आइतबार, १७ चैत २०८१
ताजा लोकप्रिय

बाजुरामा एक वृद्धाले पाइन् ८९ वर्षमा नागरिकता

बिहीबार, १४ चैत २०८१, १८ : ३३
बिहीबार, १४ चैत २०८१

बाजुरा । बूढीगङ्गा नगरपालिका–८ की रङ्गी नेपालीले ८९ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छन् । प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले नेपालीलाई बिहीबार नेपाली नागरिकता प्रदान गरेका हुन्।

उनलाई पहिल्यैदेखि नागरिकता दिलाउन प्रयास गरिए पनि कानुनी जटिलताका कारण  नसकिएको वडाअध्यक्ष रमेश रावलले बताए ।

वडाध्यक्ष रावलका अनुसार नेपालीको एक छोरीले विवाह गरेर गएपछि साहाराविहीन बनेकी उनले नागरिकता नहुँदा नगरपालिकाबाट प्राप्त सेवा सुविधाबाट वञ्चित हुनुपरेको थियो । वडाध्यक्ष रावलले ती वृद्धाको आफन्त कोही नभएपछि आफैँले सनाखत गरेर नागरिकता दिलाउन सहयोग गरेको बताए ।

नागरिकता पाएपछि नेपालीले खुसी व्यक्त गरेकी छन् । आफ्नो सबै थोक नाताले भाई पर्ने रमेश रावल भएको प्रतिक्रिया उनले दिइन् । ‘वडाध्यक्षकै कारण मैले आज नागरिकता पाएँ’, नेपालीले भनिन् । 

उनको श्रीमान् बितेको २२ वर्ष भए पनि हालसम्म कानुनी प्रक्रिया नपुगेपछि नागरिकताबाट वञ्चित भएकी थिइन् । नेपाली नागरिक भएको र स्थायी बसोबास गर्दै आएकी वृद्धालाई कानुनी प्रावधान पूरा गरी आज नागरिकता दिइएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जानकारी दिए । 

जिल्लाका दुर्गम बस्तीमा कतिपय नगारिकले समयमै नागरिकता नपाउँदा समस्या झेल्दै आएकाले प्रशासनमा वडाबाट सिफारिस भएर आएका नागरिकलाई कानुनी रूपमा समस्या नआउने गरी नागरिकता दिने गरेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप