पर्यटकीय गन्तव्य बन्दै कैलाश–वैकुण्ठ क्षेत्र (तस्बिरहरू)

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका–२ मा अवस्थित कैलाश डाँडा र वैकुण्ठ क्षेत्र अहिले पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको छ ।
मकवानपुरकै विकट रहेको तत्कालीन डाँडाबास गाविस संघीयतापछि कैलाश गाउँपालिकाका रूपमा चिनिन्छ । प्राकृतिक सौन्दर्यता, हावापानी र धार्मिक तथा पर्यटकीय महत्त्वका विभिन्न स्थल रहेको यहाँ केही वर्षअघि निर्माण गरिएको डाँफे मुनाल पार्कसहित हिमाल र पहाडको दृश्य अवलोकन गर्न सकिन्छ ।
मकवानपुरको पर्यटकीय नगरी पालुङबाट करिब ३ घण्टाको कच्ची सडकको यात्रापछि कैलाशको वैकुण्ठ पुग्न सकिन्छ भने धादिङ जिल्लाको मलेखु र आदमघाटबाट पनि वैकुण्ठ पुग्ने सडक बनिसकेको छ ।
राक्सिराङ गाउँपालिकाको खैराङबाट पनि वैकुण्ठसम्म पुग्न सकिनेगरी सडक निर्माण भइसकेको छ । हिउँदमा मकवानपुरको मनहरीबाट करिब साढे २ घण्टामै वैकुण्ठ डाँडा पुग्न सकिन्छ ।
धादिङको बेनिघाट रोराङ गाउँपालिकासँग सिमाना जोडिएको वैकुण्ठबाट धादिङ, गोरखा र रसुवाका हिमालको आकर्षक दृश्य देख्न सकिन्छ ।
ऐतिहासिक गाउँको रूपमा रहेको वैकुण्ठमा तामाङले घाटु नाच नाच्ने प्रचलन छ । घाटु नाच गुरुङको संस्कृति भएता पनि वैकुण्ठ गाउँमा मात्रै तामाङ जातिले घाटु नाच नाच्ने संस्कृति विकास गरेका छन् । हरेक वर्ष जेठको चण्डी पूर्णिमा मेला लाग्नुका साथै तामाङ जातिको घाटु नाच देखाउने गरिन्छ ।
मकवानपुरको उत्तरी भेगमा महाभारत पर्वतमा प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पन्नता, ऐतिहासिक एवं धार्मिक महत्त्व बोकेका स्थलहरूलाई समेटेर पर्यटकीय क्षेत्रका रूपमा विकास भइरहेको छ । अग्लो पहाडको टुप्पामा निर्माण गरिएको डाँफे र मुनालको आकर्षक प्रतिमाले पर्यटकलाई आकर्षित गर्नुको साथै गाउँमाथि रहेको विष्णु कुण्डमा गुरु रिम्पोछेको प्रतिमा स्थापनाले थप आकर्षण थपिदिएको छ ।
उति बेलाको विकट गाउँमा अहिले सडक पूर्वाधारको पहुँच पुगेको छ । सिजनमा चल्ने सडक पूर्वाधारले पनि सो क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढाएको छ । एक हिसाबले भन्ने हो भने कैलाश वैकुण्ठ ‘आन्तरिक पर्यटकको हब’को रूपमा विकास भइरहेको छ ।
विकट क्षेत्रको रूपमा रहेको सो स्थानलाई पर्यटनको केन्द्र बनाउने गरी योजना अघि बढाएको गाउँपालिका अध्यक्ष लोक बहादुर मोक्तानले बताए । उनका अनुसार गाउँपालिकाको आन्तरिक स्रोत व्यवस्थापन गरी पर्यटन विकासका लागि काम भइरहेको छ ।
हाल उक्त क्षेत्रमा पदयात्रा गर्नेहरूको आगमन बढेको उनले बताए । धादिङ, मकवानपुर र चितवनबाट घुम्न आउने पर्यटकहरूको संख्या पनि बढ्दो रहेको उनको भनाइ छ ।
गाउँपालिकाले कैलाश वैकुण्ठलाई पर्यटकीय क्षेत्र बनाउन प्राथमिकताका साथ लगानी गरेसँगै आकर्षक पार्क, गुम्बा लगायतका संरचना निर्माण गरेको अध्यक्ष मोक्तानले जानकारी दिए । वैकुण्ठमा करिब एक करोडको लगानीमा जीपलाइन निर्माणको कामसमेत अन्तिम चरणमा रहेको उनको भनाइ छ ।
ऐतिहासिक विष्णु कुण्ड, गुफा, तामाङ जातिको परम्परागत सांस्कृतिक सम्पदा रहेका कारण पर्यटकीय हिसाबले वैकुण्ठ निकै महत्त्वपूर्ण मानिएको अध्यक्ष मोक्तानले बताए । कैलाश वैकुण्ठको पर्यटकीय विकासका लागि गाउँपालिकाका साथै बागमती प्रदेश सरकारले समेत लगानी गरेको उनले जानकारी दिए ।
अध्यक्ष मोक्तानका अनुसार गाउँपालिकाको पहलमा प्रदेश सरकारले २० लाख रुपैयाँ लगानी गरिदिएपछि डाँफे मुनाल पार्क नजिकैको डाँडामा आकर्षक डम्फूपार्क निर्माण गरिएको छ । ऐतिहासिक वैकुण्ठ डाँडामै गाउँपालिकाले २२ लाख रुपैयाँ लगानी गरी टासी फर्पे छोयलिङ गुम्बा निर्माण गरिएको उनले बताए ।
डाँफे मुनाल पार्ककै मुनि अग्लो डाँडाको समथल ठाउँमा सधैँ पानी जमिरहने पोखरीलाई विष्णु कुण्डको नाम दिइएको मोक्तान बताउँछन् । सो कुण्डलाई संरक्षण गर्दै कुण्डको बिचमा गाउँपालिकाले १५ लाख रुपैयाँ खर्चिएर राखेको बौद्ध धर्मका धर्मगुरु पद्म सम्भवको आकर्षक मूर्तिले पनि पर्यटकलाई उत्तिकै लोभ्याउँछ ।
वैकुण्ठमा पछिल्लो समय धेरै संरचना निर्माण भइसकेको र धादिङ, मकवानपुर र चितवनदेखि पर्यटक आउने गरेको अध्यक्ष मोक्तानले बताए । उनका अनुसार डाँफे मुनाल पार्कसँगै प्रदेश सरकारको १० लाख रुपैयाँ लगानीमा वैकुण्ठ गाउँमा सतीघाट संरक्षणस्थल पनि निर्माण गरिएको छ । करिब ४०० वर्षअघि वैकुण्ठमा मानव बस्ती बसाल्ने सुर्ज मोक्तानको कान्छी पत्नी केमालोमा मोक्तानले पतिको मृत्युपछि सती गई चिहान बनाइएको ठाउँलाई संरक्षण गरी सतीघाट निर्माण गरिएको अध्यक्ष मोक्तानले बताए ।
साहसिक पर्यटनका लागि जीपलाइन
मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर २, वैकुण्ठमा नवनिर्मित कैलाश—वैकुण्ठ जीपलाइनको पहिलो चरणको परीक्षण भएको छ । कैलाश गाउँपालिकाको वैकुण्ठदेखि कैलाशडाँडा जोड्ने जीपलाइन निर्माण भएको हो ।
गाउँपालिकाले बहुवर्षीय योजना बनाइ दुई स्थानमा स्टेशन, ब्रेकिङ सिस्टम (हारनेस) र तार निर्माण गरेको थियो ।
अध्यक्ष मोक्तानका अनुसार पर्यटनका लागि आवश्यक धेरै संरचना बनाइसकिएको र अब पर्यटकको आवासका लागि व्यवस्थित होमस्टे स्थापनाको योजनामा काम भइरहेको छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्ष बजेट विनियोजन गरी स्थानीय सरकार र स्थानीयको साझेदारीमा होमस्टे सञ्चालन गर्ने योजना तयार गरेको अध्यक्ष मोक्तानले बताए । रिसोर्ट र होटल सञ्चालनका लागि समेत निजी क्षेत्रलाई आह्वान गर्ने गाउँपालिकाको रणनीति रहेको उनले बताए ।
पर्यटन प्रवर्द्धन गर्न आगामी दिनमा स्काई साइक्लिङदेखि प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन गर्ने योजना अनुुसार प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए । आगामी आर्थिक वर्षमा कैलाश गाउँपालिका– १ र २ को सिमानामा रहेको गुप्तेश्वरी गुफा र कैलाश डाँडामा रहेको कैलाश गुफा जोड्ने सिँढीसहितको पैदलमार्ग बनाउने योजना अनुसार काम भइरहेको उनको भनाइ छ ।