सकियो एसईई, सम्झना र मायाको चिनो स्वरूप एकअर्काको टिसर्टमा लेखियो सन्देश (तस्बिरहरू)

काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा (एसईई) शुक्रबारबाट सम्पन्न भएको छ । चैत ७ गतेदेखि सुरु भएको परीक्षा सकिएसँगै राजधानीमा केही विद्यार्थीर्थीहरुले सम्झना र मायाको चिनो स्वरूप एकअर्काको सर्ट/टिसर्टमा विभिन्न सन्देश लेखे ।
एकअर्काको टिसर्टमा उनीहरूले आगामी दिनको शुभकामनाका साथै विद्यालयमा पढ्दाका साथीको सन्देशसहितको मिठो पल कैद गर्ने प्रयास गरेका हुन् ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार एसईईमा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भए । गएको वर्ष २०८० को एसइईमा चार लाख ६४ हजार ७८५ जना परीक्षार्थी सहभागी भएका थिए ।
बोर्डले यस वर्ष असार ७ गतेभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने गरी काम गर्ने बताएको छ । न्यूनतम ३५ अङ्कभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण हुनेछन् ।
लेटर ग्रेडिङ प्रणालीमै यस वर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गरिनेछ । सरकारले परीक्षाको नतिजामा उत्तीर्ण दरमा ७० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ । विसं २०८० को एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका थिए ।