म्याद सकिएको दुई वर्षपछि पार्क निर्माण शुरु, ऋषिले तपस्या गरेको स्थानमा रावणको मूर्ति राख्न नहुने तर्क

म्याग्दी । म्याद सकिएको दुई वर्षपछि बेनी नगरपालिका–५ पछैमा रावण पार्क निर्माणको कामले गति लिएको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०७७ साल फागुनमा धर्म एस कास्यप जेभीले एक करोड ७६ लाखमा ठेक्का सम्झौता गरेको रावण पार्क निर्माणकार्यले पछिल्लो दुई महिनायता तीव्रता पाएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रमअन्तर्गत मन्त्रालयको ७० र बेनी नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा रावणको मूर्तिसहित पार्क निर्माण गर्न थालिएको थियो ।
योजनाका बारेमा नगरपालिकाले नियमित प्रतिवेदन बुझाउन नसक्दा आव २०७९/८० र २०८०/८१ मा बजेट व्यवस्थापन हुन नसकेको योजनाका निर्माण व्यवसायी पनि पन्छिन खोजेपछि निर्माण ४४ महिनासम्म निर्माण रोकिएको थियो । लामो समयको प्रयासपछि बजेट व्यवस्थापन गरेर २०७८ साल असारदेखि रोकिएको रावण पार्क निर्माणकार्यलाई लयमा फर्काएको बेनी नगरपालिका–५ का वडाध्यक्ष गोविन्द बानियाँले बताए ।
‘पार्कमा घेराबार, प्रवेशद्वार, पदमार्ग निर्माणको काम करिब सकिएको छ । रावणको मूर्ति राख्ने ठाउँमा जग खन्न थालेका छन्’, उनले भने, ‘जसोतसो पार्क बन्ने देखिए पनि सर्वोच्च अदालतमा परेको मुद्दाको टुङ्गो नलागेसम्म रावणको मूर्ति राख्ने विषयमा अन्योल सृजना भएको छ ।’
ठेकेदारले १८ लाख खर्चेर पार्कमा राख्ने छ मिटर अग्लो रावणको मूर्ति तयार पारेका छन् । पर्वतका केदारनाथ दासले गत असारमा सर्वोच्च अदालतमा दायर गरेको रिटमा रावणको प्रतिमा नराख्न अन्तरिम आदेश दिएको थियो ।
ऋषिमुनिहरूले तपस्या गरेको स्थानमा रावणको मूर्ति राख्न नहुने तर्कसहित परेको मुद्दामा अदालतबाट फैसला हुन भएको ढिलाइले अन्योल भएको वडाध्यक्ष बानियाँले बताए । पछैस्थित पुलाश्रम मन्दिरका पुजारी जगदीश सुवेदीका अनुसार हिन्दू धर्मग्रन्थ रामायणका पात्र पुलह, पुलत्य ऋषिको तपोभूमि पछैमा रावण जन्मिएको र उनको नावी गाडेको ठाउँमा राखिएको शिला अझै सुरक्षित छ ।
करिब १४ रोपनी क्षेत्रफलमा फैलिएको पुलाह आश्रम क्षेत्रमध्ये चार रोपनीमा पार्क बनाउन लागिएको हो । आश्रममा रहेका ऋषिमुनि मन्दिर, हवन कुण्ड, रावणको नाभी गाडिएको भनिने स्थानलाई यथावत संरक्षण गरी रावणको मूर्तिसहित बगैँचा, विश्रामस्थल, घेरबार र जमिन संरक्षणलगायत पूर्वाधार निर्माणको काम ७० प्रतिशत सकिएको ठेकेदार कम्पनीका प्रतिनिधिले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यानमार भूकम्प : भग्नावशेषमा पुरिएका थप ४ जनाको ६० घण्टापछि उद्धार
-
आजको मौसम : यी दुई प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना
-
इटालियन सिरी’एमा इन्टर र नापोली जित्दा एटलान्टा स्तब्ध
-
आज इस्लाम धर्मावलम्बीले ‘ईद उल फित्र’ अर्थात् ईद पर्व मनाउँदै, देशभर सार्वजनिक विदा
-
जङ्गली हात्तीको आक्रमणबाट झापामा मात्रै ६४ जनाको मृत्यु
-
विदेशी मुद्राको खरिदविक्रीदर : कसको मूल्य कति ?