मङ्गलबार, १९ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सरकारको अधिनायकवादी सोच र आन्दोलनकारीको अराजक व्यवहारका कारण पत्रकारको मृत्यु भयो : मिडिया एलायन्स

शनिबार, १६ चैत २०८१, १२ : ४२
शनिबार, १६ चैत २०८१

काठमाडौँ । नेपाल सरकारको अधिनायकवादी सोच र आन्दोलनकारीको अराजक व्यवहारका कारण एक होनहार युवा पत्रकारको अवसान भएको मिडिया एलायन्स नेपालले आरोप लगाएको छ । सडक आन्दोलनको रिपोर्टिङ गर्ने क्रममा शुक्रबार एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको निधन भएको थियो । 

घटनाप्रति संस्थाले गहिरो शोक र आक्रोश व्यक्त गरेको छ । महासचिव दिरेकलाल श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अन्तिम घडीसम्म सत्यको खोजीमा समाचार सम्प्रेषण गर्ने उहाँको समर्पणले वास्तविक पत्रकारिताको साहस र प्रतिबद्धतालाई परिभाषित गर्दछ । हामी उहाँको बहादुरीलाई सलाम गर्दछौँ र उहाँको परिवार, साथीभाइ तथा सहकर्मीहरूसँग दुःखमा एकजुट छौँ ।’

एलायन्सले दुवै पक्षको व्यवहारको हामी घोर निन्दा गरेको छ ।  । ‘मिडिया फिल्डमा रिपोर्टिङ गरिरहेका पत्रकारहरूको सहयोगका लागि गरिएको पटक–पटकको आग्रहलाई सरकारी प्रशासन तथा सुरक्षा निकायहरूले समयमा सम्बोधन नगरी अलोकतान्त्रिक चरित्र देखाएका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘मिडिया एलायन्स नेपालका अध्यक्ष स्वयंले प्रहरी महानिरीक्षकलाई बारम्बार सम्पर्क गरी घटनाका सम्बन्धमा आधिकारिक जानकारी माग्दा जबाफ नै नदिने व्यवहारलाई लोकतान्त्रिक सरकारको चरित्र भन्न कसरी सकिन्छ ?’

‘हामीले प्रत्यक्ष देख्यौं, घटनाका सम्बन्धमा सशस्त्र प्रहरी महानिरीक्षकलाई गलत जानकारी दिइँदै थियो, काठमाडौँका प्रमुख जिल्ला अधिकारीले प्रेससँग नबोल्न माथिको आदेश पाएका थिए । प्रमुख जिल्ला अधिकारीलाई पटक–पटक सम्पर्क गर्न खोज्दा पनि फोन नउठाउनु र सन्देश पठाउँदा पनि कुनै प्रतिक्रिया नदिनुले सोही तथ्य प्रमाणित गर्दछ । दुःखको कुरा, सुरेशको मृत्यु भएपछि मात्रै पुलिस महानिरीक्षकले सम्पर्क गरे । यस्तो लापरबाही र गैरजवाफदेहिताकै कारण पत्रकारको ज्यान जाने हदसम्मको घटना भयो,’ विज्ञप्तिमा उल्लेख छ । 

मिडियाकर्मीको अधिकारका क्षेत्रमा काम गर्ने भन्दै खुलेका केही संस्था तथा स्वनामधन्य पत्रकारहरूको मौनता र पूर्वाग्रही व्यवहारप्रति आफूहरू मर्माहत रहेको एलायन्सले जनाएको छ । आफ्ना सहकर्मीको न्यायको खोजी गर्नुको सट्टा सरकार र सुरक्षा बलहरूको संरक्षण गर्ने बाटो छानेको उनीहरूको आरोप छ । 

एलायन्सले सरकारसमक्ष यस घटनाको गम्भीर र निष्पक्ष अनुसन्धान गर्न जोडदार माग गरेको छ । साथै दोषीलाई कानुनबमोजिम कडाभन्दा कडा कारबाही गर्न पनि माग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप