विश्वका दृष्टान्तबाट ज्ञानेन्द्रले सिक्न नसकेको पाठ

काठमाडौँ । गत साउनमा बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिना देश छाड्न बाध्य भइन् । आरक्षणको विषयमा भएको सरकारविरोधी प्रदर्शन हिंसात्मक बन्दै जाँदा उनी सत्ता गुमाउने अवस्थामा मात्रै पुगिनन्, देशमै बस्न नसक्ने परिस्थिति निर्माण भएसँगै भारत भागेकी थिइन् ।
स्थितिलाई समयमै सम्बोधन नगर्दा प्रदर्शनकारीहरूले हसिनाको राजीनामालाई मुख्य एजेण्डा बनाए । स्थिति अत्यन्त नाजुक बनेपछि भारत भागेकी उनीविरुद्ध अहिले देशमा कैयन् मुद्दा चलाइएको छ । भारतमै निर्वासित अवस्थामा रहेकी उनलाई बंगलादेशको अन्तरिम सरकारले सुपुर्दगीको माग गर्दै आएको छ ।
००००
२०७९ असारमा श्रीलंकाका तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षे विदेश भाग्नुपरेको थियो । दशकौँसम्म शासन गर्ने पारिवारिक वंशका एक सदस्य उनी जनताको बलमा भएको आन्दोलनपछि विदेश भाग्नुपरेको थियो । श्रीलंकाको आर्थिक सङ्कटलाई लिएर व्यापक प्रदर्शन हुँदै गर्दा उनको निवासमा भिडले आक्रमण गरेपछि राष्ट्रपति देशमै बस्न नसक्ने परिस्थिति निर्माण भएको थियो । अवस्था शान्त बनेपछि उनी स्वदेश त फर्किए तर, त्यसअघि नै उनले सत्ताको सर्वस्व गुमाइसकेका थिए ।
००००
सिरियाली विद्रोहीहरूले राजधानी दमास्कस कब्जा गरेपछि राष्ट्रपति बसर अल असद पनि गत मंसिरमा देश छाडेर भाग्न बाध्य भए । जबकि उनी सन् २००० देखि सरकारको नेतृत्वमा थिए । उनी हाल रुसमा निर्वासित रहेको बताइन्छ ।
यसबाहेक तालिबानले काबुल कब्जा गर्न लागेपछि अफगानिस्तानका तत्कालीन राष्ट्रपति अशरफ घानी सन् २०२१ मा देश छोडेर संयुक्त अरब इमिरेट्स भागेका थिए । यस्तै सन् २००८ मा पाकिस्तानका तत्कालीन राष्ट्रपति परवेज मुसर्रफ पनि देश छाडेर भागेका थिए ।
यसबाहेक कैयन् शासकहरू सत्ता पलटपछि देशभित्रै पक्राउ परेका घटना पनि विश्व इतिहासमा छन् । तर, नेपालको हकमा २४० वर्ष लामो इतिहास बोकेको राजतन्त्र ढल्दा न त तत्कालीन राजा ज्ञानेन्द्र शाह जेल बस्नुपर्यो, न त देश नै छाड्नुपर्ने अवस्था आयो । एउटा नागरिकको हैसियतमा उनलाई सम्मानजनक ढंगले देशभित्रै बस्ने वातावरण मिलाइएको थियो ।
दरबारभित्रको विवाद, सामन्ती राजसंस्था अन्त्य हुनुपर्ने तत्कालीन विद्रोही माओवादीको मागका साथै निरंकुशताविरुद्ध भएको २०६२÷०६३ सालको जनआन्दोलनको बलमा राजसंस्था ढलेको थियो । २०६५ जेठ १५ मा पहिलो संविधान सभाले नेपाललाई औपचारिक रूपमा गणतन्त्र घोषणा गरेको थियो । यसरी २४० वर्ष लामो शाह वंशको शासन समाप्त भई नेपालमा गणतन्त्र स्थापन भएको बखत तत्कालीन राजाको अनेक अत्याचारमाथि प्रश्न गर्ने ठाउँ हुनसक्थ्यो । त्यतिबेला राजसंस्थाविरोधी भावना पनि उस्तै थियो । यद्यपि उनलाई राजनीतिक दलहरूले स्वदेशमै एउटा नागरिकको हैसियतमा सम्मानजनक ढंगले बस्ने सहिष्णु वातावरण मिलाइदिएका थिए ।
उनै पूर्वराजाको ‘समर्थन’मा पछिल्लो समय वर्तमान व्यवस्थालाई चुनौती दिँदै शान्तिपूर्ण आन्दोलनको नाममा सडकमा अराजकता प्रदर्शन गर्ने काम भएको छ । शुक्रबार राजधानीको तीनकुने क्षेत्रमा नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईंको अगुवाइमा ‘शान्तिपूर्ण प्रदर्शन’ गर्ने भनेर प्रशासनबाट अनुमति लिइएको थियो । तर, त्यसविपरीत निजहरूले निषेधित क्षेत्र तोड्नका लागि कार्यकर्तालाई प्रोत्साहित गर्ने, प्रहरीमाथि ढुंगामुढा गराउनेमात्र होइन, प्रहरीको समूहलाई गाडीले ठेलेर हुत्याउने कामसमेत भयो । निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, प्रहरी कार्यालय, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायत यातायातका साधनमाथि तोडफोड र आगजनी भयो । तीनकुनेस्थित एक घरमा त मानिस भएकै अवस्थामा आगो लगाएर टेलिभिजनकर्मीको मृत्यु भयो भने अर्का प्रदर्शनकारीले पनि अनाहकमा ज्यान गुमाए । उक्त घटनाका सम्बन्धमा सार्वजनिक भएका भिडियो तथा रातोपाटीकर्मीहरूको स्थलगत रिपोर्टिङमा पनि दुर्गा प्रसाईंका साथै केही राजावादीले भिडलाई उत्तेजित बनाएका कारण प्रदर्शन हिंसात्मक भएको देखिन्छ ।
दुर्गा प्रसाईंलाई ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले कमाण्डरको जिम्मेवारी दिएको थियो । कमाण्डर रणनैतिक रूपमा दक्ष हुनुपर्दछ । भिडलाई निश्चित दायराभित्र वा भनौँ आफ्नो नियन्त्रणमा राख्नु कमाण्डरको दायित्व हुन्छ । तर प्रसाईं शान्तिपूर्ण प्रदर्शनस्थलमा ‘साउथ इन्डियन हिरो’को शैलीमा गाडीको लावालस्करसहित पुगे । त्यहाँ उनी रोकिएनन्, बरु आफैँले गाडी चलाउँदै प्रहरीलाई किच्नेशैलीमा बानेश्वरतर्फ अघि बढे ।
सार्वजनिक भिडियोमा प्रसाईंको शैलीको आलोचनामात्र भएको छैन, उनको त्यही हर्कतका कारण स्थिति अप्रिय बन्न पुगेको निष्कर्ष उक्त घटना सम्बन्धी सार्वजनिक भिडियो हेर्ने जोकोहीले निकालेका छन् । प्रसाईंको यस्तो शैलीका साथसाथै राप्रपाका उपाध्यक्ष समेत रहेका संयुक्त जनआन्दोलन समितिका सदस्य सचिव रवीन्द्र मिश्रले समेत भिडलाई उत्तेजित बनाएको सार्वजनिक भिडियोमा देखिन्छ ।
प्रहरीले निषेधित क्षेत्र तोड्न नदिने र शान्तिपूर्ण प्रदर्शनलाई जोड दिइरहेकै बेला राजावादी प्रदर्शनकारीको तर्फबाट प्रसाईं, मिश्रहरूले नै उक्साउँदै आन्दोलनकारीलाई अघि बढ्न निर्देशन दिएपछि प्रहरी हस्तक्षेप हुन पुगेको सुरक्षा निकाय, प्रमुख जिल्ला अधिकारी, गृह मन्त्रालयका साथै समाचार संकलनका क्रममा पुगेका सञ्चारकर्मीहरूको एउटै मत देखिन्छ ।
यतिमात्र होइन, प्रहरी हस्तक्षेपपछि आन्दोलनलाई उक्साउनेहरू मैदान छाडेर अन्यत्र लागे भने आन्दोलन नेतृत्वविहीन बन्न पुग्यो । न त गर्ने भनिएको सभा नै हुनसक्यो । त्यसपछि तोडफोड, आगजनी र लुटपाटसम्मको परिस्थिति निर्माण भएसँगै स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा कर्फ्यु आदेश जारी गर्नुपर्यो भने प्रहरीको सहयोगका लागि सेना सडकमा निस्कनुपर्ने अवस्था निम्तियो । आन्दोलनमा सरकार या सुरक्षा निकायको तर्फबाट पनि पर्याप्त कमजोरी देखिन्छ । तर गृह मन्त्रालय शुक्रबारको घटनाको मुख्य जिम्मेवार दुर्गा प्रसाईं भएको दाबी गर्छ ।
गृह मन्त्रालयका सहसचिव छवि रिजालले शुक्रबार साँझ पत्रकार सम्मेलनमा भने, ‘हामीले पाएको जानकारीअनुसार आन्दोलनको नेतृत्व दुर्गा प्रसाईंले गरेको हुनाले उहाँ नै मूलभूत रुपमा यो घटनाप्रति जिम्मेवार हुनुहुन्छ ।’
आन्दोलनकारीले प्रदर्शनका क्रममा अराजकता देखाएको पनि मन्त्रालयले निष्कर्ष निकालेको छ ।
तर, उक्त घटनामा मिश्रसहित राप्रपाका महामन्त्री डा धवलशमशेर राणा तथा राजावादीहरू स्वागत नेपाल, पुष्कर खतिवडासहित ५० भन्दा बढी व्यक्तिहरू पक्राउ परिसक्दा प्रसाईं भने शनिबार दिउँसोसम्म फरार छन् ।
आन्दोलनमा को आए, राजतन्त्र फर्काउन आन्दोलन समिति कसको नेतृत्वमा बनाइयो या कमाण्डर को भए, त्यो एउटा सवाल हो । अर्को महत्त्वपूर्ण सवाल– कसका लागि र कसको समर्थनमा यो आन्दोलन भएको हो भन्ने हो ।
एउटा नागरिकको हैसियतमा रहेका पूर्वराजालाई आफ्नो मत राख्ने छुट छ, तर शान्तिपूर्ण भनिएको आन्दोलन हिंसात्मक बन्दै गर्दा उनी जवाफदेही बन्नै पर्छ । राजावादीहरूले नै सुवेदी नेतृत्वको समिति पूर्वराजाको समर्थनमा बनेको दाबी गर्दै आएका छन् र दुर्गा प्रसाईंले पनि निर्मल निवासमै पुगेर पूर्वराजाको आशीर्वाद थापेका थिए । उसमाथि पूर्वराजा स्वयंले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा जारी गरेको भिडियोमा ‘अब चुप लागेर नबस्ने’ बताएका थिए । उनले देश जोगाउनका लागि आफूलाई साथ दिन देशवासीलाई आह्वानसमेत गरेका थिए । यस्तै फागुन २५ मा उनी पोखराबाट फर्किँदा विमानस्थल क्षेत्रमा राजावादीको स्वागत सहर्ष ग्रहण गरेका थिए ।
फौजदारी मुद्दा झेलिरहेका दुर्गा प्रसाईंसहितका व्यक्तिहरूलाई अघि लगाएर पूर्वराजा ज्ञानेन्द्रले ठुलो जोखिम मोलिरहेका छन् । धमिलो पानीमा माछा मार्ने प्रपञ्च गरिरहँदा शाहबारे एक्सन लिनेसम्मका अनौपचारिक संवाद सरकारी तहमा सुरु भइसकेको बताइन्छ । यस्तो अवस्थामा राजावादी पार्टी राप्रपा र सो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको पनि स्पष्टता जरुरी हुन्छ । छिटै राजतन्त्रकै पक्षमा पार्टीको तर्फबाट आन्दोलन गर्न लागेका र संयुक्त आन्दोलनमा पनि साथ दिएका लिङ्देनले धरातलमा उठेका प्रश्नहरू स्पष्ट गर्नुपर्छ । लोकतन्त्रमा आफ्ना माग राख्ने छुट सबैमा हुन्छ तर, त्यसको आवश्यकता र औचित्य प्रमुख कुरा हो । लाखौँ नेपालीले त्याग र बलिदानबाट प्राप्त गरेको गणतन्त्र, संघीयता, धर्म निरपक्षेताको औचित्यबारे बहस हुनसक्छ, पुनरवलोकन पनि हुनसक्ला । तर, कुनै वैचारिक, राजनीतिक, व्यावहारिक तर्क र दृष्टिकोणविना सडकमा हिंसात्मक प्रदर्शन गर्नु पूर्वराजाका लागि नै घातक पनि हुनसक्छ । ‘पूर्वराजा’का रूपमा उनले राज्यबाट सुरक्षा लगायतका सुविधा पाएका छन् । भुइँको टिप्न खोज्दा पोल्टामा रहेको पनि झर्न सक्ने अवस्थालाई उनले समयमै आकलन गर्न जरुरी छ ।
अन्तिममा राजावादीले हिंसात्मक प्रदर्शन गर्दैगर्दा समाजवादी मोर्चाले राजधानीमै गणतन्त्रको पक्षमा गरेको प्रदर्शनका क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको एउटा भनाइ उल्लेखनीय छ– ‘विगतमा उनले (पूर्वाराजा ज्ञानेन्द्र) धेरै गल्ती गरे र त्यो गल्तीको परिणाम उनले भोगिराखेकै छन् । अब अर्को गल्ती गरे भने उनले भोग्न केही पनि बाँकी रहँदैन । खबरदार ! इँटको जवाफ पत्थरले दिनेगरी उनीहरूले एक जना जुटाउँछन् भने हामी १० हजार, उनीहरू १० हजार जुटाउँछन् भने हामी एक लाख, उनीहरू एक लाख जुटाउँछन् भने हामी १० लाख, उनीहरू १० लाखको कुरा गर्छन् भने हामी एक करोड मान्छे ल्याएर हामी तिनको जवाफ दिन्छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गलत बुझाइले बिआरआईबाट नेपालले फाइदा लिन सकेनः सुजाता कोइराला
-
शिक्षामन्त्रीलाई अखिल क्रान्तिकारीले बुझायो ३८ बुँदे मागपत्र
-
जस बहादुर याक्खाको निर्देशनमा ‘हेलो हाई नमस्कार’ सार्वजनिक
-
काठमाडौँमा वायु प्रदूषणको अवस्था गम्भीर बन्दै, नियन्त्रणका लागि भएन पहल
-
स्थानीय ‘सम्पदा’ संरक्षणमा जुटे घरपझोङका युवा
-
नागरिक एप निर्देशिका खारेज लगायत मन्त्रिपरिषद् बैठकले गर्यो यी १३ निर्णय