शनिबार, २३ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कथा

नैनशोभाको सुपारी

शनिबार, १६ चैत २०८१, १४ : ४९
शनिबार, १६ चैत २०८१

दाउराका भारी बोकेर तीन युवती बागमतीको साँघुतिर आउँदै थिए । घोडामा सवार एक तरबारधारी पुरुषले वारिबाट युवतीहरूलाई हेरिरहेको थियो । ऊ सवार घोडा स्थिर देखिन्थ्यो तर उसको अधीरता बुझिनसक्नुको थियो । ऊ दायाँबायाँ हल्लिरहेको थियो । 

फागुन कृष्णपक्ष, शिवरात्रि आउन एक साता बाँकी थियो । झमक्क साँझ पर्न लागेकाले युवतीहरू छिटोछिटो हिँड्दै थिए । जीवनमा आइलाग्ने स–साना सुखदुःखको प्रतिक्रिया स्वरूप बैँसको लालीले ल्याउने हाँसोको मूल पनि उनीहरूबाट फुटिरहेको थियो । त्यसमा स्वच्छ वागमतीको कलकल र बास बस्न लागेका चराहरूको चिर्बिर मिसिँदा गीतमा सुन्दर संगीत भरेजस्तो माहोल थियो । 

युवतीहरू साँघु तर्दै गर्दा ऊ घोडाबाट ओर्लियो र घोडालाई नजिकैको रुखमा बाँध्यो । युवतीहरूको बाटो छेक्दै लर्बरिएको स्वरमा केही भन्यो । तीमध्ये एउटीलाई नाडीमा समातेर आफूतिर तान्न खोजिरहेको थियो । युवतीले आफ्नो हात फुत्काएर अगाडि बढ्ने कोसिस गर्दै थिइन् तर सकिरहेकी थिइनन् । मदिराले लट्ठिएको तरबारधारी पुरुषले आफ्नो शरीरलाई सन्तुलित राख्न सकिरहेको थिएन, ढलमल–ढलमल गरिरहेको देखिन्थ्यो । यद्यपि उसले युवतीको नाडी छाडेको थिएन । अरु युवतीहरु त्यो दृश्यसँग डराएर भागिसकेका थिए l 

नजिकै झ्याङमा छेलिएर शौच गरिरहेका मंगलेले यो सबै दृश्य नियालिरहेका थिए । त्यस दृश्यले उनलाई एउटा दर्दनाक घटना सम्झायो । जुन घटना उनले आफ्नै आँखाले देखेका त थिएनन्, गाउँकै एक खराब मानिसले उनलाई सुनाएको थियो । झगडा परेको बेलामा उसले मंगलेलाई भनेको थियो— तँ बतासे होस्, ठिमाहा होस् । भन्न त तेरी आमाले पञ्चसामु भनेकी थिई, रक्सी खाएर बाबुसाहेब आउनुभएको थियो, मलाई नाडीमा समाएर तान्नुभयो । जे भने पनि बाबुसाहेबले स्याहारेनन् !

यता तरबारधारी पुरुषले युवतीलाई नाडीमा समाएर बाटोमुनि पुर्‍याइसकेको थियो । बिच बाटोमा लडेको दाउराको भारीको जुइनो चुँडिएको थिएन, तर मंगलेको मन नराम्रोसँग चुँडियो र उनको नसानसामा रगत उम्लेजस्तै भयो । उनले ती युवतीलाई आफ्नी आमाको रूपमा देख्न थाले भने तरबारधारी पुरुषलाई बाबुसाहेबको रूपमा । हतारहतार झारपातले शौच पुछेर उनी बाटोमा आए, दाउराको भारीबाट एउटा लाठी थुतेर तरबारधारी पुरुषतिर जाँदै जोडले चिच्याए — असती, छोड त्यसलाई । 

तरबारधारी पुरुषले युवतीलाई बेस्सरी धकेलेर भुइँमा लडायो र कम्मरको म्यानबाट तरबार थुतेर मंगलेमाथि जाइलाग्यो । उसको प्रहारलाई छलेर मंगलेले लाठी प्रहार गरे । लाठीले टाउकोमा लागेर तरबारधारी पुरुष ढल्न लाग्दै थियो, त्यसैमाथि मंगलेले अर्को चोट थपिदिए । ढलेको तरबारधारी पुरुष चलमलाएन । यता मंगलेको मुटु भने भुक्कभुक्क उफ्रन थाल्यो । यो सबै दृश्य युवतीले हेरिरहेकी मात्रै थिइन् तर केही सोच्न, गर्न वा भन्न भ्याएकी थिइनन् । 

झगडा परेको बेलामा उसले मंगलेलाई भनेको थियो— तँ बतासे होस्, ठिमाहा होस् । भन्न त तेरी आमाले पञ्चसामु भनेकी थिई, रक्सी खाएर बाबुसाहेब आउनुभएको थियो, मलाई नाडीमा समाएर तान्नुभयो । जे भने पनि बाबुसाहेबले स्याहारेनन् !

मंगले युवतीलाई उठाउन गए । ‘चोट लाग्यो कि ?’ रिस र डरले फुलिरहेको श्वाससहित मंगलेले सोधे । 

युवतीले टाउको मात्रै हल्लाइन् । 

‘अब तिमी दाउरा लिएर छिटो आफ्नो घरमा जाउ । यहाँ जे भयो, तिम्रा दुई साथीलाई सबै सत्य सुनाउ तर कसैलाई नभन्न भन । यो घटनाबारे कसैले सोध्यो भने— हामीले केही देखेनौँ, हामीलाई केही थाहा छैन भन्नु,’ युवतीलाई दाउराको भारी बोकाउँदै मंगलेले भने, ‘मैले तिमीलाई र तिमीले मलाई कहिल्यै देखेका छैनौँ नि ! यो कुरा पनि ख्याल गर । भोलि कतैबाट सोधखोज भइहाले मैले तिमीलाई चिन्दिनँ भन्छु । तिमीले पनि मलाई चिन्दिनँ, यसअघि देखेकै थिइनँ भन्नु ।’

भाग्ने बाटो कुन सुरक्षित होला भनेर मंगलेले यताउता हेर्दै थिए, युवतीले उनको नाडीमा च्याप्न समातेर सोधिन्— तिम्रो नाम के हो, घर कहाँ हो ?

मंगले हो मेरो नाम । घर पश्चिम भीरकोट । यहाँ पशुपतिमा बस्छु । जिम्मावालहरू यज्ञ गर्न आएका छन्, म उनीहरूकै भरिया भएर आएको हुँ । शिवरात्रिपछि फर्कन्छौँ । 

मंगले झाडीतिर छिरे । युवती आफ्नो घरतिर बाटो लागिन् । 

त्यसको भोलिपल्ट, ती युवती मंगलेलाई खोज्दै पशुपतिमा पुगिन् । मंगलेले परैबाट युवतीलाई देखे । जिम्मावालहरूले थाहा पाउलान्, शंका गर्लान् भन्ने त्रास उनलाई थियो । सबैको आँँखा छलेर उनी छेउ लागे र कसो कसो श्लेष्मान्तक वनतिर छिरे । युवती पनि पछिपछि आइन् । 

एकान्तजस्तो स्थानमा पुगेपछि मंगलेले सोधे— किन आको तिमी ?

‘तिमीलाई भेट्न ।’ 

मलाई किन भेट्नुपर्‍यो ? 

‘त्यस्तै पर्‍यो । म त रातभरि निदाउनै सकिनँ । कस्तो तिम्रो माया लाग्यो नि ! माया लागेर के गर्ने ? तिम्रो अनुहार पनि मेरो सम्झनामा आएन । त्यसैले तिमीलाई एकछिन हेरेर तिम्रो अनुहार सम्झन यहाँ आएकी ।’ 

मेरो अनुहार सम्झेर के गर्छ्यौ ?

‘यो जुनी बिताइदिन्छु,’ यति भनेर उनले नाडीमा समाएर मंगलेलाई झाडीतिर लगिन् र सोधिन्, ‘हिजो तिमीले मलाई किन बचायौ ?’

उनीहरूले वनमा धेरै कुरा गरे । युवतीको नाम नैनशोभा रहेछ । उनले घरबाट चटामरी लिएर आएकी थिइन्, दुवैले खाए । 

००

मंगलेकी आमालाई गाउँका ठुलाबडाले जातले मात्रै सम्बोधन गर्थे— दमिनी । आफन्तले भने जुनेली भन्थे । उनी जन्मदा झलमल जून लागेको थियो रे । जब उनी जवान भइन्, उनको तन र मनमा जून लाग्न भने पाएन, उल्टै इज्जतमा कहिल्यै नपखालिने ग्रहण लाग्यो । उनले मंगलेलाई जन्म त दिइन्, बाउको न्यायो काख दिन सकिनन् । 

उनका बा र सात भाइ दाइहरूले बिस्टकहाँ सिलाउने, बिस्टको उत्सवमा बाजा बजाउने र बिस्टकै खेतबारीमा जोत्ने गर्थे । उनकी आमाले बिस्टका लुगा टाल्थिन्, मेलापातको काम गरिदिन्थिन् । सधैँ आमाको पछि लागेर हिँड्ने जुनेली बिस्टकै खेतबारी र आँगनमा हुर्किइन् । बिस्टको दैलो नाघ्ने र बिस्टहरूलाई छुने छुट वा हक आफूलाई छैन भन्नेमा उनी सानैदेखि अभ्यस्त थिइन् । जब उनको बालापनलाई बैँसको गुलाबी बादलले ढाक्दै गयो, हिजो तर्कंदै आएका पुरुषहरू पनि उनको नजिक पर्नका लागि एकान्त स्थल ढुक्न थाले । उनले महसुस गर्न थालिन्— सबैभन्दा चोखो त यहाँ युवतीको जोबन रहेछ, जसलाई जुठो पार्न सके जो–कोही पुरुषले आफू सफल भएको ठान्दो रहेछ । 

आमाले उनलाई बेलाबेला सम्झाउँथिन्— जोबन धानेस् है, जोबन जुठो भएपछि सबै सकिन्छ आइमाईको ! 

उनको मनमा तर्क आउँथ्यो— साँच्ची ! यी गाईवस्तु, कुखुरा आदिको जोबन किन चोखो र जुठो हुन्न ! 

उनीहरूको घरमुनि र घरपारि पाखो बारी थियो । घरपारिको एक हल बारी जङ्गलसँगै सटेको थियो, निकै बाँदर लाग्थ्यो । मकै पाक्ने बेला उनी, उनकी आमा र उनका दाइका छोराछोरीहरू बाँदर धपाउन जान्थे; ढ्याङ्ग्रो ठटाएर बस्थे । एक साल, मकै पाक्ने बेला उनकी आमा बिरामी परिन् । तीजमा भाउजुसँगै भदाभदैहरु पनि मामाघर गएका थिए । बाँदर धपाउन जानेमा जुनेली एक्लै परिन् । त्यस दिन बारीमा बाँदर आएन, बाँदरजस्तै बुद्धिको बाबुसाहेब आए र उनको नाडीमा समाए । त्यसपछि जे भयो, परिणामतः मंगलेको जन्म भयो ।

मंगलेको बाबु चिन्न पञ्च बस्यो, समाजका माझ जुनेलीले सबै घटना बताइन् तर बाबुसाहेबले जुनेलीलाई स्वास्नी र मंगलेलाई सन्तान स्विकारेनन् । जुनेलीका नाममा चार गरा बारी छुट्याइदिएर उनी चोख्खिए । बेसरी बलिया र मूर्ख स्वभावका माहिला बाबुसाहेबसँग मुखिया–जिम्मावाल समेत थुर्थुर हुन्थे । 

जुनेलीको रजस्वला रोकिएपछि र पेट बढ्दै गएपछि आमाले केरकार गर्न थालेकी थिइन् । सुरुमा लाजले टार्दै आएकी जुनेलीले एक पूर्णिमाको रात माहिला बाबुसाहेबको नाम लिइन्, त्यस रात घरैलाई औँसीले छोपेझैँ भयो । 

जुनेलीका माहिलादाइको पनि बल र हिम्मतमा नौ गाउँसम्म नाम चलेको थियो । हान्न आएको यमानको राँगोलाई सिङमा समाएर लडाएपछि उनको नाम परपरसम्म फैलिएको थियो । यद्यपि ठकुरी र बाहुन–क्षत्री समाजले उनलाई यसरी थिचेको थियो कि उनको बल खेतबारी जोत्न वा ठुलो भारी बोक्नबाहेक अन्यत्र प्रयोगमा आउनै पाउँदैनथ्यो । 

मान्छेको रिस र प्रेम एक न एक दिन निस्केरै छाड्छ । एकपटक डाँडाको चौतारीमा माहिला दमाई र माहिला बाबुसाहेब निःशस्त्र भिड्न पुगे । बाबुसाहेबलाई माटोमा उत्तानो लडाएर गर्दनमा समाउँदै माहिला दमाईले भन्दै थिए— आज म तँलाई मारेर गाउँ छाड्छु । 

त्यही बेला जुनेली पुगेर छुटाइन् र त्यसरी नभिड्नका लागि आफ्ना दाइलाई किरिया खुवाइन् । उनले आफ्नो हुन नसकेको पतिलाई भनिन्— बाउसाब, हजुरको बल छ र मनमा हरि छ भने मेरो पेटमा परेको हजुरकै रगतको हत्या गर्नुस् । हिम्मत छ ? हजुरको बल घट्दै जाला र एक दिन आफ्नै रगतले हिसाब–निसाफ खोज्ला, हेक्का रहोस् बाउसाब । 

समय र परिस्थितिले जुनेलीलाई जब्बर हुन सिकाएको थियो । ठकुरीको पेट बोेकी भनेर गाउँभरि कुरा काट्थे, तर अरुका कुराले उनलाई छुँदैनथ्यो । 

००

मंगलेले समाजमा बाउको जात पाएनन्, दमाई भएर मावलीमा हुर्के । बिस्टकै खेतबारी जोत्न, बाजा बजाउन सिक्दै गए । २० वर्षको उमेरसम्म उनले बिहे गरेका थिएनन् । 

त्यही बेला जिम्मावाल खलकलाई पशुपतिको दर्शन गर्ने मन भयो । कोही आएर उनलाई भन्यो— जिम्मावालहरूको भरिया बनेर नेपाल खाल्डो जा । आउन–जान दुई महिनाजति लाग्छ । त्यसो गरिस् भने खेतबारी फिर्ता पाउँछस् । 

पशुपतिको दर्शन हुने, खेतबारी पनि फिर्ता आउने भनेपछि जुनेलीले खुसीसाथ छोरालाई नेपाल पठाएकी थिइन् । १२ दिन हिँडेर पशुपति पुगेपछि जिम्मावालहरूले यज्ञ गर्न थाले । मंगले भने पशुपति वरिपरिका ठाउँ घुम्थे । यसरी घुम्दै गर्दा उनले नैनशोभालाई भेटेका थिए । 

नैनशोभालाई भेटेपछि पनि मंगले पशुपतिमा नौ दस दिन बस्नुपर्‍यो । अनेक बहाना बनाएर नैनशोभा हरेक दिनजसो मंगलेलाई भेट्न आइन् । यिनीहरूले भेट्ने ठाउँ तोकेका थिए । हरेक भेटले यिनीहरूबिच प्रेम हुर्कंदै गयो । 

तरबारधारी पुरुषको हत्यालाई लिएर राणा सरकारका मान्छेले प्रजापरिषद् र अन्य गुप्त संगठनका मानिसलाई पक्राउ गर्न थालेको नैनशोभाले चाल पाएकी रहिछन् । आफूहरूमाथि कुनै शंका नगरेपछि नैनशोभा ढुक्क थिइन् । यो १९९९ सालतिरको कुरा हो, त्यतिबेला नेपाल खाल्डोमा राणाविरोधी गतिविधि एक किसिमले उत्कर्षमा पुग्न खोज्दै थियो । 

युवतीहरू साँघु तर्दै गर्दा ऊ घोडाबाट ओर्लियो र घोडालाई नजिकैको रुखमा बाँध्यो । युवतीहरूको बाटो छेक्दै मसिनो स्वरमा केही भन्यो । तीमध्ये एउटीलाई नाडीमा समातेर आफूतिर तान्न खोजिरहेको थियो ।

अन्ततः नैनशोभा भागेर मंगलेसँगै भीरकोट जाने भइन् । मंगलेले जिम्मावालहरूलाई सुनाउनका लागि कथा बुने— नैनशोभा टुहुरी दमिनी हुन्, मजस्तै मामाको घरमा हुर्केकी । हामी भेटिएको १२ दिन जति भयो । मैले त यिनलाई भगाएर लैजाने निधो गरेँ । यिनी पनि मन्जुर छन् । हजुरहरूले सहयोग गर्नुपर्‍यो, हजुरहरूलाई एउटा सुसारे बढ्ने त हो । 

जिम्मावालहरूले साथ दिने भए । झन्डै १२ दिन हिँडेर भीरकोटदेखि केही परको गाउँमा नैनशोभा पुगिन् । बाटोभरि उनलाई माइतीको खासगरी आफ्नी आमाको खुबै सम्झना आएको थियो । घरमा सासुआमाको गहिरो स्नेह पाएर उनले आफ्नी आमालाई बिर्संदै गइन् । 

रहँदा–बस्दा उनले एउटा छोरालाई जन्म दिइन् । छोरो हुर्केर सात वर्षको हुँदै थियो, त्यही बेला उनी मानसिक रूपमा बिरामी पर्न थालिन् । उनले सपनामा आमालाई मात्रै देख्थिन्, रातभरि बर्बराउँथिन् । 

जुनेलीले उनलाई धामी–झाँक्रीकहाँ लगिन् । झाँक्रीले पनि हात झिके— यिनलाई फिर्ता बोलाउन यिनकी आमाले ठुलो झाँक्री लगाएकी छन् । त्यो तन्त्रमन्त्र छुटाउन मैले सकिनँ, म यही सल्लाह दिन्छु कि एकपटक यिनले आफ्नी आमालाई भेट्नैपर्छ । 

मंगलेले एकपटक नैनशोभालाई माइत पुर्‍याउने सोचेका थिए तर माइतीलाई भेटेपछि उनी फर्कन पाउने हुन् कि होइनन्, त्यहाँ आफूहरूको के हालत हुने हो— यस्तै त्रास मंगलेलाई थियो । त्यतिन्जेलसम्म देशमा प्रजातन्त्र आइसकेको थियो, जातभातको कानुन हट्ने कुरा चले पनि हटिसकेको थिए । नैनशोभालाई माइतीसँग भेटाउने हिम्मत उनले गरेनन् । विशेषतः उनलाई आमाले रोकेकी थिइन् । 

नैनशोभा बिरामी भएको र झाँक्रीले भनेको कुरा गाउँभरि हल्ला चल्न थाल्यो । त्यतिन्जेलसम्म नैनशोभा नेवारकी छोरी हुन् भन्ने समाजमा खुलिसकेको थियो । दमिनीले नेवार्नी बुहारी पाएको कति ठुलाबडालाई मन परेन । जिम्मावाल खान्दानकै कतिपयले नैनशोभाको कान भर्न थाले — हामीले तिमीलाई नेपाल पुर्‍याइदिन्छौँ, यो दमाईलाई छाड । 

एक दिन नैनशोभाले आफूलाई आँखाका नानी जस्तो ठान्ने श्रीमान्, सासु र आफ्नो मुटुको टुक्रो सात वर्षको छोरालाई छाडेर हिँडिन् । उनी घर छाडेर हिँड्दा सिरानीमा सुपारी राखेकी थिइन् । 

नैनशोभाले घर छाडेकै दिन मंगलेले खबर पाए, उनी माइतीलाई भेट्न जिम्मावाल खान्दानसँग नेपाल गएकी छन् । उनलाई लिन मंगले जान खोजे तर आमाले दिइनन्, छोरो नै फर्कन्न कि भन्ने चिन्ता उनलाई थियो । 

००

३० वर्षपछि, एक दिन नैनशोभा आफ्नो घर फर्किन् । देशमा पञ्चायती शासन थियो, पृथ्वी राजमार्गमा फाट्टफुट्ट गाडीहरू गुड्न थालेका थिए । यसपालि उनले पहिलेजति धेरै हिँड्नुपरेन, उसो त उनको हिँड्ने बल र बैँस पनि ढलिसकेको थियो । 

उनकी सासु जुनेलीले संसार छाडेकी सकेकी थिइन् । घरमा बुहारी र चार नातिनातिना थिए । उनीहरूले नैनशोभालाई चिनेनन् । उनले पनि तत्कालै आफ्नो परिचय दिन आवश्यक ठानिनन् । मंगले एक हल गोरु खोज्न निस्केका रहेछन्, त्यस दिन उनी घर फर्केनन् । 

नैनशोभाले आफ्नै छोराबुहारीसँग एक रातका लागि बास मागिन्, आफू पनि दमिनी भएको बताएर । 

छोरो पशुपति भारतको सरकारी बैंकमा पालेको जागिर खान पुगेका रहेछन् । ढोकामा छोराको श्यामश्वेत तस्बिर टाँगिएको थियो । उनले सोधिन्— यी बाबु नानीको श्रीमान् हुन् कि !

हजुर, कसरी चिन्नुभयो ? 

त्यस्तै लागेर सोधेको । बाबुको नाम के हो नि !

‘पशुपति ।’ 

मंगलेलाई पशुपतिको वरिपरि भेटेको भएर उनले छोराको नामै पशुपति राखेकी थिइन् । छोराको तस्बिरमा उनका आँखा एकछिन टक्क अडिन पुगे । 

त्यस दिन उनीहरूको घरमा भुटन सकिएको रहेछ । सकिएको भन्दा पनि केटाकेटी खेल्दा पोखेका रहेछन् । 

बुहारीले भनिन्— तेल पोखिहाल्यौ । जाउ हजुरबाको सुपारी ठेकी लिएर आउ, आज त्यसैको घिउ खानुपर्छ । 

सुपारी शब्दले नैनशोभालाई आफूले सिरानीमा छाडेर गएको सुपारी सम्झायो । उनका आँखाबाट अनायसै आँसु झरे । 

खाना खानेबेला उनले अप्ठेरो मानी–मानी बुहारीलाई सोधिन् — नानीले अघि सुपारी ठेकी भनेको सुनेझैँ लागेको थियो । के हो यो सुपारी ठेकी भनेको ? मलाई जान्न मन लागेर नि !

नैनशोभाले सिरानीमुनि राखेको सुपारीलाई मंगलेले मायाको चिनो ठानेछन् । नबिग्रियोस् भनेर उनले त्यसलाई घिउको भाँडोमा डुबाएर राखेका थिए । कहिलेकाहीँ उनले त्यस सुपारीलाई पूजा पनि गर्थे ।

यो सुनेर नैनशोभा बेस्सरी भक्कानिइन् । ऐय्या–ऐय्या भन्दै छातीमा हात राखेर ढलेकी उनी उठिनन्, उनको प्राण उठ्यो । 

बास बस्न आएकी पाहुनाले दुई गाँस नखाँदै प्राण त्यागेपछि उनीहरू त्रासमा परे । लासलाई त्यसै छाडेर उनीहरू सबै अर्को घरमा मान्छे बोलाउन गए । गाउँका केही युवा र वृद्धले रातभरि लास कुरे । कतिले शंका गरिसकेका थिए, यी कतै नैनशोभा त होइनन् ? 

त्यो रात त्यसै बित्यो । भोलिपल्ट बिहानै मंगले आइपुगे । छोराबुहारीबाट सबै कुरा बुझेपछि उनले लासलाई घोरिएर हेरे । नैनशोभाको दाहिने निधारमा कोठी थियो, दाहिने निधारमै कोठी देखेपछि अत्तालिँदै एकछिन अनुहारलाई वल्टाइपल्टाइे गरे र डाँको छाडेर रोए । 

आफ्नी सासुआमालाई नचिनेकोमा बुहारीलाई पनि ग्लानि भयो । नैनशोभाले एउटा कपडाको पोको ल्याएकी थिइन्, त्यसमा केही जोरकपडा, केही सुनका गहना र एउटा गलबन्दी थियो । मंगलेको गलबन्दीलाई नैनशोभाले चिनो लगेकी रहिछन् तर मंगले भने हरायो भन्नेमा थिए । मंगलेले ३० वर्षपछि आफ्नो हराएको गलबन्दी त पाए तर पत्नीलाई पाउन सकेनन् । 

त्यही दिन नैनशोभाको सत्गत गरियो ।

००

बहुदल आएर पनि देश जनयुद्धमा थियो । मंगलेले संसार छाडिसकेका थिए । उनका छोरा पशुपतिको पनि पेन्सन पाकिसकेको थियो । नैनशोभाले छाडेको सुपारी र केही गहनाको रेखदेख गर्ने जिम्मा पशुपतिमा सरेको थियो । 

एक दिन पशुपतिले सपना देखे । सपनामा आमा नैनशोभा आएर भनिन्— मैले छाडेको सुपारी, गहना र गहनासँगै भएको नेपाली कागज तेरी ठुली नातिनीलाई दे । उसले मेरो आत्मालाई खुसी पार्ने काम गर्नेछे । 

पशुपतिको जेठो छोराकी छोरी पूर्णिमा काठमाडौँमा पढ्न आउने तर्खरमा थिइन् । पशुपतिले आफ्नो सपनासहित सबै कुरा बताएर पूर्णिमालाई सुपारी र गरगहना दिए । पूर्णिमाले पनि ती चिज लिएर काठमाडौँ आइन् । सुपारीलाई सानो चाँदीको बक्सामा राखिएको थियो । गरगहना र नेपाली कागज पनि त्यस्तै अर्को चाँदीको बक्सामा थिए । त्यसैले यी चिज ल्याउन पूर्णिमालाई समस्या भएन । 

काठमाडौँमा अंग्रेजीमा मास्टर गरेर पूर्णिमा फिल्म पढ्न युरोप गइन् । पढेर नेपाल फर्केपछि उनी फिल्म बनाउने तयारीमा लागिन् । फिल्मको कथा खोज्दै जाँदा उनलाई आफ्नै जिजुआमा नैनशोभाको सम्झना भयो । त्यसपछि उनले सुपारी सिरानीमा राख्नुको अर्थ खोजिन् । राणाकालमा नेवार समुदायका महिलाले सुपारी सिरानीमा राख्नुले सम्बन्धविच्देछ गरेको जनाउँदो रहेछ । तर मंगलेलाई के थाहा होस्, अर्को समुदायको संस्कृति !

गरगहना रहेको भाँडोमा रहेको नेपाली कागजमा नेवारी भाषामा केही लेखिएको थियो । विज्ञ लगाएर पूर्णिमाले त्यसको अर्थ थाहा पाइन् । तरबारधारी पुरुषको हत्या गरेर नैनशोभालाई उठाउन जाँदा मंगलेको भोटोको खल्तीबाट सुपारी खसेको थियो । जसलाई नैनशोभाले प्रेम प्रस्ताव ठानेकी थिइन् तर यो सुपारीबारे उनले मंगलेसँग कहिल्यै कुरा गरेकी थिइनन् ।

आमालाई भेट्न आउँदा सम्बन्धविच्छेद गर्न के कुराले प्रेरित गर्‍यो भन्ने नैनशोभालाई सम्झना रहेनछ । उनले लेखेकी छन्— सायद म मेरी आमाको मायामा पागलजस्तै भएँ कि ! 

काठमाडौँ आएपछि उनले केही समय आमाको स्याहार गरेर बस्नुपर्‍यो । आमाले मृत्यु हुनुअघि उनलाई केही गरगहना र रुपैयाँ पैसा दिएकी थिइन् । रुपैयाँले एउटा किराना पसल चलाएर बसिन् । उमेर ढल्कँदै जाँदा उनलाई पति र पुत्रको सम्झनाले सताउन थाल्यो । त्यसपछि उनी घर फर्केकी थिइन् । 

साधारण लेखपढ गर्न सिकेकी नैनशोभाका कतिपय अक्षर नबुझिने थिए । त्यस कागजका कुरा, हजुरबाले भनेका कुरा, आफूले अनुसन्धानबाट पत्ता लगाएका कुरा— सबैलाई मिलाएर पूर्णिमाले फिल्म बनाइन्, ‘नैनशोभाको सुपारी’ । फिल्म सय दिनसम्म चल्यो । पत्रपत्रिका, अनलाइन न्युजपोर्टल, टीभी, युट्युब च्यानल— सबैले पूर्णिमाको अन्तर्वार्ता लिएका थिए । एउटा भिडियो अन्तर्वार्तामा उनले नैनशोभाले छाडेको सुपारीलाई हातमा लिँदै भनिन्— यसलाई के गरुँ ? पशुपतिमा चढाइदिउँ कि, बागमतीमा बगाइदिउँ ! वा पूजा गरेर राखुँ ! म असमञ्जसमा छु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप