शनिबार, २३ चैत २०८१
ताजा लोकप्रिय
अध्यात्म

भामती : स्त्री रहस्यको एक उदाहरण

शनिबार, १६ चैत २०८१, १६ : ०६
शनिबार, १६ चैत २०८१

ओशोका प्रवचन सुन्ने क्रममा म भामतीको कथा सुन्न पुग्छु । भामतीसँगै आउने अर्का पात्र हुन्, वाचस्पति मिश्र । भामती को हुन् ? किन उनले वाचस्पतिसँग गरिन् ? किन भामतीले वाचस्पतिलाई त्यत्रो सेवा गरिन् ? मलाई भामतीका बारेमा अरु बढी बुझ्ने जिज्ञासा बढ्यो । 

वाचस्पति मिश्रको जन्म भारतको बिहार मिथिला क्षेत्रको मधुवनी जिल्ला थाडी गाउँमा भएको थियो । उनी ९औँ–१०औँ शताब्दीमा भारतीय दर्शनका ६ वटा स्कुलका टिप्पणीकार थिए । उनी एक महान् भारतीय दार्शनिक र अद्वैत वेदान्त विद्यालयहरूमध्ये एक भामती विद्यालयका संस्थापक पनि थिए । 

उनले न्याय वेदान्त, सांख्य, योग र मीमांसामा विश्व प्रसिद्ध भामती टीकासहित आठवटा पुस्तक लेखे । 

वाचस्पति सानैदेखि विलक्षण प्रतिभाका धनी थिए । अध्ययन पूरा गरी गुरुकुलबाट घर फर्केपछि भारतीय दर्शनमा टिप्पणी लेख्न आफ्नी आमा (वत्सला) सँग अनुमति मागे । आमाको अनुमतिपछि उनी टिप्पणी लेख्नमा यति लीन भए कि आफ्नो सांसारिक जीवन नै बिर्सिंदै गए । 

समय बित्दै गयो । उनकी आमा वृद्धा हुँदै गइन् । आमा वत्सलाले वाचस्पतिलाई एकल अभिभावकका रूपमा हुर्काउन धेरै पीडा सहनुपरेको थियो । आफू कमजोर हुँदै गएपछि वत्सलाले छोराको विवाहका लागि छिमेकी गाउँकी एउटी केटी रोजिन्, जसको नाम भामती थियो । छोरालाई ती केटीसँग विवाह गर्न जोड दिन थालिन् ।

वाचस्पतिले दुलहीको बुबालाई सन्देश पठाए, ‘मेरो जीवनको एक मात्र लक्ष्य भनेको व्यासको वेदान्त सूत्र (ब्रह्मसूत्र)मा टिका (भाष्य) लेख्नु हो । यही नै मानवताका लागि मेरो सेवा हो । ती शास्त्र मलाई जीवनभन्दा पनि प्रिय छन् । म गृहस्थको जिम्मेवारी निर्वाह गर्न सक्दिनँ । मलाई शंका छ कि म असल पति बन्न सक्छु कि सक्दिनँ । ब्रह्मसूत्रको भाष्य लेख्नुबाहेक मेरो दिमागमा अरू केही छैन । यो लेखेपछि मैले संन्यास (पारिवारिक जीवन त्याग्ने) को शपथ पनि लिएको छ ।’

कन्याका पिताले प्रतिभाशाली विद्वान् युवा वाचस्पतिको स्पष्टता, नम्रता र इमानदारीको सम्मान गरे । तर पनि उनी आफ्नी छोरीको विवाह उनीसँग गराउन डराउँथे । उनले यो सबै कुरा छोरीलाई भने । पिताजीको कुरा सुनेर कन्याले भनिन्, ‘पिताजी, म सबै सर्त पालना गर्न तयार छु, म उहाँसितै विवाह गर्नेछु ।’ कन्याका पिताजीले वत्सलालाई यो कुरा भने र वाचस्पतिलाई सोधे, ‘के तपाईं मेरी छोरीलाई भेट्न चाहनुहुन्छ ।’

वाचस्पतिले मुस्कुराउँदै भने, ‘उनले मलाई रोजिसकेकी छिन् भने उनको रोजाइलाई अस्वीकार गर्ने मलाई कुनै अधिकार छैन ।’

उनले पत्नी भामतीलाई भने, ‘म तिम्रा लागि केही गर्न सक्दिनँ तर संसारले मलाई बिर्सियोस्, तिमीलाई नबिर्सियोस् । म मेरो पुस्तकको नाम तिम्रो नाममा राख्नेछु ।’

उनले आषाढ महिनाको व्यास पूर्णिमा (गुरु पूर्णिमा)को दिन भामतीसँग विवाह गरे । तर वाचस्पतिका लागि त्यो दिन उनको स्मारकीय काम सुरु गर्ने सबैभन्दा शुभ दिन थियो । दुलही लिएर घर पुगेको क्षणमा उनी घरको बरन्डामा बसेर लेख्न थाले । उनले दिन–रात लेख्न जारी राखे । महिना, ऋतु र वरपरका सबै कुरा परिवर्तन हुँदै गए तर वाचस्पति परिवर्तन भएनन् । यस्तो लाग्थ्यो कि उनी जीवनको सामान्य स्तरमा अवस्थित थिएनन् । उनका केही शारीरिक आवश्यकताहरू (नुहाउने, थोरै खाना र केही घण्टाको निद्रा) बाहेक उनी काममा पूर्ण रूपमा डुबेका थिए ।

वाचस्पति मिश्रले टीका लेख्दै गर्दा उनकी श्रीमती भामतीले वर्षाैंसम्म कुनै अपेक्षाविना उनको सेवा गरिरहिन् ।

उनी यति व्यस्त थिए कि उनले आफ्नो श्रीमती छ भनेर बिर्सिसकेका थिए । उनको जीवनमा सबै ठिकठाक चलिरहेको थियो । हरेक दिन उनलाई आवश्यक सामान तयार हुन्थे । ताजा खाना, सफा लुगा उनको अगाडि हुन्थ्यो । यो सब कसरी भइरहेको छ भन्नेतिर उनले कहिल्यै सोचेनन् । बाह्र वर्षसम्म उनले अरू केही देखेनन् र अरू केही सुनेनन् ।

उनी आफ्नै काममा मग्न थिए । १२ वर्ष लगाएर उनले ब्रह्मसूत्रको टीका तयार गरे । बाह्र वर्षसम्म उनकी श्रीमतीले साँझ चुपचाप विनाआवाज उनका लागि बत्ती बालिदिन्थिन् र हरेक बिहान उनको खुट्टामा फूल राख्थिन् । खाना पकाउँथिन्, विनाआवाज चुपचाप खाना ल्याउँथिन् । जब वाचस्पति खाइसक्थे, उनी चुपचाप थाल टिपेर बिस्तारै पछि हट्थिन् । 

१२ वर्षसम्म वाचस्पतिलाई आफ्नी श्रीमतीका बारेमा अलिकति पनि थाहा थिएन । उनले पनि आफ्नो उपस्थितिको जानकारी दिने कुनै प्रयास गरिनन् । बरु उनले सम्भव भएसम्म आफ्नो उपस्थितिका बारेमा थाहा नहोस् भन्ने कोसिस गरिरहिन् । उनको काममा कुनै बाधा नपुगोस् भन्ने चाहन्थिन् उनी । वाचस्पतिकै सेवामा दिनरात मौन भई खटिरहन्थिन् ।

एक पूर्णिमाको रात सुत्नका लागि कक्षतर्फ जाँदै थिए, उनकी श्रीमतीले उनलाई बाटो देखाउन बिस्तारै बत्ती उठाइन् । पहिलोपटक वाचस्पतिले आफ्नी श्रीमतीको हात देखे । हातको चुराहरू देखे र चुराको झन्झन् सुने । उनले फर्केर श्रीमतीलाई हेरे ।

अनि उनी भन्छन्, ‘नारी, रातको यो समयमा यहाँ एक्लै के गर्दै छौ ? सम्पूर्ण घर बन्द छन्, कहाँबाट प्रवेश गर्‍यौ ? तिमी को हौ ? तिमीलाई कहाँ जानु छ ? हिँड, म तिमीलाई घर पुर्‍याइदिन्छु ?’

‘बाह्र वर्षदेखि हजुर आफ्नो काममा व्यस्त हुनुहुन्थ्यो । यति व्यस्त हुनुहुन्थ्यो कि त्यसअघिका केही कुरा बिर्सिनुभयो होला । १२ वर्ष अगाडिको एउटा घटना एकपल्ट सम्झने कोसिस गर्नुस् त !’ भामतीले भनिन्, ‘म त्यही महिला हुँ, जसलाई हजुरले आफ्नो विवाहिता पत्नीको रूपमा यस घरमा ल्याउनुभएको थियो ।’

वाचस्पति रोए, धेरै रोए ।

उनी सुकसुकाउँदै भन्छन्, ‘अब धेरै ढिलो भइसक्यो । रचना पूरा भएपछि घर छाड्ने मैले पहिले नै प्रतिज्ञा गरिसकेको छु । अब मेरो जाने समय भयो । बिहानी लगभग भइसक्यो र म जान तयार छु । तिमीले मलाई पहिले किन नभनेकी ? मूर्ख केटी ! तिमीले मलाई केही संकेत दिनुपथ्र्याे । अब धेरै ढिलो भइसक्यो ।’ यसो भन्दै उनी पुनः बच्चाजस्तै रोए ।

नारीको मन सोचेभन्दा धेरै कमलो हुन्छ । वाचस्पति रोएको देखेर उनी उनको खुट्टामा ढलिन् र भनिन्, ‘मैले जे हासिल गर्नु थियो, हजुरको यी आँसुबाट हासिल गरिसकेँ । अब मलाई अरु केही चाहिँदैन । कुनै पनि संकोच नगरी जानुहोस् । योभन्दा बढी म के हासिल गर्न सक्थेँ ? हजुरको आँखा मेरा लागि आँसुले भरिएको छ ? योभन्दा बढी अरु के पाउँ ? मैले पाउनुपर्ने भन्दा बढी पाएकी छु ।’

वाचस्पतिले आफ्नो पुस्तकको नाम भामती राखे । पुस्तकसँग यो भामती शब्दको कुनै सम्बन्ध छैन । यो उनकी श्रीमतीको नाम हो । उनले पत्नी भामतीलाई भने, ‘म तिम्रा लागि केही गर्न सक्दिनँ तर संसारले मलाई बिर्सियोस्, तिमीलाई नबिर्सियोस् । म मेरो पुस्तकको नाम तिम्रो नाममा राख्नेछु ।’

कसैले वाचस्पतिलाई नसम्झे पनि भामतीलाई धेरैले सम्झन्छन् । भामती ब्रह्मसूत्रको अद्भुत व्याख्या हो । यसको बराबरी गर्ने कुनै सूत्र छैन । 

‘बाह्र वर्षदेखि हजुर आफ्नो काममा व्यस्त हुनुहुन्थ्यो । यति व्यस्त हुनुहुन्थ्यो कि त्यसअघिका केही कुरा बिर्सिनुभयो होला । १२ वर्ष अगाडिको एउटा घटना एकपल्ट सम्झने कोसिस गर्नुस् त !’ भामतीले भनिन्, ‘म त्यही महिला हुँ, जसलाई हजुरले आफ्नो विवाहिता पत्नीको रूपमा यस घरमा ल्याउनुभएको थियो ।’

यो अकाट्य सत्य हो कि स्त्रीमा स्त्रीत्वको रहस्य हुनुपर्छ । उनले त्यो एकै क्षणमा वाचस्पतिलाई यति धेरै प्राप्त गरिन् कि जति हजारौँ अन्य माध्यमबाट कहिल्यै प्राप्त गर्न सक्दिनन् । वाचस्पति भामतीको हृदयसँग यसरी एकताबद्ध भए कि कुनै पनि महिलाले आफ्नो पतिसँग यस्तो एकताबद्धता कहिल्यै स्थापित गर्न सक्दिनन् ।

यो स्त्रीत्वको रहस्य हो कि भामतीको उपस्थितिले वाचस्पतिको जीवन–श्वासलाई छोयो ।

वाचस्पति सोध्छन्, ‘त्यसो भए हरेक बिहान मेरो खुट्टामा फूल राख्ने तिमी नै थियौ ? अनि जसले बिहान–बेलुका मेरो अगाडि खानाको थाल राख्ने र हरेक साँझ मेरा लागि बत्ती बाल्ने तिमी नै थियौ ? तर मैले कहिल्यै तिम्रो हात देखिनँ ?’

भामती भन्छिन्, ‘मेरो हात हजुरले देख्नुभएको भए, मेरो प्रेममा कमी हुन्थ्यो, म हजुरलाई जुनी जुनीसम्म पर्खन सक्थेँ ।’

‘मेरो जीवनको काम र जीवनको उद्देश्य— म तिम्रो चरणमा समर्पण गर्दै छु । तैपनि मलाई लाग्छ, तिम्रो प्रेमको अगाडि यो केही पनि होइन । 

पुस्तक लेख्नु उनको जीवनको लक्ष्य थियो । महान् पत्नीको त्यागको सम्मानमा उनले आफ्नो टीकाको नाम भामती राखे । 

ब्रह्मसूत्रहरूमा अन्य धेरै टिका छन् तर पनि संस्कृतमा ‘भामती’ सबैभन्दा राम्रो टिकाहरूमध्ये एक हो, जुन एक समर्पित पत्नी र उनको प्रेमको नाम हो ।

‘देवी, म गएपछि तिमी के गर्ने छौ ? अनि तिमीले आफ्नो हेरचाह कसरी गर्नेछौ ?’ वाचस्पति सोध्छन् ।

मुस्कुराउँदै उनले जवाफ दिइन्, ‘पति देव ! मलाई तपाईंकहाँ ल्याउने र तपाईंको सेवा गर्ने यो अवसर दिने शक्तिले मेरो हेरचाह गर्नेछ । कामप्रतिको तपाईंको समर्पण र इमानदारीले मलाई प्रेरणा दिइरहनेछ ।’

त्यसपछि वाचस्पति हिमालयतिर लागे तर उनी भामती र उनका गुणहरू, उनको अनुग्रह र उनको दिव्य सौन्दर्यलाई बिर्सन सकेनन् । मानवीय गुणहरूभन्दा बाहिरको कुरा थियो त्यो । वाचस्पति एक महान् विद्वान् हुन् तर भामती धेरै दिव्य नारी हुन् ।

त्यसैले सबै महिलाहरू यो स्त्री रहस्यको प्रकाश प्रकाशित गर्न सक्षम हुँदैनन्, त्यो पनि आजको युगमा । पुरुषले पनि यो स्त्री रहस्य प्राप्त गर्न सक्छन् । वास्तवमा, प्रार्थनापूर्वक प्रतीक्षा गर्ने यो अवस्थामा पुगेकाहरूले मात्र अस्तित्वसँग आफ्नो पहिचान स्थापित गर्न सक्छन् ।

यो स्त्री रहस्यको ढोका स्वर्ग र पृथ्वीको मूल स्रोत हो ।

यसरी ओशोका प्रवचनले मलाई वाचस्पति र भामतीको विषयमा यतिका जानकारी दियो । हुन त ओशोका प्रत्येक प्रवचनले मलाई केही न केही जानकारी दिइरहन्छ । बिर्सिसकेका इतिहासका पानाहरू ओशोले पल्टाइदिनुहुन्छ, अनौठा अध्यात्मका पानाहरू ओशोले ब्युँझाइदिनुहुन्छ, अपूर्व नारीका कथाहरू र व्यथाहरू ओशोले चिनाइदिनुहुन्छ । यसैले ओशोलाई जति सुन्छु, उति प्यास बढ्छ, जिज्ञासा जाग्छ, कुतूहल पलाउँछ । यसैले ओशोका प्रवचनले मेरो प्यास बढिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमा दुलाल
रमा दुलाल
लेखकबाट थप