिँदा यो कार्यक्रम सबैको आफ्नै कार्यक्रमजस्तो बन्न पुगेको देखिन्थ्यो । 

हामी पाहुनालाई हाकुपटासी (नेवार महिलाको पहिरन)मा महिलाहरू स्वागत गर्न ओइरिएका थिए । झ्याली, ढोलक र मादल घन्किएको थियो । गोरखापत्रका अध्यक्ष अनि महाप्रबन्धकसहित देशभरका झन्डै ४०–५० भन्दा बढी साहित्यकार र कलाकारहरूको जमघट थियो । अबिरले रङ्गिदै, माला र खादाले भरिएका गलाहरूसहित बजार परिक्रमा गर्दा ठुलै उत्सव जस्तो भएको थियो ।

मधुपर्कका सम्पादक त्रिभुवनचन्द्र वाग्ले, बन्दीपुरबाट डा. नमस्तेलाल श्रेष्ठ, सुदर्शन प्रधानहरूको जोडबल र समन्वयमा यो कार्यक्रम हुन पुगेको रहेछ । यो कार्यक्रम साहित्य सँगसँगै, कला–सम्पदा र पर्यटनसँग समेत गहिरो गरी गाँसिएको आभास भयो । बिहान, दिउँसो अनि साँझमा विविध कार्यक्रम भए । पचासौँ कविले कविता सुनाए । ती कविताले स्थानीयलाई कुनै न कुनै रुपमा छोएको देखिन्थ्यो । 

वाग्ले भन्छन्, ‘न्युरोडको सानो कोठाबाट आज मधुपर्क यहाँ आइपुगेको छ । ठाउँ विशेषको विकासमा हातेमालो गर्न पनि यस्तो सहभागितामूलक कार्यक्रमको आयोजना भएको हो ।’ 

पहाडकी रानी बन्दीपुर स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्य बन्दै गएको देखिन्छ । यहाँको कला र संस्कृतिलाई विश्वभर फैलाउन यस कार्यक्रमले भूमिका खेल्ने देखिन्छ । 

काठमाडौँबाट गाडीमा त्यस्तै साढे तीन घण्टा गुडेपछि सात मिनेट केबलकार चढ्नुपर्छ अनि बन्दीपुर पुग्न सकिन्छ । ठाडो उकालोमा जिउ नै सिरिङ्ग हुने गरी केबलकारको यात्रा गर्दा अझ रोमाञ्चक महसुस हुन्छ । शीतल, स्वच्छ वातावरण र मनमोहक दृश्यसहितको बन्दीपुर बजारको बाहिर–बाहिर रिङरोड बनाइएको छ । बजारभित्र गाडी लैजान पाइँदैन । बजारभित्र जताततै ढुङ्गाढुङ्गैको सिँढी छन् । पछिल्लो समय नेवारहरूको थातथलो रहेको यो ठाउँमा पहिले मगरहरूको बस्ती थियो रे । आजभोलि बन्दीपुर विभिन्न जातिको साझा फूलबारी जस्तो देखिन्छ । 

bindhabasini tampal

  • कला पक्ष 

वास्तुकलाका रूपमा मन्दिर, ढुङ्गे–धारा र घरहरू रहेका छन् । यी ऐतिहासिक धरोहरहरू कलात्मक मात्र होइनन्, यो ठाउँको पहिचान नै बनेका छन् । यही प्राचीन कला वा वास्तुकलालाई पछिल्लो समय आधुनिक रूपमा प्रस्तुत गराउनु यहाँको मूल विशेषता बनेको छ । यसले आय–आर्जनलाई बढावा समेत गरेको छ । यसलाई अवलोकन गरी स्वदेशी तथा विदेशी पर्यटक आनन्दित मात्र हुँदैनन्, खर्च पनि गर्छन् । 

१६औँ शताब्दीको उत्तराद्र्धतिरका सेन राजा मणि–मुकुन्द सेनसँग यो ऐतिहासिक नगरी जोडिएको छ । यहाँ प्राचीन सम्पदाको संरक्षण हुँदै आएको छ । मूल बजारमा ठुलो सडकलाई घेरैर दुवैतिर घरहरूको ताँती छन् । पहाडमा प्रायः यस्ता बस्तीमा स–साना सडक, गोरेटो मात्र हुने गर्र्छन् । ढुंगाको सिँढी वा गोरेटो भत्काएर पिच गरेको समेत देखिन्छ तर बन्दीपुरको संरचना अपवाद छ । पहाड, डाँडाको टुप्पोमा बसेको सानो बस्तीमा यति चौडा सडक बनेको नेपालमा कतै पनि देखिँदैन तर गाडी छिर्न नपाएपछि पुराना शैलीका घरमा आधुनिक शैलीका होटल चलाइएको छ । प्राङ्गणमा साजसज्जासहित टेबल–कुर्सी राखिन्छ । वरपर लटरम्म फूल फुलेका र विभिन्न कलाहरूले सजिएको, सजाइएको यो ठाउँ निकै शान्त र सुन्दर छ । 

सन् १८४० मा सुरक्षाका लागि यहाँ चन्द्रकोट गढी  बनेको थियो । अहिले त्यो पुरातात्त्विक सम्पदा र वास्तुकलाको धरोहरका रूपमा रहेको छ । ढुङ्गैढुङ्गाले बनेको षट्कोण आकारको गढीले थप कलात्मकता झल्काउँछ । सम्भवतः यस्तो आकारको गढी नेपालमा कतै पनि छैन । 

यस्तै यहाँको हुल्सानकोट गढी गोलाकार पर्खालले घेरिएको छ, यसलाई पहिले जितपुर नामले चिनिन्थ्यो । यी दुवै गढीहरू तनहुँका अन्तिम राजा हरकुमार दत्त सेनले बनाएका हुन् । 

यस्तै यहाँ मुकुन्देश्वरी गढी रहेको छ । यसलाई अहिले ‘ग्रेटवाल’ भनेर पनि चिनिन्छ । तत्कालीन पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना राज्य विस्तार गर्दै जाँदा तनहुँमा यो गढी बनाएको इतिहास छ । अहिले यही डाँडामा मुकुन्देश्वरी मन्दिरको पनि स्थापना भएपछि यो एउटा धार्मिक स्थल बन्न गएको छ । बाहिरबाट आउने पर्यटक यसलाई ‘मिनी ग्रेट वाल’ भन्ने गर्दा रहेछन् । यस्तै यहाँ अर्को ‘तीन धारा’ ऐतिहासिक धरोहर हो । उनै राजाले बनाएको यो ढुङ्गेधारा तीनधारा महादेवको नामले समेत चिनिन्छ । यसबाहेक जंगलले घेरिएको टुँडिखेलले पनि बन्दीपुरलाई थप सौन्दर्यता प्रदान गरेको देखिन्छ । 

प्राकृतिक गुफामा सरपानी गुफा, सिद्ध गुफा आदि छन्, जुन वास्तुकलाकै रूपमा पर्यटकलाई आकर्षण गर्न सहायकसिद्ध बनेका छन् । मन्दिर वास्तुकलामा खड्गदेवी मन्दिर विशेष छ । बजारको बिचोबिच अवस्थित यस मन्दिरमा लामो सिँढी चढेर जानुपर्छ । छत शैलीमा बनेको दुईतले घरजस्तो मन्दिरमा बाहिरबाटै थप सिँढीहरू चढेर देवीको दर्शन गर्न पर्दाेरहेछ । अग्रभागमा ठुलो कोठामा एकजना पुजारी टिकासहित बसेका देखिन्छन् । देवीको मूर्ति अग्रभागमा राखिएको छ, जुन खड्गदेवीको प्रतीकात्मक विम्बका रूपमा रहेको देखिन्छ । यसको पछाडि फलामे बार छ, यसभित्र देवीको खड्गसहित देखिन्छ, जसलाई दर्शन गर्न मिल्दैन र पाइँदैन । यस मूर्तिलाई वर्षमा एकचोटि दसैँमा मात्र बाहिर निकाल्ने र बजार घुमाउने गरिन्छ । त्यतिबेलै धेरैले यी देवीको दर्शन गर्छन् । 

यस देवीबारे किंवदन्ती रहेछ । ५–६ सय वर्ष अगाडिका पाल्पाका राजा मणिमुकुन्द सेनले भगवान् महादेवको घोर तपस्या गरेछन् । उनलाई महादेवले वरदानस्वरूप शक्तिशाली खड्ग प्रदान गरेछन् । उनले यही दैवी शक्तिले धेरै स–साना राज्य जिते । पछि उनले आफ्ना छोरालाई केही अधिकारसहित अलग–अलग राज्य दिएछन् । त्यसपछि राजा मणिमुकुन्द बन्दीपुरको यस अग्लो डाँडामा आई साधु भई बसेछन् । यिनी जनताको सुखदुःख के छ भनी बुझी हिँड्थे रे । जनताको मनमा आफूबारे नराम्रो धारणा रहेको थाहा पाएपछि उनी अलप भएछन् । उनको खड्ग भने उड्न सक्ने नाग बन्यो । पछि तिनै नाग पुनः खड्गमा परिणत भए । पछि आएर त्यही खड्ग देवीका रूपमा यस मन्दिरमा बस्न थालिन् । देवी उडी हिँड्ने हुँदा त्यहाँ दर्शन गर्न आउने भक्तालुले पनि केहीबेर जमिन छाडी हावामा उफ्रेपछि मात्र देवीको दर्शन हुन्छ भन्ने किंवदन्ती छ । 

मानिसहरू दसैँमा पिङमा झुल्ने गर्छन् । यसैलाई जमिन छाडेको मानी ठानी देवीको वर्षमा एकपल्ट मात्र दर्शन गर्न मिल्ने भनिएको रहेछ । अहिले केबलकारमा सात मिनेट जमिन छाडी हावामा सयर गरेको सन्दर्भ मिलाउँदै दिनदिनै दर्शन हुन सक्ने व्यवस्था मिलाउँदै छन् रे । 

सबैभन्दा अचम्म यहाँ तीनजना पुजारी छन् — तामाङ, विश्वकर्मा र ब्राह्मण । यहाँ मन्दिरहरू अरु धेरै छन् । विन्दवासिनी मन्दिर, थानीमाई मन्दिर, सन्तानेश्वर महादेव, महालक्ष्मी मन्दिर, गणेश मन्दिर आदि । जसले पर्यटकको ध्यान खिच्ने गरेको देखिन्छ । 

(मल्ल कलाकार र कला समीक्षक हुन् ।)              

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुकेश मल्ल
मुकेश मल्ल
लेखकबाट थप