सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय
कूटनीति

‘नेपाल–चीन सम्बन्धलाई नेपाली आँखाबाट हेर्ने बेला आयो’

आन्तरिक मामिलामा कुनै प्रकारको दबाब दिँदैनौँ : राजदूत सोङ
शुक्रबार, १५ चैत २०८१, १८ : ००
शुक्रबार, १५ चैत २०८१

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले बुधबार साँझ काठमाडौँमा सञ्चारकर्मीहरूसँग सामूहिक छलफल गरे । छलफलको मुख्य उद्देश्य चीनमा हालै सम्पन्न १४ औँ नेसनल पिपल्स कंग्रेस (एनपीसी) र १४ औँ द नेसनल कमिटी अफ चाइनिज पिपल्स पोलिटिल कन्सल्टेटिभ कन्फरेन्स (सीपीपीसीसी) का दुई महत्त्वपूर्ण प्लेनरी सेसनका बारेमा नेपाली मिडियालाई जानकारी दिनु थियो । 

तर, सो छलफल त्यतिमा मात्र सीमित भएन । नेपालमा बीआरआई कार्यान्वयनको अवस्थादेखि पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा राजदूत सोङले आफ्नो ‘पोजिसन’ स्पष्ट पारे ।

राजदूत सोङले छलफलको सुरुवात नेपाली मिडियाप्रति आफ्नो गुनासोबाट गरेका थिए । नेपाली मिडियाले चीनलाई सधैँ विदेशी मिडियाको आँखाबाट मात्र हेर्ने गरेको बुझाइ उनको थियो । 

‘अब हामीले नेपाल र चीन सम्बन्धलाई नेपाली र चिनियाँ आँखाले नै हेर्ने बेला आएको छ,’ उनको सुझाव थियो, ‘चीनमा भएका गतिविधिका बारेमा विदेशी मिडियालाई मात्र उद्धृत गर्नुभन्दा चिनियाँ मिडियामा त्यसबारे के–के रिपोर्टिङ भएका छन् भनेर जनतालाई सुसूचित गर्दा राम्रो हुन्छ जस्तो लाग्छ । यो तपाईंहरूलाई मेरो सुझाव हो ।’

संक्षिप्त गुनासोपछि राजदूत सोङले मार्चको सुरुवातमा आयोजित दुई प्लेनरी सेसनको उपलब्धि र सन्देशबारे जानकारी दिए । यी दुई सेसनले विश्वलाई ‘आत्मविश्वास’ र ‘निश्चितता’ (स्थिरता) को सन्देश दिएको उनको भनाइ थियो ।

राजदूत सोङले यसमा मुख्यगरी तीन वटा विषयमा जोड दिए– ‘१) चीनको आर्थिक वृद्धि, २) चीनको प्रविधिको विकास र ३) परराष्ट्र नीति ।’

दुई दशकदेखि चिनियाँ अर्थतन्त्रले विश्वको अर्थतन्त्रमा पुर्‍याएको योगदानको चर्चा गर्दै उनले चीनको आर्थिक वृद्धिले विश्वको आर्थिक वृद्धिमा ३० प्रतिशत हिस्सा ओगटेको तथ्य राखे । 

‘घरेलु र बाह्य दबाबका बिच पनि सन् २०२४ चीनको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को वृद्धिदर ५ प्रतिशत रह्यो । सन् २०२५ पनि यो वृद्धिदर ५ प्रतिशत नै रहने प्रक्षेपण गरिएको छ । यसले चीन सरकारले भनेको कुरा पूरा गर्न सक्छ भन्ने प्रमाणित भएको छ,’ राजदूत सोङले गर्वका साथ तथ्याङ्क प्रस्तुत गरे ।

चिनियाँ प्रविधिको विकासबारे जानकारी दिँदै उनले चीनको अर्थतन्त्र नौलो, हरित र प्रविधिमा आधारित रहेर अघि बढ्दै गरेको बताए । चीनले सबै प्राविधिक मोर्चामा नेतृत्व गरिरहेको उनको दाबी थियो । 

यसका लागि राजदूत सोङले केही तथ्याङ्क प्रस्तुत गरे । ‘चीनले अहिले विश्वमा उत्पादन हुने ईभी (विद्युतीय सवारी) को ठुलो हिस्सा ओगटेको छ । त्यस्तै, ईभी ब्याट्रीको ७० प्रतिशत, सोलार प्यानलको ९० प्रतिशत, टर्बाइनको ९० प्रतिशत, इन्डस्ट्रिल रोबोटको ५० प्रतिशत र सबैखाले रोबोटको उत्पादनको पनि ५० प्रतिशत हिस्सा यतिबेला चीनले ओटेको छ,’ उनले भने ।

चीन अहिलेसम्म सेमिकन्डक्टर र एआईमा पछि रहे पनि ‘डिपसिक’को आगमनसँगै यो अवस्था पनि फेरिएको उनले जिकिर गरे । ‘अहिले चीनमा प्रत्येक दुई दिनमा एआईका नयाँ मोडल सार्वजनिक भइरहेका छन् । यसले सिलिकन भ्यालीलाई नै अत्याइदिएको छ । एआईमा पनि चिनियाँ मोडलहरूकै भविष्य रहेको छ,’ उनको भनाइ थियो । 

यो वर्षको अन्त्यसम्म यो क्षेत्रमा चीनले अग्रता लिने पनि राजदूत सोङले विश्वास व्यक्त गरे । साथै चिनियाँ मोडलको एआई सबैका लागि खुला भएको र विशेष गरी विकासशील मुलुकका लागि सस्तो हुने उनले सुनाए ।

उनको विशेष जोड चीनको परराष्ट्र नीतिमा पनि थियो । उनले नयाँ विश्व व्यवस्थामा चीनको परराष्ट्र नीतिको सान्दर्भिकता र महत्त्व बढेको बताए । 

‘म्युनिखमा आयोजित सेक्युरिटी फोरममा हाम्रो विदेशमन्त्रीले बोल्नुहुँदा सबैले उहाँको कुरा ध्यानपूर्वक सुने,’ राजदूत सोङले भने, ‘किनभने हामी मानवताको पक्षमा उभिएका छौँ । सबैको समान विकासको पक्षमा छौँ । हाम्रो परराष्ट्र नीतिले अस्थिरताको बिचमा स्थिरता दिएको छ ।’

उनले थपे, ‘विभिन्न देशले कर युद्धदेखि बन्द समाज अँगाली रहँदा चीनले आफूलाई खुला गर्ने रणनीति अपनाइरहेको छ । हाम्रो बजार र प्रविधिलाई खुला गर्दै विश्वलाई अँगाल्दै छौँ । जलवायु परिवर्तनमा पनि हाम्रो प्रतिबद्धता पूरा गर्छौं ।’

चीनले विश्वका सबै मुलुकलाई विकासको यात्रामा सँगै अघि बढाउन चाहेको पनि उनले बताए । राष्ट्रपति सी जिनपिङले प्रस्ताव गरे अनुसार तीन इनिसिएटिभ– ग्लोबल डेभलप्मेन्ट इनिसिएटिभ, ग्लोबल सिभिलाइजेसन र ग्लोबल सेक्युरिटी इनिसिएटिभलाई अघि बढाउने जानकारी दिए । 

  • बीआरआईबारे सन्तुष्ट

चिनियाँ राजदूत सोङले नेपालमा बीआरआईको कार्यान्वयनको अवस्थाबारेमा पनि सन्तुष्टि व्यक्त गरे । बीआरआईको प्रगतिबारे उनले केही फरक तर्क प्रस्तुत गरे । 

‘हाम्रो सोच्ने तरिका अलि फरक छ । तपाईंहरू बीआरआईको कार्यान्वयन भनेर हालै हस्ताक्षर गरिएका १० वटा परियोजनाहरूको प्रगतिलाई मात्र हेर्नुहुन्छ । त्यो एक हिसाबले सही पनि हो,’ उनले भने, ‘तर, हामी एउटामात्र परियोजनामा ध्यान दिँदैनौँ । हामी दीर्घकालीन विषयमा बढी ध्यान दिन्छौँ । यसअघि नेपालको व्यवस्थित दृष्टिकोण थिएन तर, यसपटक के फरक छ भने दुवै सरकारले फ्रेमवर्कमा हस्ताक्षर गर्दा दीर्घकालीन नीति अङ्गीकार गरेका छन् ।’

उनले यसअघि सरकार र सरकारबिच मात्र बीआरआईको कार्यान्वयनको विषय सीमित रहेकोमा यसपटक व्यवसायी र नागरिक समाजलाई पनि परिचालन गरिएको सुनाए । ‘छेंग्दु र पोखरा उडान त्यसैको सफलता हो । चीनको सबैभन्दा ठुलो ट्राभल एजेन्सीले अहिले दुई वटा उडान गर्दैछ । ल्हासा र पोखराबिच पनि छिटै उडान सुरु हुने आशा छ,’ उनले भने । 

राजदूत सोङले अहिले नेपाली व्यवसायीहरूले पनि यस विषयमा चासो देखाउन थालेकाले यो प्रगति सकारात्मक भएको बताए ।

‘हामीले समग्रमा यस्ता परियोजनाले कसरी नेपालको समम्र आर्थिक विकासमा सहयोग पुर्‍याउन सक्छ भनेर ध्यान दिएका छौँ । तपाईंहरूले भनिरहनुभएको सूचीकृत १० वटा परियोजनामा पनि चाँडै प्रगति देख्नुहुन्छ,’ उनले भने ।

राजदूत सोङले थपे, ‘हामी नेपालसँग मिलेर बीआरआई इनिसिएटिभ र बीआरआई फ्रेमवर्कलाई लागु गर्न सहकार्य गर्नेछौँ । भौतिक पूर्वाधार, हरित विकास कृषि, औद्योगिक मूल्य शृङ्खला लगायतमा सहकार्य गर्दै नेपाललाई ल्यान्ड लिंक्ड कन्ट्रीमात्र नभएर कृषि आधारित उद्योगमा सशक्त बनाउन चाहन्छौँ ।’

  • अमेरिकाको स्थानमा चीन ?

फरक प्रसङ्गमा चिनियाँ राजदूत सोङलाई ‘अमेरिकाले नेपालमा सहयोग कटौती गरेको स्थानमा चीनले ‘चिप इन्’  गर्छ त ?’ भनेर प्रश्न गरिएको थियो । उनले अमेरिकाले छाडेको ठाउँ चीनले नओट्ने स्पष्ट पारे ।

उनले भने, ‘अमेरिकीले सहयोग कटौती गरेको परियोजनालाई चीनले रिप्लेस गर्दैन तर, नेपाललाई आवश्यक शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा चीनले पक्कै पनि सहयोग गर्छ ।’ 

अमेरिकाको सहयोग कटौती भएको कुरामा धेरै दुःख मनाउ गर्न जरुरी नहरेको पनि उनले जिकिर गरे । यसमा इलन मस्कको भनाइलाई उद्धृत गर्दै हालसम्म आएको सहयोगका धेरै रकम बिचैमा हराउने गरेको तथ्याङ्क उनले दिए ।

  • राजावादीको आन्दोलनबारे चीनको पोजिसन के ?

यस प्रश्नमा राजदूत सोङले कुनै पनि देशको आन्तरिक मामिलामा चीनले कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने नीति लिएको स्पष्ट पारे । 

‘हाम्रो यसबारे कुनै ठोस नीति नै छैन । हामी त अवलोकनकर्ता मात्र हौँ । नेपाली जनताले गर्ने हरेक निर्णयलाई हामी स्वीकार गर्नेछौँ,’ उनले भने, ‘जसरी हामी चीनको मामिलामा बाहिरी दबाब स्वीकार गर्दैनौँ, हामी अरुको आन्तरिक मामिलामा पनि कुनै प्रकारको दबाब दिँदैनौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप