सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय

गल्ती भयो भन्दैमा गणतन्त्रभन्दा पछाडि फर्किन सकिँदैन : विप्लव

शुक्रबार, १५ चैत २०८१, १७ : १९
शुक्रबार, १५ चैत २०८१

काठमाडौँ  । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले गणतन्त्रको विरुद्धमा षड्यन्त्र भइरहेको बताएका छन् । 

गणतन्त्रलाई कार्यान्वयनमा ल्याउन केही त्रुटि भए पनि त्यसलाई सच्याउन सकिने तर पछाडि फर्किन नसकिने उनले प्रस्ट पारे। 

चार दल सम्मिलित समाजवादी मोर्चाले शुक्रबार काठमाडौँमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले नेपालका राजनीतिक शक्तिहरूले सामन्तवादलाई समाप्त पारेको बताए । उनले गणतन्त्र आएपछि केही व्यक्तिहरूको उठीबास भएका कारण उनीहरूले नै अहिले टाउको उठाउने प्रयास गरेको टिप्पणीसमेत गरे ।

काठमाडौँमा शरीर बेच्न दिनुपर्छ भनेर संसदमा बहस चलिरहेको उल्लेख गर्दै विप्लवले यो एक प्रकारले महिलामाथिकै हिंसा रहेको बताए । उनले मजदुरहरूले उचित ज्याला नपाएको, उल्टै कामबाट निकाल्ने गरेको आरोप पनि लगाए ।

अहिलेका शासकहरूबाट शिक्षक, कर्मचारी, विद्यार्थी, बुद्धिजीवी पीडित भएको विप्लवले बताए । उनीहरूको बारेमा बोल्ने कोही नभएको र अधिकार माग्दासमेत दमन गरिएको विप्लवले दाबी गरे । 

यी समस्या भए पनि यही समस्याका कारण सरकार पछाडि फर्किन नमिल्ने उनले प्रस्ट पारे । ‘समस्या छ भने त्यसलाई समाधान गर्नेतिर जानुपर्छ,’ उनले भने ।

अहिले देशमा देखिएको समस्यालाई राजतन्त्रले समाधान गर्न नसक्ने विप्लवको भनाइ छ । समाधानका लागि अग्रगामी सोच राख्नुपर्ने भन्दै उनले जनआन्दोलनबाट पाखा लागेकाहरू नै अहिले राज्यले गरेका गल्तीको फाइदा उठाउन उद्यत रहेको बताए ।

‘हामीबाट गल्ती भएको हो, तर गल्ती भएको छ भन्दैमा देशलाई पछाडि फर्काउन मिल्दैन,’ उनले भने । शक्ति केन्द्रको दबाबमा साना देशहरू पर्दै गएको जिकिर गर्दै उनले त्यसबाट सचेत रहनुपर्नेमा जोड दिए । उनले समाजवादले यो देशका सबै समस्या समाधान गर्ने दाबी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप