आइतबार, १७ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अमेरिकी प्रतिवेदन

अमेरिकी प्रतिवेदनमा राप्रपाको आन्दोलनबारे चर्चा, भारतको ‘रअ’लाई प्रतिबन्ध गर्न माग

बिहीबार, १४ चैत २०८१, २० : २१
बिहीबार, १४ चैत २०८१

काठमाडौँ । अमेरिकाको एक संघीय आयोगले जारी गरेको प्रतिवेदनमा नेपालमा हिन्दु राष्ट्रको पक्षमा राप्रपाले गरेको प्रदर्शनबारे चर्चा गरिएको छ ।

मंगलबार अमेरिकाको ‘यूएस कमिशन अन इन्टरनेशनल रिलिजियस फ्रिडम’ (यूएससीआईआरएफ)ले सन् २०२५ को वार्षिक प्रतिवेदन जारी गरेको छ । उक्त प्रतिवेदनकै एक अंशमा नेपालको सन्दर्भबारे संक्षिप्त चर्चा गरिएको हो ।

प्रतिवेदनको पेज नम्बर ७७ मा नेपालबारे उल्लेख छ । ‘नेपालमा हिन्दु राष्ट्रवादी भावनामा वृद्धि जारी छ, जसमा हिन्दु राजतन्त्र बहालीको वकालत गर्ने कयौँ मानिस विरोध प्रदर्शनमा उत्रिएका छन्,’ प्रतिवेदनमा भनिएको छ ।

अप्रिलमा राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वमा काठमाडौँमा सयौँ प्रदर्शनकारी सडकमा उत्रिएको र प्रहरीसँग उनीहरूको झडप भएको पनि प्रतिवेदनमा उल्लेख छ ।

यसका साथै ईसाइहरूको उत्पीडन र गिरफ्तारी बढेको पनि प्रतिवेदनमा भनिएको छ । केशव आचार्य नाम गरेका पादरीलाई धर्म परिवर्तन गराएको आरोपमा सर्वोच्च अदालतले एक वर्षको कैद सजाय सुनाएको र मार्चमा चार ईसाइलाई जबर्जस्ती धर्म परिवर्तन गराएको तथा बाइबल लगेको आरोपमा २४ दिनसम्म हिरासतमा राखिएको पनि सो प्रतिवेदनमा उल्लेख छ ।

‘यूएससीआईआरएफ’ सन् १९९८ मा अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता अधिनियम अन्तर्गत बनाइएको एक अमेरिकी संघीय आयोग हो । यसको मुख्य काम अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रताका मुद्दामा अनुसन्धान र निगरानी गर्नु हो ।

‘यूएससीआईआरएफ’ ले जारी गरेको प्रतिवेदनमा भारतको गुप्तचर एजेन्सी ‘रिसर्च एन्ड एनालासिस विङ्ग’ (रअ)लाई अमेरिकामा प्रतिबन्ध लगाउन माग गरिएको छ ।

भारतमा धार्मिक स्वतन्त्रताको स्थिति लगातार नाजुक बन्दै गएको प्रतिवेदनमा उल्लेख छ । धार्मिक अल्पसंख्यकमाथि हमला र भेदभाव भारतमा लगातार बढ्दै गएको उक्त प्रतिवेदनमा भनिएको छ ।

९६ पानाको उक्त प्रतिवेदनमा भारतको विषय पृष्ठ नम्बर २२ र २३ मा उल्लेख गरिएको छ । प्रतिवेदनमा ‘रअ’को बारेमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय रिपोर्टिङ र क्यानाडा सरकारको गुप्तचर जानकारी अनुसार रअका एक अधिकारी र ६ कूटनीतिज्ञ न्यूयोर्कमा सन् २०२३ मा एक अमेरिकी सिख कार्यकर्ताको हत्या प्रयासमा संलग्न भएको आरोपलाई पुष्टि गरेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप