मङ्गलबार, २६ चैत २०८१
ताजा लोकप्रिय

गठबन्धनका कारण महिला सहभागिता घट्यो : पूर्वराष्ट्रपति भण्डारी

शनिबार, १६ चैत २०८१, १६ : ४६
शनिबार, १६ चैत २०८१

बुटवल । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत निर्वाचनका क्रममा राजनीतिक दलहरूबिच भएको गठबन्धनका कारण महिला सहभागिताको अनुपात घटेको बताएकी छन् । उनले संवैधानिक प्रावधान विपरीत महिला सहभागिताको अनुपात घटेको देखिएको बताएकी हुन् ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आज भैरहवामा आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय महिला जनप्रतिनिधिहरूको अन्तरसम्वाद कार्यक्रममा बोल्दै उनले आगामी निर्वाचनमा राजनीतिक दलहरूले यस विषयमा विशेष ध्यान दिन जरुरी रहेको बताइन् । 

उनले प्राप्त उपलब्धिको रक्षा गर्दै संविधानप्रदत्त महिला अधिकारको पूर्ण कार्यान्वयन र समानताको लक्ष्य हासिल गर्ने अभियानलाई निरन्तरता दिनुपर्ने बताइन् । समाजमा गहिरो जरा गाडेको पुरानो पितृसत्तात्मक सोचका कारण महिलाहरू अझै पनि सामाजिक, सांस्कृतिक, शैक्षिक, राजनीतिक र आर्थिक रूपमा पछाडि परेको अवस्था भएको उनको भनाइ थियो ।

बालविवाह, बहुविवाह, दाइजो, छाउपडी, बोक्सीको आरोप जस्ता महिला विरोधी सामाजिक परम्परा अहिले पनि समाजमा विद्यमान रहेका बताउँदै ती प्रथाका विरुद्धमा अभियान चलाउनुपर्ने बताइन् । लुम्बिनी प्रदेशको समग्र विकासमा महिला जनप्रतिनिधिको भूमिका महत्त्वपूर्ण रहेको पूर्वराष्ट्रपति भण्डारीको भनाई थियो । 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य मेनका पोखरेल, लुम्बिनी प्रदेशसभा सदस्य जमुना ढकाल, हेमा बेल्बासे केसी, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ, बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्याल, सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी लगायतले बोलेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप