शुक्रबार, १५ चैत २०८१, २२ : २०
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको सूचनामा भनिएको छ, ‘अवस्थाको विश्लेषण गर्दै यसअघि जारी भएको कर्फ्यू आदेशको निरन्तरता स्वरुप मिति २०८१।१२।१५ गते रातीको १० बजेदेखि मिति २०८१।१२।१६ गते विहान ७ बजेसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिकाभित्र देहायका चार किल्ला तोकी सो सीमाना भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ।’
शुक्रबार व्यवस्था विरोधी शक्ति राजावादीको प्रदर्शन उग्र बनेसँगै प्रशासनले अपराह्न ४ः२५देखि कर्फ्यु आदेश जारी गरेको हो ।
यी हुन् कर्फ्यु लाग्ने स्थान
शुक्रबार, १५ चैत २०८१, २२ : ००
काठमाडौँ । आज मिति २०८१ चैत महिनाको १५ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–
१. राजावादीको प्रदर्शनमा २ जनाको मृत्यु
दुर्गा प्रसाईको मुख्य नेतृत्वमा शुक्रबार भएको राजावादीको प्रदर्शनमा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको छ ।
शुक्रबार, १५ चैत २०८१, २१ : ५१
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कुनै पनि परीक्षामा अबरोध नगर्न अनुरोध गरेको छ। मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले एक विज्ञप्ति जारी गर्दै परीक्षा अत्यन्त महत्वपूर्ण विषय भएकोले यसलाई गम्भीरतापूर्वक लिन सबैमा आग्रह गरेका हुन् ।
परीक्षामा कुनै पनि प्रकारको असर पर्न नदिन शिक्षा मन्त्रालयले सबैमा अनुरोध गरेको हो । यतिबेला एसईई तथा स्नातक तहका परीक्षा संचालन भइरहेका छन् । ५ लाख १४ हजार ७१ जना विद्यार्थी सम्मिलित भई एसईई दिइरहेका छन्। आजको प्रदर्शनका कारण काठमाडौँमा परीक्षा दिएर घर फर्किने विद्यार्थी समस्या परेका थिए।
त्यस्तै विश्वविद्यालयका विभिन्न अध्ययन संस्थान तथा संकायबाट स्नातक तहका हजारौँ विद्यार्थी सम्मिलित भई परीक्षा सञ्चालन भइरहेको छ। लाखौँ विद्यार्थीको भविष्य निर्माणको एउटा महत्वपूर्ण कडीका रुपमा रहेको परीक्षा जस्तो संवेदनशील शैक्षिक गतिविधिलाई शान्तिपूर्ण र भयरहीत वातावरणमा सञ्चालन हुन दिनु देशका सप्पूर्ण नागरिकको कर्तव्य रहेको मन्त्रालयले जनाएको छ।
शुक्रबार, १५ चैत २०८१, २१ : ३७
काठमाडौँ । शान्तिपूर्ण आन्दोलनका नाममा आज भएको हिंसात्मक घटनाको नेपाली कांग्रेसले निन्दा गरेको छ । संविधानप्रदत्त विरोध र शान्तिपूर्ण प्रदर्शनको अधिकारलाई कांग्रेसले सदैव सम्मान गर्ने तर हिंसात्मक घटनाको कहिल्यै समर्थन गर्न नसक्ने जनाएको छ ।
महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले एक विज्ञप्ति जारी गर्दै आजको हिंसात्मक प्रदर्शनका कारण जीवन गुमाउने प्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको उपचारमा गम्भीरतापूर्वक ध्यान दिन सरकारलाई आग्रह गरेका छन् । साथै विज्ञप्तिमा हिंसा भड्काउने र हिंसामा सामेल हुने व्यक्तिहरूलाई कानूनी कार्वाहीको दायरामा अविलम्ब ल्याउन आग्रह गरिएको छ ।
नागरिकमा रहेका कयौं असन्तुष्टिको हल वर्तमान संविधान भित्रैबाट संभव छ भन्दै नागरिकको भावना दृष्टिगत गरेर निरन्तरतामा नविनता दिन हामी दृढ ढंगले प्रतिबद्ध छौं, विज्ञप्तिमा भनिएको छ, ‘हामी जान्दछौं कयौं कमजोरी भएका छन्, तिनको निदान खोज्न र समाधान पहिल्याउन हामी दृढ छौं । नेपाली समाजले अपेक्षा गरेका परिवर्तनका सबै आकांक्षा सम्बोधन यहि संविधानको दायरा भित्रैबाट क्रमशः गर्न सकिन्छ । लोकतन्त्रको विकल्प अझ समुन्नत लोकतन्त्र हो, कुनै पनि प्रकृतिको राजतन्त्र एक्काइसौं शताब्दीको सचेत नेपालीका लागि विकल्प किमार्थ हुन सक्दैन । कांग्रेसले सबै राजनैतिक दललाई यसमा स्पष्ट ढंगले उभिन अपील गरेको छ ।
शुक्रबार, १५ चैत २०८१, २१ : २५
काठमाडौँ । गृह मन्त्रालयले शुक्रवार काठमाडौँको तीनकुने क्षेत्रमा गरेको राजावादीको प्रदर्शनमा सुरक्षाकर्मीले ठुलो संयमता अपनाएर ठुलो मानवीय क्षति हुनबाट जोगिएको जनाएको छ ।
गृह मन्त्रालयले शुक्रवार साँझ गरेको पत्रकार सम्मेलनमा सहसचिव छवि रिजालले सुरक्षाकर्मीको संयमताका कारण ठुलो मानवीय क्षति हुनबाट जोगिएको बताएका हुन् ।
उनले व्यक्तिको सम्पत्ति लुटपाट, आगजनी र विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा आगजनी भएको भन्दै सरकारले फरक रणनीतिका साथ नियन्त्रणमा लिने बताए । राजावादी आन्दोलनमा करिब १० देखि १२ हजार मान्छे सहभागी भएको र उनीहरू दुर्गा प्रसाईँको नेतृत्वमा अराजनीतिक भीड भएको प्रवक्ताले बताए ।
शुक्रबार, १५ चैत २०८१, २१ : २४
काठमाडौँ । दुर्गा प्रसाईको मुख्य नेतृत्वमा शुक्रबार भएको राजावादीको प्रदर्शनमा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको छ ।
प्रहरीको गोली लागेर कीर्तिपुर नगरपालिका–४ घर भएका सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए ।
२९ वर्षीय महर्जन राजावादीको प्रदर्शनमा सहभागी थिए । प्रदर्शनस्थलमा तनाव भएसँगै प्रहरीले गोली चलाएको थियो ।
शुक्रबार, १५ चैत २०८१, २१ : ०७
काठमाडौँ । शुक्रबार दिउँसो १२ बजे तीनकुनेमा राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको कार्यक्रम शुरु भैसकेको थियो । सिनामंगल र कोटेश्वरपट्टिबाट राजावादीहरू प्रदर्शन क्षेत्रमा जम्मा हुँदै थिए ।
पश्चिमबाट जाने भिड नियन्त्रणका लागि नयाँ बानेश्वरमै सुरक्षाकर्मीले बार लगाएका थिए । तीनकुनेदेखि नयाँ बानेश्वरसम्म चार तहको सुरक्षा घेरा सशस्त्र र नेपाल प्रहरीको थियो । तीनकुने पुलवारि प्रदर्शनकारीलाई आउन नदिने उद्देश्यले पहिलो तहमा पारी नै सशस्त्र प्रहरी खटाइएको थियो ।
करिब साढे १२ बजे कोटेश्वरबाट गणतन्त्रविरुद्ध नारा लगाउँदै प्रदर्शनकारी तीनकुने प्रवेश गरे । उक्त भिडसँगै आन्दोलनका कमान्डर दुर्गा प्रसाईँ उक्त क्षेत्रमा आउन लागेको हल्ला फैलियो । प्रसाईँ आउन लागेको खबरसँगै प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने प्रयास गरे ।
शुक्रबार, १५ चैत २०८१, २० : ५३
काठमाडौँ । समाजवादी प्रेस संगठनले शान्तिपूर्ण प्रदर्शनका नाममा विभिन्न सञ्चारगृह, सर्वसाधारण नागरिकका घर, व्यवसायिक भवन, राजनीतिक दलका कार्यालय, सरकारी भवनमा गरिएको आगजनी, आक्रमण, लुटपाटको पनि निन्दा गरेको छ ।
संगठनका महासचिव रोहित दाहालले शुक्रबार राति विज्ञप्ति जारी गर्दै पूर्व राजावादीहरुको अराजक समूहले काठमाडौंका विभिन्न स्थानमा मच्चाएको अराजकता, उद्दण्डता र हिंसामा परी एक जना होनाहार पत्रकारको निधन भएको उल्लेख गरेका छन् ।
पूर्वराजावादीहरुले काठमाडौँको तीनकुनेमा नागरिकको घरमा गरेको आगजनीमा परी रिपोर्टिङको क्रममा एभिन्यूज टेलिभिजनमा कार्यरत फोटो पत्रकार सुरेज रजकको निधन भएको थियो । उक्त घटनाबाट सिङ्गो संगठन मर्माहत भएको भन्दै समाजवादी प्रेस संगठनले पत्रकार सुरेज रजकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।
शुक्रबार, १५ चैत २०८१, २० : ०९
काठमाडौं । काठमाडौंको तीनकुनेमा राजवादी समूहको प्रदर्शन स्थलमा भेटिएको शव पत्रकार सुरेश रजकको पुष्टि भएको छ । शुक्रवार दिउँसो आगजनी भएको घरसँगै शव भेटिएको थियो । शव पत्रकार रजकको पुष्टि भएको उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
रजक एभिन्युज टेलिभिजनमा कार्यरत थिए । यसअघि प्रदर्शनमा एकजनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ । कीर्तिपुर नगरपालिका–४ बस्ने सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए । रजकसँगै तीनकुनेको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।
रजक दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले आयोजना गरेको प्रदर्शनको दृश्य खिच्न तीनकुनेमा गएका हुन् । प्रदर्शनस्थलमा तनाव भएसँगै प्रहरीले गोली चलाएको थियो ।
शुक्रबार, १५ चैत २०८१, १९ : ३७
काठमाडौं । काठमाडौंको तीनकुने स्थित राजावादीको प्रदर्शन स्थलमा एकजना घाइतेको उद्धार गरिएको छ । प्रदर्शनकारीलाई तितरबितर बनाएपछि एकजना घाइते अवस्थामा भेटिएका पुरुषको उद्धार गरिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले रातोपाटीलाई बताए । उनले भने, ‘एकजना घाइतेको उद्धार गरिएको छ ।’
यसअघि दिउँसो आगजनी भएको घरसँगै शव भेटिएको उपत्यका प्रहरी कार्यालयका एआईजी टेक बहादुर तामाङले रातोपाटीलाई बताए । उनले भने, ‘पुरुषको शव भेटिएको छ, हामी पहिचान खुलाउने प्रयास गर्दै छौं ।’
शुक्रबार, १५ चैत २०८१, १९ : १८
काठमाडौँ । व्यवस्था विरोधी राजावादी समूहको आन्दोलन परिचालन समितिका संयोजक धवलशमशेर राणाले आज प्रदर्शनका क्रममा भएको सबै घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् ।
शुक्रबार साँझ रातोपाटीसँग कुरागर्दै उनले सरकारले नै प्रदर्शनकारीलाई उत्तेजित बनाउँदा अप्रिय अवस्था निम्तिएको दाबी गरे ।
राजसंस्था पुनर्स्थापनाको माग गर्दै तिनकुनेमा भएको नागरिकहरुको शान्तिपूर्ण प्रदर्शनमा सुरक्षाकर्मीहरूले बल प्रयोग गरि दमन, अश्रुग्यास प्रहार, लाठीचार्ज गरेको उनले जिकिर गरे ।
शुक्रबार, १५ चैत २०८१, १९ : ०९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियार चढेको गाडी जलेको छ ।
शुक्रबार संसदको कामकारबाही सकेर घर फर्कने क्रममा बालकुमारीमा राजावादीहरुले गाडी जलाएका हुन । भक्तपुरस्थित घर फर्किँदै गर्दा बालकुमारीस्थित सिसिआरसी कलेज अगाडि पुगेपछि राजावादी प्रदर्शनमा संलग्न भएका व्यक्तिहरूले रोकेर गाडी जलाइ दिएको परियारले रातोपाटीलाई जानकारी दिए ।
उनले कफ्यु छली भित्री बाटो प्रयोग गरेर भक्तपुर जाँदै गर्दा आन्दोलनकारीहरुले गाडी रोकेर जलाएको बताए । परियार चढेको १३८२ नम्बरको गाडी जलाई दिएका हुन् ।
शुक्रबार, १५ चैत २०८१, १९ : ०१
काठमाडौं । सरकारले सुरक्षा प्रदान गर्न नसक्दा नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टी कार्यालयमा आक्रमण, तोडफोड र आगजनी भएको जनाएको छ ।
राजावादीहरुले प्रदर्शनका क्रममा पार्टी कार्यालय जलाएपछि आयोजित पत्रकार सम्मेलन गर्दै महासचिव घनश्याम भुसालले अराजक पश्चगामी तत्वहरु प्रवेशगरी तोडफोड गर्नुका साथै कागजात र फर्निचार जलाएको जनाए । उनले सुरक्षाका लागि सरकारलाई पटक पटक आग्रह गर्दा पनि सुरक्षा दिन नसकेको भन्दै सरकारले लापरवाही गरेको बताए ।
शुक्रबार, १५ चैत २०८१, १८ : ४९
काठमाडौं । काठमाडौंको तीनकुनेमा राजवादी समूहको प्रदर्शन स्थलमा एकजनाको शव फेला परेको छ ।
शुक्रवार दिउँसो आगजनी भएको घर नजिकै शव भेटिएको उपत्यका प्रहरी कार्यालयका एआईजी टेकबहादुर तामाङले रातोपाटीलाई बताए । उनले भने, पुरुषको शव भेटिएको छ, हामी पहिचान खुलाउने प्रयास गर्दै छौं ।’
यसअघि प्रदर्शनमा एकजनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ । कीर्तिपुर नगरपालिका–४ बस्ने सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए ।
शुक्रबार, १५ चैत २०८१, १८ : ४३
काठमाडौं । पूर्वराजाको समर्थनमा प्रदर्शनमा उत्रिएकाहरुले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको ८ वटा गाडीमा आजगनी गरेका छन् ।
गृह मन्त्रालयका सहसचिव छवि रिजालले कम्पनीको कार्यालयमा परिसरमा ८ वटा सवारीमा आगजनी गरेको पत्रकार सम्मेलन गरेर जानकारी दिए । उनले भने, ‘आज भएका सवै घटनामा खेदजनक छन् ।’
प्रदर्शनकारीहरुले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा पनि आगजनी गरेका छन् । सुरक्षाकर्मीले अहिले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । कानुन हातमा लिनेलाई नियन्त्रणमा लिएर कारवाही गरिने सहसचिव रिजालले जानकारी दिए । उनले भने, ‘यो घटनाबाट कोही आतंकित हुनुपर्दैन् ।’
शुक्रबार, १५ चैत २०८१, १८ : ३९
काठमाडौँ । गृह मन्त्रालयले व्यवस्था विरोधी राजावादी समूहले गरेको प्रदर्शनका क्रममा भएको झपडमा १५ जना सुरक्षाकर्मी घाइते भएका छन् ।
यस्तै प्रदर्शनकारीतर्फ पनि १५ जना घाइते भएको विवरण प्राप्त भएको गृह मन्त्रालयले शुक्रबार साँझ गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
प्रदर्शनका क्रममा धेरै तोडफोड र आगजनीको घटना भएको मन्त्रालयले जनाएको छ ।
शुक्रबार, १५ चैत २०८१, १८ : ३६
काठमाडौँ । गृह मन्त्रालयले आज तिनकुने क्षेत्रमा भएको सम्पूर्ण घटनाको जिम्मेवार दुर्गा प्रसाई भएको बताएको छ । शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा गृह प्रवक्ता रामचन्द्र तिवारीले भने,‘हामीले पाएको जानकारीअनुसार आन्दोलनको नेतृत्व दुर्गा प्रसाईले गरेको हुनाले उहाँ नै मूलभूत रुपमा यो घटनाप्रति जिम्मेवार हुनुहुन्छ ।’
आन्दोलनकारीले प्रदर्शनका क्रममा अराजकता देखाएको पनि मन्त्रालयले निष्कर्ष निकालेको छ ।
मन्त्रालयले जे जति क्षति भएको छ आयोजकको तर्फबाट प्रसाईले नै लिनुपर्ने बताए । राजतन्त्र फर्काउनुपर्ने मागसहित प्रसाईको नेतृत्वमा शुक्रबार राजावादीको प्रदर्शन हुँदा तोडफोड र आजगनीको घटना भएका थिए ।
शुक्रबार, १५ चैत २०८१, १८ : ३२
काठमाडौँ । राजसंस्था पुनर्स्थापनाका लागि बनाइएको संयुक्त जनआन्दोलन परिचालन समितिले आन्दोलनमा सरकारले घुसपैठ गराई अशान्त वातावरण सिर्जना गरेको दावी गरेको छ ।
समितिका प्रवक्ता स्वागत नेपालले विज्ञप्ति जारी गर्दै सत्ताधारीहरूले घुसपैठ गराई अशान्त वातावरण सिर्जना गरेको दावी गरेका हुन् । उनले निजी घरभित्रबाट समेत भएको दमनका कारण आक्रोशित जनसमुदायबाट आत्मरक्षाका लागि प्रतिकार भएको दावी पनि गरेका छन् ।
नेपालले विज्ञप्तिमा भनेका छन्– ‘राजसंस्था पुनर्स्थापनाका लागि शुरु भएको शान्तिपूर्ण जनआन्दोलनमा सत्ताधारीहरुद्वारा घुसपैठ गराई अशान्त वातावरण सिर्जना गराइएकोमा संयुक्त जनआन्दोलन परिचालन समिति निन्दा व्यक्त गर्दछ ।’ उनले ‘आजदेखि देश संक्रमणकालमा प्रवेश गरेको भन्दै गणतन्त्र कागजमामात्र सीमित रहेको अवस्थालाई ध्यानमा राखी पूरानो संसदीय व्यवस्थावादीहरूले नयाँ सहमतिको मार्ग प्रशस्त नगर्ने हो भने स्थिति थप भयावह हुने निश्चित हुने भनेका छन् । तत्काल सर्वपक्षीय वार्ता र संवादमार्फत अघि बढ्न, राष्ट्रिय अन्तराष्ट्रिय मानव अधिकारवादी संघसंस्थाहरु समेतलाई स्थितिको गम्भीर र विवेकपूर्ण पर्यवेक्षण गरिदिन ह्वान गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
शुक्रबार, १५ चैत २०८१, १७ : २०
काठमाडौँ । पूर्वराजाको समर्थनमा प्रदर्शनमा उत्रिएकाहरूले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगो लगाएका छन् । कम्पनीको कार्यालय र गाडीमा आगजनी हुँदा प्रहरी पुग्न सकेको छैन । घटनास्थलमा अहिलेसम्म प्रहरी पुग्न नसकेको प्रत्यक्षदर्शीहरू बताउँछन् ।
_bFWB5FHGVk.jpg)
तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएसँगै त्यहाँबाट जडीबुटी तर्फ गएका प्रदर्शनकारीहरूले कम्पनीको कार्यालयमा आगजनी गरेका हुन् । उनीहरूले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगजनी गरेपछि गणतन्त्रको विरुद्ध नाराबाजी गरिरहेका छन् ।
शुक्रबार, १५ चैत २०८१, १७ : ०१
काठमाडौँ । व्यवस्थाको विरोध र राजतन्त्रको पक्षमा प्रदर्शन गरिएको काठमाडौँको तीनकुने क्षेत्रमा राष्ट्रिय झन्डाको किनबेच राम्रो देखिएको छ ।
राजावादी प्रदर्शनकारीले प्रदर्शनका क्रममा राष्ट्रिय झन्डा प्रयोग गरेका हुन् । प्रदर्शनस्थल नजिकै साना व्यवसायीहरु राष्ट्रिय झन्डा बेच्न बसेका थिए ।
जुम्लाकी गोमा न्यौपानेले ३०० र ५०० मूल्यमा राष्ट्रिय झन्डा विक्री भएको बताइन् ।
शुक्रबार, १५ चैत २०८१, १७ : ००
काठमाडौँ । राजधानीको तीनकुनेमा राजावादी प्रदर्शनकारीले ट्याक्सी तोडफोड गरेका छन् । शुक्रबार दिउँसो प्रदर्शनकारीले ट्याक्सी तोडफोड गरेका हुन् ।
शुक्रबार, १५ चैत २०८१, १७ : ००
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली नर्कतिर गएको बताएका छन् । समाजवादी मोर्चाले काठमाडौँको भृकुटीमण्डपमा शुक्रवार गरेको जनसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष कांग्रेससँगको गठबन्धनका क्रममा ओली र आफूबिच भएको स्वर्ग र नर्कको प्रसङ्ग कोट्याउँदै प्रचण्डले ओली नर्क गएको र आफू स्वर्गतिर जान प्रेरित गरेकाले त्यस अर्थमा केपी ओलीलाई धन्यवाद दिए ।
‘अघि माधवजीले स्वर्ग र नर्कको कुरा गर्नुभयो । तर बुझाई त्यो होइन । उनी नर्कतिर गए मलाई र हाम्रो आन्दोलनलाई जनतातिर फर्काउन प्रेरित गरे त्यस अर्थमा केपी ओलीलाई धन्यवाद छ’ प्रचण्डको भनाइ छ । प्रचण्डले ओलीलाई नकारात्मक गुरु मान्नुपर्ने भन्दै अहिले पनि उनले उल्टाउल्टो गरिरहेको बताए । उनले कुलमानलाई हटाउनु ओली प्रवृत्ति भएको भन्दै कुशासन र सुशासनको लडाई भइरहेको बताए ।
प्रचण्डले गणतन्त्र र शान्ति सम्झौतामा सँगै हिँडेका दलहरूलाई छातीमा हात राखेर आत्मसमीक्षा गर्न सुझाव दिए । ‘म यो मञ्चबाट फेरि पनि आत्मसमीक्षा गर्न, हामी कहाँ पुगियो ? जनतामा किन आक्रोश पैदा भएको छ ? र आफूलाई लोकतान्त्रिक मूल्यमान्यतातिर फर्कन आह्वान गर्दछु ।’
शुक्रबार, १५ चैत २०८१, १६ : ५८
काठमाडौँ । शुक्रबार तीनकुने क्षेत्रमा दुई पक्षीय झडप भइरहँदा राजावादी नेतृत्व तहका नेताहरु भने सुटुक्क आन्दोलनको मैदानबाट अन्यत्र लागेका छन् । राजावादी कार्यकर्ताहरु प्रहरीसँग झपडमा उत्रिन थालेसँगै उनीहरु भने अन्यत्र लागेका हुन् ।
प्रदर्शनस्थलमा राजावादी संयुक्त आन्दोलनका संयोजक नवराज सुवेदीसहितका नेताहरु पुग्ने भनिएको थियो । यस्तै विरोध सभा गर्न बनाइएको मञ्चमै राप्रपाका नेता प्रकाशचन्द्र लोहनी, धवलशमशेर राणासहित दुर्गा प्रसाई र अन्य राजावादी नेताहरु पुगेका थिए ।
उनीहरुले सम्बोधन गर्ने तय भएपन एकाएक झडप भएसँगै कार्यक्रम बिथोलियो । यससँगै स्थितिलाई सहज बनाउन भूमिका खेल्नुपर्ने भएपनि राजावादी नेतृत्व तयहका नेताहरुले मैदान छाडे । त्यसपछि आन्दोलनकारी नेतृत्वहीन बन्न पुगेर झडप थप उग्र बन्न पुगेको एक प्रत्यक्षदर्शीले बताए ।
शुक्रबार, १५ चैत २०८१, १६ : ५६
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले एमाले कांग्रेस नेतृत्वको सरकारले भ्रष्टाचारी र कालाबजारीलाई संरक्षण गरेको बताएकी छन् । भ्रष्टाचार, बेथिति र प्रतिगमनविरुद्ध काठमाडौँको भृकुटी मण्डपमा आयोजित चार दलीय समाजवादी मोर्चाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै नेतृ भुसालले वर्तमान सरकारले भ्रष्टाचारी र कालो बजारीयालाई संरक्षण र संविधान कार्यान्वयनको विपक्षमा गतिविधि गरिरहेको बताएकी हुन् ।
‘अहिले मन्त्रीहरू विभागमा कार्यालय खोल्छन्, माफियाहरू मन्त्रालय चलाउँछन्’, भुसालले भनिन्, ‘सरकार आफ्नो गतिविधि सच्चाउ ।’ उनले सरकारको काम कारबाहीबाट जनता आक्रोशित बनेको र यही रवैयाका कारण यतिवेला मुलुकमा पूर्व दरवारीया र पूर्व पञ्चहरू सल्वलाउन पुगेको बताइन् ।
नेतृ भुसालले लाखौँ नेपाली जनताको बलिदानबाट प्राप्त गणतन्त्र र संविधानविपरित राजतन्त्र फर्कने र जनता रैती बन्न तयार नरहेको दाबी गरिन् । उनले पूर्वराजालाई दल खोलेर राजनीतिमा आउन चुनौती समेत दिइन् ।
शुक्रबार, १५ चैत २०८१, १६ : ५४
काठमाडौँ । समाजवादी मोर्चाले शुक्रबार काठमाडौँमा जनसभा सम्पन्न गरेको छ । ‘यथास्थिति र प्रतिगामी षडयन्त्रको विरोध गरौँ, गणतन्त्रको सम्बद्र्धन र राष्ट्रिय स्वाधीनताको संरक्षण गरौँ !’ भन्ने नाराका साथ मोर्चाले जनसभाको गरेको हो ।
जनासभाअघि, विभिन्न स्थानबाट र्यालीसहित मोर्चाका नेता–कार्यकर्ता प्रदर्शनीमार्गस्थित कार्यक्रम स्थलमा पुगेका थिए ।
हेरौँ केही तस्बिरहरू ः
शुक्रबार, १५ चैत २०८१, १६ : ५४
काठमाडौँ । पूर्वराजाका समर्थकहरू पूर्वनिर्धारित कार्यक्रम स्थल छाडेर बानेश्वरतिर अघि बढेपछि तीनकुनेमा झडप भएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ लाई तीनकुनेस्थित चउरमा प्रदर्शन गर्न स्थानीय प्रशासनले अनुमति दिएको थियो । त्यहाँ नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुन स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ ले पनि संयुक्त रुपमा प्रदर्शन र सभा आयोजना गरेका हुन् ।
तीनकुनेमा प्रहरीले प्रदर्शनकारीमाथि दर्जनौँ राउन्ड अश्रुग्याँस र पानीको फोहरा प्रहार गरेको छ । प्रदर्शनकारीहरू तीनकुने छाडेर ढुङ्गा हान्दै अघि बढेपछि बल प्रयोग गर्नुपर्ने अवस्था आएको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले बताए । उनले भने, ‘प्रदर्शनकारीहरू तीनकुने छाडेर हाम्रो ब्यारियर हटाएर बानेश्वरतिर आउन खोजेपछि बल प्रयोग गर्नुपर्ने अवस्था आएको हो ।’
ब्यारियर राखेको ठाउँबाट आन्दोलनमा आएकाहरूले जबरजस्ती गाडी पनि छिराउन खोजेको भिडियोमा देखिन्छ । एसएसपी खनाल भन्छन्, ‘भिड हटाउन बल प्रयोग गर्नुपर्ने अवस्था आयो ।’
शुक्रबार, १५ चैत २०८१, १६ : ५३
काठमाडौँ । नेसपाका अध्यक्ष महिन्द्रराय यादवले संविधानमा रहेका सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्ष र समानुपातिक समावेशी संविधानका चार खम्बामध्ये एक खम्बा समानुपातिक समावेशी पक्ष हटाउन वर्तमान सरकार लागिरहेको बताएका छन् ।
भ्रष्टाचार, बेथिति र प्रतिगमनविरुद्ध काठमाडौँको भृकुटी मण्डपमा आयोजित चार दलीय समाजवादी मोर्चाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै नेता यादवले सरकारले समावेशी समानुपातिक व्यवस्था हटाएर अधुरो बनाउन खोजेको बताएका हुन् । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालमा संविधानको रक्षा गर्न ठुलो चुनौती खडा भएको भन्दै सरकारको भ्रष्टाचारी प्रवृत्तिका कारण पूर्वराजावादी र पूर्वपञ्चहरुले टाउको उठाउने मौका पाइरहेको बताए । उनले देशमा बढेको बेथिति नियन्त्रण गरेर सुशासन कायम गर्नुपर्ने पनि बताए । उनले भने, ‘प्रतिगामी, पुनर्उत्थानवादी शक्तिहरू देशलाई कमजोर बनाउने प्रयत्नमा लागेका छन् । यस्तो अवस्थामा परिवर्तन पक्षधर शक्तिहरू एक हुन जरुरी छ । नेपालको स्वाधीनता र राष्ट्रिय अखण्डता कायम राख्न जरुरी छ ।’
देशमा बढेको वितृष्णा मेटाउन र मुलुकका हर समस्या समाधान गर्न सरकारबाट सम्भव नहुने भन्दै यादवले गणतन्त्र र सङ्घीयता पक्षधर एक ठाउँमा आउन जरुरी रहेको बताए ।
शुक्रबार, १५ चैत २०८१, १६ : ५०
काठमाडौँ । राजावादी समूहले शुक्रबार राजधानीको तिनकुने क्षेत्रमा गरेको प्रदर्शन हिंसात्मक बनेको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि सुरु भएको द्विपक्षीय झडप उग्र बन्दै हिंसात्मक बनेको हो ।
राजावादी समूहले प्रहरीमाथि ढुंगामुढा थालेपछि प्रहरीले पनि सुरुमा लाठीचार्ज, पानीको फोहोरा, अश्रुग्यास प्रयास गर्यो । त्यसपछि पनि स्थिति नियन्त्रणमा नआएपछि रबरको गोलीका साथै रियल गोली समेत प्रहार भएको छ ।
प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते भएका छन् । घाइतेको तीनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ । घाइतेको कम्मरमा गोली लागेको प्रदर्शनस्थलमा रहेका रातोपाटी संवाददाताले जनाएका छन् ।
शुक्रबार, १५ चैत २०८१, १६ : ३८
काठमाडौँ । पूर्वराजाका समर्थकहरूले बालकुमारीमा जिपमा आगजनी गरेका छन् । बालकुमारी स्थित पुज नजिकै सरकारी जिपमा आगजनी गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
उनले भने, ‘प्रदर्शनकारीले पुल नजिकै काठमाडौँ तर्फको भूभागमा जिपमा आगजनी गरेका हुन् ।’
आगजनी भएको स्थानमा प्रहरीलाई पुग्नबाट आन्दोलनकारीले रोकेका छन् । प्रदर्शनकारीहरूले ढुंगामुढा गरेर प्रहरीलाई रोकेका हुन् ।
शुक्रबार, १५ चैत २०८१, १६ : ३३
काठमाडौँ । राजावादी समर्थकहरुको प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ । अहिले गृहमन्त्री रमेश लेखक, गृहसचिव सहित सुरक्षा निकायका टोलीको बैठक बसेको हो । बैठकमा प्रदर्शनको समीक्षा भइरहेको र आगामी योजनाबारे निर्णय हुने श्रोतले जनाएको छ ।
शुक्रबार, १५ चैत २०८१, १६ : ३२
काठमाडौँ । नेकपा (माअोवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत्र १५ गते नेपालको इतिहासमा दर्ज भइसकेको बताएका छन् ।
एकातिर गणतन्त्रवादीको सभा, अर्कोतिर राजवादीको प्रतिगामी सभा पारिएको छ, भन्दै समाजवादी मोर्चाले चैत १५ गतेका लागि जनसभा घोषणा गरिसकेपछि पनि राजावादीहरु देशमा आराजकता फैलाउन सभा गरेको टिप्पणी गरे । आफ्नै भएपनि एक दुई जना मान्छे मारेर देशमा आरजकता मच्चाउन खोजेको अध्यक्ष प्रचण्डको दावी थियो ।
मण्डलेहरुले घरमा आगो लगाएका छन्, पुलिसमाथि ढुगां हानेका छन् भन्दै प्रचण्डले गणतन्त्रवादी कस्ता छन्, राजावादीहरु कस्ता छन् आजै स्पष्ट भएको बताए ।
शुक्रबार, १५ चैत २०८१, १६ : ३०
काठमाडौँ । काठमाडौँको तीनकुने आसपासका क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ ।
व्यवस्था विरोधी शक्ति राजावादीको प्रदर्शन उग्र बनेसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्फ्यु आदेश जारी गरेको हो ।
कर्फ्यु शुक्रवार अपराह्न ४ः२५ बजेदेखि राति १० बजेसम्म लागू गरिएको प्रमुख जिल्ला अधिकारी ऋषिराम अधिकारीले जानकारी दिए ।
शुक्रबार, १५ चैत २०८१, १६ : २८
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रले शुक्रबारको आन्दोलनमा भएको जनधनको क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने माग गरेका छन् । तीनकुनेमा व्यवस्था उल्टाउन प्रदर्शनमा उत्रिएका राजावादीहरूको आन्दोलनका क्रममा विभिन्न घरहरूमा आगजनी गर्नुका साथै तोडफोड भएका छन् ।
मिश्रले कुनै पनि परिस्थितिमा सर्वसाधारण तथा व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नगर्न अनुरोध गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आन्दोलन रोकिएको छैन । अहिलेलाई यत्ति भनेँ । हेरौँला, कहिलेसम्म यी भ्रष्ट र पतित नेताले सुरक्षा पाउने रहेछन् ।’
शुक्रबार, १५ चैत २०८१, १६ : ०६
काठमाडौँ । राजधानीको तीनकुनेमा राजावादीको प्रदर्शन उग्र बनेसँगै निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी विश्वराज अधिकारीले स्थिति नियन्त्रणबाहिर हुन पुगेकाले निषेधाज्ञा जारी गरिएको बताए ।
शुक्रबार, १५ चैत २०८१, १५ : ५८
काठमाडौँ । राजधानीको तीनकुने क्षेत्रमा प्रहरीले कर्फ्यु सुरु हुन लागेको भन्दै माइकिङ सुरु गरेको छ । प्रहरीले कर्फ्यु सुरु हुन लागेको भन्दै सुरक्षित रूपमा आ–आफ्नो घर जान माइकिङ गरेको हो।
शुक्रबार तीनकुने क्षेत्रमा राजावादीको प्रदर्शन हिंसात्मक भएको छ । एकीकृत समाजवादीको कार्यालयका साथै अर्को एक घरमा आगजनी भएको छ भने अन्य घरहरूमा तोडफोड भएको छ । राजावादी समूहले राजतन्त्रको पक्षमा गरेको प्रदर्शन हिंसात्मक बनेको हो।
शुक्रबार, १५ चैत २०८१, १५ : ५८
काठमाडौँ । राजधानीको तिनकुने क्षेत्रमा प्रहरीले कर्फ्यु सुरु हुन लागेको भन्दै माइकिङ सुरु गरेको छ ।
शुक्रबार, १५ चैत २०८१, १५ : ५२
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको कार्यालयमा शुक्रबार तोडफोड भएको छ । साथै प्रदर्शनकारीहरु कार्यालय प्रवेश गरेर फर्निचरका साथै कागजपत्रहरु बाहिर ल्याएर जलाएका छन् ।
राजावादी समूहले तीनकुने क्षेत्रमा गरेको प्रदर्शन उग्र बन्दै जाँदा आलोकनगरमार रहेको एकीकृत समाजवादीको कार्यालय समेत प्रभावित बनेको हो ।
व्यवस्थाको विरोध गर्दै प्रदर्शनमा उत्रिएका राजावादीहरुले समाजवादीको कार्यालय पुगेर पहिला कागजपत्र बाहिर निकालेर जलाएपछि कार्यालयमा आगो लगाएका हुन् ।
शुक्रबार, १५ चैत २०८१, १५ : ५०
शुक्रबार, १५ चैत २०८१, १५ : ३८
राजधानीको तीनकुनेस्थित एक घरमा लागेको आगलागी निभाउने क्रममा समेत राजावादी प्रदर्शनकारी दमकलमाथि ढुंगामुढामा उत्रिएका छन् ।
राजावादीको प्रदर्शनकै बीच तिनकुनेस्थित एक घरमा एकाएक आगलागी भएको थियो । आगजनी प्रदर्शनकारीले गरेका हुन् या आफैँ आगलागी भएको हो भन्नेबारे खुलिसकेको छैन ।
यद्यपि उक्त आगलागी निभाउन दमकल पुग्दा ढुंगामुढा भएको हो । राजावादीहरुले राजतन्त्र पुनर्स्थापनाको माग गर्दै शुक्रबार तीनकुने क्षेत्रमा प्रदर्शन गरेका हुन् ।
शुक्रबार, १५ चैत २०८१, १५ : ३०
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगामी मण्डलेहरूले तीनकुने क्षेत्रमा आतङ्क मच्चाएको बताएका छन् । भ्रष्टाचार, बेथिति र प्रतिगमनविरुद्ध शुक्रवार काठमाडौँको भृकुटीमण्डपमा चार दलीय समाजवादी मोर्चाले आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
उनले चैत १५ नेपालको राजनीतिक इतिहासमा महत्त्वपूर्ण दिनका रूपमा अङ्कित भइसकेको भन्दै गणतन्त्रवादीहरुले कार्यक्रम राखेपछि प्रतिगामीहरूले पनि कार्यक्रम जुधाएर आतङ्क मच्चाएको बताए ।
‘एकातिर राजावादी र अर्कोतिर गणतन्त्रवादीको आन्दोलन । पहिला हामीले आजको दिन कार्यक्रम राखेपछि उनीहरूले कार्यक्रम जुधाउँदा नै वातावरणलाई धमिल्याउने र उत्तेजित पार्ने मनसाय देखिएकै थियो’, प्रचण्डले भने, ‘१२ वर्ष कुकुरको पुच्छर ढुङ्ग्रामा हाले पनि बाङ्गै जस्तो भएको छ तीनकुनेको सभा ।’
शुक्रबार, १५ चैत २०८१, १५ : १६
काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले गणतन्त्रविरुद्ध सामन्ती तत्त्वहरूले षड्यन्त्र गरिरहेको भन्दै नेपाली जनताले अग्रगमन कि पश्चगमन भनेर रोज्ने बेला भएको बताएका छन् ।
शुक्रवार भ्रष्टाचार, बेथिति र प्रतिगमनविरुद्ध काठमाडौँको भृकुटीमण्डपमा आयोजित चार दलीय समाजवादी मोर्चाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले गणतन्त्र आएपछि केही मान्छेहरूको उठीबास भएको बताए । उनले दुई वटा दुस्मनविरुद्ध सँगै लडेको भन्दै सामन्तवादको बन्धनलाई नेपाली जनताले उठ्नै नसक्ने गरी परास्त गरेर गणतन्त्र आएको बताए ।
‘जसले हारे, सत्ता गुमाए, स्वर्गको आनन्द भङ्ग भएको महसुस गरे उनीहरू विदेशी शक्तिको आडमा गणतन्त्रविरुद्ध षड्यन्त्र भइरहेको छ’, विप्लवले भने– ‘नेपाली जनता गणतन्त्रसँग गौरव गर्छन्, केही मान्छे प्रतिगामीहरू राजतन्त्र फर्काउन प्रयास गरिरहेका छन् हामीलाई सामन्तीहरूको खाँचो छैन ।’ नेता विप्लवले गणतन्त्रवादीहरुले आफ्ना कमजोरी सच्च्याउँ अघि बढ्नुपर्नेमा जोड दिए । उनले समाजवादले मात्र किसान, युवा विद्यार्थीका समस्या समाधान गर्ने भन्दै भइरहेका खेलहरूबाट विचलित हुन आवश्यक नभएको बताए ।
शुक्रबार, १५ चैत २०८१, १५ : १२
काठमाडौँ । राजधानीको तीनकुने क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारी घाइते भएका छन् । घाइतेलाई अहिले तीनकुनेस्थित कान्तिपुर अस्पतालमा लगिएको छ ।
घाइतेको कम्मरमा गोली लागेको प्रदर्शनस्थलमा रहेका रातोपाटी संवाददाताले जनाएका छन् । शुक्रबार वर्तमान व्यवस्थाको विरोधमा राजावादीले गरेको प्रदर्शन हिंसात्मक बनेको हो ।
शुक्रबार, १५ चैत २०८१, १५ : १०
काठमाडौँ । राजधानीको तीनकुनेमा राजवादी समूहले गरेको प्रदर्शनको क्रममा भएको झडपका क्रममा ७ जना सशस्त्र प्रहरी घाइते भएका छन् । झपडका क्रममा घाइते भएकामध्ये ४ जनाको कान्तिपुर अस्पतालमा उपचार भइरहेको सुरक्षा स्रोतले जनाएको छ ।
शुक्रबार, १५ चैत २०८१, १५ : ०७
काठमाडौँ । राजधानीको तीनकुनेमा प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको छ । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन केही राउण्ड रबरको गोलीका साथै ४ राउण्ड रियल गोली समेत प्रयोग गरेको सुरक्षा स्रोतले जनाएको छ ।
अहिले राजावादीको प्रदर्शनका क्रममा बानेश्वर तनावग्रस्त रहेको रातोपाटी संवाददाताहरुले घटनास्थलबाट जनाएका छन् । राजावादी समूहले वर्तमान व्यवस्थाको विरोधमा शुक्रबार राजधानीमा प्रदर्शन गरेको हो ।
शुक्रबार, १५ चैत २०८१, १५ : ०४
काठमाडौँ । राजधानीको तीनकुने क्षेत्र रणमैदान बन्न पुगेको छ । दुई पक्षीय झडपसँगै प्रदर्शनकारी तोडफोडमा उत्रिएका छन् भने एक घरमा आगलागी समेत भएको छ । आगलागी कसरी भयो भन्नेबारे स्पष्ट भएको छैन ।
तर, अहिले घरमा आगलागी हुँदै गर्दा दुई पक्षीय झडप जारी रहेको छ भने प्रहरीको अश्रुग्यास पानीको फोहोराका कारण प्रदर्शनकारी तितरवितर भएका छन् ।
झडपमा दुबैतर्फ घाइते भएको रातोपाटी संवाददाताहरुले जनाएका छन् । प्रहरी र प्रदर्शनकारी दुवैतर्फ घाइते भएका हुन् ।
शुक्रबार, १५ चैत २०८१, १४ : ५९
काठमाडौँ । व्यवस्था उल्टाउन आन्दोलनमा उत्रिएका राजावादीहरूको शुक्रबारको प्रदर्शन अराजक बनेको छ । तीनकुनेमा जम्मा भएका राजावादीहरू निषेधित क्षेत्र तोड्दै नयाँ बानेश्वरतर्फ अघि बढेपछि प्रहरीले उनीहरूलाई रोक्न खोज्दा दुई पक्षबिच झडप भएको थियो ।
प्रदर्शनकारीहरू गाडीसमेत प्रयोग गरेर निषेधित क्षेत्र तोड्न अघि बढेका थिए भने ढुंगामुढासमेत गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गर्नुका साथ बल प्रयोग गरेको थियो ।
प्रदर्शनकारीहरूले सर्वसाधारणको घरमा समेत तोडफोड गरेका छन् । हेरौँ केही तस्बिरहरू:
शुक्रबार, १५ चैत २०८१, १४ : ५५
काठमाडौँ । राजावादी प्रदर्शनकारीले ढुंगामुढा गरेकै घरमा शुक्रबार दिउँसो आगलागी भएको छ । तीनकुनेबाट नजिकै पर्ने सिनामंगलतर्फको देब्रे साइडको घरमा आगलागी भएको हो ।
आगलागीअघि उक्त घरको सिसामा आन्दोलनकारीले ढुंगामुढा गरेका थिए । ढुंगामुढाबाट घरको सिसाहरू छियाछिया भएको सार्वजनिक फोटोहरूमा देखिएको छ । त्यसको केही समयअघि उक्त घरमा आगलागी सुरु भएको थियो । आगलागी प्रदर्शनकारीले नै लगाएका हुन् या अन्य कारणले हो भन्नेबारे खुल्न सकेको छैन ।
घटनास्थलमा रहेका रातोपाटीकर्मी काशीराम बजगाईंले घरमा आगलागी अहिलेपनि भइरहेको बताए । उनले आगलागीअघि प्रदर्शनकारीले नजिकै टायर बालेर प्रदर्शन गरेको र पछि एकाएक घरमा पनि आगो देखिएको बताए ।
शुक्रबार, १५ चैत २०८१, १४ : ४५
काठमाडौँ । राजधानीको तीनकुने क्षेत्र अशान्त बनेको छ । राजावादीको आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप भएसँगै सो क्षेत्र अशान्त बनेको छ । दुई पक्षीय झडपसँगै राजावादी नेताहरूले गरेको मुख्य कार्यक्रम बिथोलिएको छ । कार्यक्रम हुँदै गर्दा दुई पक्षीय झडप भएसँगै नेताहरूले सम्बोधन गर्ने मुख्य कार्यक्रम बिथोलिएको हो ।
प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो भने लगत्तै झडपको स्थिति बनेको थियो । सो क्रममा प्रदर्शनकारीले ढुंगामुढा गरे भने प्रहरीले पनि पानीको फोहोरा, लाठीचार्ज र अश्रुग्यास प्रहार गरे ।
यसैबिच तीनकुने क्षेत्रको एक घरमा आगलागी भएको छ । प्रदर्शनकारीले प्रदर्शन र ढुंगामुढा गरिरहेकै बेला आगलागी भएको हो । आगलागी आफैँ भएको हो या आन्दोलनकारी गरेको आगलागी गरेको हो भन्नेबारे स्पष्ट भइनसकेको प्रहरीले जनाएको छ ।
शुक्रबार, १५ चैत २०८१, १४ : २७
काठमाडौँ । शुक्रबार राजधानीको भृकुटीमण्डपमा समाजवादी मोर्चाले बृहत जनप्रदर्शन गरेको छ । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा र नेसपा ले गणतन्त्रको पक्षमा वृहत जनसभाको आयोजना गरेको हो ।
कार्यक्रमलाई चारै दलका शीर्ष नेताहरुले सम्बोधन गर्दैछन् ।
हेर्नुहोस् तस्बिरहरु :