सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय
इन्डियन प्रिमियर लिग क्रिकेटमा आज

अघिल्लो जितबाट उत्साही चेन्नई र बेंगलुरु आपसमा भिड्दै

शुक्रबार, १५ चैत २०८१, ०९ : ३१
शुक्रबार, १५ चैत २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करणमा शुक्रबार चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बेंगलुरुबिच भिडन्त हुँदै छ । उक्त खेल चेन्नईको एमए चिदम्बर स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ । जारी सिजनको यो आठौँ खेल हो । 

बेंगलुरु र चेन्नई दुबैले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । यी दुवै टोली आफ्नो पहिलो खेलमा विजयी भएका थिए । बेंगलुरु दुई अंकसहित तालिकाको पहिलो स्थानमा छ । चेन्नई पनि दुई अंकसहित चौथो स्थानमा आसीन छ ।

बेंगलुरुले आफ्नो पहिलो खेलमा साविक विजेता कोलकाता नाइट राइडर्सलाई उसैको घरेलु मैदानमा सात विकेटले हराएको थियो । चेन्नईले भने आफ्नो पहिलो खेलमा मुम्बई इन्डियन्समाथि चार विकेटको जित हासिल गरेको थियो । 

अघिल्लो सिजनको रोचक भिडन्त
आईपीएलको अघिल्लो संस्करणमा चेन्नईलाई नै हराउँदै बेंगलुरु प्लेअफ चरणमा पुगेको थियो । त्यो खेल निकै रोमाञ्चक थियो । प्लेअफ चरणमा पुग्न दुवै टोली ‘गर या मर’ को स्थितिमा थिए । प्लेअफ चरणमा स्थान बनाउन बेंगलुरुले चेन्नईलाई कम्तिमा १८ रन अन्तरले हराउनु पर्ने अवस्था थियो ।

यसको विपरित १८ रनभन्दा कम अन्तरले पराजित भएको अवस्थामा चेन्नई प्लेअफ चरणमा प्रवेश गर्ने थियो । तर, उक्त खेलमा बेंगलुरुले चेन्नईलाई २७ रनले हराउँदै प्लेअफ चरणमा स्थान पक्का गरेको थियो । त्यो खेल बेंगलुरुको घरेलु मैदानमा खेलिएको थियो । शुक्रबारको खेलमा चेन्नई त्यो नमिठो हारको बदला लिने धुनमा हुनेछ ।

चेन्नई पाँचपटकको विजेता

चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिगको इतिहासमा सबैभन्दा बढी उपाधि जित्ने टोलीमध्येको एक हो । चेन्नईले हालसम्म पाँच पटक आईपीएलको उपाधि जितेको छ । चेन्नईका अतिरिक्त मुम्बई इन्डियन्सले मात्र पाँच पटक उपाधि कुम्ल्याउन सकेको छ । 

चेन्नईले सबैभन्दा पहिले सन् २०१० मा उपाधि जितेको थियो । त्यतिबेला चेन्नईले फाइनलमा मुम्बई इन्डियन्सलाई २२ रनले हराएको थियो । दोस्रो पटक चेन्नईले सन् २०११ को फाइनलमा रोयल च्यालेन्जर्स बेंगलुरुलाई ५८ रनले हराउँदै उपाधि चुमेको थियो ।

यसैगरी, सन् २०१८ को फाइनलमा चेन्नईले सनराइजर्स हैदराबादलाई आठ विकेटले हराउँदै उपाधि हात पारेको थियो । सन् २०२१ को फाइनलमा भने चेन्नईले कोलकाता नाइट राइडर्सलाई २७ रनले हराएको थियो । सन् २०२३ को फाइनलमा चेन्नईले गुजरात टाइटन्सलाई पाँच विकेट हराएको थियो ।

बेंगलुरु पहिलो उपाधिको खोजीमा

रोयल च्यालेन्जर्स बेंगलुरुले आईपीएलमा सधें उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । तर, बेंगलुरुले हालसम्म एकपटक पनि उपाधि जित्न सकेको छैन । बेंगलुरु आईपीएलमा तीनपटक फाइनलमा पुगेर पराजित भएको छ । 

बेंगलुरु सन् २००९ मा पहिलो पटक फाइनलमा पुगेको थियो । त्यतिबेला फाइनलमा बेंगलुरुलाई डेक्कन चार्जर्सले ६ रनले हराएको थियो । सन् २०११ को फाइनलमा बेंगलुरुलाई चेन्नईले ५८ रनले हराएको थियो । सन् २०१६ को फाइनलमा बेंगलुरुको टोली सनराइजर्स हैदराबादसँग आठ विकेट पराजित भएको थियो । 

हेड टु हेडमा चेन्नई अगाडि

आईपीएलमा हालसम्म यी दुई टोलीबिच खेलिएको खेलमा चेन्नईले बेंगलुरुलाई बढीपटक हराएको छ । हालसम्म यी दुई टोलीबिच आईपीएलमा कुल ३४ खेल खेलिएको छ । त्यसमध्ये २२ खेलमा चेन्नईले बेंगलुरुलाई हराएको छ ।

बेंगलुरुले भने ११ खेलमा मात्र चेन्नईलाई हराउन सकेको छ । यी दुई टोलीबिचको एक खेल भने अनिर्णीत रुपमा सकिएको छ । एमए चिदम्बर स्टेडियममा भने हालसम्म यी दुई टोलीबिच नौपटक भिडन्त भएको छ । त्यसमध्ये आठ खेलमा चेन्नई र एक खेलमा बेंगलुरु विजयी भएका छन् । 

नुर अहमदको नाममा सर्वाधिक विकेट

noor

जारी आईपीएलको अघिल्लो खेलमा बलिङतर्फ नुर अहमद र खलिल अहमद लयमा देखिएका थिए । मुम्बईविरुद्धको खेलमा नुर अहमदले चार ओभरमा केवल १८ रन खर्चिएर चार विकेट लिएका थिए । खलिल अहमदले पनि चार ओभरमा २९ रन खर्चिएर तीन विकेट हात पारेका थिए ।

यी दुई बलरका अतिरिक्त चेन्नईको टोलीमा रवीन्द्र जडेजा र रवीचन्द्रन आश्विनजस्ता प्रभावशाली स्पिनर पनि छन् । मुम्बईविरुद्ध चेन्नईका लागि दुई ब्याट्सम्यानले अर्धशतक बनाएका थिए । ओपनर रचिन रवीन्द्रले ४५ बलमा चार छक्का र दुई चौकाको मद्दतले अविजित ६५ रन बनाएका थिए ।

कप्तान ऋतुराज गायकवाडले केवल २६ बलमा तीन छक्का र ६ चौकाको मद्दतले ५३ रन बनाएका थिए । टोलीमा राहुल त्रिपाठी, शिवम दुबे, दिपक हुडा, साम कुर्रन, पूर्वकप्तान महेन्द्रसिंह धोनीजस्ता प्रभावशाली खेलाडी पनि छन् ।

विराट कोहली र फिल साल्टको उत्कृष्ट साझेदारी

b1

कोलकाता नाइट राइडर्सविरुद्धको अघिल्लो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुका लागि दुवै ओपनर ब्याट्सम्यान फिल साल्ट र विराट कोहलीले उत्कृष्ट साझेदारी गरेका थिए । यी दुबैले टोलीलाई उत्कृष्ट सुरुवात दिँदै ९५ रनको साझेदारी गरेका थिए ।

सोही कारणले टोलीको जित सम्भव भएको थियो । फिल साल्टले केवल ३१ बलमा दुई छक्का र नौ चौकाको मद्दतले ५६ रन र विराट कोहलीले ३६ बलमा तीन छक्का र चार चौकाको मद्दतले अविजित ५९ रन बनाएका थिए ।

यसैगरी, उक्त खेलमा क्रुणाल पाण्ड्या र जस हेजलउडले उत्कृष्ट बलिङ गरेका थिए । क्रुणालले चार ओभरमा २९ रन खर्चिएर तीन र हेजलउडले चार ओभरमा २२ रन खर्चिएर दुई विकेट हात पारेका थिए । बेंगलुरुको टोलीमा देवदत्त पाडिकल, रजत पाटिदार, लियाम लिभिङस्टोन, टिम डेभिड, यश दयालजस्ता प्रभावशाली खेलाडी पनि छन् ।

स्पिन बलरलाई साथ दिने पिच

चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बेंगलुरुबिच शुक्रबारको खेल हुने एमए चिदम्बर स्टेडियमको पिच खासगरी स्पिन बलरलाई साथ दिने प्रकृतिको छ । यो पिचमा रन बनाउन ब्याट्सम्यानहरुले निकै सँघर्ष गर्नुपर्ने हुन्छ । 

यो स्टेडियममा हालसम्म आईपीएलको कुल ८६ खेल खेलिएको छ । त्यसमध्ये पहिले ब्याटिङ गर्ने टोलीले ४९ खेलमा जित हात पारेका छन् । ३७ खेलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले सफलता हात पारेका छन् । 

यो स्टेडियममा बनेको उच्च स्कोर पाँच विकेट गुमाएर दुई सय ४६ रन हो । उक्त स्कोर चेन्नईले सन् २०१० मा राजस्थान रोयल्सविरुद्ध बनाएको थियो । 

छैन वर्षाको सम्भावना

रोयल च्यालेन्जर्स बेंगलुरु र चेन्नई सुपर किङ्सबिच खेल हुने दिन शुक्रबार चेन्नईमा वर्षाको कुनै सम्भावना नरहेको त्यहाँको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दिनभर चेन्नईमा चर्को घाम लग्नेछ । चेन्नईको तापक्रम शुक्रबार २६ देखि ३६ डिग्री सेल्सियसको बिचमा रहनेछ ।

सम्भावित टोली

चेन्नई सुपर किङ्स : ऋतुराज गायकवाड (कप्तान), रचिन रवीन्द्र, राहुल त्रिपाठी, दीपक हुडा, शिवम दुबे, रवीन्द्र जडेजा, साम कुर्रन, महेन्द्रसिंह धोनी (विकेटकिपर), रविचन्द्रन आश्विन, नुर अहमद, नाथन एलिस र खलिल अहमद ।

रोयल च्यालेन्जर्स बेंगलुरु : रजत पाटिदार (कप्तान), फिल साल्ट, विराट कोहली, लियाम लिभिङस्टोन, जितेश शर्मा (विकेटकिपर), टिम डेभिड, क्रुणाल पाण्ड्या, रसिख डार सलाम, सुयष शर्मा, जस हेजलउड, यश दयाल र देवदत्त डाकिक्कल ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप