बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय
लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशका दुई औद्योगिक क्षेत्रः घोषणाको एक दशकपछि जग्गा यकिन, बल्ल सडक निर्माण सुरु

शनिबार, १६ चैत २०८१, १५ : १२
शनिबार, १६ चैत २०८१

बुटवल । सरकारले घोषणा गरेको एक दशक पुग्न लाग्दा लुम्बिनी प्रदेशका दुई वटा औद्योगिक क्षेत्र निर्माण लागि बल्ल सडक निर्माण र जग्गा यकिनको काम हुन थालेको छ । संघीय सरकारले २०७२ सालमा देशका विभिन्न ठाउँसँगै बाँकेको नौवस्ता औद्योगिक क्षेत्र र रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको थियो ।

रुपन्देहीको मोतीपुरमा विगतमा घोषणा गरेको जग्गाको क्षेत्र घटाएर औद्योगिक क्षेत्र निर्माण गर्ने योजनाअनुसार अहिले जग्गा नाप जाँच भएको छ ।

रुपन्देहीमा भन्दा बाँकेमा तुलनात्मक रूपमा काम अगाडि बढेको छ। दुवै ठाउँका औद्योगिक क्षेत्र हतारमा २०७७ सालमा शिलान्यास भएका हुन्। त्यसपछि जग्गा विवादलगायत कारणले निर्माण प्रक्रियामा ढिलाइ भएको हो ।

अहिले दुवैमा काम गर्ने प्रक्रिया थालिएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक इन्जिनियर पदम ओलीले रातोपाटीलाई बताए। उनले बाँकेमा केही काम भएको छ । यता रुपन्देहीका पनि जग्गा पुनः नापजाँच चलिहरेको उनले बताए । बाँकेको बैजनाथ गाउँपालिकास्थित नौवस्ता औद्योगिक क्षेत्रमा अतिक्रमित घर हटाएर यही साता औद्योगिक क्षेत्रभित्र सडक निर्माण गरिएको छ। तारजाली पनि लगाउन सुरु गरिएको औद्योगिक क्षेत्र बाँके नौवस्ताका व्यवस्थापक प्रदीप पराजुलीले रातोपाटीलाई बताए।

कुन को अवस्था के छ ? 

तत्कालीन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले २०७७ फागुन ११ गते नौवस्ता औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए। तर अझै पूर्ण निर्माण भएको अवस्था छैन। बल्ल भौतिक संरचना निर्माण सुरु भएको छ। आउने आर्थिक वर्ष कुनै न कुनै रूपमा निर्माण देखिने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक ओलीले बताए ।  

उनले बिचमा बजेटसमेत फ्रिज भएकको तर यो आर्थिक वर्षमा तारबार गर्ने र आउने वर्षमा केही देखिने गरी काम हुने बताए। उक्त परियोजनाको ‘डीपीआर’र ‘ईआईए’ काम सम्पन्न भइसकेको छ। 

त्यहाँ औद्योगिक क्षेत्रभित्र सडकमा पर्ने घरटहरा सर्वदलीय सहमतिमा हटाएको उनले बताए । सडकको ट्रयाक खोल्ने काम सकिएको छ। अब केही हप्ताभित्रै तारजाली सक्ने योजना रहेको पनि उनले सुनाए । अहिले उक्त क्षेत्रभित्र २५० औद्योगिक क्षेत्रको नाममा जग्गा रहेको र केही सरकारी संरचनासमेत रहेकाले घटाएर निर्माण गर्ने योजना छ । नौवस्ता औद्योगिक क्षेत्रभित्र सशस्त्र प्रहरीको गण तथा अन्य सरकारी कार्यलयहरूको जग्गा छोड्दा करिब २ सय ४० बिघा हुने अनुमान गरिएको छ।

यता रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा पनि २०७७ साल चैतमा तत्कालीन उद्योग मन्त्री लेखराज भट्ट,अर्थ मन्त्री विष्णु पौडेलले शिलान्यास गरेका थिए। त्यस क्रममा स्थानीयसँग जग्गा विवाद भएको थियो। उक्त क्रममा झडपसमेत भएको थियो। करिब ९ सय बिघा क्षेत्रफल निर्माण गर्ने घोषणा गरिए पनि केही जग्गा जग्गा सुकुमबासीका नाममा कब्जा गर्ने प्रयास भएको थियो। अन्य विभिन्न ठाउँमा स्थानीय जग्गा  परेपछि सरकारले औद्योगिक क्षेत्र निर्माणमा ढिलाइ गरेको हो।

२०७२ चैत १ मा रुपन्देहीको मोतीपुरमा पाँच वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भएको थियो

 बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा प्रमुख दीपक आर्चायले अहिले 'बी सेक्टर' मात्रै भए पनि औद्योगिक क्षेत्र निर्माण गर्ने उद्देश्यले बुटवल उपमहानगरपालिका वडा नम्बर १७ को नापँचाज सकिएको र १८ का केही ठाउँ नाप्ने छलफल भइरहेको ओलीले बताए । 

उनले  स्थानीय जग्गा नपर्ने ठाउँ सरकारी जग्गामा भए पनि सुरुमा कम्तीमा २५० विघा क्षेत्र औद्योगिक क्षेत्र निर्माण गर्ने योजनाअनुसार अगाडि बढेको बताए । बुटवल उपमहानगरपालिका, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड र स्थानीयबिच पटक–पटकको छलफलपछि औद्योगिक क्षेत्र बन्ने र स्थानीय जनता पनि विस्थापित हुन नपर्ने गरी सहमति भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए।

रुपन्देहीमा पहिलो चरणमा एउटा ब्लकको काम हुँदै 

करिब ९ सय बिघा क्षेत्रमा औद्योगिक क्षेत्र निर्माण घोषणा गरिए पनि अहिले सानो क्षेत्रमा भए पनि औद्योगिक क्षेत्र निर्माण गर्ने योजनाअनुसार जग्गा नापँजाच गरिएको ओलीले रातोपाटीलाई बताए।

रुपन्देहीमा परियोजनाअन्तर्गत कम विवाद रहेको क्षेत्र 'बी ब्लक'को २४९ दशमलव ८२ हेक्टर जग्गामा पहिलो चरणमा काम अघि बढाउन थालिएको छ।

योजग्गा सीमांकन गर्दा कति क्षेत्रफल हुन्छ अझै स्पष्ट भइसकेको छैन। विगतमा मोतीपुर क्षेत्रको ८१३ बिघा जग्गा लिमिटेडको नाममा पास भएको थियो। यसमध्ये केही जग्गा स्थानीयले भोगचलन गरेका र केही स्थानीयको पुर्जा नै भएको जग्गा परेपछि कम विवादित क्षेत्रबाट काम अगाडि बढाउन थालिएको छ ।

मोतीपुर औद्योगिक क्षेत्रको जग्गालाई विभिन्न चार ब्लकमा विभाजन गरिएको छ । बुटवलको मोतीपुरदेखि तिलोत्तमा, शुद्धोधन र सियारी गाउँपालिकासम्मको तिनाउ नदीको पश्चिमतर्फको ८१३ बिघा जग्गा ०७३ वैशाख २९ र सोही वर्षको असार १४ मा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा पास भएको थियो ।

औद्योगिक क्षेत्र बन्ने क्षेत्रफलको ४५ प्रतिशत जग्गा बुटवलमा, २८ प्रतिशत शुद्धोधनमा, १३ प्रतिशत तिलोत्तमामा र ६ प्रतिशत जग्गा सियारीमा पर्छ । उक्त जग्गामध्ये करिब २५० बिघा क्षेत्रफलमा अव्यवस्थित बसोबासीको बस्ती, वन, विद्यालयको जग्गा, मठमन्दिर भएको दाबी गर्दै स्थानीय अन्दोलित भएका थिए । सुरुमा मोतीपुर औद्योगिक क्षेत्रको जग्गालाई तीन सेक्टरमा विभाजन गरी काम अगाडि बढाइएको थियो ।

जसमा तिलोत्तमा क्षेत्रलाई सेक्टर ‘ए’ मा राखिएको थियो। यस्तै मोतीपुर क्षेत्रलाई सेक्टर ‘बी’ कायम गरिएको थियो । यस औद्योगिक क्षेत्रको अर्को सेक्टरमा ‘सी’ रहेको थियो। फर्साटिकर ‘डि’ सेक्टरमा राखिएको थिया । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बुटवल प्रमुख दीपक आर्चायले सीमाकंनको काम भएपछि अन्य प्रक्रिया अगाडि बढाउन योजना रहेको बताए । 

2273592b-4ca2-427b-82fa-5f0f04e50190IMG20210223133828-768x768motipur_lXUdpn69TPcacb7339-6cd4-4060-ab05-e79876030a63

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप