कसरी हिंसात्मक बन्यो राजावादीको आन्दोलन ?

काठमाडौँ । शान्तिपूर्ण प्रदर्शन गर्ने भनेका राजावादीहरूको शुक्रवार तीनकुनेमा आयोजना भएको आन्दोलन उग्र, अराजक हुँदै हिंसात्मक बन्न पुगेको छ । स्थितिलाई नियन्त्रण लिन स्थानीय प्रशासनले निषेधाज्ञा नै लागू गर्नुपरेको हो ।
प्रशासनले राजावादीहरूलाई तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने स्थान तोकेको थियो । उता, समाजवादी मोर्चाको कार्यक्रम भृकुटीमण्डपमा तय भएको थियो । मोर्चाको कार्यक्रममा शान्तिपूर्ण रूपमा सम्पन्न हुँदा राजावादीहरू भने सुरुदेखि नै निषेधित क्षेत्र उल्लङ्घन गरेर नयाँ बानेश्वरतर्फ अघि बढ्ने प्रयास गरेका थिए ।
यतिबेला सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ । जसमा राजावादीहरूको आन्दोलनका कमान्डर बनेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ आफैँले गाडी चलाएर निषेधित क्षेत्र तोडेको देखिन्छ । उनले गाडीबाट प्रदर्शनकारीहरूलाई निषेधित क्षेत्र तोड्न उक्साइरहेको पनि भिडियोमा देखिन्छ ।
यता, अर्को भिडियो राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र आफैँले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । त्यहाँ उनी चिच्याइरहेका छन्, ‘के हेरेर बसेको ? यता आऔँ ।’ उनले पनि प्रदर्शनकारीलाई निषेधित क्षेत्र तोड्न उक्साइरहेको भिडियोमा देखिन्छ । उनले सामाजिक सञ्जालमा थप चेतावनी दिँदै लेखेका छन्, ‘आन्दोलन रोकिएको छैन ।’
त्यसपछि बिग्रिएको अवस्था थप तनावग्रस्त बन्न पुगेको थियो । निषेधित क्षेत्र तोड्न नदिएको आक्रोशमा प्रदर्शनकारीहरू भौतिक संरचना तोडफोड, आगजनी र लुटपाट गर्नतिर लागेका थिए । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन सुरुमा लाठी प्रहार, अश्रुग्याँस र हवाई फायर गरे पनि स्थिति नियन्त्रणमा आउन सकेन । बरु प्रदर्शनकारीहरू थप अराजक बन्दै व्यक्तिका घर, सरकारी तथा निजी घर गाडी, प्रहरी विट, पार्टी कार्यालय निशानामा परे ।
राजावादीहरूले कान्तिपुर टिभीको भवन, अन्नपूर्ण पोस्टको कार्यालय भवन, सिनामंगलस्थित नागरिक उड्डयन प्राधिकरणको कार्यालयसहित कोटेश्वस्थित प्रहरी विट लगायतका संरचना तोडफोड गर्नुका साथै कतिपयमा आगजनीको प्रयास समेत गरेका छन् । जडीबुटीस्थित जडीबुटी प्रशोधन केन्द्रको कार्यालय समेत राजावादीहरूले जलाएका छन् ।
प्रदर्शनकारीहरू तोडफोड र आगजनीमा उत्रिएपछि तीनकुनेमा गर्ने भनिएको सभा छाडेर हिँडेका थिए । प्रदर्शनकारी र आन्दोलनकारीको झडपमा परी केही प्रहरी र आन्दोलनकारीहरू घाइते भएका छन् ।
आलोक नगरमा रहेको नेकपा एकीकृत समाजवादीको कार्यालयका कागजपत्र तथा फर्निचरहरू बाहिर निकालेर जलाउनुका साथै कार्यालय भवनमै आगो लगाएका छन् । राजवादीको ढुङ्गा प्रहारबाट तीनकुने र कोटेश्वर क्षेत्रमा व्यक्तिका दर्जनौँ निजी घरका सिसा फुटेर छियाछिया भएका छन् ।
सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था फाल्ने र राजा फर्काउने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको राजावादी समूहको शुक्रवारको प्रदर्शन उग्र बन्दै गएपछि काठमाडौँ प्रशासनले शुक्रवार सवा ४ः २५ बजेबाट गौशाला, तीनकुने, गैरीधारा, कोटेश्वर, जडीबुटी बालकुमारी, शंखमुल, पुरानो वानेश्वर र नयाँ बानेश्वर आसपास निषेधाज्ञा लगाएको छ ।
राजावादीको प्रदर्शन उग्र बनेपछि शुक्रवार अपराह्न गृह मन्त्रालयमा आकस्मिक बैठक बसेको छ । गृहमन्त्री रमेश लेखक, गृह सचिव सहित सुरक्षा निकायका टोली सहभागी समेतको बैठकले थप सुरक्षा रणनीति तय गर्ने बुझिएको छ ।
सुरक्षा विज्ञ डा.इन्द्र अधिकारले राजावादीहरूको आन्दोलनबारे सरकारले पूर्वानुमान नै गर्न नसक्दा राजावादीहरूले आफ्नो चरित्र प्रदर्शन गर्दै भौतिक क्षतितर्फ उन्मुख भएको बताइन् । सरकारले राजावादीको आन्दोलन यो हदसम्म जाला भन्ने अनुमान नै गर्न नसकेकाले क्षति हुन पुगेको अधिकारीको भनाइ छ ।
‘खासगरी राजावादीहरूको चरित्र नै त्यही हो तर सरकारले त्यो अनुमान गर्न सकेन’, अधिकारीले भनिन्, ‘किनभने राजनीतिक दल र नागरिक समूहहरुले पछिल्लो समय जसरी आन्दोलन गरिरहेका छन् उनीहरू अधिकारको मागसहित आफ्नो कर्तव्यबाट पनि च्युत नभएको अवस्था छ ।’
राजनीतिक दलहरूको आन्दोलन सङ्गठित र अनुशासित भएको अवस्थामा सरकारले राजावादीको आन्दोलन पनि त्यही किसिमको होला भन्ने अनुमान गरेको हुनसक्ने अधिकारीको तर्क छ । राजावादीहरू फागुन २५ गतेको प्रदर्शनबाट उत्साहित भए पनि आजको कार्यक्रममा अपेक्षित मानिसहरू समेत नआएको तथा आएका मानिसहरूलाई आयोजकले नियन्त्रणमा राख्न नसकेकाले स्थिति तनावग्रस्त बन्न पुगेको अनुमान गर्न सकिने अधिकारीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चित्रबहादुरले निर्मल निवास भन्नुपर्नेमा शीतल निवास भनेपछि...
-
सांसद राणा पक्राउ परेको सदनमा जानकारी
-
राप्रपा नेताहरूलाई रिहा गर्न माग गर्दै प्रदर्शन, तस्बिरहरू
-
राजावादी समूह आक्रामक हुँदै गएपछि प्रचण्डले बोलाए पदाधिकारी बैठक
-
भूकम्प पीडित म्यानमारलाई नेपाल सरकारले सहयोग गर्ने
-
आणविक सम्झौताबारे ट्रम्पको धम्की, यसो भन्छन् खामेनेई ?