...अनि राजावादीको प्रदर्शनमा हिंसा भड्कियो

काठमाडौँ । शुक्रबार दिउँसो १२ बजे तीनकुनेमा राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको कार्यक्रम शुरु भैसकेको थियो । सिनामंगल र कोटेश्वरपट्टिबाट राजावादीहरू प्रदर्शन क्षेत्रमा जम्मा हुँदै थिए ।
पश्चिमबाट जाने भिड नियन्त्रणका लागि नयाँ बानेश्वरमै सुरक्षाकर्मीले बार लगाएका थिए । तीनकुनेदेखि नयाँ बानेश्वरसम्म चार तहको सुरक्षा घेरा सशस्त्र र नेपाल प्रहरीको थियो । तीनकुने पुलवारि प्रदर्शनकारीलाई आउन नदिने उद्देश्यले पहिलो तहमा पारी नै सशस्त्र प्रहरी खटाइएको थियो ।
करिब साढे १२ बजे कोटेश्वरबाट गणतन्त्रविरुद्ध नारा लगाउँदै प्रदर्शनकारी तीनकुने प्रवेश गरे । उक्त भिडसँगै आन्दोलनका कमान्डर दुर्गा प्रसाईँ उक्त क्षेत्रमा आउन लागेको हल्ला फैलियो । प्रसाईँ आउन लागेको खबरसँगै प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने प्रयास गरे ।
प्रहरीले निषेधित क्षेत्र नतोड्न अन्यथा बल प्रयोग गर्न बाध्य हुने माइकिङ गरिरह्यो । त्यसैबिच प्रदर्शनकारीले ढुङ्गा मुढा बर्साउन थाले । प्रदर्शनकारी र सुरक्षाकर्मीबिच झडपको स्थितिकै बिच तीनकुनेमा दुर्गा प्रसाईँले प्रवेश गरे ।
बीएबी ४२४८ नम्बरको गाडी आफैँले चलाउँदै उनी निषेधित क्षेत्रतर्फ प्रवेश गरे । गाडीको पछाडि केही युवाहरूको जमात राष्ट्रिय झन्डासहित नाराबाजी गरिरहेका थिए । प्रसाईँले ‘आऊ आऊ’ भन्दै प्रदर्शनकारीलाई उक्साइरहेको सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा देख्न सकिन्छ । सुरक्षाकर्मीले उक्त गाडी नियन्त्रणमा लिने प्रयास गरे पनि प्रसाईँले उक्त गाडी सुरक्षाकर्मीमाथि हुत्त्याए ।
सुरक्षाकर्मीले सो क्रममा बर्साएको लाठीले गाडीको सिसामा क्षति पुग्यो । तर निषेधित क्षेत्र तोड्दै उनी बानेश्वरतर्फ अघि बढे । शान्तिनगरमा प्रहरीले उनको गाडी नियन्त्रणमा लियो । तर प्रसाईँसहित निषेधित क्षेत्र तोड्ने प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिन सकेन, अन्ततः सोही कारण तीनकुने क्षेत्र तनावग्रस्त बन्न पुग्यो ।
निषेधित क्षेत्रबाटै हिँड्दै प्रदर्शनस्थलतर्फ बढेका प्रसाईँले मुठभेडमा उत्रिन आह्वान गरे । त्यसपछि राजमार्गसहित शाखा बाटोहरुबाट प्रदर्शनकारीहरूले ढुङ्गा मुढा, कोक र फ्यान्टाका बोतल सुरक्षाकर्मीहरूमाथि बर्साउन थाले । पहिलो चरणमा लाठी चार्ज र अश्रुग्याँस प्रहार गरेको सुरक्षाकर्मीले रबरका गोली र त्यसपछि गोली चलायो । एक जना प्रदर्शनकारीको कम्मरमा गोली लाग्यो ।
उनलाई तत्काल तीनकुनेस्थित कान्तिपुर अस्पतालमा पुर्याइयो । प्राथमिक उपचारपछि अस्पतालले उनलाई वीर अस्पताल रेफर गर्यो । उपचारमा संलग्न चिकित्सकले रातोपाटीसँग भने, ‘उहाँको कम्मर छिनेर गोली भित्र पसेको छ । थप उपचारका लागि रेफर गरिएको हो ।’
यस्तै घाँटीमा गोली लागेका अर्का एक प्रदर्शनकारीको उपचारका क्रममा मृत्यु भएको छ । शुक्रबार साँझ गृह मन्त्रालयले पत्रकार सम्मेलन गरी एक व्यक्तिको मृत्यु भएको जानकारी दिएको छ । मृत्यु हुनेमा कीर्तिपुरका २९ वर्षीय सविन महर्जन रहेको खुलेको छ ।
उनको महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यस्तै प्रदर्शनकारीले तीनकुनैकै एक घरमा लगाएको आगलागीमा फसेर भिडियो पत्रकारको पनि मृत्यु भएको छ । भिडियो पत्रकार सुरेश रजक भएको पुष्टि भएको हो ।
प्रदर्शनमा १५ सुरक्षाकर्मी र १५ प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनमा सुरक्षाकर्मी र प्रदर्शनकारीबाहेक सर्वसाधारणसमेत घाइते भएका छन् । टाउकोमा चोट लागेका एक वृद्धले भने, ‘म हेर्न आएको थिएँ । ममाथि ढुङ्गा प्रहार भयो ।’ घरमा छोरा बुहारीले थाहा पाउने भन्दै उनी नाम खुलाउन मानिरहेका थिएनन् ।
सञ्चारगृह, पार्टी कार्यालय र सरकारी गाडीसम्म निशानामा
आन्दोलन उग्र भएपछि प्रदर्शनकारीले निजी आवाससहित सञ्चारगृह र सरकारी गाडीलाई निशाना बनाएका थिए । उत्तेजित प्रदर्शनकारीले तीनकुनेस्थित कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोस्ट तोडफोडको प्रयास गरे ।
आलोकनगरस्थित नेकपा एकीकृत समाजवादी पार्टीको पार्टी कार्यालय तोडफोड र आगजनीपछि प्रदर्शनकारीहरू पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयतर्फ प्रदर्शनकारीहरू अघि बढेका थिए । प्रदर्शनकारीहरू उक्त क्षेत्रमा प्रवेश गरेपछि सो क्षेत्रमा ठुलो जत्थामा सुरक्षाकर्मी खटाइएको छ ।
कोटेश्वरको जडीबुटी जडीबुटी प्रशोधन केन्द्र र विभिन्न क्षेत्रमा सरकारीसहित पार्किङमा राखिएका विभिन्न सात सवारीसाधनमा पनि प्रदर्शनकारीले आगजनी गरेका छन् ।
यस्तै सिनामंगलस्थित नागरिक उड्डयन प्राधिकरण र कोटेश्वरस्थित प्रहरी बिटमा पनि प्रदर्शनकारीले तोडफोड गरेका छन् ।
जब महेश बस्नेतको घर भएको हल्ला फैलियो...
तीनकुनेमा प्रदर्शनकारीको प्रदर्शन उग्र हुँदै गएको थियो । त्यसैक्रममा तीनकुनेबाट सिनामंगल जाने बाटोतर्फको एक घर नेकपा एमाले नेता महेश बस्नेतको घर भएको हल्ला फैलियो । त्यससँगै भिडले उक्त घरमा अन्धाधुन्ध ढुङ्गा प्रहार गर्न थाल्यो ।
ढुङ्गासँगै प्रदर्शनकारीले एक घरमा आगजनी गरे । यस क्रममा सँगै रहेका ती तीन घर आगलागी र ढुङ्गा मुढा प्रहारका कारण सर्वसाधारणका क्षतिग्रस्त भएका छन् । तीनकुने क्षेत्रमा अन्य घरहरूमा पनि ढुङ्गा लागेर क्षति भएको छ ।
महेश बस्नेतको घर भनेर प्रदर्शनकारीले ढुङ्गा मुढा र आगजनी गरेका घर व्यापारी र एक स्ट्रक्चर इन्जिनियरको भएको खुलेको छ । क्षतिग्रस्त घरका छिमेकी नीरज गजुरेलका अनुसार आगजनी भएको घर महाबौद्धमा व्यापार गर्दै आएका कालिदास श्रेष्ठको हो ।
यस्तै ढुङ्गामुढाले क्षति भएको एक घर स्ट्रक्चर इन्जिनियर निशान गजुरेल र अर्को महाबौद्धकै व्यापारी नयन कार्कीको हो । आगजनीले बिचको घर जलेर पूर्ण क्षति भएको छ भने अन्य दुई घरमा पनि आगो फैलिएको थियो ।
आगलागीपछि काठमाडौँ महानगरबाट आगो निभाउन गएको दमकलमाथि पनि प्रदर्शनकारीले ढुङ्गा प्रहार गरेका थिए । ढुङ्गा प्रहारबाट दमकलको अगाडिको सिसा फुटेको छ ।
स्थिति नियन्त्रणमा नआएपछि कर्फ्यु
प्रदर्शनकारी र सुरक्षाकर्मीबिच झडप बढेपछि राजावादी नेताहरू सुटुक्क अन्य क्षेत्रमा लागे । प्रदर्शनकारीहरूले सरकारले बल प्रयोग गरेको भन्दै झनै उग्र हिंसात्मक प्रदर्शन गरेपछि अन्ततः जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्फ्यु लगाएको छ ।
गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने–कोटेश्वर, कोटेश्वर–जडीबुटी–बालकुमारी पुल, नयाँबानेश्वर–संखमुल, गौशाला–पुरानो बानेश्वर–नयाँ बानेश्वर क्षेत्रमा साँझ ४ः२५ देखि राति १० बजेसम्म कर्फ्यु लगाइएको हो । कर्फ्युपछि काठमाडौँका सडकमा नेपाली सेनालाई पनि खटाइएको छ ।
के भन्छन् आयोजक ?
आजको आन्दोलनका कमान्डर दुर्गा प्रसाईँले आफूहरूले शान्तिपूर्ण रूपमा कार्यक्रम स्थलमा जाँदै गर्दा नपुग्दै प्रहरीले अश्रुग्याँस र लाठीचार्ज प्रहार गरेको बताएका छन् । तीनकुनेको घर–घरमा लुकेर प्रहरीले अश्रुग्याँस प्रहार गरी कार्यक्रम सुरु नै गर्न नदिएको आरोप उनले लगाएका छन् ।
प्रहरी दमनका कारण निजी सम्पत्तिमा क्षति पुगेको, कैयौँ प्रहरी र प्रदर्शनकारी घाइते हुन पुगेको उनको दाबी छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रले शान्तिपूर्ण स्टेज कार्यक्रममा शुरुमै टियरग्यास प्रहार गरेर सहभागीलाई भड्काएको दाबी गरेका छन् । उनले आजको हिंसाको कारण सरकार भएको बताउँदै यसको जिम्मेवारी सरकारले नै लिनुपर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्याब्सनको तीन वर्षे कार्ययोजना सार्वजनिक
-
गणतन्त्रको पक्षमा हेटौँडामा एमालेको प्रदर्शन (तस्बिरहरू)
-
इजरायली प्रधानमन्त्रीद्वारा कानूनी चुनौतीलाई बेवास्ता गर्दै नयाँ सुरक्षा प्रमुख नियुक्त
-
रमेश अवस्थी अनेरास्ववियु केन्द्रीय सदस्यमा मनोनीत
-
आठ महिनामा १५ हजार मेट्रिक टन रासायनिक मल बिक्री
-
धनकुटाको लेगुवा खोला पक्की पुल, स्थानीयलाई सङ्खुवासभा घुम्नुपर्ने बाध्यता हट्यो