रजनीमिलाका तीन कविता

१) तिमीले आत्महत्या गर्नेछौ, ओ सरकार
...र हामीलाई धान रोप्ने खेतमा ढलान गर्न लगायौ
अनि कुतबाट मुक्त गरी चोक–चोकमा दलाल उभ्यायौ ।
तब अकुत सम्पत्ति बैंकरको हातमा थम्याएर
राष्ट्रपतिको सवारी जसरी नै
तिमीहरूको सवार भयो ।
अनि
बुट लगाएर रोपाइँ गरे यसरी कि
जसरी यौन तृष्णाले छटपटाएको हात्तीले
कलिला दुबोको मैदान सत्यानाश पार्छ ।
त्यो वर्ष खडेरी पर्दा
दिन रात जागा बसी
सिमसारको हिलो निचोरेर
कुलो भर्यौँ
र आली लगायौँ
खेतको डिलमा तमाम रैती उभ्याएर
धान रोपे जसरी नै रोप्यौँ
मेरो खेतमा तिमीले आफ्नो नाम ।
हरेकपल्ट आली टेकेर
छोरालाई अंश दिएझैँ
तिम्रा बुढीऔँलाले छाप्यौ छ्यापछ्याप्ती
बिचौलियाको नाम
बजारियाको नाम ।
जुन गरामा उम्रेर हामीले आफूलाई फलायौँ
फसल बनेर तिम्रा आँगन भर्यौँ
ती गरा–गरामा लेख्यौ
ओ सरकार
तिमीले दलालको नाम ।
ती हरिया फाँटमाथि उठाएर कङ्क्रिटको सिरानीमा
हामीलाई जब सुतायौ
उठ्दा
यो सहरका तमाम नागरिकले पाए नयाँ नयाँ नाम
नरवः फाँट— चाँदनी चोक,
न्हू सतक — नयाँ सडक
तिंख्यः— टुँडिखेल,
लुँ हिटि— सुन्धारा र यावत,
अनगिन्ती... ।
घर दैलासम्म ल्याइपुर्याइदिने थिमि दाजुको साग, लसुन प्याज
तिम्रा ठेकदारहरूले सोहोरेर
तिम्रा लागि कर लगाउन थालेदेखिन्
दिदी र भाइको भेट
अचेल,
मिसिनले बुनेको चाइनिज कपडा जत्तिकै पातलिएको छ ।
मेरा अजाअजिले ओम् नमः शिवाय् रटे जत्तिकै
कौशी र बार्दलीमा बसेर
दैला–दैलामा सिंह दरबार भनी
जुन रट्छौ नि तिमी, ओ सरकार
बिचौलिया र दलालले
झोला झोलामा त्यही सिंहदरबार बोकेर
२२ तले भ्युटावरबाट नक्सा कोरिरहन्छ
दुई गज चिहानमा एउटा नयाँ टावरको ।
र, बिहान सूर्यले आफ्नो मुख उघार्दा
जलाउन लास नभेटिने गरी
उही टावरको बार्दलीबाट
तिमी हाम फालेर मरेको
हामीले पाउनेछौँ
र त्यही दिन तिमीले आत्महत्या गरेको ठहर गर्नेछ नागरिकले ।
००
२) लोकतन्त्र !
पिँजडा तोड्यौँ
र स्वतन्त्र भयौँ ।
खुला आकाश देख्यौँ ।
सीमारहित टुँडिखेलमा
यसरी खेल्न थाल्यौँ
मानौँ, पिठ्युँ चिलाएको गोरुहरूको संग्राम थियो यहाँ ।
थाकेर यस्तरी सुत्यौँ,
गहिरो निद्राबाट
ब्युँझदा बिहान
लिलिपुटहरूद्वारा बाँधिएको गुलिवर पो भएछ
लोकतन्त्र ।
००
- ३) शून्यता
गोधुलीको ढोका खोलेर
जब रातले पर्दा उघार्छ
आकाशबाट
अथाह शून्यता झर्छ
र
लाखौँ युवाहरूले बटुलेर ल्याएका सपनाका बिछ्यौनामा
निरंकुश शून्यता छाउँछ ।
शून्यता — तुफानरहित एक प्रहर हो,
शून्यता — साँघुरो बनाउने किनारालाई पत्तासाफ पार्न नउर्लने नदी हो,
शून्यता — चेतनाको पुँजीमा आएको ह्रासमा कैफियत नजनाउने अचेतन मान्छेको स्वर हो ।
या हो
धूर्तहरूले चुनावताका सडक पेटी र गल्लीहरूमा बजाउने
ट्रकको हर्न हो — शून्यता ।
अझ भयानक शून्यता त
एक क्रान्तिकारीले
सत्ताको छातामुनि ओत पाएपछि सुरक्षित महसुस गर्नु हो ।