आइतबार, १७ चैत २०८१
ताजा लोकप्रिय

‘वसन्त’ फिल्मबारे के भन्छन् प्रकाश र स्वस्तिमा ?

बिहीबार, १४ चैत २०८१, १९ : ३७
बिहीबार, १४ चैत २०८१

काठमाडौँ । गायक, अभिनेता तथा निर्देशक प्रकाश सपुतले फिल्म ‘वसन्त’ नेपाली समाजकै कथा आफूले प्रस्तुत गरेको बताएका छन् । साथै फिल्ममा कहिल्यै पुरानो नहुने कथा राखिएको उनले दाबी गरे । 

फिल्मले २०६० देखि २०६४ सम्मको एउटा समाजको कथा उठाएको उनको भनाइ थियो । ‘नेपालमा राजनीतिक हिसाबले विभिन्न परिवर्तनका आवाजहरू उठिरहेको थियो । आन्दोलनहरूले ठुल्ठुलो स्वरूप लिइरहेको थियो । युद्धसमेत चलेको त्यो समयको कथा ‘वसन्त’ले भन्छ’, उनले भने, ‘फिल्मले कथा एउटा उठाए पनि समाजका विभिन्न जातजाति, भाषा र जीवनशैलीलाई समेत देखाउनेछ ।’

बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा फिल्मले जातीयताको कथा मात्र नभनेको, बरु समाजको हरेक पात्रलाई जोड्ने काम गरेको सुनाए । ‘फिल्मले समाजको सबै रंगलाई जोडेकोले यो सामाजिक फिल्म हो,' सपुतले भने, ‘यसले हरेक नेपालीलाई कनेक्ट गर्छ ।’ उनले फिल्म ८० प्रतिशत रियालटी बेसमा भएको पनि जानकारी दिए । ‘कथाको त्यो पात्र म पनि हुन सक्छु र अन्य कोही । त्यो थाहा पाउन फिल्म हेर्नुपर्छ’, उनले थपे । जसरी 'मुनामदन' जुन समयमा पनि नयाँ र लोकप्रिय नै लाग्छ, आजको समाजलाई पनि ‘वसन्त’को कथाले त्यस्तै फिल दिने उनको दाबी छ । 

हामीले कस्तो समाज देख्दै आयौँ, कस्तो शिक्षा लिँदै आयौँ, कस्तो विभेद भोगेर हुर्कियौँ, हाम्रा आमाहरूले कस्तो खालको लैंगिक विभेद भोग्दै आउनुभयो र त्यो समयमा चलेको क्रान्ति अथवा युद्ध तथा आन्दोलनले हाम्रो जनजीवनमा कस्तो प्रभाव पार्‍यो, त्यो सबै फिल्मले बुझाउने सपुतले बताए ।

कार्यक्रममा फिल्मकी अभिनेत्री स्वस्तिमा खड्काले कलाकारका लागि हरेक फिल्म विशेष हुने बताइन् । उनले फिल्ममार्फत आफूले बाचेको र बेग्लै अनुभव गरेको समय फरक तवरबाट अनुभव गर्न पाएको सुनाइन् । ‘फिल्मले जुन समयको समाजको परिवेशलाई चित्रण गर्न खोजेको छ,' खड्काले भनिन्,' त्यो समयमा म सानी थिएँ । त्यो वेलाका घटना र समयलाई त्यति बुझ्न सक्ने भएको थिइनँ ।'

उनले थपिन्, 'अनि फेरि जुन परिवेशमा म हुर्किएँ, त्यो समयमै भए पनि मैले गाउँको अनुभव र समाज देख्न पाएको थिइनँ, जुन मलाई ‘वसन्त’ले फिल्ममार्फत, अभिनयमार्फत जिउन त्यो समाज देख्न दियो ।' जसका कारण फिल्म विशेष लागेको उनले बताइन् । फिल्मले अन्यभन्दा फरक तरिकाले कथा भनेकाले पनि दर्शकका लागि याे नौलो स्वाद हुने उनको भनाइ थियो ।

‘वसन्त’ यही चैत २२ गते शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । फिल्म सपुतले निर्देशक गरेका हुन् । निर्देशनमा उनको यो डेब्यु फिल्म हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप