आगामी बजेटबारे १६ मन्त्रालयसँग अर्थको छलफल, ३ करोडभन्दा कमको योजना समावेश नगर्न अनुरोध

काठमाडौँ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माण सम्बन्धमा १६ वटा मन्त्रालयसँग छलफल गरेको छ ।
यसै क्रममा आज बिहीबार संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालसँग छलफल भएको छ ।
मन्त्रालयहरूसँगको छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको अंकभन्दा नीतिगत सिफ्टलाई प्राथमिकतामा राख्न आग्रह गरे । उनले संघीयताको मूल मर्म र भावना, संघ, प्रदेश र स्थानीय तहको भूमिका, प्रदेश र स्थानीय तहको भूमिका अनुसार संघमा रहेका कार्यक्रम तथा आयोजनाहरूको हस्तान्तरण, तीन तहका सरकारबीचको समन्वय र साझेदारीलाई जोड दिए ।
प्रदेश र स्थानीय तहले गर्ने काम संघले गर्दा संघीयता बलियो नहुने उनको भनाइ छ ।
अर्थमन्त्री पौडेलले विगतका सबै कार्यक्रम र योजनाको समीक्षा गरी संघीय योजनाहरूमा केन्द्रित हुन, कार्यक्रम तथा योजना रोक्न, घटाउन, समायोजन गर्न, अत्यावशक कार्यक्रमलाई निरन्तरता दिन र परिवर्तित समयअनुसार जनतासँग जोडिने स्मार्ट कार्यक्रम तथा योजनाहरू समावेश गर्न आग्रह गरे । उनले तीन करोड रुपैयाँभन्दा कमका आयोजना समावेश नगर्न पनि अनुरोध गरे ।
यसैगरी अर्थमन्त्री पौडेले अध्ययन र कार्यान्वयनमा जाने योजना तथा कार्यक्रमलाई प्राथमिकीकरण गर्न पनि जोड दिए । कार्यक्रम तथा योजना पेस गर्दा रकमान्तर र शोधान्तर गर्न नपर्ने गरी यथार्थपरक प्रस्ताव पेस गर्न पनि आग्रह गरेका मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
उपलब्ध साधन स्रोतलाई ख्याल गर्दै जनताको आंकाक्षा र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने गरी अनुशासित र यथार्थपरक बजेट आउने अर्थमन्त्रीको भनाइ थियो ।
दुई दिनअघि अर्थ मन्त्रालयले विषयगत मन्त्रालयहरूसँग छलफल गरी बजेट विनियोजनका साथै पुँजीगत खर्चमा पनि विशेष ध्यान दिन आग्रह गरेको थियो ।
अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगसहित सम्बन्धित मन्त्रालयसँग छुटाछुट्टै छलफल गर्दै आएको छ । तीन पक्षबीचको समन्वयमा कार्यक्रम र बजेट आउँदा कार्यान्वयनमा अपनत्व बढ्ने र उचित परिणाम आउने अर्थ मन्त्रालयको भनाइ छ । अर्थ मन्त्रालयले यसअघि भौतिक, सहरी विकास, सञ्चार, शिक्षा, रक्षा, गृह, खेलकुद, भूमि सुधार, कृषि, खानेपानी, संघीय मामिला, उद्योग, स्वास्थ्य, ऊर्जा, महिला तथा बालबालिका मन्त्रालयसँग छलफल गरेको थियो ।
आगामी बजेटबारे बाँकी मन्त्रालयहरूसँग पनि छलफल गर्ने अर्थ मन्त्रालयको कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नितिशको शानदार अर्धशतक, राजस्थानद्वारा १ सय ८३ रनको लक्ष्य प्रस्तुत
-
प्रेस सेन्टरको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित हुनेहरूको सूची सार्वजनिक (सूचीसहित)
-
गाजामा इजरायली आक्रमण, १४ जना उद्दारकर्मीको शव भेटियो
-
चैतेदसैँमा वीरगञ्जमा डोली यात्रा गरिने
-
बागमती प्रदेशसभा सञ्चालन गर्न सर्वदलीय बैठक आह्वान
-
सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध