बुधबार, २७ चैत २०८१
ताजा लोकप्रिय

ग्रिनल्यान्ड कब्जा गर्ने ट्रम्पको अभिव्यक्तिप्रति पुटिनको पहिलो प्रतिक्रिया

दिएका हुन् कब्जा गर्ने अनुमति ?
शुक्रबार, १५ चैत २०८१, ११ : ४०
शुक्रबार, १५ चैत २०८१

मस्को । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ग्रिनल्याण्ड कब्जा गर्ने चाहना नयाँ होइन । पहिलो कार्यकालमै ट्रम्पले यस्तो चाहना व्यक्त गरेका थिए । तर त्यतिबेला धेरैले उनको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिएका थिएनन् । तर दोस्रो कार्यकालमा ट्रम्पले बारम्बार ग्रिनल्यान्ड कब्जा गर्ने भनिरहेका छन् । यसैबिच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका र ट्रम्पको यो चाहनाप्रति प्रतिक्रिया जनाएका छन् । 

‘संक्षेपमा भन्नुपर्दा ग्रिनल्यान्डलाई लिएर अमेरिकाको योजना गम्भीर छ ।’ आर्कटिक सर्कलको सबैभन्दा ठुलो सहर मुर्मान्स्कमा आयोजित रुसको आकर्टिक फोरममा पुटिनले यस्तो प्रतिक्रिया दिएका हुन् ।  यी योजनाको जरा इतिहासमा रहेको पनि उनले बाए । ग्रिनल्याण्डमाथि नियन्त्रण प्राप्त गर्ने अमेरिकाको प्रयास कुनै नयाँ वा आश्चर्यजनक कदम नभएको उनले भने । अमेरिकाले पहिले नै खनिज सम्पन्न यो क्षेत्रमा चासो राख्दै आएको पुटिनले बताए । 

‘अमेरिकाले १९ औँ शताब्दीको सुरुमै ग्रिनल्याण्ड कब्जा गर्ने योजना बनाएको थियो र दोस्रो विश्वयुद्धपछि डेनमार्कबाट यसलाई किन्न पनि प्रस्ताव गरेको थियो’ पुटिनले भने । जहाँसम्म ‘ग्रिनल्यान्डको कुरा छ, यो दुई देशको मामिला हो । यसमा रुसको कुनै सरोकार छैन । ग्रिनल्यान्ड कब्जा गर्ने ट्रम्पको चाहनाप्रति पुटिनले प्रतिक्रिया दिएको यो पहिलो पटक हो । 

अमेरिकाले आर्कटिक क्षेत्रमा आफ्नो भू–रणनीतिक, सैन्य र आर्थिक स्वार्थ बढाउने प्रयास गर्नेछ भन्ने कुरा स्पष्ट भएको पनि उनले बताए । चीन र रुस दुवैको नजर यस क्षेत्रको जलमार्ग र प्राकृतिक स्रोत साधनमा रहेकाले ग्रिनल्याण्डको रणनीतिक महत्त्व दिन प्रतिदिन बढ्दै गएको छ । यसैबिच, रुसी राष्ट्रपतिको यो भनाइले धेरै सङ्केतहरू दिइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप