गणतन्त्रवादीको संयमता : समाजवादी मोर्चाको विरोधसभा शन्तिपूर्ण
_79vKH6oVBm.jpg)
काठमाडौँ । चार दलीय समाजवादी मोर्चाले शुक्रवार काठमाडौँमा गरेको विरोधसभा संयम र शान्तिपूर्ण रूपमा सम्पन्न भयो । तीनकुनेमा राजावादीले गरेको सभा हिंसात्मक र अराजक बन्दा गणतन्त्रवादी मोर्चाले भृकुटीमण्डपमा गरेको विरोध सभा निकै शान्तिपूर्ण देखियो ।
विपक्षी दलहरू नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), विप्लव नेतृत्वको नेकपा र महिन्द्र राय यादव नेतृत्वको नेसपाले संयुक्त रूपमा सहरका विभिन्न स्थानबाट जुलुससहित भृकुटीमण्डप आएर विशाल सभामा परिणत भएको थियो ।
\सभाको अन्त्यतिर प्रचण्डले सम्बोधन गर्ने समयमा राजावादी समूहले बानेश्वर, तीनकुने, कोटेश्वर आसपासका क्षेत्रमा राजनीतिक दलका पार्टी कार्यालय, व्यक्तिका निजी सम्पत्ति, सञ्चार गृह लगायत सार्वजनिक सम्पत्तिमाथि तोडफोड भइसकेको थियो ।
तीनकुने घटनामा परि दुई जनाले ज्यान गुमाइसकेका छन् । विभिन्न आशङ्काबिच सम्पन्न सभामा बागमती प्रदेश र आसपासका प्रदेशबाट पचासौँ हजार मानिस सहभागी भएको मोर्चाले दाबी गरेको छ । तर गृह मन्त्रालयले ३५ हजार मानिस सहभागी भएको तथ्य सार्वजनिक गरेको छ ।
विरोधसभा अघि मोर्चामा आबद्ध दलहरूले बबरमहल, कुपण्डोल, त्रिपुरेश्वर, सुन्धारा, मैतीदेवी, सोह्रखुट्टे लगायत स्थानबाट निस्किएको विशाल जुलुस शान्तिबाटिका बागबजार पुतलीसडक हुँदै सभामा मिसिएको थियो ।
मञ्चको दायाँतर्फ भद्रकाली, बायाँतर्फ नेपाल विद्युत प्राधिकरणको कार्यालय र अगाडितर्फ वाल्मीकिसम्म तथा प्रदर्शनस्थलभित्र खचाखच भिड थिए । चर्को घामको कुनै प्रवाह नगरी सडकमै मानिसहरू बसेका थिए । नेताहरू मञ्चमा भाषण गरिरहँदा केही कार्यकर्ता तथा समर्थकहरू नाचगान गरिरहेका थिए ।
धेरैको ध्यान भने राजावादीहरूको सभामा भइरहेको गतिविधिबारे मोबाइलमार्फत नियालिरहेका थिए । सबैको चासो तीनकुनेतर्फ नै थियो । पूर्वराजा ज्ञानेन्द्र शाहले देश राष्ट्रियताको रक्षाका लागि साथ दिन आव्हान गरेपछि हौसिएका राजावादीहरू सडकमा अराजकता बढाउँदै लगेका छन् ।
गणतन्त्रवादी मोर्चाले फागुन २७ गते नै चैत १५ गते विरोध सभा गर्ने निर्णय गरेको थियो । तर मोर्चाको सभालाई चुनौती दिँदै दुर्गा प्रसाईं समूहले तीनकुनेमा सभा राखेका थिए । प्रसाईं समूहलाई पूर्वपञ्चहरूले समर्थन गरेको थियो ।
प्रचण्डले छुट्याए गणतन्त्रवादी र राजावादीको चरित्र
हिंसात्मक गतिविधिबारे चित्रण गर्दै प्रचण्डले गणतन्त्रवादी र राजावादीको चरित्र जनताले बुझ्ने गरी प्रदर्शन भएको बताए । ‘तीनकुने अहिले मण्डले अराजकताको सबै प्रतिगामी निरंकुशतावादीहरूको प्रतीक जस्तो देखिएको छ । घरमा आगो लगाएका छन् ।
त्यहाँ पुलिसमाथि ढुंगा प्रहार गरेको छ । उनीहरूले चाहेका छन्, एक/दुईजना मानिस मरुन् । र, देशभर आतङ्क फैलियोस् भनेर चाहेका छन् । त्यो राजावादीहरूको चरित्र हो’, दुवै स्थानको सभालाई चित्रण गर्दै उनले भने, ‘हामी यहाँ पचासौँ हजार, लाखको वरिपरि जम्मा छौँ । बडो शिष्ट, संयमित, अनुशासित र आफ्नो उद्देश्यप्रति समर्पित नागरिकहरूको एउटा विशाल सेना यहाँ खडा छ । त्यसकारण तुलना गर्नेस् गणतन्त्रवादीको चरित्र र राजावादी मण्डलेहरूको आजै चैत १५ गते सम्पूर्ण नेपालीले देख्नेगरी र बुझ्नेगरी काठमाडौँमा प्रदर्शित भयो ।’
यद्यपि गणतन्त्र स्थापना पछिको १६ वर्षमा आफूहरूको पनि कमजोरी रहेकाले प्रतिगामी शक्तिले टाउको उठाउन खोजेको उनको भनाई थियो । पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले वंश शासन कुनै हालतमा पनि स्वीकार गर्न नसक्ने बताएका थिए ।
‘नेपाली जनता अब दासता स्विकार्न सक्दैन । राजतन्त्रले देशको भलो गरेको छैन । फर्किने कल्पनै नगरे हुन्छ । इतिहासको रथ फेरि पछाडि जान सक्दैन । हामी चुनौती दिन्छौँ । कसैले फेरि वंशको शासन ल्याउने कुचेष्टा गर्न खोजिए प्रतिरोध गछौँ’, उनले भने ।
कार्यशैली सुधार्न सहभागीको सुझाव
नेताहरूले राजतन्त्रको मात्र विरोध गरेर नपुग्नै कार्यक्रममा सहभागीहरू गणतन्त्रलाई अझ बलियो बनाउन नेताहरूले शासन सञ्चालनमा व्यापक सुधार ल्याउनुपर्नेमा सुझाव दिएका छन् । सभामा रमिते बनेर आएका इलामका ७४ वर्षीय राजेन्द्र घिमिरेले अब नेपालमा राजतन्त्र फर्किने सम्भावना नभएको बताए ।
‘गरेर लैजाने क्षमता देखिन्छ । व्यवस्था फाल्न त्यतिकै सजिलो छ’, उनले भने, ‘अब राजतन्त्र फेरि फर्किने सम्भावना देखिँदैन । मेरो पालासम्म त आउँदैन तर अहिलेका नेताहरूले जनतालाई स्वदेशमै रोजिरोटीको व्यवस्था हुनेगरी सुधार नगरे अर्को निरंकुश शक्ति आउन सक्छ ।’
गोरखा पालुङटार नगरपालिका–१० का वडाध्यक्ष ऋषिराज धौरालीले बेला बेला राजावादीहरूको भुल्का उठिराख्ने भएपनि राजतन्त्र फर्केर आउने सम्भावना नभएको भनाइ राखे । यद्यपि नेताहरूले जनआकाङ्क्षा अनुसार काम गर्न नसके व्यवस्थामाथि चुनौती थपिन सक्नेतर्फ नेताहरूको ध्यानाकर्षण गराए ।
‘बेला बेला यस्ता भुल्काहरू उठिराख्छन् । अब फेरि राजसंस्था फर्किने सम्भावना देखिँदैन । तर यसो भन्दैमा नेताहरू तथा शासकहरूले जनचाहना अनुसार काम गर्न सकेन भने व्यवस्थामाथि चुनौती थपिन्छ । त्यसतर्फ नेताहरूलाई सुझाव दिन चाहन्छु’, उनले भने ।
सर्लाहीबाट आएका दुई जना मुसलमान थरका वृद्धहरूले धेरैको बलिदानबाट आएको व्यवस्था भएकाले अब राजतन्त्र फर्किन नसक्ने जिकिर गरे । प्रचण्ड नेतृत्वको माओवादीले नै जनतालाई अधिकार सम्पन्न बनाएकाले वंश राजनीति अब कसैले नस्विकार्ने उनीहरूले बताए ।
‘प्रचण्ड नेतृत्वको माओवादीले हामी जस्ता जनतालाई अधिकार सम्पन्न बनाएको हो । अब राजतन्त्र फर्किने सम्भावना छैन । अहिलेकै व्यवस्थालाई सुधार गर्दै जानुपर्छ’, उनले भने ।
गोरखा बारपार्क सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले प्रतिगमनकारी राजावादी शक्ति फेरि उठ्न सम्भव नभएको बताए । तर जनतालाई सचेत नगराउने हो भने कहिलेकाहीँ नपत्याउने खोलाले पनि बगाउन सक्नेतर्फ उनले नेताहरूलाई सुझाव दिए ।
‘जनतालाई सचेत नगराउने हो भने कहिलेकाहीँ नपत्याउने खोलाले पनि बगाउन सक्छ । त्यसकारण ओली सरकारलाई खबरदारी र जनतालाई सचेत गराउन यो सभा आयोजना गरेको हो’, उनले भने ।
एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले वर्तमान सरकारको नालायकीका कारण आफूहरू सत्तामा आउन बाध्य भएको जिकिर गरे । प्रतिगामी शक्तिहरू जुरमुराउनुमा गणतन्त्रका शासकहरूको पनि कमजोरी भएकाले अब ती कमजोरी सुधार गर्नुपर्नेमा उनले जोड दिए ।
‘गणतान्त्रिक अभ्यासमा हामीले कतिपय कमजोरी गरेका छौँ । सत्ता बनाउने सत्ताकै खेलमा लाग्दा जनतामा आक्रोश बढेको छ । यो आक्रोशलाई पपुलिस्टहरू, अराजकवादीहरूले प्रयोग गर्ने प्रयत्न गरेका छन् । त्यसकारण राजनीतिको नालायकीको विरोधको नाममा समय वा व्यवस्थालाई पछाडि फर्काउने हर्कहरूको विरुद्धमा विरोध सभा गरेको हो’, भुसालले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको अटोमोटिभ कोटिङ बजारमा निप्पोन पेन्टको प्रवेश
-
त्रिवि केन्द्रीय क्याम्पसमा मतदान सम्पन्न, आजै नतिजा आउने
-
तीनकुने घटनाको ‘मुख्य जिम्मेवार’ ज्ञानेन्द्र भएको निष्कर्ष, कारबाहीको कानुनी आधार के ?
-
अखिल नेपाल किसान महासंघको महाधिवेशन आयोजक कमिटी गठन
-
तीनकुने घटनाको निसानामा परेका मिडियाको पक्षमा निर्णय लिन सरकारलाई सातदिने अल्टिमेटम
-
घट्यो सिमेन्टको मूल्य