ठाकुरराम क्याम्पसको स्ववियु सभापतिमा शेखर पक्षका यादवको प्यानल विजयी

वीरगन्ज । ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा कांग्रेस वरिष्ठ नेता शेखर कोइराला समूहका राजकुमार यादवको प्यानल विजयी भएको छ ।
बिहीबार नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) को आधिकारिक उम्मेदवारलाई हराउँदै बागी उम्मेदवारी दिएका यादव समूहको प्यानल विजयी भएको निर्वाचन समितिले घोषणा गरेको छ ।
प्रत्यक्षतर्फ एक जना महिला सदस्यबाहेक सबै पदाधिकारीसहित (१० जना) यादव प्यानल विजयी भएको क्याम्पस निर्वाचन समितिले जनाएको छ ।
अन्तिम नतिजाअनुसार कोइराला पक्षधरका यादव १११५ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी, नेपाली विद्यार्थी सङ्घ (नेविसंघ) का आधिकारिक उम्मेदवार विकास मण्डल धानुकले भने ६५३ मत ल्याएका छन् ।
लगभग डब्बल मतको फरकमा कोइराला पक्षका यादव निर्वाचित भएका छन् । यसैगरी विजयी यादव समूहकै मन्दिरा चौधरी सचिवमा निर्वाचित भएकी छन् ।
उनले ६७२ मत प्राप्त गरेकी छन् । कोषाध्यक्षमा यादव प्यानलकै अंकित पटेल विजयी भएका छन् । उनी ८२२ मत ल्याएर निर्वाचित भएका हुन् ।
त्यसैगरी सदस्यहरूमा भने यादव समूहका आयुष श्रीवास्तव, आयुषकुमार गुप्ता, अमित पटेल, श्यामकुमार महतो, नेहा पासवान, अशोककुमार महतो र दीपिका भण्डारी निर्वाचित भएकी छन भने एक जना नेविसंघका मालाकुमारी साह विजयी भएकी छन् ।
शेखर पक्ष विजयी
नव–निर्वाचित सभापति यादव नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइराला समूहका हुन् । यादवलाई पर्सा कांग्रेसले नेविसंघको आधिकारिक उम्मेदवार नबनाएपछि उनले ‘नेपाल विद्यार्थी समूह’ नामक छुट्टै प्यानल बनाएर चुनावमा भाग लिएका थिए ।
नेविसंघको बागी उम्मेदवार भएपछि पर्सामा कांग्रेस दुइ चिरामा विभाजित बनेको थियो । स्ववियु निर्वाचनमा पर्सा कांग्रेस संस्थापन पक्ष र इतर संस्थापन पक्ष दुई समूहमा विभाजन भएको थियो । संस्थापन पक्षको तर्फ कांग्रेस जिल्ला सभापति जनार्दनसिंह क्षेत्रीले अगुवाइ गरिरहेका थिए भने कोइराला पक्षका प्रदेश सांसद श्याम पटेलले इतर संस्थापन पक्षको नेतृत्व गरिरहेका थिए ।
पर्सा कांग्रेस सभापति क्षेत्रीले आफ्ना आधिकारिक उम्मेदवार भनेर विकास मण्डललाई उभ्याएका थिए भने इतर संस्थापन पक्षको पटेल समूहले आफ्नो आधिकारिक उम्मेदवारका रूपमा यादवलाई अघि सारेका थिए ।
नेविसंघको आधिकारिक उम्मेदवारलाई क्षेत्रीसहित कांग्रेस केन्द्रीय सदस्य अनिल रुंग्टा, वीरगन्जका उपमेयर इम्तियाज आलम, कांग्रेस नेता राकेश सिंहसहितको समर्थन थियो ।
बागी उम्मेदवार यादवलाई भने प्रदेश सांसद पटेलसहित पूर्व सांसद अजयद्विवेदी, सुरेन्द्र चौधरी, क्षेत्रीय सभापति अरबन्दि गुप्ता, नेता वैकुण्ठ श्रीवास्तवसहित नेविसंघका केन्द्रीय सदस्य बिकेस पेटलको समर्थन थियो । यसरी दुई चिरामा कांग्रेस विभाजित भएर आफ्नो उम्मेदवार खडा गरेको थियो । यद्यपि, एक जना सदस्यबाहेक बागी उम्मेदवार यादवको पूरै प्यानल नै विजयी भएको छ ।
को हुन सभापति यादव ?
ठाकुरराम क्याम्पसको सभापतिमा निर्वाचित यादव बारा जिल्ला निवासी हुन् । बाराको विश्रामपुर गाउँपालिका निवासी यादव २१ वर्षको उमेरमै ठाकुरको स्ववियु सभापति बनेका छन् ।
उनी २०६० सालमा विश्रामपुर गाउँपालिकाको बलिरामपुरमा जन्मेका हुन् । आफ्नो परिवारको राजनीतिक ब्याकग्राउण्ड सामान्य भएको यादव बताउँछन् ।
सभापति यादवका बुवा वीरगन्ज भन्सार कार्यालयमा कार्यरत छन् । उनी घरको जेठो छोरा हुन् । उनका अर्का एक कान्छो भाइ छन् । उनी ०७८ सालमा बीबीएसमा तहमा ठाकुरराममा भर्ना भएका हुन् ।
भर्ना भएको तीन वर्षमै उनी सोही क्याम्पसको स्ववियु सभापति चुनिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटना र पत्रकारको मृत्युबारे सामाजिक सञ्जालमा भ्रामक सामग्री सम्प्रेषण नगर्न प्रहरीको आग्रह
-
तीनकुने घटना : ४१ जनाविरुद्ध पाँच दिन म्याद थप
-
भीमनारायण गोल्डकप : उद्घाटन खेलमा सप्तरी विजयी
-
गाउँ पसेको पाटेबाघ नियन्त्रणमा
-
डडेल्धुरामा जिपबाट खसेर एक जनाको मृत्यु
-
पश्चिमाञ्चल अस्पतालको बिमा काउन्टरमा अनियमितता, ६ कर्मचारी दोषी