१२ बजे, १२ समाचार : ज्ञानेन्द्र समर्थकको उद्दण्ड प्रदर्शनमा दुई जनाको मृत्युदेखि कर्फ्यू आदेश र सेना परिचालनसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. ज्ञानेन्द्र समर्थकको उद्दण्ड आन्दोलन
पूर्वराजा ज्ञानेन्द्र शाह समर्थकले शुक्रबार तीनकुने क्षेत्रमा गरेको आन्दोलन हिंसात्मक बन्दा ७५ जना सुरक्षाकर्मी घाइते भएका छन् । नेपाल प्रहरीतर्फ ५३ र सशस्त्र प्रहरीतर्फ २२ जना गरी कुल ७५ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । यस्तै एक पत्रकारसहित २ जनाको मृत्यु भएको छ । शान्तिपूर्ण आन्दोलनका लागि भनेर नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईको अगुवाइमा प्रदर्शनका लागि प्रशासनबाट अनुमति लिइएको थियो ।
२. राजावादीको प्रदर्शनमा २ जनाको मृत्यु
दुर्गा प्रसाईको मुख्य नेतृत्वमा शुक्रबार भएको राजावादीको प्रदर्शनमा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको छ । प्रहरीको गोली लागेर कीर्तिपुर नगरपालिका–४ घर भएका सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए । २९ वर्षीय महर्जन राजावादीको प्रदर्शनमा सहभागी थिए । प्रदर्शनस्थलमा तनाव भएसँगै प्रहरीले गोली चलाएको थियो । यसैगरी शुक्रवार दिउँसो राजावादीबाट आगजनी भएको घरसँगै पत्रकार सुरेश रजकको शव फेला परेको छ । शव पत्रकार रजकको पुष्टि भएको उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए । रजक एभिन्युज टेलिभिजनमा कार्यरत थिए ।
३. प्रदर्शन हिंसात्मक
राजावादी समूहले गरेको प्रदर्शन हिंसात्मक बनेको छ । गृह मन्त्रालयले तीनकुने क्षेत्रमा भएको सम्पूर्ण घटनाको जिम्मेवार दुर्गा प्रसाई भएको बताएको छ । शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा गृह प्रवक्ताले भने,‘हामीले पाएको जानकारीअनुसार आन्दोलनको नेतृत्व दुर्गा प्रसाईले गरेको हुनाले उहाँ नै मूलभूत रुपमा यो घटनाप्रति जिम्मेवार हुनुहुन्छ ।’
४. लाग्यो कर्फ्यु
काठमाडौँको तीनकुने आसपासका क्षेत्रमा कफ्र्यु आदेश जारी भएको छ । व्यवस्था विरोधी शक्ति राजावादीको प्रदर्शन उग्र बनेसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँले कफ्र्यु आदेश जारी गरेको हो ।
५ं गणतन्त्रवादीको प्रदर्शन
राजावादी गतिविधि बढेसँगै गणतन्त्रवादीहरुले पनि शुक्रबार राजधानीमा प्रदर्शन र सभा गरेका छन् । समाजवादी मोर्चाको अगुवाइमा भृकुटीमण्डपमा प्रदर्शन भएको हो ।
६. आयोगको अनुमगन
राष्ट्रिय मानवअधिकार आयोगले समाजवादी मोर्चामा संलग्न ४ राजनीतिक दल र राजतन्त्र समर्थक विभिन्न राजनीतिक दल र सङ्गठनहरुले शुक्रबार उपत्यकामा गरेको प्रदर्शन र आमसभाको अनुगमन गरेको छ । विभिन्न चारवटा उच्चस्तरीय टोलीहरु बनाई अयोगले अनुगमन गरेको हो ।
७. उद्योगी खुसी
नेपाल विद्युत् प्राधिकरणको नेतृत्व परिवर्तनप्रति सिमेन्ट उद्योगीहरु खुसी देखिएका छन् । शुक्रबार नेपाल सिमेन्ट उत्पादक संघले एक विज्ञप्ति जारी गर्दै नयाँ नेतृत्व आएसँगै भारतबाट थप बिजुली ल्याएर उद्योगहरूमा लोडसेडिङ हटाउन खोजेको भन्दै खुसी व्यक्त गरेको छ । सरकार र विद्युत् प्राधिकरणको नयाँ नेतृत्वबाट औद्योगिक क्षेत्रले निरन्तर २४ सै घन्टा आवश्यकता अनुसारको विद्युत् प्राप्त हुने निश्चित देखिएको संघकोे भनाई छ ।
८. बैठक स्थगित
विपक्षी दलहरूसँग कुरा नमिलेपछि प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक एक बजे सूचना टाँसेर सवा एक बजेसम्म सारिएको थियो । त्यो समयसम्म पनि कुरा मिल्न नसकेपछि आइतबार बिहान ११ बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको हो ।
९. अदालत
सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक दुवैको रिटलाई अग्राधिकार प्रदान गरेको छ । न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले शुक्रबार प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेशका सम्बन्धमा छलफल गर्न अग्राधिकार प्रदान गर्दै आइतबारका लागि मिति तोकेको हो । इजलासले आज भने अन्तरिम आदेशको मागदाबी अस्वीकार गरेको छ ।
१०. प्रभू साहले मागे प्रधानमन्त्रीको राजीनामा
आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । आजपा अध्यक्ष साहले आज एक विज्ञप्ति जारी गर्दै पछिल्लो घटनाक्रमको नैतिक जिम्मेवारी लिँदै नयाँ निकासका लागि प्रधानमन्त्री ओलीले राजीनामा गरी निकास दिनुपर्ने जनाएका छन् ।
११. प्रसाईविरुद्ध उजुरी
राजावादी अभियानमा संलग्न राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंविरुद्ध उजुरी परेको छ। मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले उनीविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका हुन् । उक्त उजुरी शुक्रबार ब्युरोमा दर्ता भएको छ । लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई लक्षित गरी गलत सूचना तथा घृणास्पद अभिव्यक्ति फैलाएको आरोप प्रसाईमाथि छ ।
१२. सकियो एसईई
माध्यामिक शिक्षा परीक्षा ९एसईई० शुक्रबारबाट सम्पन्न भएको छ । चैत ७ गतेदेखि सुरु भएको परीक्षा सकिएसँगै राजधानीमा केही विद्यार्थीर्थीहरुले सम्झना र मायाको चिनो स्वरूप एकअर्काको सर्टरटिसर्टमा विभिन्न सन्देश लेखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिचन्द्र क्याम्पसका स्ववियु निर्वाचन अधिकृतलाई कालोमोसो दलियो
-
व्यावसायिक विद्युत उत्पादन मिति थप्न इप्पानको विद्युत् प्राधिकरणसँग माग
-
स्पेनी प्रशिक्षक गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने
-
नेपालको अटोमोटिभ कोटिङ बजारमा निप्पोन पेन्टको प्रवेश
-
त्रिवि केन्द्रीय क्याम्पसमा मतदान सम्पन्न, आजै नतिजा आउने
-
तीनकुने घटनाको ‘मुख्य जिम्मेवार’ ज्ञानेन्द्र भएको निष्कर्ष, कारबाहीको कानुनी आधार के ?