१२ बजे, १२ समाचार : चैत २१ देखि आन्दोलनलाई सशक्त बनाउने राजावादीको घोषणादेखि शिक्षा समिति सभापतिलाई शिक्षकले झम्टेसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. आन्दोलन सशक्त बनाउँदै लैजाने घोषणा
वर्तमान व्यवस्था विरोधी राजावादी समूह ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले चैत २१ गतेदेखि आन्दोलनलाई सशक्त बनाउँदै लैजाने घोषणा गरेको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरेर समितिका संयोजक नवराज सुवेदीले सरकारले आफूहरुको शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरेको खण्डमा चैत २१ गतेदेखि आन्दोलनलाई सशक्त बनाउँदै लैजाने बताए ।
२. शिक्षा समितिका सभापति थापामाथि जब शिक्षकहरू झम्टिन पुगे...
संसद्का शिक्षा समिति सभापति अम्मरबहादुर थापामाथि शिक्षकहरू आक्रोशित बनेका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई नेपाल) ले आयोजना गरेको विद्यालय शिक्षा विधेयक छलफल कार्यक्रममा सभापति थापामाथि शिक्षकहरू आक्रोशित बनेका हुन् ।
३. अमेरिकी प्रतिवेदनमा राप्रपा
अमेरिकाको एक संघीय आयोगले जारी गरेको प्रतिवेदनमा नेपालमा हिन्दु राष्ट्रको पक्षमा राप्रपाले गरेको प्रदर्शनबारे चर्चा गरिएको छ । मंगलबार अमेरिकाको ‘यूएस कमिशन अन इन्टरनेशनल रिलिजियस फ्रिडम’ (यूएससीआईआरएफ)ले सन् २०२५ को वार्षिक प्रतिवेदन जारी गरेको छ । उक्त प्रतिवेदनकै एक अंशमा नेपालको सन्दर्भबारे संक्षिप्त चर्चा गरिएको हो । प्रतिवेदनको पेज नम्बर ७७ मा नेपालबारे उल्लेख छ । ‘नेपालमा हिन्दु राष्ट्रवादी भावनामा वृद्धि जारी छ, जसमा हिन्दु राजतन्त्र बहालीको वकालत गर्ने कयौँ मानिस विरोध प्रदर्शनमा उत्रिएका छन्,’ प्रतिवेदनमा भनिएको छ ।
४. प्राधिकरणमा असन्तुष्टि
नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएर सरकारले मंगलबार कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । शाक्यलाई नियुक्त गरेकै दिन बसेको प्राधिकरणको सञ्चालक समिति बैठकले विभिन्न निर्णय गरेको छ ।तर निर्णयको भोलिपल्टै प्राधिकरणका कार्यकारी निर्देशक शाक्य कर्मचारीहरूको तारोमा परेका छन् । प्राधिकरण सञ्चालक समितिले १०औँ तहदेखिका कर्मचारीको नियुक्ति, पदस्थापन र सरुवाको अधिकार प्रबन्ध निर्देशकबाट खोस्ने निर्णय गरेको छ ।
५. संसदमा अवरोध
संघीय संसद् अन्तर्गतका (प्रतिनिधिसभा र राष्ट्रियसभा) बैठक नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएको विषयलाई लिएर विपक्षी दलहरूले अवरोध गर्दा बुधबार र बिहीबार बस्न सकेनन् । विपक्षी दलहरूले घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा आएर जवाफ नदिँदासम्म बैठक चल्न नसक्ने बताउँदै आएका छन् ।
६. कुलमानको रिट
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । कुलमानको रिट लोकमणि पोखरेलको वारेसमार्फत बिहीबार दर्ता भएको हो।
७. प्रदर्शन
शुक्रबार काठमाडौँको प्रदर्शनीमार्गमा गणतन्त्र पक्षधर समाजवादी मोर्चा र तीनकुनेमा व्यवस्था उल्टाउन लागि परेका पूर्वराजा समर्थकले प्रदर्शन गर्दै छन् । समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को ब्यानरमा पूर्वराजाका समर्थकहरूले तीनकुनेमा प्रदर्शन गर्दै छन् । नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनस्र्थापनाका लागी संयुक्त जनआन्दोलन समिति’ले प्रसाईंसँगै मिलेर प्रदर्शन गर्न लागेको सुरक्षा अधिकारीहरू बताउँछन् । सुवेदी नेतृत्वको समूहले प्रदर्शन स्थलबारे सार्वजनिक नगरेको हुनाले प्रसाईंसँगै मिसिएर शक्ति प्रदर्शन गर्न लागेको आँकलन गरिएको छ ।
८. दुर्गा कमाण्डर
व्यवस्था उल्टाउन लागि परेको नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले दुर्गा प्रसाईंलाई विशेष जिम्मेवारी दिएको छ । समितिमा दुर्गा प्रसाईलाई कमाण्डरको जिम्मा दिइएको संयोजक सुवेदीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनी नेतृत्वको महाभियानले ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ गठन गर्नुपूर्व नै चैत्र १५ गतेदेखि सुरु हुने गरी आन्दोलन घोषणा गरेकाले आफ्नो समितिले अपनत्व लिएको सुवेदीले बताए ।
९. बिजुली कूटनीति
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का एवं परराष्ट्रमन्त्री डा। आरजु राणाको कूटनीतिक पहलमा भारतले थप ४ घण्टा विद्युत् दिने सहमति जनाएको छ । इन्डियन इनर्जी एक्सजेञ्जबाट थप ६ सय मेगावाट विद्युत दिने स्वीकृत दिएको हो । उक्त विद्युत ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइनबाट नेपालमा आउने भएको छ । हाल भारतले जुन ३० सम्मका लागि इन्डियन इनर्जी एक्सचेन्जबाट सोलार आवरमा १ हजार ४ मेगावाट विद्युत् उपलब्ध गराउँदै आएको थियो ।
१०. टीआरसीको सवाल
प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसालाई ग्लोरिफाई गर्ने र हिंसाको बाजा बजाउने काम अझै भइरहेको भन्दै यस्तो किन भइरहेको छ भनेर प्रश्न गरेका छन् । बिहीबार सङ्क्रमणकालीन न्याय सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पीडितलाई न्याय दिन सकिने र सक्नुपर्छ भन्दै सोही कारण ऐनहरू पारित गरिएको बताए । सोही कार्यक्रममा प्रचण्ड र शेरबहादुर देउवा पनि सहभागी थिए ।
११. सेयर बजार
साताको अन्तिम कारोबारका दिने सेयर बजारमा हरियाली छाएको छ । बिहीबार सेयर बजार परिसूचक (नेप्से) ४१ दशमलव ६७ अंकले बढेर २६६३ दशमलव ५४ अंकमा पुगेको हो । बजार परिसूचक बढेसँगै कारोबार पनि बढेको छ ।
१२. मुद्दा मिलापत्र
जिल्ला समन्वय समिति (जिसस), काभ्रेपलान्चोकका प्रमुख दीपक कुमार गौतम विरुद्ध काठमाडौँमा परेको जाहेरीमा मिलापत्र भएको छ । ७ लाखको बैङ्किङ कसुर मुद्दा मिलापत्रमा टुङ्गिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । प्रहरीको रेकर्डमा देखिएको अन्य बैंकिङ कसुरको विवाद पनि मिलापत्रमा टुङ्गिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्यनिरुपण र बेपत्ता छानविन आयोगका पदाधिकारी सिफारिस समितिले थाल्यो काम
-
ला लिगामा बार्सिलोनाको शानदार जित, रियालसँग फेरि बढायो अंक दुरी
-
आईपीएल क्रिकेट: राजस्थानले खोल्यो जितको खाता, ६ रनले हार्यो चेन्नई
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न ४१ जनाविरुद्ध पाँच दिन म्याद थपदेखि पार्टीको जिम्मेवारीमा फर्किए रविसम्म
-
असन चोकमा तीन अजिमाको खट जुधाइयो (तस्बिरहरु)
-
तीनकुने घटना र पत्रकारको मृत्युबारे सामाजिक सञ्जालमा भ्रामक सामग्री सम्प्रेषण नगर्न प्रहरीको आग्रह