किन र कसरी मनाइन्छ नेवाः दिवस ?

नेवाः समाज गुजमुज्ज रूपमा बस्न चाहने एक भाषिक समुदाय हो । समथर भू–भाग होस् वा पहाडी क्षेत्र, एक सानो ठाउँमा पनि धेरै मानिसको गुजमुज्ज बस्ती बनाएर बसोबास गर्ने नेवाः समुदायको वास्तु विशेषता हो । यस समुदायको यही विशेषताका कारण नेपालका धेरै जिल्लामा बजार र बजारपछि सहर निर्माण भएको पाइन्छ तर अहिले समाज विस्तार भइसकेको छ ।
धेरै खालको परिवर्तनले नेवाः समाज पनि अछुतो हुन सकेको छैन । यस समुदायले बनाएको यस्तो सहरमा अहिले एकातिर अरुको बाहुल्य बढिरहेको छ भने अर्कोतिर आफैँले बनाएको नगर छाडेर अर्को ठाउँतिर बसाइँ सर्दै छ नेवाः समाज । अर्थात् काम र पढाइको सिलसिलामा विदेश भासिने नेवारहरूको संख्या बढ्दो क्रममा छ ।
नेवाः समुदायका सदस्य जहाँ पनि गुजमुज्ज भएर बस्ने आफ्नो पुरानो चरित्र वा मनोविज्ञानबाट भने अझै मुक्त भइसकेका छैनन् । विभिन्न देशका विभिन्न सहरमा बसोबास रहे पनि एकै ठाउँमा गुजमुज्ज बस्ने पुर्खौली मनोविज्ञानको नयाँ संस्कृतिका रूपमा प्रयोगमा ल्याइएको एउटा नौलो अभ्यास हो– विश्व नेवाः दिवस । विश्वभरका नेवाःहरूलाई एउटै छातामुनि गोलबन्द गर्ने उद्देश्यका साथ गठन भएको ‘वल्र्ड नेवाः अर्गनाइजेसन’को परिकल्पना अनुरूप आजभन्दा आठ वर्षअघि विश्व नेवाः दिवसको आयोजना सुरु भएको थियो ।
हरेक वर्षको मार्चको अन्तिम शनिबार (तारिख जेसुकै भए पनि) यो दिवस मनाउने चलन रहँदै आएको छ । यस वर्ष आज मार्च २९ तारिखका दिन नेवाः दिवस मनाइँदै छ ।
नेवाः दिवसको परिकल्पना अनौठो भए जस्तै यो दिवस मनाउने चलन पनि आफैँमा अनौठो छ । किनभने नेवाः दिवस यसरी नै मनाउनुपर्छ भन्ने कुनै नियम बनाइएको छैन । नेवाः सभ्यता र संस्कृतिसँग सम्बन्धित आफ्नो अनुकूल र रुचिको कुनै पनि कार्यक्रम गरेर यो दिवस मनाउन सकिन्छ । अझ कार्यक्रमै गर्नुपर्छ भन्ने पनि छैन, ‘कार्य’ मात्रै गरे पनि पुग्छ । आफ्नो घर र आफ्नै कोठाभित्र बसेर पनि नेवाः दिवस मनाउन सकिन्छ । अथवा नजिकका साथीभाइ, नातागोतासँग बसेर पनि नेवाः दिवस सम्पन्न गर्न सकिन्छ । यो दिन नेवाःसँग सम्बन्धित कुनै एउटा कार्य गरेर नेवाः दिवस मनाउने भन्ने सामान्य सहमति हो । ‘कुनै कार्य’ भन्नाले जे पनि हुन सक्छ । परिवारसँग बसेर नेवाः खाना खाने । जस्तो ः सुकुल भोज, समय्बजि आदि । अथवा घरमै बसेर कुनै नेवाः भाषामा बनाइएको फिल्म हेर्ने— राजमति, सुभाय्, माया, मतिना आदि आदि । वा, परिवारसँग बसेर केही समय नेवाः गीत गाउने र सुन्ने— ‘राजमति कुमति जिके वःसा पिरति’ अथवा आजको चर्चित गीत ‘मखंत्वाःया ग्वाः अथवा अय्लाः लू वया’ । दिनभरि नेपालभाषामा लेखिएको पुस्तक, पत्रपत्रिका पढ्ने र पढाउने । अथवा आफैँले नेवाः भाषामा कुनै लेख–रचना लेख्ने । वा, साहित्य वाचन गर्ने । यो नमुना मात्रै भयो । यसबाहेक नेवाःसँग सम्बन्धित अरु पनि कुनै कार्य वा कार्यक्रम गर्न सकिन्छ जसमा तपाईंको सिर्जनशीलता झल्कियोस् । सर्त यति मात्रै हो कि यी जम्मै कार्य मार्चको अन्तिम शनिबार नै हुनुपर्छ ।
आज मार्च २९ का दिन विश्वका विभिन्न देशमा नेवाः भोज, रक्तदान, अन्तक्र्रिया, सम्मान, कथावाचन, पिकनिक (जहाँ नेवाः संगीतमा नाचगान हुन्छ) जस्ता कार्यक्रमहरू आयोजना गर्ने तयारी भइरहेका छन् । नेपालमा चाहिँ आज शनिबारका दिन सांस्कृतिक नगर भक्तपुरमा सभा आयोजना गर्ने कार्यक्रम छ । चैत महिना सामान्यतया खेतीपाती नहुने र चाडपर्व पनि खासै नपर्ने महिना हो । त्यसैले मार्चको अन्तिम शनिबार अर्थात् चैतको मध्येतिर यो दिवस मनाउन उपयुक्त हुने ठानियो ।
कार्यक्रम एकै दिन मनाउने भनिए पनि विश्वभरि मार्चको अन्तिम शनिबार (यसपालिको हकमा मार्च २९) एकै दिन पर्दैन । अमेरिकाको मार्च २९ र नेपालको मार्च २९ समय फरक हुन्छ । अमेरिका र बेलायतको मार्च २९ फरक समयमा पर्छ । यो कुरालाई गन्ती गरिएको छैन । आ–आफ्नो देशको मार्चको अन्तिम शनिबारलाई मुख्य दिन माने पुग्छ । विगत आठ वर्षदेखि यो दिवस यसरी नै मनाउँदै आइएको छ ।
नेवाः समुदायका बिचमा कुनै विषयको समानता छ भने त्यो भाषाकै मात्र समानता हो । त्यसैले नेवाः समुदायलाई ‘भाषिक समुदाय’ भन्ने गरिन्छ । जुन समुदायको पहिचानको मुख्य आधार नै भाषा हो, त्यसको भाषा हरायो भने जाति पनि स्वतः हराउँछ ।
अमेरिका, बेलायत, क्यानडा, इजरायल, भारत, जापान, फ्रान्स, जर्मनी, रुस लगायत विश्वका विभिन्न देशका नेवाः समुदायले विविध प्रकारका कार्य गरेर नेवाः दिवस मनाउँदै आइरहेको छ । यो वर्षदेखि पोल्यान्डमा पनि नेवाः दिवस मनाउन थालिएको छ ।
यो दिवसको एक मात्र उद्देश्य यो हो कि विभिन्न कारणले विश्वको जुनसुकै कुनामा रहे पनि वर्षको एक दिन मात्रै भए पनि आफू नेवाः भएकामा गर्व गर्न सकियोस् । वर्षको एक दिन नेवाः हुनुमा गर्व गरेर अर्को दिन वास्तै नगर्ने भन्ने होइन, वास्ता त वर्षैभरि गर्नुपर्छ तर समय कहाँ ? कमाउने भनेर विदेश लागेपछि पहिलो प्राथमिकता कमाउने नै हुन्छ ।
त्यसैले काममा व्यस्त हुँदा म नेवाः, म नेपाली, म फलाना भनेर सम्झन न फुर्सद हुन्छ, न सम्झेर कुनै फाइदा नै । उतैको वातावरण, उतैको रहनसहन र उतैको जीवनशैलीमा ढल्दै गएपछि म नेवाः भन्ने भावना पनि हराउँदै जान्छ । एउटा पुस्ता नाघेर अर्को पुस्ता पुग्दा त झन् आफ्नो देश नेपाल भन्ने पनि बिर्सन सकिन्छ ।
यो नेवाः मात्र होइन, अन्य समुदायले पनि महसुस गर्न थालेको विषय हो । ‘डायस्पोरा’ र त्यसको प्रभावका कारण अब नेपाली भाषा समेत हराउने हो भन्ने चिन्ता उत्पन्न हुन थालिसकेको छ । त्यसैले नेवाः समुदायमा यस्तो समस्या नआओस् भन्ने कामना स्वरूप आठ वर्षअघि यस्तो दिवसको परिकल्पना गरिएको हो ।
नेवाः दिवस मनाउने एउटा अनिवार्य संस्कृति बन्न सक्यो भने भविष्यमा विदेशमा रहेका सम्पूर्ण नेवाः समुदायले उक्त दिन आफू नेवाः हुनुको गर्व गर्नेछ । आफ्नो सन्तानलाई सुनाउनेछ वा सिकाउनेछ ।
हरेक वर्ष मनाउने भएपछि बालबालिकाहरूको मस्तिष्कमा त्यो पहिल्यै बसिसकेको हुन्छ । उक्त दिन मनाइने नेवाः दिवसको कार्यक्रमले बालबालिकाहरूमा नेवाः पहिचानलाई स्मृतिबाट हटाउन हुन्न भन्ने सन्देश प्रवाह गरिरहन्छ । यति दूरगामी सोच राखेर बनाइएको दिवस हो यो ।
नेवाः दिवस यसरी नै मनाउनुपर्छ भन्ने कुनै नियम बनाइएको छैन । नेवाः सभ्यता र संस्कृतिसँग सम्बन्धित आफ्नो अनुकूल र रुचिको कुनै पनि कार्यक्रम गरेर यो दिवस मनाउन सकिन्छ ।
नेवाः सभ्यता नेपाल सभ्यतासँगै जोडिएको विषय हो । अहिले पनि विश्वमा नेपालले ‘नेपाल’ भनेर चिनाउने कुनै आइकन बनाएको छ भने त्यो नेवाःकै सिर्जनालाई बनाएको छ, चाहे त्यो पशुपतिनाथ होस्, चाहे स्वयम्भू, चाहे बौद्ध । नेवाःको पहिचान लोप भयो भने नेपालको पहिचान पनि लोप भएर जानेछ । किनभने नेपाः भनेकै नेवाः हो ।
‘नेवाल’ शब्दबाटै ‘नेपाल’ बनेको हो । ‘नेपाल’ र ‘नेवाल’को बिचमा यति नजिकको सम्बन्ध छ तर केही इतिहासकारहरूले ‘नेपाल’ र ‘नेवाल’बिच कुनै सम्बन्ध छैन भनेर देखाउन कहिले नेमुनिको कथा ल्याएका छन्, कहिले नीप जातिको कल्पना गरिएको छ । ‘नेपाल’ र ‘नेवाल’ एउटै भएको तथ्य भाषा विज्ञानले पनि पुष्टि गर्छ । जुन जातिको नामबाट यो देशकै नाम रहन गएको छ, त्यसको इतिहास नामेट भयो भने नेपालकै इतिहास पनि नामेट हुन जाने खतरा रहन्छ ।
यही कारणले पनि विश्व नेवाः दिवसको परिकल्पना गरिएको थियो । नेवाः दिवसमा नेवाःको भाषा मात्र होइन, संगीत मात्र होइन, कला–संस्कृति मात्र होइन, सम्पूर्ण नेवाःकै सन्दर्भ जोडेर चर्चा हुन्छ । तर नेपालभाषाका महाकवि सिद्धिदास अमात्यले भन्नुभएको छ– ‘भाषा म्वाःसा जाति म्वाइ’ अर्थात् भाषा बाँचे जाति बाँच्छ । नेवाःको सन्दर्भमा यो अझै लागु हुन्छ । किनभने नेवाः समुदायमा फरक धर्म, फरक नश्ल, फरक रङ, फरक संस्कृति, फरक परिवेशका मानिसहरूको घुलमिल छ ।
नेवाः समुदायका बिचमा कुनै विषयको समानता छ भने त्यो भाषाकै मात्र समानता हो । त्यसैले नेवाः समुदायलाई ‘भाषिक समुदाय’ भन्ने गरिन्छ । जुन समुदायको पहिचानको मुख्य आधार नै भाषा हो, त्यसको भाषा हरायो भने जाति पनि स्वतः हराउँछ । त्यसैले विश्व नेवाः दिवस मनाउँदा संस्कृति–सम्पदा मात्र होइन, भाषा बचाउनुलाई पनि प्राथमिकतामा राख्नु जरुरी छ ।
विश्व नेवाः दिवसको उपलक्ष्यको सम्पूर्ण नेपालीजनमा मंगलमय भिंतुना !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्दो कोदो खेतीको अवस्थामा रक्सी ब्रान्डिङ कत्तिको सम्भव ?
-
अर्घाखाँचीमा जिप दुर्घटना : २ जनाको मृत्यु, २ जना घाइते
-
शिक्षकहरूले आज सिट्ठी फुकेर प्रदर्शन गर्दै
-
अफगानिस्तानबाट पाँच लाख अमेरिकी हतियार ‘गायब’, अल कायदाको हातमा परेको आशंका
-
राष्ट्रपतिद्वारा सेतो मच्छेन्द्रनाथको दर्शन
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य